शंकरदेव क्याम्पसले फेरिदिएको कहानी

काठमाडौं । यो कथा हो एकजना युवाको,जो जुँघाको रेखी बस्दानबस्दै घरबाट भागेर काठमाडौं पसेका थिए ।

साधारण लेखापढा यी युवकले फुटपाथको जीवन भोगे अनि शहरका सडक नाप्दानाप्दै एकदिन उनी पुरानो क्याम्पसको हाताभित्र छिरे जागीर  खान । ‘०३४ सालको कुरा हो’ ती युवकले निधार खुम्च्याउँदै सम्झिए –‘ फुटपाथमा चक्कर लगाईरहेको मलाई नगेन्द्रले २०३४ साल मंसिर ४ गते शंकरदेव क्याम्पसमा पियनमा जागिर लाइदिनुभयो ।’ त्यसपछि ती युवकको जीवन साधारण किसिमले अघि बढ्दै गयो । उनले शंकरदेवको संसारमा रमाउँदै जाँदा आफ्ना सन्तानलाई त्यही क्याम्पसमा उच्च शिक्षा दिलाउन सफल भए । उनको जीवन एककिसिमले सगरमाथाको शिखर चुमेसरी सफल भयो । यसैमा आज उनी प्रशन्न छन् । मख्ख परेका छन् ।

 

 

ती युवक हुन् काभ्रेको कोशीपारी फलाँटका माधव खरेल । माधव गाउँको रमाईलो फाँटलाई मधुरो छायाँ देखिँदासम्म फर्किँदै हेर्दै फेरि फर्किंदै हेर्दै काठमाडौं पसेका थिए । १६ वर्षको उमेरमा घरबाट कसैलाई सुँईको समेत नदिई उनी लुसुक्क भागेर राजधानी शहरतिर हान्निएका थिए । त्यतिबेला उनी साधारण लेखपढ् गर्न पनि सक्दैनथे । शहर पसेपछि मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मकै खाने हुन्थ्यो । शंकरदेव क्याम्पसका तत्कालिन प्रमुख उपेन्द्रबहादुर प्रधानाङ्ग त्यहाँको  डिन हुँदा उनका भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधवलाई पिउनमा जागिर लाइदिए ।  त्यसबेलामा नागरिकताको पनि चलन थिएन । तर जागीर पाए । जागीर पाएपछि माधवको पहिलो तलब एक सय सोह्र रुपैयाँ थियो । त्यतिबेला यति रकम नै माधवका लागि ठूलो कमाई थियो । त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडकको एउटा प्लाईउड पसलमा पनि काम गरेर उनी थप आम्दानी गर्थे ।

अहिलेको कुरा अर्कै छ माधवको । दिनबित्दै जाँदा आज उनको तलब बढेर तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमै कनिष्ठ पदमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने, घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा जेठा छोरा राजकुमार खरेल  पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन् । आफू कर्मचारी भए बापत केही सहुलियत पाएकोमा उनी खुशी छन् । त्यसो त बेग्लै खाजा खर्च पनि पाउँदा रहेछन् उनी ।

 “शंकरदेवमा एम.वि.एस सेमेस्टर, वि.वि.एस, एम.एम., बि.आई.एम. जस्ता विषय प्लस टु सकी पढाई हुने स्नानक र स्नाकोत्तर” उनी क्याम्पसको पढाई हुने सबै बिषय खरर्र सुनाउँछन् ।

माधव भन्छन्,‘२०३६ सालमा बिहान बेलुकी गरेर ३ हजार हाराहारीमा विद्यार्थी हुन्थे । हाल आएर एक वर्षको विद्यार्थीको संख्या १४ हजार देखि १५ हजारसम्म हुन्छन् । सुदुर पश्चिममा बसोबास गर्ने  विद्यार्थीहरु हाम्रो क्याम्पसमा धेरै पढ्छन् । उनीहरु राजनीतिक रुपले सचेत हुन्छन् ।’

माधवले शंकरदेवमा जागीर खान थाल्दा विद्यार्थीहरु शिक्षक र पियनले समेत सम्झाउँदा टेर्थे । अनुशासित थिए । तर आजकल कोही कसैलाई टेरपुच्छर लाउँदैनन् ।   विद्यार्थीमा अनुशासन कम रहेको, पढाउँदा कक्षा कोठामा विद्यार्थीको सीमित रहेको माधवको अनुभव छ । उनको बुझाइमा विद्यार्थीहरु बढि छाडा भएका छन् । क्लास संचालन भैरहेका बेला पनि घनिष्ठ मित्रता भएका जोडी विद्यार्थी कलेजको हाताबाट बाहिर निस्कने गर्छन् ।

माधवलाई यस्तो लाग्छ, विद्यार्थी शक्तिकै बलमा २०३६ साल आन्दोलन चर्किएको थियो र त्यसकै दवावमा जनमत संग्रह हुन सकेको हो । त्यस पछि २०४६ सालको प्रजातन्त्रमा कांग्रेस, एमाले सत्तामा मा आए । त्यसपछि पनि आम जनमानसको घरमा केही सुधार नभएको र अहिलेको लोकतान्त्रिक परिवर्तनमा पनि गरीब नेपालीको घरमा उल्लेख्य प्रगति आफूले नपाएको माधव सुनाउँछन् । माधवलाई अहिलेका विद्यार्थीहरुले टायर बाल्ने, ढुङ्गा हान्ने चरीत्र देखाएकोमा दुख लाग्छ ।

 जीवनमा आफ्नो उपलब्धिको कुरो सुनाउँदै उनी भन्छन्, “आफू घरबाट हिँडदा बेखर्ची थिएँ । जागिर खाएपछि धेरै वर्ष लाएर पहिलो चोटी शेयर संचय कोषबाट उन्नचालिस हजार गोप्य रुपमा निकाली दरबार मार्गको तत्कालिन एन.एम.बि फाइनान्स एकसय दश कित्ता र बैंक अफ काठमाडौंको एक सय असि कित्ता शेयर किनेर राखेर शेयर खेल्ने बेच्ने पनि गरेको थिएँ ।”

त्यसो हुँदाहुँदै आफनो र श्रीमतीको कमाईले उनले थानकोटस्थित सतुंगलमा तीनकोठाको पिलर भएको घर ठड्याएका छन् । २०७२ सालको भूकम्पले उनको कोशी पारिको घर भत्काएको र आफ्नो बूवा काठमाडौंमा आउन नचाहेको उनी दुखेसो पोख्छन् ।

दैनिकी ९ घण्टा कलेजको काम गर्ने माधव आफ्नो काम प्रति सन्तुष्ट छन् । घरबाट भागी काठमाडौंमा आफ्नो मेहेनतले पारिश्रमिक पाई र घर व्यवहार चलाउन पाएकोमा उनी खुशी छन् ।

कहिलकाँही सानैमा छाडेर आएको गाउँको मायाले साह्रै सताउँदा माधव गाउँ पनि पुग्छन् । तर व्यवहारले वाँधिएका माधवलाई कोशीको फाँटले भन्दा ज्यादा काठमाडौंको कोलाहलमय वातावरणले नै तानेर राख्छ । भन्छन्–‘ जति माया लागे पनि के गर्नु ? शंकरदेवको सेरोफेरोमा नै मेरो भाग्य बसेको रहेछ ।’ saralpatrika.com बाट साभार