प्रम शेर बहादुर देउबालाई विनम्र अनुरोध

तपाईंलाई ह्वास्ल्याङे पनि भन्छन् । सुर ताल मिलाउन नसक्ने पनि भन्छन् । यो तपाईं सोझो मान्छे हो भन्न खोजिएको पनि हो । सोझो हुनु राम्रो हुनु हो, तर सोझोपनको फाइदा उठाउन कसैलाई दिनु भएन । चेतनशील हुनुहोला, ख्याल गर्नुहोला ।


-भागवत खनाल

प्रमज्यू नमस्कार

सर्वप्रथम म यहाँलाई हार्दिक शुभकामना दिन चाहन्छु । प्रम पद यहाँका लागि कुनै नौलो र अपरिचित होइन । यो पटक यहाँ प्रम हुन लालायित नभएको र परिस्थितिले प्राप्त भएको हुँदा यहाँ  साह्रै प्रफुल्ल हुनुहुन्छ जस्तो पनि  लाग्दैन । त्यसैकारण मैले बधाई नभनेर शुभकामना मात्र भनेको हुँ ।

प्रमज्यू ,

गत निर्वाचनमा यहाँले सरकारमा जाने जनादेश पाउनुभएको थिएन । अहिले यहाँले पाएको अवसर त छिमेकीले आफ्नो बोझ आफै धान्न नसक्दाको परिणाम मात्र हो । ख्याल गर्नुहोला ।

यहाँ बस्ने कुर्सी भौतिक रुपमा नरम भए तापनि त्यसमा धेरै सुरिला काँढा छन् । तपाईंले लाउन पाएको अर्धानो कोट तपाईंको आफ्नो आर्जन होइन । त्यो त लुचालुछ गर्दागर्दै फुटेका दाजुभाइले फुत्त तपाईंतिर फालेको मात्र हो । ख्याल गर्नुहोला ।

तपाईं लोकतान्त्रिक आन्दोलन र उदारवादको जगबाट उठेको नेता हो । तर सत्ताको इतिहासमा तपाईंको व्यावहारिक छवि उज्यालो नभएका कुरा पनि छन् । यो छवि सफा गर्ने सुनौलो मौका हो । ख्याल राख्नुहोला।

सत्ताको बाटोमा शूल बिछ्याइएका  हुन्छन्, सत्ताको चकाचौधले गर्दा घोचेको ख्याल नभएको मात्र हो । ख्याल गर्नुहोला ।

धेरै वर्षअघिको कुरा हो । तपाईं पदका लागि बडो कष्ट  एवं  शास्ति भोगेर र अनेक सम्झौता गरेर प्रम हुनुभयो । तपाईंको पालामा केही पात्रहरूका लागि पजेरो प्राडोको भन्सार माफ गरियो । सयौंले त्यो सुविधा लिए, तर बदनामी तपाईंको भयो । पुरुष सांसद सुत्केरी भए रे, बदनाम तपाईं हुनुभयो । अहिले पल्लाघरेको भाग्य तपाईंको छप्परमा झरेको छ । कसैलाई पनि राज्यको सम्पत्ति नपोस्नुहोला । ख्याल गर्नुहोला ।

तपाईंलाई ह्वास्ल्याङे पनि भन्छन् । सुर ताल मिलाउन नसक्ने पनि भन्छन् । यो तपाईं सोझो मान्छे हो भन्न खोजिएको पनि हो । सोझो हुनु राम्रो हुनु हो, तर सोझोपनको फाइदा उठाउन कसैलाई दिनु भएन । चेतनशील हुनुहोला, ख्याल गर्नुहोला ।

तपाईं गफ लाउन जान्नुहुन्न, ठूलो गुण हो । तर तपाईंका भाइबैना, परिवार, नाताकुटुम्ब, मन्त्रीगण, सल्लाहकार आदि सबैलाई गफ चुट्दै नहिड्न भन्नुहोला । ख्याल गर्नुहोला ।

कसैको बहकाउमा लागेर गर्न नसकिने कामको निर्णय नगर्नुहोला । देशका लागि प्राथमिक कुरा के हुन्, चिन्नुहोला । ख्याल गर्नुहोला ।

हिजोसम्म या भएन त्या भएन भन्न सजिलो थियो । आज आफै डाडु लिएर भान्सामा पस्नुभएको छ । भाँडो हेर्नुहोला । “तेरो डाडु मेरो मुख” भनेर आँ गर्नेहरुको घुइँचो’bout पूर्ण  जानकार हुनुहुन्छ । आफू फूलमा सुत्नका लागि साथीलाई थाङ्नामा सुताउनेहरुको कमी छैन । सचेत हुनुहोला ।

प्रशंसा गर्ने र फास्ल्याङफुस्लुङ पार्नेहरुबाट होसियार हुनुहोला ।

तपाईंको नजिक गएर गुणगान गाउने र हजुर हजुर गर्ने मात्र तपाईंका मान्छे होइनन् । तपाईंको आलोचना गर्ने, प्रश्न गर्ने, टाढैबाट समीक्षा गर्ने र खबरदारी गर्ने नै तपाईका सच्चा हितु हुन्  । आलोचना भयो भनेर दु:ख नमान्नुहोला । आलोचना गर्नेलाई खिसी नगर्नु नगराउनुहोला । सजग हुनुहोला ।

तपाइँका प्रत्येक पाइलाको निगरानी हुन्छ भन्ने बुझ्नुभएकै छ । वचन, वाणी, कर्म र व्यवहारले इमान कायम गर्ने बेला हो यो । कुनै पुरानो धब्बा छ भने पखाल्ने पनि यही मौकामा हो ।

 शिलान्यास, उद्धघाटन, भाषण, उडन्ते गफ जस्ता कुरामा भुलाउन खोज्नेहरुबाट सावधान रहनुहोला ।

संसदलाई बिजिनेस दिनुहोला । संसदमा भयानक बहस र आलोचना हुने बेला भयो अब । सबै सुन्नुहोला । सबै सुन्नुपर्छ , सम्भव भए जति गर्नुपर्छ । लोकतन्त्रमा सबैभन्दा सहनशीलता सरकारमा हुनुपर्छ र सरकारमा रहनेमध्ये  प्रधानमन्त्री सहनशील हुनुपर्छ  । होसियार हुनुहोला , तर धैर्य गरेर ।

अहङ्कार र दम्भ नदेखाउनुहोला । प्राप्त भएका सबै कुरा एक दिन गुम्छन् । व्यक्तिगत  कामनाहीन कर्तव्य गर्नुहोला । सतर्क हुनुहोला ।

 यस्तो नहोस् कि तपाईंका नजिक हुन खोज्नेले कर्मचारीसँग मिलेर या थर्काएर कुकाम गरुन् , गराउन् । समय सजिलो छैन प्रमज्यू । तपाईं लोकतन्त्रको जरोमा टेकेर उभिएको व्यक्ति भएको हुँदा यति लेखिएको हो । अझै कडा कुरा लेखिने र भनिनेछन्  । लोकतान्त्रिक पार्टीको प्रम भएको हुँदा तपाईंले जुनसुकै प्रश्न, सुझाव र आलोचनाको सम्मान गर्नुहुनेछ भन्ने विश्वास छ ।