कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ । 
सन् २०२० को अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने उक्त प्रतियोगितामा पुग्न नेपालले यो संस्करणमा घुमाउरो बाटो पछ्याउनु परेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपमा पुग्न तीन चरणको छनौट प्रतियोगिता पार गर्नुपर्ने नियम ल्याएको छ । यसले धेरै राष्ट्रलाई विश्वकप खेल्ने सम्भावना दिएको भएपनि नेपाल जस्तो उच्च वरियतामा रहेको टोलीले तल्लो वरियतामा रहेका टोलीसँग छनौट प्रतियोगिता पुग्नको लागि भिड्नुपर्ने नियम असहज देखिएको छ । 

झट्ट हेर्दा यो न्यायोचित नदेखिएपनि यो स्वरुपले नेपाललाई केहि अतिरिक्त खेलहरु खेल्ने अवसर भने दिइरहेको छ । यसमा नेपाली क्रिकेट वृत्तले खुशी मान्नु उपयुक्त हुने विश्लेषण भइरहेको छ । 

नेपालले यसअघि मलेसियामा आयोजना भएको पूर्वी एसियाली क्षेत्रको छनौट प्रतियोगितामा पहिलो स्थान हातपार्दै यस एसियाली छनौटमा स्थान बनाएको थियो । उक्त प्रतियोगितामा नेपालले अन्य टोलीलाई सहजै हराएपनि सिंगापुरले नेपाललाई बलियो चुनौति दिएको थियो । वर्षाले रद्द भएको उक्त खेलबाट दुबै टोलीले बराबरी अंक हात पार्दै नेपाल, सिंगापुर र मलेसियाले यस छनौट प्रतियोगितामा स्थान बनाएका थिए । 

त्यस्तै अहिलेको प्रतियोगितामा एसियाको पश्चिम उप–क्षेत्रबाट छानिएका दुई बलिया टोली कतार र कुवेत पनि रहेका छन् । वरियतामा नेपाल यी टोलीहरुभन्दा माथि रहेपनि चारै टोलीले नेपाललाई बलियो चुनौती दिने पक्का छ । मलेसिया बाहेकका टोलीमा विदेशी खेलाडीको बाहुल्य रहेको कारण पनि यी टोलीहरु विगतभन्दा बलियो हुँदै आएको आँकडामा स्पष्ट देखिन्छ । 

यस प्रतियोगिताको तयारी स्वरुप मलेसियासँग दुई खेलको सिरिज खेल्ने क्रममा नेपालले ठूलो चुनौती समाना गरेको थियो । पहिलो खेलमा नेपालले सहजै जितेपनि दोश्रो खेलमा नेपाल र मलेसियाको खेल अति प्रतिस्पर्धात्मक भएको थियो । 

यस प्रतियोगितामा खेल्ने अन्य टोलीमा पनि क्षमतावान् रहेको नेपाली टोलीका कप्तान पारस खड्का स्वीकार्छन् । उनले अन्य टोली पनि बलियो रहेकोले नेपालको हरेक खेल चुनौतिपूर्ण हुने बताएका छन् । टी–२० स्वरुपमा एक दुईजना खेलाडीले राम्रो प्रदर्शन गर्नासाथ खेलको मोड नै परिवर्तन हुने भएकाले हरेक टोलीको उत्तिकै सम्भावना रहेको उनको कथन छ । 

मलेसिया तथा कतारले नेपाललाई यसअघि टी–२० खेलमा हराइसकेका छन् । त्यस्तै कुवेतले पनि नेपाललाई ५० ओभरको खेलमा हराइसकेको   छ । आयोजक राष्ट्र सिंगापुरले टोलीमा नयाँ खेलाडीहरुलाई मौका दिँदै बलियो टोली मैदानमा उतारेको छ । पहिलो खेलमा नै कतार विरुद्ध शानदार ब्याटिङ र बलिङ गर्दै सिंगापुरले प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरिसकेको छ । 

यस्तोमा नेपालको लागि यो प्रतियोगिता सहज भने छैन । यद्यपी नेपाललाई हरेक खेल जित्नुको विकल्प पनि छैन । कप्तान पारसले नेपाली टोलीमा मेहनती र दृढ खेलाडी रहेको तथा उत्साही समर्थक रहेकोले पनि अर्को चरणमा पुग्न सक्ने क्षमता रहेको दाबी गरेका छन् । उनले नेपाली क्रिकेटले पाएको समर्थन अद्भुत रहेको पनि बताएका छन् । 

पछिल्लो समय पूर्णकालीन प्रशिक्षकको रुपमा उमेश पटवाललाई भित्र्याएको नेपाली टोली करिब एक महिनादेखि निरन्तर अभ्यासमा छ । मेहनती प्रशिक्षकको रुपमा चिनिएका पटवालले नेपाली टोलीको कमजोरी पत्ता लगाइ त्यसमा काम गरिरहेको बताएका थिए । 

उनकै सल्लाह अनुसार सिंगापुरजस्तै मौसम तथा खेल परिवेश रहेको मलेसियामा अभ्यास खेल तथा १० दिने विशेष प्रशिक्षण गरेको नेपालले सम्भव भएको सम्पूर्ण तयारी पनि गरेको छ । 

यस प्रतियोगिताबाट एउटा मात्र टोली युएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनौट हुने भएकोले पनि नेपाल दबावमा रहेको छ । एक खेलमात्र हार्दा पनि नेपालको सम्भावनालाई धक्का लाग्न सक्ने सम्भावना रहेकोले अन्य टोलीको तुलनामा नेपाल बढि दबावमा रहेको छ । 

विश्वकपमा पुग्न नेपालले यो भन्दा कठिन चुनौति पार गर्नुपर्ने  छ । यस प्रतियोगिताको विजेता भइ ग्लोबल क्वालिफायरमा पुगेपनि त्यहाँ अब्बल १४ राष्ट्र सम्मिलिन प्रतियोगितामा शीर्ष चारमा पर्न सकेमात्र नेपालले विश्वकप खेल्न सक्नेछ । विश्वकपको यो यात्रा कठिन तथा उच्च प्रतिस्पर्धात्मक रहेको स्पष्ट छ । 

यद्यपी प्रशिक्षक पटवालले भने नेपालले अहिलेको प्रतियोगितालाई मात्र ध्यान दिएको बताएका छन् । करिब ३ महिनापछि हुने उक्त प्रतियोगितामा छनौट भएपछि मात्र त्यसको योजना बनाउने कुरामा प्रशिक्षक पटवाल र कप्तान पारसको एकमत रहेको छ ।

नेपालले पहिलो खेल मंगलबार अर्थात् भोलि बिहान ७ः१५ मा कतार विरुद्ध खेल्ने तालिका छ । त्यस्तै दोश्रो खेल मलेसिया विरुद्ध बुधबार, कुवेत विरुद्ध शनिबार र सिंगापुर विरुद्ध आइतबार खेल्ने तालिका रहेको छ । 

यस प्रतियोगिताको उपाधि जितेमा नेपाल विश्वकप पुग्ने यात्रामा एक कदम अघि बढ्नेछ । पछिल्लो समय टोलीमा केहि नयाँ अनुहारहरुका साथ विश्व चर्चित स्पीनर सन्दीप लामिछाने पनि रहेकोले नेपालले अरु टोलीको लागि पनि ठूलो चुनौति रहेको विश्लेषण भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा अनुभव र क्षमताको आधारमा नेपाललाई नै प्रतियोगिताको दाबेदारको रुपमा चित्रित गरिएको छ । – सरल पत्रिकाबाट साभार