वैकल्पिक माध्यमबाट पठनपाठन शुरु


बैतडी : यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो ।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो ।

आजदेखि हरेक दिन साँझ ६ः१५ बजेदेखि ७ः०० बजेसम्म र बिहान ८ः३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुने छ । एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८ः३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ । एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ ।

रेडियो शिक्षा कार्यक्रमबाट कोर्सको पढाइ हुने भएकाले विद्यार्थीलाई रेडियो सुनेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन आग्रह गरिएको छ । रेडियो शिक्षा कार्यक्रममा विज्ञान विषयको कोर्स आजदेखि पढाउने भएकाले आज कक्षा १० को विज्ञान विषयको पढाइ भएको रोस्टर शिक्षक गजराज भट्टले जानकारी दिनुभयो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीअन्र्तगत रेडियो शिक्षा कार्यक्रमका विषयमा तालीमसमेत दिइएको थियो । विद्यार्थीहरु लामो समयदेखि घरमै बस्न बाध्य भएका र उनीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्नका लागि वैकल्पिक पठनपाठनको शुरु गरिएको हो ।

गत चैतदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठन विद्यार्थीका लागि उपयोगी हुने मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन शुरु गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । – रासस