प्रहरी र पत्रकारको व्यवसायिकता !

प्रहरीसंग ‘यो चाहियो, ऊ चाहियो’ भन्ने काम गैर-व्यवसायिक मात्रै होइन आपराधिक समेत हो, र त्यस्तो माग गर्नेलाई नाम समेत नभन्नु भन्ने काम अपराधीलाई संरक्षण दिई अपराधलाई संरक्षण गर्ने काम हो । कि आफ्ना केही कमजोरी त्यो पत्रकारले थाहा पाएको हुँदा ऊसंग द्वन्द्वमा जान नचाहेको हो कि त्यो पत्रकारको पहूँच र शक्तिसंग डराएर वा नतमस्तक भएर उसको नाम नभनेको, कानूनी दायरामा नल्याएको हो भन्ने बुझ्नु पर्छ ।

 

 

राजनीतिमा धेरै चलेको एउटा प्रवृत्ति छ । आफ्नै दल भित्रका गुटलाई वा अर्को पार्टीकालाई गाली गर्नु पर्यो भने परे पत्रकारको सहारा लिने । केपी ओलीले माधव नेपाल गुटलाई थर्काउनु पर्यो भने पार्टी भित्र नथर्काउने, मिडिया मार्फत “हाम्रा केही साथीहरूलाई छटपटी….” भन्दै संकेतात्मक भाषा बोल्ने ।

 

राजनीति भित्रको “पोलिटिकिङ्ग” पाच्य नै छ, बाङ्गो-टिङ्गो, घुमाउरो, व्यङ्गात्मक, छेडछाड-युक्त शैलीका प्रयोग सहज रुपमा लिन्छौँ ।

 

तर  अहिले झाङ्गिँदो प्रवृत्ति पत्रकारले पनि समाचारमा गाली समेत सूत्रको मुखमा गराउन  थाले । सूचना सूत्रले दिन्छन, तिनको संरक्षण गर्नु पत्रकारको कर्तव्य हो। गाली गर्न हिम्मत गर्नेले आफूले गरेको भन्न नसक्ने र सूचना-दाता होइन गाली-दाता समेतलाई सूत्र भनेर पत्रकारले संरक्षण गरिदिनु पर्ने अवस्था छ ।

 

ठिक छ पत्रकार सम्मले त भोली चाहिन्छ भनेर गालीकर्ताको संरक्षण गर्लान, अहिले त प्रहरीले नै ब्ल्याकमेल गर्ने, प्रहरी सङ्ग विभिन्न माग राख्ने “अपराधी पत्रकार”को संरक्षण गर्दो रैछ भन्ने चाहिँ प्रहरी प्रमुखको पत्रकार भेटघाटमा देखियो ।

 

मैले एक खिल्लि पान अर्काको नखाने एक-दुई प्रहरी कर्मचारी देखेको छु, अर्काले आग्रह गर्दा एक कप चिया नपिउने पनि एक दुई पत्रकार देखेको छु । तर सबै पत्रकार चोर-फटाहा भन्ने केही प्रहरी र निजामति कर्मचारी पनि देखेको छु र पुलिस भनेको सबै फटाहा भन्ने पत्रकार र अरू पेशा कर्मी पनि देखेको छु ।  यस्ता “सबै पुलिस”, सबै पत्रकार” भन्ने शब्दावलीलाई अङ्ग्रेजीमा “स्टेरियोटाइपिङ्ग” भन्छन नेपालीमा “एउटै ड्याङ्गको मूला” बनाउने काम हो तर विशेष शब्द म सङ्ग छैन, मेरो सिमित नेपाली शब्द-भण्डारका कारण ।

 

म सकृय पत्रकार हुँदा मलाई पनि कसैले त्यही ड्याङ्गमा हाले होला, मैले पनि अन्य पेशाकर्मीलाई त्यस्तैमा हाले हुँला ।

 

संसारका करीव साढे सात अर्व मान्छेमा एउटा सङ्ग अर्को ठ्याक्कै मिल्ने एउटै छैनन । देख्दा उस्तै देखिए पनि कि कोठी फरक हुन्छ, कि दाँत, कि कुनै चाउरीका रेखा । हामी प्रहरी भित्र, पत्रकार भित्र सबै उस्तै अनुहार खोजि रहेका छौँ , उस्तै बानी खोजि रहेका छौँ ।  उनीहरूलाई एउटै ड्याङ्गमा राख्ने पेशागत मर्यादाका आधारभूत कुराले मात्रै हो व्यक्तिगत गुणले होइन । त्यही मर्यादाको सीमा भित्र  बस्ने “प्रोफेशनल” नबस्ने “अन-प्रोफेशनल” भए ।

 

तर हामीले प्रोफेशनालिज्म मानेका कतिपय काम आपराधिक हुन र प्रहरी त्यस्ता काम नियन्त्रण गर्ने, कानूनी दायरामा ल्याउने राज्यको सबै भन्दा पहिलो संयन्त्र वा एजेन्सी । प्रहरी प्रमुखको पत्रकार भेटघाटमा दिएको आन्तरिक शुद्धिकरणको सन्देशले केही आशा जगायो, कम्तिमा सङ्गठन भित्रका फटाहाहरूमा नियन्त्रण होला भनेर ।संग संगै व्यक्त निरीहपनले निराशा बढायो । कुनै पत्रकारले  ‘यो चाहियो, ऊ चाहियो’ भने रे । त्यस्ता पत्रकारको नाम सोध्दा प्रहरी प्रमुखले ‘नभनौँ, यो कोठामा उपस्थित छैनन’ भने रे ।

 

प्रहरीसंग ‘यो चाहियो, ऊ चाहियो’ भन्ने काम गैर-व्यवसायिक मात्रै होइन आपराधिक समेत हो, र त्यस्तो माग गर्नेलाई नाम समेत नभन्नु भन्ने काम अपराधीलाई संरक्षण दिई अपराधलाई संरक्षण गर्ने काम हो । कि आफ्ना केही कमजोरी त्यो पत्रकारले थाहा पाएको हुँदा ऊसंग द्वन्द्वमा जान नचाहेको हो कि त्यो पत्रकारको पहूँच र शक्तिसंग डराएर वा नतमस्तक भएर उसको नाम नभनेको, कानूनी दायरामा नल्याएको हो भन्ने बुझ्नु पर्छ ।

 

कि ब्ल्याकमेलिङको प्रसङ्गै ल्याउनु हुन्नथ्यो, ल्याई सकेपछि कम्तिमा ति ब्ल्याकमेलिङ गर्ने, माग राख्ने पत्रकारवारे छानवीन सम्म भएपनि गर्दैछौँ भन्ने सन्देश दिन सक्नु पर्थ्यो । आफ्नो हरेक कर्तव्य पालनको क्षेत्रमा उत्कृष्ठ ठहरिएका वर्तमान प्रहरी प्रमुखले कारवाही त परै जाओस नाम समेत लिन डराए भन्ने कुराले पत्रकारको खोल ओढेर राज्यका विभिन्न निकायका अधिकारीहरूसंग नाजायज फाइदा लिने केही पत्रकारको मनोबल बढाएको छ र पत्रकार प्रतिको “स्टेरियोटाइपिङ्ग”लाई झन बलियो बनाएको छ ।

 

संगठन भित्रका व्यक्ति-व्यक्तिको व्यबहारले संगठनको सामुहिक छबी निर्माण भएको हुन्छ । प्रहरीको होस कि पत्रकारको होस । ठूलो जनशक्ति भएको प्रहरीको आन्तरिक छबी-सुधार गरिसक्नु छैन, पत्रकारको छबी सुधार गर्ने इच्छाशक्ति र संस्था नै छैन । तर थालनी सम्म गर्न सकिन्छ, अरू ठूलो समूहलाई सन्देश दिन । जब कुनै पत्रकारले प्रहरी संगठन प्रमुख संगै यो चाहियो, ऊ चाहियो भनेर फोनबाट सन्देश पठाउँछ भने त्यो प्रमाणको रुपमा कम्तिमा क्षमता र इच्छाशक्ति कमै भएका भए पनि पत्रकारिताकाको छबी सुधार्ने संस्थामा पठाइदिनु पर्छ । अपराधी भनेर कारवाहीकै हदमा नपुग्ने मनस्थिति भए पनि कहीँ कतै रेकर्ड सम्म गराउनु पर्छ त्यसले त्यस्ता काम दोहोरिए अर्को  पटक कार्वही गर्न प्रहरीलाई नै मद्दत गर्छ ।

 

सानो सानो गल्तिमा आँखा चिम्लने वा सामान्य रुपमै लिइदिने गर्दा फटाइँ मौलाएका हुन । अरूले आँखा चिम्लने सम्म त ठिकै हो प्रहरीले नै आँखा चिम्लने काम त झन अक्ष्यम्य नै हो ।

 

गल्ति दुई किसिमले हुन्छनः एउटा असल नियतले केही गर्दा-गर्दै पनि कार्यक्षमता अभावका कारणले कामको खराब परिणाम निस्किएर, अर्को कसैलाई लाभ वा हानी पुर्याउने नियतले नै आफूमा भएको शक्ति प्रयोग गरेर गलत परिणाम निकालेर । मेशिनले शत प्रतिशत काम नगरी मान्छेको क्षमताको प्रयोग गरेर अपराधको मात्रा वा गाम्भिर्यता  वा नतीजा हेर्ने चलन कायम रहेको पनि यिनै गल्तिका पछाडीको प्रेरक तत्व खोज्न नै हो । कुनै गलत उद्देश्यकै लागि कुनै पत्रकारले आफ्नो शक्ति र पहूँचको दुरुपयोग गरेको रैछ भने प्रहरी प्रमुखलाई त्यस्ता पत्रकारमाथि कारवाही गर्न र नाम सार्वजनिक गर्न केहीले रोक्नु नपर्ने हो ।

 

हरेक साना साना फटाइको सामान्यिकरण नगरी जहाँ फटाइँ हुन्छ, त्यही कार्वाही गरेमात्रै  पूरै सङ्गठन “एउटै ड्याङ्गको मूला” बन्नबाट रोकिने छ । जसरी पत्रकारको कलम चल्नु अघि त्यो लेखले कसैलाई नाफा पुग्छ कि घाटा भनेर हेर्ने प्रवृत्ति बढ्दा पूरै पेशाले साख गुमाउदै गरेको हुन्छ त्यसैले गरी प्रहरीले पनि ब्ल्याकमेलिङ्ग गर्ने पत्रकारलाई कारवाहीको दायरामा ल्याउँदा  पूरै पत्रकार जगतसङ्ग दुस्मनी हुन्छ भनेर देखिएका केही गलत प्रवृत्तिलाई संरक्षण गर्दिँदा प्रहरीको पनि साख गिर्ने छ ।

 

लेखे वापत पत्रकार पक्राऊ गर्दा आउने सामुहिक प्रतिरोध ब्ल्याकमेल गर्नेलाई पक्राऊ गर्दा आउँदैन, प्रष्ट भए हुन्छ । तर व्यक्तिगत प्रतिशोध साँध्नकै लागि भने हुनु भएन ।