लोकतन्त्र दिवस नेपालको  गणतन्त्रको जग

 

बैशाख १२ गतेको खुलामन्चको सभामा अधिकारकर्मी कृष्ण पहाडी ।

 

सदृष्य सम्वाददाता, काठमाडौँ, ११ वैशाखः आज ११ वैशाख गते देशमा लोकतन्त्र स्थापनाको १३ औं वर्षगांठ । आज देशभर लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

 

 

जनआन्दोलनको दवावको कारण तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत सात राजनीतिक दलको माग विपरित बैसाख ८ गते ‘जनताको नासो जनतालाई फिर्ता’ गरेको धोषणा गरेका थिए । तर नागरिक आन्दोलन र आन्दोलनरत जनताले ‘राजाको धोषणा नासो होइन पासो हो’ भन्दै त्यसलाई खारेज गरेका थिए ।

 

 

जनताकै दवावमा भारतसमेतको दवावलाई वेवास्ता गर्दै जनआन्दोलन जारी राखे । सात राजनीतिक दलको मागबमोजिम विसं २०५९ जेठ ८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गर्नको लागि विघटन गरेको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।

 

देउवा सरकारले संसद् विघटन गरेपछि सशस्त्र द्वन्द्वका कारण तोकिएको समयमा निर्वाचन गर्न सकेन । त्यसैलाई आधार मानेर राजा ज्ञानेन्द्रले ‘अक्षम’ भन्दै प्रधानमन्त्री देउवालाई असोज १८, २०५९ मा हटाए ।

 

 

त्यसपछि राजा ज्ञानेन्द्रले इच्छा लागेकालाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चलाए । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । देउवाले ‘गोर्खाली राजाबाट न्याय पाँए’ समेत भने । उनलाई विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए । डा. तुलसी गिरी र किर्तीनिधी बिष्टलाई मन्त्री परिषदको उपाध्यक्ष बनाएर आफैले शासन गरे ।

 

 

यसपछि आन्दोलनरत सात दल र तत्कालिन सशस्त्र युद्धरत नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भयो । २०६२ मंसिर ७ गते १२ बुँदे समझदारी भएपछि तीन ध्रुवमा विभाजित नेपालका राजनीतिक शक्ति दुई ध्रुवमा परिवर्तन भए । यसैवीच डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीलगायतका नेतृत्वमा ‘लोकतन्त्र र शान्तीका लागि नागरिक आन्दोलन’ले व्यापक जनपरिचालनपछि जनआन्दोलनले गति लियो ।

 

 

विसं २०६२ फागुन ७ गते देखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा मात्र गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । देशभरमा लाखौ लाख जनता सडकमा आए । काठमाण्डौको चक्रपथ जनसागरले घेरेपछि राजा ज्ञानेन्द्र हच्किए । यसैवीचमा भारत सरकारका विशेष दुतको रुपमा डा. करण सिंह नेपाल आए । बैसाख ८ गते राजाले प्रजातन्त्र फिर्ता गर्ने धोषणा गरे । नेपालका केहि राजनीतिक दल र पत्रकारले यसबाट प्रजातन्त्र आएको भनेर भ्रम पनि सिर्जना गर्न खोजे । तर, जनता सडकबाट फर्किन मानेनन । उल्टै सात राजनीतिक दलका नेताहरुलाई जनआन्दोलनको भावनाविपरित राजासंग सम्झौता नगर्न खवरदारी गरे ।

 

यसैको परिणाम आन्दोलन अझै चर्कदै गयो । सात दलको मार्ग्चित्रमा राजा ज्ञानेन्द्र सहमत हुन बाध्य भए । जनआन्दोलनको सडकबाट नेतृत्व गरिहेका सात राजनीतिक दलले तयार पारेको मस्यौदाको धोषणाबमोजिम नै राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापना भएको घोषणा गरे । उनले उक्त संसदको बैठक जेढ २ का लागि समेत आह्वान गरे । यसैले बैसाख ११ का दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

 

विसं २०६३ जेठ ४ गते बसेको पुनःस्थापित प्रतिनिधिसभाको वैठकले राजाको व्यापक अधिकार कटौती ग¥यो । साथै त्यसै बैठकले सशस्त्र विद्रोहरत नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर द्वन्द्व समाधान गर्नको लागि संविधानसभाको निर्वाचन गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । उक्त धोषणालाई कसकसैैले ‘नेपाली म्याग्नाकार्टा पनि’ नामसमेत दिएका थिए ।

 

उक्त संसदको संकल्प प्रस्तावबमोजिम माओवादीसंग शान्ती सम्झौता भयो । उक्त शान्ती सम्झौता बमोजिक २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भयो । उक्त अन्तरिम संविधान वमोजिम माओवादीसहितको अन्तरिम संसद गठन भयो । माओवादीसहितको सरकार गठन भयो । उक्त सरकारले अनेकन संसयका वीचमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो ।

 

उक्त पहिलो संविधान सभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो इतिहास भएको नेपालको राजतन्त्रको शान्तिपूर्ण र विधिवत् अन्त्य ग¥यो ।

 

 

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि फेरी विसं २०७० मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भयो । उक्त संविधानसभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो ।

 

 

नेपालको संविधानवमोजिम गत बर्ष तीनै तहको निर्वाचन सम्पन्न भइसकेको छ । उक्त निर्वाचनले निर्वाचित गरेका संघीय, प्रादेशिक र स्थानीय सरकारले सत्ता सञ्चालन गरिहरेका छन् । सत्य निरुपण तथा वेपत्ता छानविनवाहेकका शान्ति प्रक्रियाका बाँकी सवै कार्य पुरा भएका छन ।

 

 

गएको १२ बर्षयता भएका राजनीतिक परिवर्तनहरुको प्रस्थानविन्दु वैशाख ११ गते भएकोले यसलाई लोकतन्त्र दिवसको रुपमा हरेक लोकतन्त्रवादी मनाउने गर्छन । सदृष्य परिवार सवै नेपाली नागरिकलाई लोकतन्त्र दिवसको हार्दिक शुभकामना ।