रातो सारीमा एमाले पसिन् करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर सजधजका साथ आज नेकपा एमाले पसेकी छन्। करिश्मालाई एमालेका महासचिव शंकर पोखरेलले पार्टीको अबीर हालेपछि अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएका थिए। नेपाली सिने जगतकी सुन्दरी नायिका अब एमालेकी कार्यकर्ता भएकी छन्। 


K Manandhar

यसवीच आफ्नो अपूरो औपचारिक शिक्षालाई अगाडि बढाईरहेकी करिश्मा स्थानीय निर्वाचनलाई लक्षित गरेर एमाले पसेको हुनसक्ने बुझिएको छ। एमालेले सेलिब्रेटी उम्मेदवार बनाएर करिश्मालाई काठमाडौं महानगरको कुनै वडामा चुनावी प्रतिष्पर्धामा उतार्न सक्ने सम्भावना रहेको समाचार सूत्रले बताएको छ।

सिने अभिनेत्रीहरु किन अभिनय छाडेर राजनीतिक पार्टी चाहार्दै हिँड्छन् भनेर प्रश्न गर्नेहरुलाई करिश्माको एमाले प्रवेशले थप बल दिएको छ। 

करिश्मा कुनैबेला पूर्व माओवादी नेता बाबुराम भट्टराईको नयाँ दल नयाँ शक्तिमा प्रवेश गरेकी थिईन्। करिश्मालाई आफ्नो पार्टीमा भित्र्याउन चाहीरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसबेला हिस्स परेका थिए। करिश्मालाई बाबुरामले आफूलाई उछिनेर पार्टीमा प्रवेश गराएको भनेर यही निहुँमा बाबुराम र प्रचण्डवीच सार्वजनिक मञ्चमै छेडखानी समेत चलेको जानकारहरु बताउँछन्। 

अब करिश्मा केपी शर्मा ओली नेतृत्वको एमालेकी नेतृ हुन पुगेकी छन्। उनकै बिषयलाई लिएर कुनैदिन ओली, बाबुराम र प्रचण्डको व्यंगवाण सुन्न नपर्ला भन्ने के छ र? एक सूत्रले प्रश्न गरेको छ।

कुनैबेला अर्की नायिका रेखा थापा प्रचण्डसँग हाते साङ्लो बनाएर नाचेपछि राजनीति र सिनेमाको मैदान तरंगित भएको थियो। प्रचण्डसँग नाचे पनि अन्तत रेखा पछि पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी पसिन्। 

सिनेमा, संगीत र रंगमञ्चका कतिपय स्थापित व्यक्तिहरु आफ्नै क्षेत्रमा जमेर काम गर्न छाडेर विभिन्न दलको छातामुनि ओतिन पुगेका अनेक उदाहरण बनेका छन्। ती ‘नायक’ हुन् कि ‘महानायक’ कोही पनि आफ्नै मैदानमा उभिन सकेका छैनन्। 

सिनेमाकी मन पराईने नायिका करिश्माले एमाले पसेर आफ्नो पहिचान बदलेकी छन्। अब उनी राजनीतिमा पनि नायिका हुने हुन् कि पर्दाभित्रै हराउने हुन्, यो आगामी दिनहरुमा थाहा हुँदै जाने नै छ। यति चैं पक्का हो कि राजनीतिक दलमा पसेका कुनै पनि कलाकारसँग प्रतिभाले आर्जन गरेको पहिचान भने अस्तित्वमा रहने छैन। करिश्मा पनि अब ‘पूर्व सिने कलाकार’ भनेर चिनिने छन्। साभार: drishyatv.com