हिउँमा रमणीय बनेको कालिन्चोक

 

 

दोलखाका उच्च पहाडी क्षेत्रमा हिमपात, पर्यटकको घुइँचो 

 

शम्भु गौतम
दोलखा, ९ माघ : दोलखाका उच्च पहाडी भेगहरुमा भारी हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको छ । यससँगै दोलखाको चरिकोट, कालिन्चोक लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

आज रातीदेखि सदरमुकाम चरिकोटमा वर्षा हुुनुको साथै कालिन्चोक, शैलुङ, जिरी, चेर्दुङ, खावा, खरिढुङ्गा लगायतका क्षेत्रका भारी हिमपात भएको छ । यो हिमपात यो वर्षकै सबैभन्दा बढी हो ।

हिमपातका कारण सदरमुकाम चरिकोट लगायतका ठाउँहरुमा चिसो निकै बढेको छ भने पर्यटकहरुको घुइँचो पनि त्यत्तिकै बढेको छ । कालिन्चोकस्थित होटल सुनपातीका सञ्चालक हरि ओली कालिन्चोकमा आज पर्यटकहरुको निकै घुइँचो लागेको बताउँछन् । उनले कालिन्चोकमा प्रायः होटलहरु भरिएको तैपनि पर्यटकहरु आउने क्रम नरोकिएको बताए । उनले शुक्रवारसम्मलाई होटक बुक भैसकेको बताए । तर भारी हिमपातका कारण कालिन्चोक जाने पर्यटकहरु करिब ७ किलोमिटरको बाटो पैदल हिँड्नुपर्ने अवस्था रहेको ओलीले बताए । गैरीभन्दा अझ तलसम्म भारी हिमपात भएपछि कालिन्चोक जाने पर्यटकहरुलाई हिँड्नुपर्ने बाध्यता भएको हो ।