गुड्न थाले साझाका बस

काठमाडौं, साउन १ : साझा यातायातले काठमाडौंमा बस सञ्चालन गरेको छ। बिहीबारदेखि काठमाडौंका आठ रुटमा साझाका बस गुड्न थालेका हुन्।

लकडाउन खुकुलो भएसँगै सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरिएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। अहिले साझाले आठ रुटमा २६ बस सञ्चालन गरेको छ।

यात्रुको चाप हेरेर बस थप्न सकिने उनको भनाइ छ। केही दिनभने २६ वटा बस नै सञ्चालन गरिनेछन्।

आजदेखि सञ्चालन गरेका बस भाडा भने ५० प्रतिशत बृद्धि गरिएको छ। सरकारले तोकेअनुसार नै ५० प्रतिशत बढाइएको पाण्डेयले बताए।

साझा बस चालक र सहचालकलाई फेस सिल्ड लगाइएको छ। त्यस्तै, यात्रुलाई अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ।

सरकारले लकडाउन खुकुलो भएसँगै सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेको थियो। तर, यातायात व्यवसायीले सुरक्षाको व्यवस्था गर्न माग गर्दै बस सञ्चालन गरेका छैनन्।

‘कोभिड– १९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाइएको बन्दाबन्दीपछि सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गरेपछि बिहीबारबाट पुुलचोकस्थित साझा यातायातले बसमा सेनिटाइज गर्दै । तस्वीर : रोशन सापकोटा/रासस


‘कोभिड– १९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाइएको बन्दाबन्दीपछि सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गरेपछि बिहीबारबाट गुुडेको साझा यातायात बसमा यात्रुु । तस्वीर : रोशन सापकोटा/रासस