साढे तिन लाख पर्ने विश्वकै महंगो साबुन

काठमाडौं । हामीले हात धुन या नुहाउन प्रयोग गर्ने सामान्य साबुन बजारमा पचास-साठी रुपैयाँमा पाउन सकिन्छ । तर, विश्वकै महंगो साबुनलाई कति पर्ला ?

उत्तरी लेबनानको शहर त्रिपोलीमा विश्वकै महंगो साबुन निर्माण हुन्छ, जसको मुल्य करीब साढे तिन लाख रुपैयाँ पर्छ । साबुन पनि चानचुने हैन, हिरा र सुन मिसाइएको ।

त्रिपोलीमा १५ औं शताब्दीदेखि साबुन बनाउँदै आएको एउटा परिवारले आफ्नो कारखानामा विश्वकै महंगो साबुन बनाउँदै आएको दावी गरेको छ, जुन साबुनको नाम ‘खान अल सबौन’ राखिएको छ ।

बदर हसन एन्ड संन्स कम्पनीले महंगो साबुन निकै विशिष्ठ व्यक्ति र खास अतिथिका लागि बनाउने गरेको जनाएको छ ।

यो कम्पनीले विभिन्न प्रकारका थुर्पै लग्जरी साबुन र स्कीनकेयर सामाग्री उत्पादन गर्दै आएको छ । आफ्ना उत्पादनमा प्राकृतिक तेलको उपयोग गर्ने भएकाले लोकप्रिय भएको कम्पनीको विश्वास छ । हातबाटै बनाइने यस्ता महंगा साबुन दुबईका केही विशेष पसलमा बेच्ने गरिन्छ ।

विश्वको महंगो साबुन सबैभन्दा पहिला सन् २०१३ मा बनाइएको थियो । त्यो साबुन त्यसबेला कतारकी प्रथम महिलालाई उपहार दिइएको थियो । विश्वकै महंगो साबुनमा हिरा र सुनको धुलो मिसाउने गरिएको कम्पनीले जनाएको छ ।

यस्तो साबुन सुरुमा चिजको टुक्राजस्तो देखिन्थ्यो । पछि यसको डिजाइन परिवर्तन गरियो । हालै भाइरल भएको एक भिडियोमा बदर हसन एन्ड सन्सका सिइओ आमिर हसनले बहराइनकी नायिका तथा इन्स्टाग्राम सुपरस्टार शैला सब्तसँग विश्वकै महंगो साबुन लन्च गरिरहेको देखिन्छ । त्यो साबुनमा २४ क्यारेट सुनको जलप लगाइएको छ ।