माथि माथि शैलुङ्गैमा……

 

शव्द/तस्विरः शम्भु गौतम

दोलखा, माघ १९ : धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण दोलखाको शैलुङ डाँडामा आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको छ ।

पछिल्लो समय मुलुकका विभिन्न भागसँगै दोलखाको शैलुङमा पनि हिउँ परेपछि त्यहाँ पुग्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको हो । एक सय बढी थुम्काहरुको सौन्दर्य भएको शैलुङमा हिमपातपछि झनै सुन्दर देखिन्छ।

काठमाडौबाट शैलुङ घुम्न आएका विकी नायकले भने, ‘म नेपालका धेरै ठाउँ घुमेँ, तर शैलुङ जत्तिको राम्रो ठाउँ देखिनँ ।’ काठमाडौँबाटै आएका सुदीप नेपालले शैलुङ अत्यन्त सुन्दर भए पनि पर्यटकीय पूर्वाधार विकास गर्नुपर्ने सुझाए ।

हिउँ परेका बेला सपरिवार शैलुङ घुम्न भ्याएका दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले आफूले घुमेका नेपालका ठाउँहरुमध्ये शैलुङ सबैभन्दा सुन्दर भएको बताए । ‘शैलुङ त्यसै सुन्दर, हिउँ परेपछि झनै चम्किने ।’ पाठकले थपे, ‘हिउँ परेका बेला शैलुङमा स्वर्णिम आनन्द हुँदारहेछ ।’

‘शैलुङ पुग्ने ठुलो रहर थियो, हिउँ परेकै बेलामा आउन पाइयो ।’, रणभीम गणका गणपति विदुर अधिकारीले भने, ‘शैलुङ जीवनमा एकपटक घुम्र्न पर्ने ठाउँ रहेछ ।’

दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने शैलुङ एक सय थुम्काहरुले बनेको मानिन्छ । करिब ३१५० मिटरको उचाइमा रहेको शैलुङबाट सम्भवतः नेपालमै सबैभन्दा बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । मौसम सफा रहेका बेला रोल्वालिङ, जुगल, लाङटाङ, गणेश हिमाल र अन्नपूर्ण श्रृङखलासमेत देख्न सकिन्छ।

शैलुङ पुग्नका लागि लामोसाघु जिरी सडकको मुढेबाट करिब २० किलोमिटरमा पर्ने कालापानीसम्म मोटरमा जान सकिन्छ । त्यसपछि करिब १ घण्टाको हिडाइपछि शैलुङ टाकुरोमै पुग्न सकिन्छ । दोलखा सदरमुकाम चरिकोटबाट महाङ्काल भगवती मन्दिर हुँदै करिब ३४ किलोमिटरको मोटरयात्रापछि कालापानी पुग्न सकिन्छ । सो क्षेत्रमा बसोबास गर्नका लागि मागादेउरालीमा सामान्य सुविधाका होटलहरु छन् । कालापानी नजिकैको ढुङ्गेमा सामान्य होटलहरु भए पनि पर्याप्त भने छैनन् । कालापानीमा चियानास्ता गर्न पाउने व्यवस्था मात्रै रहेको छ । शैलुङ क्षेत्रमा पर्यटन विकास गर्नका लागि मोटरबाटो वर्षभरि चल्नसक्ने बनाउन जरुरी छ भने मागादेउराली तथा ढुङ्गेमा पर्यटकीय सुविधाका होटलहरु सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ ।