हनुमानजी, हामीलाई माफ गर

स्वामिभक्ति नदेखाई कसैको काम नबन्ने भएपछि व्यवसायिक शीपवानहरू पनि हनुमान बन्न बाध्य भए । इञ्जिनीयर हनुमान, डाक्टर हनुमान, पत्रकार हनुमान, लेखापरीक्षक हनुमान, वकील हनुमान, पदयात्रा व्यवसायी हनुमान, होटल-रेस्टुराँ व्यवसायी हनुमान,  एनआरएन हनुमान, जग्गा व्यवसायी हनुमान, स्काउट हनुमान, रेडक्रस हनुमान, निजामति हनुमान… कत्ति हो कत्ति । 

 

 

२०४०-४५ तिर तत्कालीन पञ्चायतको अनुदार खेमाले युवाहरूको जमात तयार पारेको थियो रे  काँग्रेस-कम्युनिष्ट माथि खनिनका लागि। पञ्चायत पक्षधर विद्यार्थी सङ्गठनका पुछारमा रहेको “मण्डल” त्यसमा जोडियो र ति मण्डले कहलाए । हामीलाई माथिल्लो कक्षाका दाई दिदीले प्रशिक्षण दिँदा “मण्डले” भनेका जनताका सबै भन्दा ठूला दुष्मन हुन भनेका थिए । अनि मण्डले भनेको चाहिँ के हो ? भन्ने प्रश्नमा उत्तर आउँथ्यो सत्ताका हनुमान । अनि हनुमान नि ?  उत्तर थियोः आफ्ना मालिकको अन्धो भक्त ।

२०४६को परिवर्तन अघि नै त्यो “मण्डल”को देहावसान भैसकेको रैछ तर पञ्चायतका अन्धभक्त कायम रहे, काङ्ग्रेसका अन्धभक्त आए, कम्युनिष्टका अन्धभक्त आए । हामि पनि कुनैको भक्त भैयो, आफूले प्रतिबद्ध कार्यकर्ता हुँ भनियो, बिरोधीले “अन्ध-भक्त” अर्थात हनुमान भने ,  होला, हामीले पनि तिनलाई हनुमान नै भन्यौँ होला । थुप्रै काङ्ग्रेस, कम्युनिष्ट र पञ्चका अन्धभक्तहरू हाम्रा साथी बने, सङ्गै भेट्दा तिमि तपाइँ, कुरा काट्दा अर्को दलको हनुमानहरू ।

सत्तामा रहनेले सँधै आफू मात्र वैध दावेदार ठाने झैँ सत्ताधारीको संरक्षणमा हुर्किएर  शक्तिको प्रयोग गर्ने समूहले पनि आफ्नो वैध मा्लिकको पक्षपोषण गर्नु नैतिक, वैध र जिम्मेवारीपूर्ण काम ठान्ने भयो र बिरोधी ठीक त्यसको उल्टो ।

काँग्रेस पहिले देखि नै व्यक्तिपूजनबाट प्रभावित भएको हुँदा कुनै नेताको पूजन सहज मानियो तर मार्क्सवादी स्कूलिङ्गमा दिक्षितहरूले संस्था भित्रका आलोचनात्मक चेतलाई बन्धक राखी सत्ताको तावेदारी गर्नुलाई भित्र भित्रै खिसिट्युरी गर्ने चलन नेपालमा चल्यो । अझ कुनै नेताको अति नै चाकरी गर्नेहरूलाई हनुमानगिरीको नाम दिइयो ।  पार्टीहरू भित्र गुट, उपगुटहरूको उद्भव र विकास सङ्गै हनुमानगिरी अव पार्टीमा सिमित भएन, नेताको हनुमानगिरी सम्म पुग्यो ।

आफ्नो बिहान-बेलुका आरती गाउनेहरूले नै पार्टीका उच्च पद, लाभका पद र शक्ति प्रयोगका पद हत्याउन शुरु भएपछि हनुमानगिरी संस्थागत भयो । अहिले जुन दलका नेता भेट्यो दलभित्रको शक्तिशाली गुटका सञ्चालक र तिनका समर्थकलाई हनुमान भन्न थालेका छन । हुँदा हुँदा सत्ता पक्षमा गाइने गीत, भजन र लेखिने स्तुति सबैलाई एक मुष्ठ हनुमान चालीसा भन्न थालिएको छ ।

पार्टी र नेताका अन्धभक्तको जमात हामीले हेर्दा-हेर्दै कार्यकर्ता पङ्तिमा भन्दा बाहिर ठूलो बनिसकेको छ । जव देश राजनीतिकर्मीको “स्वामित्व”मा आयो वा राज्यको स्रोत सञ्चालनमा उनिहरूको वर्चश्व अकाट्य भयो, त्यसपछि त झन कत्ति जन्मे कत्ति त्यस्ता हनुमानहरू। कर्मचारी हनुमान, ठेकेदार हनुमान, अस्पताल साहु हनुमान, कलेज साहु हनुमान, प्लेन साहु हनुमान, गाडी साहु हनुमान कत्ति हो कत्ति ।

स्वामीभक्ति नदेखाई कसैको काम नबन्ने भएपछि व्यवासायिक शीपवानहरू पनि हनुमान नबनेर के गरून विचरा? इञ्जिनीयर हनुमान, डाक्टर हनुमान, पत्रकार हनुमान, लेखापरीक्षक हनुमान, वकील हनुमान, पदयात्रा व्यवसायी हनुमान, होटल-रेस्टुराँ व्यवसायी हनुमान,  एनआरएन हनुमान, जग्गा व्यवसायी हनुमान, स्काउट हनुमान, रेडक्रस हनुमान, निजमति हनुमान… कत्ति जन्मिए कत्ति ।

तिनका स्वामिले प्यानलमा नपारे कसैले आफ्नो पेशाको संस्थाकै चुनाव नजित्ने भएपछि हनुमान नभै धर ? पार्टीले एउटा नेता खटाइ दिन्छ इञ्जीनियरको होस कि डाक्टरको होस कि वकीलको होस कि पत्रकारको होस चुनावको  व्यवस्थापन गर्न । उसले प्यानलै लिएर बालुवाटार जान्छ, धुम्बाराही-सानेपा कता कता लैजानु पर्ने हो लैजान्छ, कसलाई स्वस्ति गर्नु पर्ने हो अह्राउँछ, स्वस्ति गराउँछ । अनि पेशा कर्मीको सङ्गठनले चुनाव जितेपछि स्वामिभक्तिमा बेमौसमको कॄतज्ञता छाप्छ पत्रिकामा लाखौँ खर्चेर ।

म आफूलाई अझै मान्छे कायम राख्न सकेको  भ्रममा पर्दै कहिले काहिँ  सोच्छु के देश हनुमानै हनुमानले भरिएको छ त ?  के हनुमान सांच्चै हनुमान थिए कि उनलाई हनुमान देखाइयो ?  हाम्रो जमातलाई हनुमान भन्दा हनुमानको अपमान भयो कि मान्छे को ?  हनुमानको आफ्नै नाममा जन्मेको कृति हनुमान चालीसा साँच्चै हनुमानगिरीको आधार-ग्रन्थ हो कि त्यसले हनुमानको अर्कै चित्र कोरेको छ ?  मलाई हनुमान चिन्तनमा घोत्लिन मन लाग्यो ।

हनुमान-स्मृति ग्रन्थ जस्तै मानिने हनुमान चालीसा नपढि भएन भनेर हनुमान चालीसा पढ्दा त हनुमान आफैँ गैर-हनुमान जस्तै पो पाएँ । कवि तुलसीदासले  चालीस वटा श्लोकमा रचना गरेका हुनाले “चालीसा” भनिएको रैछ । त्यसको पहिलो श्लोकनै गैर-हनुमानी रैछ:

 

जय हनुमान ज्ञान गुन सागर।

जय कपीस तिहुं लोक उजागर।।

 

तिम्रो ज्ञान-गुन यति धेरै छ कि तीनै लोकमा छर्लङ्ग छ भन्ने अर्थ दिने यो हनुमान चालीसा त हनुमानमाथि नै हनुमानगिरी गरे जस्तो पो देखिने रैछ, हनुमानलाई हनुमान बनाउने भन्दा ।

हामीले अहिले जसलाई हनुमान भन्छौँ तिनमा “गुन”लगाउने क्षमता होला तर ज्ञान बाँड्ने क्षमता देखिन्न, आफ्ना स्वामीलाई सुझाव दिने क्षमता देखिन्न । हनुमान चालीसामा हनुमानको शारीरिक शक्ति मात्रै होइन उनको बौद्धिकता र वहादुरीको बर्णन समेत छ । हनुमान गर्जिँदा तीनै लोक काँप्छन, हनुमानको शक्ति नियन्त्रण गर्न हनुमान आफैँ  बाहेक कसैले सक्दैन भनेर बहादुरी वर्णित छ तर सङ्ग सङ्गै  भगवान रामले समेत  हनुमानलाई तिम्रो महिमा शेष नाग बाहेक अरूले गाउन सक्दैनन भनेको प्रसङ्ग समेत छ । विभिषणले हनुमानकै सुझाव मानेकाले लङ्काको राजा हुन सकेको उदाहरण दिँदै  हनुमान एक भद्र आचरण र तिक्ष्ण बुद्धि भएका चतुर व्यक्ति थिए र सदा श्री रामको सेवामा समर्पित थिए भनेर उल्लेख गरिएको छ ।  बुद्धि हुने सवै मालिक नै हुन्छन भन्ने छैन र सेवकको रुपमा बुद्धि हुनेलाई समेत राख्न सकिन्छ भन्ने स्पष्ट सन्देश रैछ ।

त्यसैले हामी जसलाई हनुमानको नाम दिँदै छौँ वा कसैका हनुमान भएका छौँ  त्यसले हनुमानको गलत चित्रण भएको रहेछ । वास्तवमा हनुमान हाम्रो दिमागको हनुमान जस्तो देखिन्नन,  हनुमान चालीसामा ।   उनी मालिकले हुने नहुने सबै हर्कत गर्दा छेऊमा बसेर गोकुल धुप बालेर बस्ने भक्त थिएनन । मालिकको खिसिट्युरी गरेर मान्छे हाँस्दा “प्रभुको छहारीमा बस्न पाएर प्रसन्न भएर हाँसेका” भनेर जाहेरी गर्ने सेवक थिएनन उनी।

जैविक वावु केशरी र आध्यात्मिक वावु वायुका पुत्र आफैँमा अद्भुत प्राणी थिए उनी। सूर्यकि छोरी सुवर्चला सङ्ग विहे गरेपनि उनी बाल ब्रह्मचारी थिए र उनकी श्रीमति पनि ब्रह्मचारिणी, छोरा समेत संभोग मार्फत नभै समुद्रमा चुहिएको बीज मार्फत जन्मिए  ।  आधा वानर र आधा मान्छे भएका उनी लामो चिउँडोका कारण “हनुमन्त” (हनु+मन्त ) भए ।

उनको सेवा स्वार्थी थिएन, उनको जिविका गिट्टि ढुङ्गाको व्यापारमा सेटिङ्ग मिलाइदिएर चलेको थिएन, कसैको सरुवा, बढुवा र नियुक्तिको सेटिङ्ग मिलाइदिएर चलेको थिएन, कसैको ठेक्का-पट्टा मिलाइ दिएर चलेको थिएन  । उनले आफ्ना मालिकको घर झगडा गराएर कुनैको नजीक भएर स्वार्थ पूरा गरेरन। घर भित्र गुटको प्रबर्द्धन गरेर गुट फेरि फेरि आफ्नो स्वार्थ पूरा गरेनन, आफ्नो मालीककि भार्यालाई आमा माने । सम्पत्ति र सत्ता उनको कहिल्यै रोजाईमा परेन ।

यस्ता अलौकिक प्राणीलाई आज हामी कस्ता प्राणी सङ्ग तुलना गर्दैछौँ ।  उनको नाम आजका “हनुमान’ सङ्ग जोड्दा उनलाई कत्ति चित्त दुःखेको होला ।

त्यसैले हनुमान जी, हामीलाई माफ गर तिम्रो नामको दुरुपयोगका लागि ।c