उसको सपना

-भागवत खनाल

सपनीमा ऊ

द्रौपदीको छैटौं पति हो

जालन्धरलाई बेहोस पारी बृन्दा भेट्छ

ब्रह्माको कामुकतामा रुष्ट हुन्छ

सुकरातसँगै हेमलक पान गर्छ

 प्लेटोसँग वार्ता गर्छ

अरस्तुलाई तर्कमा हराउँछ

 सपनीमा ऊ दक्षको यज्ञ ध्वस्त गर्छ

अहङ्कारी शासकको टाउको झिकेर

बोकाको टाउको जोडिदिन्छ ऊ

समुद्रमन्थनबाट निस्केकी युवतीमा  बेहोस हुन्छ

ऊ पार्वती विवाह गर्ने शिवको जन्ती हो

पार्वतीका  दासीमा आँखा झिम्क्याउँछ

नवराजलाई पर्ने चिट्ठा मलाई किन परेन  प्रभु ?

क्रोधित हुन्छ ऊ

कहिले ऊ चन्द्रावती जस्तै मैमत्त हुन्छ

कहिले कुन्ती बनेर नवजात शिशु बगाउँछ

ऊ कामोन्मादमा

कहिले ययाती त कहिले शन्तनु बन्छ

उसले  व्यासको प्रतिभाको डाह गरेको छ

देवकोटाको पागल कविता मेरै हो भनेको छ

शेक्स्पियर उसको दाइ बनेर आउँदा

सँगै नाटक खेलेको छ

ऊ दुर्योधनको पक्षमा कर्ण बन्छ कहिले

कहिले बिदुर बनेर हितोपदेश दिन्छ

कहिले भीष्म बनी

आफ्नै भावावेशको प्रतिज्ञा सम्झेर पश्चाताप गर्छ

ऊ  गुरु द्रोणलाई दुत्कार्छ  एकलव्यलाई प्रणाम

सपनीमा ऊ शम्बूकलाई मार्ने रामलाई

अविरल प्रश्न गर्छ

उसलाई दाजुको बलि चढ्ने  दु:शासनमा टीठ  लाग्छ

 विभीषणसँग रिस उठ्छ

अभिमन्युकी उत्तरामा दया लाग्छ गान्धारीको माया

उसलाई युवती दाइजो दिने जनकसँग

कुस्ती खेल्न मन लाग्छ

 ऊ हनुमानमा करुण हुन्छ

बालिमा पछुतो

बलराम विवश लाग्छ कृष्ण बाठो

युधिष्ठिर बनावटी दुर्योधन वास्तविक

ऊ क्षीरसागरमा सर्पमाथि सयन गर्छ कहिले

महादेव बनेर सतीदेवीको देह बोक्छ

तक्षक बनी धूर्त शासकलाई टोकिदिन्छ ऊ

फेरि परीक्षित बनेर भागवत सुन्छ

कहिले जन्मेजय बनी अन्यायी सर्पहरुको

सर्वनाश गर्छ

ऊ सिंहदरबारको सिंहमाथि आरुढ हुन्छ

धरहराको  थाप्लोमा चढेर अहड्ढार गर्छ

कहिले ऊ आकाशतर्फ अनन्तको अध्ययन गर्छ

कहिले पूर्णिमाको जूनलाई

रातभरि नियालिरहन्छ

ऊ नारायण गोपाल हो सपनाको

ऊ गोर्की हो लुसुन हो सम हो

ऊ आइन्स्टाइन हो एडिसन हो

ऊ सगरमाथा हो धौलागिरी हो सपनीको

हो ऊ लुम्बिनीको शिशु सिद्धार्थ हो

वृन्दावनको मुरलीधर