चुम्बन प्रकरणमा अभिनेतृ शिल्पालाई १५ वर्षपछि सफाइ

भारतको एउटा अदालतले बलिउड अभिनेतृ शिल्पा सेट्टीलाई चुम्बनसम्बन्धी एउटा मुद्दामा १५ वर्षपछि सफाइ दिएको छ । हलिउड अभिनेता रिचर्ड गेरले एउटा सार्वजनिक मञ्चमा चुम्बन गरेपछि त्यसबाट अश्लीलता फैलिएको आरोप अभिनेतृ शेट्टीमाथि लगाइएको थियो ।

सन् २००७ मा दिल्लीमा एड्ससम्बन्धी जनचेतना कार्यक्रमका क्रममा ती हलिउड स्टारले अभिनेतृ सेट्टीको गालामा चुम्बन गरेको भिडियो सार्वजनिक भएको थियो । अनावश्यक कुराको सिकार भएको भन्दै अदालतले सेट्टीमाथि लगाइएका आरोपलाई अहिले आधारहीन भनेको छ ।

त्यसबेला कट्टरपन्थी हिन्दू समूहहरूले अभिनेतृ सेट्टीलाई गरिएको चुम्बनबाट भारतीय मूल्यमान्यताको अपमान भएको बताउँदै विरोध प्रदर्शनहरू गरेका थिए ।

झन्डै १५ वर्षअघि अभिनेता गेरले भारतको राजधानी दिल्लीमा अभिनेतृ सेट्टीलाई अङ्कमाल गर्दै उनको गालामा चुम्बन गरेका थिए। पछि उनले त्यसका लागि क्षमायाचना गरेका थिए ।

चुम्बनबाट एचआईभी सर्दैन भन्ने सन्देश दिन आफूले त्यसो गरेको उनले स्पष्ट पनि पारेका थिए । घटनापछि अभिनेता गेरविरुद्ध जारी गरिएको पक्राउपुर्जी सर्वोच्च अदालतले तत्कालै खारेज गरिदिएको थियो ।

तर भारतको अदालती प्रक्रियामा लामो समय चक्कर लगाएपछि गतसाता मात्रै सोही चुम्बन प्रकरणलाई लिएर लगाइएका आरोप मुम्बईमा खारेज भएको हो । सन् २००७ मा शिल्पा सेट्टी भारतबाहिर पनि चर्चामा आएकी थिइन् । त्यतिबेला उनी बेलायतको टेलिभिजन रियालिटी शो ’सेलिब्रिटी बिग ब्रदर’ मा सहभागी भएकी थिइन् ।

साभार: drishyatv.com