दर्शनको अलौकिक आनन्द

 

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको आवश्यकता पर्दछ । तर मसँग यति धेरै क्षमता छैन, तर पनि दर्शन, अध्यात्म, साहित्य एवं कला जस्तो महनीय विषयमा चञ्चुप्रवेशको जमर्को गरेको छु ।

दर्शन भनेको देख्नु हो । तर हामीसँग भएका दुई आँखाले देख्नुलाई दर्शन भनिदैन । दार्शनिक दृष्टिका लागि तेश्रो आँखाको आवश्यकता पर्छ । तर तेश्रो आँखा सजिलै खुल्दैन । हामी चेतना, बुद्धि एवं संकल्पको एकीकरणबाट साधनाको मार्गमा ओर्लनसम्म त सक्छौं, तर हिँड्न अझै ठूलो धेैर्यपूर्ण यात्राको आवश्यकता पर्दछ । दर्शन एवं अध्यात्म–विद्याको धारावाहिक रचनाकोलागि मेरो धैर्यपूर्ण यात्रा वास्तवमा एउटा जटिल आरम्भ हो ।

जबसम्म मैले मेरो संकल्प–शक्तिलाई साधनाको आलोकमा स्थापित गर्न सक्दिन तबसम्म मेरो यो यात्रा जति बेला पनि खण्डित हुन सक्छ । त्यसैले अखण्ड यात्राकोलागि बुद्धि तत्वभन्दा पनि चेतनाकै  शिवतम शरणमा पर्न सक्नुपर्छ । बुद्धि त थाक्छ , तर परम् शिवतत्वको असीम संकल्प शक्ति कहिल्यै थाक्दैन । बुद्धि तथा इन्द्रियहरु सुषुप्त रहँदा पनि शिवतम् चेतना अखण्ड–दीपरुपले प्रकाशित भइरहन्छ । तिनै अखण्ड प्रकाश स्वरुप शाश्वत, निराकार एवं निवीज शिव–तत्वलाई अनन्तकोटी नमन गर्दै यो मंगलकार्यको थालनी गरेको छु ।

दर्शन एक अलौकिक आनन्दको विषय हो । दर्शन भन्नासाथै अमूर्त विषयको जिज्ञासासँग ठोकिन्छ । अझ दर्शनसँग अध्यात्मको अभेद्द सम्बन्ध रहेको हुन्छ । दर्शन तथा अध्यात्म क्षेत्रमा यात्रारत विद्यार्थीकालागि आर्थिक फाइदा तथा भौतिक जगतको चाकचक्य फिका एवं सामान्य अनुभव हुन्छ । दर्शन तथा अध्यात्म क्षेत्रका उपासकहरुको यो प्रमोदपूर्ण यात्रालाई पाश्चात्य दार्शनिक प्लेटो “दर्शनको प्रिय आनन्द” भन्छन् । प्लेटोको त्यस समयलाई बुद्धिको युग भनेर पनि चिनिन्छ । पश्चिम कै अर्का दार्शनिक ब्राउनिंग दार्शनिक जिज्ञासालाई जीवनको आधारभूत पक्ष भन्छन् । “जीवनको एक विशिष्ठ अर्थ हुन्छ र त्यस अर्थको खोजी मेरालागि भोजन तथा पानी सरह नै हो” ब्राउनिंग भन्छन् ।

 तैपनि मानवीय समाज गन्तव्यहीन यात्रामा अल्मलिँदै छ । अर्थहीन विषयमा प्रयत्न गर्दैछ । हामी भित्र र बाहिर अनौठो द्धिविधा छ, अराजकतापूर्ण द्धन्द छ । तथापि हामी विश्वास गर्छौं कि हामी भित्र कुनै सशक्त सत्ता छ । त्यो सत्ताको सहारामा हामी अमूर्त सत्यको उद्घाटन गर्ने जमर्को गर्छाैं । अमूर्त विषय भन्नासाथ हाम्रो अन्तरजगतीय साम्राज्यको खोजी नै हो । त्यो अन्तरजगतीय साम्राज्य मन तथा आत्मा नै हो । हामी जीवनको सत्य खोजीरहेका छौं । जुन सत्य हाम्रो आन्तरिक सत्ताबाट उद्भाषित हुन्छ । त्यो आन्तरिक सत्तालाई उद्भाषित गर्न आवश्यक पर्ने साधन भनौ या बाटो हामी खोजीरहेका छौं । सनातन सत्यको खोजी नै दर्शन तथा अध्यात्मको मूल बाटो हो । अध्यात्म विद्या जटिलतालाई सरलतामा बदल्ने एउटा अनूपम साध्य हो ।

जटिलतासँग कसरी सामना गर्ने र साक्षात मृत्युको अगाडि पनि कसरी मुस्कुराउने भन्ने कला अध्यात्मको तेजस्वी सत्ताले सिकाउँछ । हामी पूर्णता प्राप्त गर्न चाहन्छौं । आफ्ना अनन्त इच्छाहरुलाई छानेर इच्छा तथा सामथ्र्यका वीच सन्तुलन स्थापित गर्न सक्नु नै अध्यात्मको सफल प्रयोग हो ।  पश्चिमी दार्शनिक थ्युरोको भनाइ छ कि “केबल गम्भिर एवं उच्च विचारहरुको पोषण या कुनै गहकिला तथा क्ल्ष्टि विचारधाराबाट सम्बद्ध हुनु दार्शनिकता हैन, बरु ज्ञान अथवा विद्या प्रेम चाहि असली दार्शनिकता हो र त्यही ज्ञान तथा विद्या प्रेमका साथ जीवनयापन गर्नु दर्शनको उत्कृष्ट साधना हो ।” अर्थात सादगी, स्वतन्त्रता, एवं आस्थामय जीवन विताउनु नै वास्तविक दार्शनिकता हो ।

दर्शनका अनेक सम्प्रदायहरु छन् । मुख्यतः पूर्वीय(भारतीय) र पश्चिमी दर्शनको अस्तित्व समृद्ध छ । दर्शनको मूलभूत सिद्धान्त सत्यको खोजी तथा मूर्त अमूर्त विषयको सूक्ष्म विश्लेषण हो । पश्चिमी दार्शनिक फ्रान्सिस बेकन सत्यलाई समृद्धि भन्दा स्वतन्त्रताको साधन ठान्छन । भारतीय दर्शन सम्प्रदायमा पूर्वीय दर्शनमा इहलौकिक र पारलौकिक अथवा लोक तथा लोकोत्तर सत्ताको खोजी गरिएको छ । पश्चिमी दर्शन र पूर्वीय दर्शन परम्परामा खासगरी एउटा विशिष्ट र मौलिक भिन्नता छ ।

पश्चिमी दर्शन भौतिक जीवन तथा यसका असीमित पक्षहरुलाई उत्सुकता एवं आश्चर्यपूर्ण ढंगबाट खोतल्ने काम गर्छ भने पूर्वीय दर्शन जीवनलाई साधनाका माध्यमबाट अखण्ड सत्यको प्रबुद्ध सत्तामा अनुभूत गर्न चाहन्छ । पूर्वीय दर्शन आत्माको सत्तालार्ई सर्वोपरि मान्दै कैवल्यको साम्यावस्थामा पुग्ने र आत्मसत्ताको शाश्वत अनुभूतिमा लय हुने प्रयत्न गर्दछ । तसर्थ पूर्वीय दर्शन केवल उत्सुकताजन्य खोजी मात्र हैन जीवनलाई शाश्वत आलोकमा भाषित गर्ने संकल्प पनि हो ।

पूर्वीय दर्शन साधना तथा अभ्यासका माध्यमबाट अविद्यालाई स्थानच्युत गरी प्रज्ञाको उद्भाष गर्ने अविरल यात्रा हो । जब विद्या या बेधिको उपलब्धि हुन्छ तब शक्ति एवं निष्ठा प्राप्त हुन्छ । यसबाट साधकको प्रकृति पूर्णतः न्यूनतम रुपमा आलोकित हुन्छ र अन्तर्मुखी आयाममा लीन हुन पुग्छ । पूर्वीय दर्शन अनुसार मोक्ष, निर्वाण तथा ईश्वरीय सत्ता मनको आन्तरिक स्थिति हो । जुनसुकै धर्मको लक्ष्य मन तथा आत्माको शुद्धि नै हो । असीमित वासना एवं लालसाको दासताबाट मुक्त हुने उपाय खोज्ने कार्यमा पूर्वीय दर्शनलाई पश्चिमी दर्शनले भेट्न सक्दैन । पश्चिमी दर्शन सत्यको अन्वेषण त गर्छ तर निष्ठापूर्ण अवतरणका लागि खासै ध्यान दिँदैन ।

भक्ति विनाको निष्ठा फल रहित बृक्ष जस्तै हो । भक्तिमा समर्पण हुन्छ । तर पश्चिमी दर्शनमा समर्पण भन्दा पनि जिज्ञासा हुन्छ । भक्ति कुनै शास्त्रीय एवं ज्ञान–परम्परामा बाँधिदैन, न त राजयोग जस्तै मनोवैज्ञानिक शास्त्रमा या हठयोग जसरी मनोभौतिक विज्ञान तथा ज्ञानयोगको विधि जस्तै कुनै बौद्धिक प्रव्रिmयाद्धारा सञ्चालन गर्न सकिन्छ । हाम्रो प्रकृति भन्दा पर एक यस्तो सत्ता छ, जो अति विशाल, शक्तिशाली एवं अपरिमेय छ । यस शक्तिको उद्गम स्थल आफैंमा अचिन्त्य छ । यो शक्ति प्रकृति भन्दा पर भए पनि शक्तिको श्रोत भने प्रकृति नै हो । saralpatrika.com बाट साभार

(लेखक खनाल दर्शन शास्त्रका अध्यापक तथा अध्यात्मसाधक हुन्)