बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका छन् ।

बार्साले टोलीमा ६ जना स्ट्राइकर राख्ने रणनीति बनाएकोमा ग्रिजमान आएसँगै उक्त कोटा पुरा भएको उनले बताएका छन् ।

ग्रिजमानलाई १ सय २० मिलियन युरो तिर्दै एट्लेटिको मेड्रिडबाट बार्सामा भित्र्याउन सफल भएको छ । लियोनल मेस्सी, लुइस स्वारेज, उस्मान देम्बेले, फिलिप कौटिन्हो र मेल्कम रहेको टोलीमा ग्रिजमान पनि थपिएकोले स्ट्राइकरको आवश्यकता पुरा भएको बताईएको छ ।

यी मध्ये कुनै खेलाडीलाई बार्साले बेचेमा नेमारको लागि ठाउँ खाली हुने बताईन्छ । यसअघि बार्साले कौटिन्होलाई बेच्न चाहेको बताएको थियो । त्यस्तै बार्साले पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई उस्मान देम्बेले, फिलिप कौटिन्हो लिँदै ४० मिलियन युरो नगदमा नेमारलाई स्थानान्तरण गर्न प्रस्ताव गरेको थियो ।

बार्साबाटै २ सय २२ मिलियन युरो तिरेर किनिएका नेमारको लागि उक्त प्रस्ताव फितलो भएको भन्दै पीएसजीले यसलाई तिरस्कार गरिसकेको बताईएको छ ।
त्यस्तै पीएसजीको खेल निर्देशक लियोनार्दोले पनि नेमारको लागि कुनै पक्का प्रस्ताव नआएको बताएका छन् ।

नेमारले बार्सामा नभए युभेन्टसमा जाने चर्चा चलेपनी ती क्लबबाट अहिलेसम्म प्रस्ताव नआएको बताउँदै लियोनार्दोले भने, ‘इमान्दारीसाथ भन्नुपर्दा अहिलेसम्म नेमारको विषयमा कुनै बलियो प्रस्ताव आएको छैन । उनी अहिलेसम्म पीएसजीकै खेलाडी हुन् । ’

यसअघि नेमारले पीएसजीका अध्यक्षसँग भेट्दै आफुलाई क्लबमा बस्न मन नलागेको बताइसकेका छन् । यसको लागि सहज वातावरण बनाउन आग्रह गरेका उनी केहि प्रशिक्षणमा सहभागि नभएपछि उनी विवादमा परेका थिए ।- सरल पत्रिकाबाट साभार