विज्ञानको दाबी, अब मरेका मानिस जीवित हुने

काठमाडौं । मानिसको युगौंदेखिको चाहना हो, अमर हुने । तर, विभिन्न जटीलताका कारण मानिसको यो सपना आजसम्म साकार हुन सकेको छैन । जन्मेपछि मर्नैपर्छ, मरेपछि भौतिक देह पनि पञ्चतत्वमै बिलिन हुन्छ । 

हालै वैज्ञानिकले एउटा चमत्कारको दाबा गरेका छन् । अब मानिसको अमरताको सपना पुरा हुने भएको छ । 

मान्छेलाई अमर बनाउन एक अमेरिकी कम्पनीले एउटा अदभूत योजना अघि सारेको छ । कम्पनीको दाबा के छ भने वैज्ञानिकहरु अब मानिसलाई मरेपछि पनि जीवितै राख्न  सक्छन् । यसका लागि वर्षैंसम्मको हिसाबले धेरै शुल्क तिर्नुपर्नेछ । 

अमेरिकाको एरिजोना राज्यको स्कट्सडेलमा स्थित एल्कोर फर्मको कार्यालय भवनभित्र १६८ जना मानिसको टाउको र शरीर छ, जसलाई ‘क्रायोनिक रुपबाट संरक्षण’ गरिएको छ । मृत्यु स्थायी हैन भन्ने आशाका साथ । 

एल्कोर लाइफ एक्सटेन्सन फाउन्डेशनमा राखिएका मृत शरीरमध्ये एकजना बेसबल लिजेन्ड टेड बिलियम्सको पनि छ । उनको टाउको र शरीरलाई फाउन्डेशनको कार्यालयमा ठूलो बेलनाकार स्टेनलेस स्टीलको टयाँकभित्र अलग्गै संग्रह गरिएको छ । 

सन् १९७२ मा क्यालिफोर्नियाबाट सुुरु भएको एल्कोर सन् १९९४ देखि एरिजोनामा संचालित छ । यो गैर नाफामुलक कार्यालयमा १६८ रोगी र ९० पालतू जनावरहरु विरालो, कूकूर, कछुवा राखिएको छ, जसको मृत्यु भइसकेको छ । अब यिनको शवलाई सब–जिरो तापक्रममा संरक्षण गरिएको छ । 

यी शवलाई पुनर्जिवित गर्ने अनुमति दिएमा उनीहरु एक दिन फेरी जीवित हुने एल्कोर अधिकारीहरुको दाबी छ । एल्कोर फर्मले क्रायोनिक्सको क्षेत्रमा आफुलाई अग्रणी कम्पनीका रुपमा अघि सारेको छ । यो प्रविधिबाट मृत्युपछि शरीरलाई फ्रिज गरिन्छ । यसरी फ्रीज गरिएको शवलाई कालान्तरमा जीवित गर्न सकिने वैज्ञानिकको दाबी छ । 

मानिस मरेपछि शवको मष्तिष्कमा तरल नाइट्रोजन भरेर फ्रिज गरिन्छ । यही शवलाई पछि केही विशेष प्रविधि अपनाएर जीवित पार्न सकिने आशा गरिएको छ । 

कम्पनीको यो योजनामा सहमत हुनेले एल्कोर फर्मलाई पुरै शरीर फ्रिज गर्न २ लाख डलर शुल्क तोकेको छ । एक पटक यो शुल्क तिरेपछि मृत शरीरको हरेक वर्ष संरक्षणका लागि ७ सय ५ डलर अतिरिक्त खर्च लाग्छ । 

यस कम्पनीका बेलायती सिइओ म्याक्स मोरले भने, ‘यो प्रकृया धेरै मानिसका लागि निकै लाभकारी छ । धेरैजसो मानिस सोच्छन् कि उनीहरुसँग २ लाख या ८० हजार डलर छैन भनेर । जब मैले यो योजना अपनाएँ, त्यतिबेला मसँग पैसा थिएन । हाम्रो टिमका धेरैले जीवन बीमाको पैसाबाट यो योजनाको शूल्क तिरे ।’

अल्कोर कम्पनीले अहिलेसम्म १३ सय ७९ सदस्य बनाइसकेको छ । यीमध्ये जिवित १२ सय ५० सदस्यले मृत्युपछि एल्कोरको थर्मसजस्तो टयाँकमा फ्रिज हुन कानूनी अनुमति दिइसकेका छन् । अहिलेसम्म क्रायोनिक्स प्रविधिमा महिलाको तुलनामा पुरुष नै बढी छन् । एल्कोरका करीब ७५ प्रतिशत सदस्य पुरुष छन् । 

अझै प्रयोगमै छ

एल्कोर कुनै ठूलो संस्था हैन । प्रति वर्ष करीब आठ सदस्यको मृत्यु हुने गरेको छ । तर, यसका कतिपय सदस्य लामो समयदेखि छन्, जसको निधन भएको छैन । यसमा कम सदस्य हुनुको एउटा कारण के हो भने एल्कोरले यस’boutमा बजार प्रवर्धन गर्र्दैंन । 
 
एल्कोरका अधिकारीहरुले जनतालाई मृत्युपछि भविश्यका लागि सुनिश्चित टिकट छ भनेर गुमराहमा राख्न नचाहेको बताएका छन् । 

‘कसरी यो सम्भव गर्ने भन्ने यो एउटा इन्जीनियरीङ प्रकृया हो’, अल्कोरकी सह संस्थापक लिन्डा चेम्बरलेन भन्छिन्, ‘हामी चाहन्छौं कि मानिसहरु यसलाई एउटा प्रयोगात्मक प्रकृयाकै रुपमा लिउन् । यो अस्पताल जानु या ओपट हार्ट शल्यक्रिया गर्नु झैं सम्भावना राम्रो छ भन्ने कसैले नठानून् ।’

(तस्वीर, अल्कोरकी सह–संस्थापक लिन्डा चेम्बरलेन)