दोलखा भीमेश्वरमा क्षमापूजा – हेरौं तस्विरहरु

दोलखा, असार ११:प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । भीमेश्वरको शिलामा करिब डेढ महिनाअघि पसिना आएकोले आज क्षमापूजा गरिएको हो ।

विश्वव्यापी कोरोना महामारीका कारण जिल्लाका मठमन्दिरहरु बन्द रहेका बेला सुरक्षा मापदण्ड अपनाउँदै सीमित मानिसहरुको सहभागितामा क्षमापूजा गरिएको छ । भीमेश्वरको शिलामा यही बैशाख २५ गते पसिना आएको थियो ।

भीमेश्वरको शिलामा पसिना आएपछि त्यो पसिना पुछिएको कपास महाप्रसादको रुपमा राष्ट्रपति कार्यालय पठाइने र राष्ट्रपति कार्यालयबाट क्षमापूजा पठाउने प्रचलन छ । यो प्रचलन अनुसार राष्ट्रपति कार्यालयबाट क्षमापूजा पठाइएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आज विधिपूर्वक क्षमापूजा गरेका छन् ।



प्रमुख जिल्ला अधिकारी घिमिरेसँगै भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले समेत विधिपूर्वक क्षमापूजा गरेको छ । क्षमापूजाको क्रममा सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारी, तारादल गणका सेनानी कर्ण मोक्तान, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सशस्त्र प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जन, प्रमुख अनुसन्धान अधिकृत, प्रनाउ राजन शर्मा, भीमेश्वर २ का अध्यक्ष तथा गुठियार विराज श्रेष्ठ, भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायतले क्षमापूजा गरेका थिए । रुद्री पाठ र दुई वटा बोकाको बलि दिएर क्षमापूजा गरिएको हो ।

भीमेश्वरलाई पसिना आउनुलाई राष्ट्रमा हुने ठुलो परिवर्तन वा अनिष्टको पूर्वसङ्केत मानिन्छ । क्षमापूजा गरेपछि सङ्कट टर्ने जनविश्वास रहेको छ ।

क्षमापूजा गरिएपछिको महाप्रसाद पनि राष्ट्रपति कार्यालय पठाउनुपर्ने प्रचलन छ । भोलि महाप्रसाद राष्ट्रपति कार्यालय पठाइने दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएका छन् ।