सलमानको ‘अन्तिम’ पछि स्वस्तिमाको ‘चपलीहाइट–३’

काठमाडौं । कोरोना संक्रमणका कारण खुम्चिएको नेपाली चलचित्र उद्योग पुनः चलमलाउन थालेको छ । हलमा दर्शकको ओइरोलाग्न थालेपछि चलचित्र निर्माता जुर्मुराएका छन् । 

हालै बलिउड चलचित्र ‘सूर्यवंशी’ ले दर्शकलाई हलमा तानेपछि नेपाली चलचित्रकर्मीले पनि आफ्ना चलचित्र प्रदर्शनको सुर कसेका छन् । यसै मेसोमा यही २ पुसदेखि स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चपलीहाइट–३’ प्रदर्शन हुँदैछ ।  

‘सूर्यवंशी’ पछि सलमान खान अभिनित चलचिल ‘अन्तिम’ रिलिज हुनेभएकाले सलमानखानलाई छल्दै ‘चपलीहाइट–३’ ले प्रदर्शन मिति दुइ हप्ता पर सारेको हो । 

वर्ष २०७७ को २८ चैत्रमा प्रदर्शन मिति घोषणा गरिएको ‘चपलीहाइट–३’ कोरोनाका कारण प्रदर्शन हुन पाएको थिएन । 

अर्जुनकुमार फिल्म्सको ब्यानरमा निर्मित चलचित्रको निर्देशन निकेश खड्काले गरेका हुन् । यसमा स्वस्तिमा खड्का, अपर्ण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीको अभिनय छ ।

अकाश बरालको पटकथा र संबाद अनि सुभाष भुषाल र अर्जुनकुमारको संगीत छ । 

साभारः drishyatv.com