रुसी सेनामा भर्ती हुन इथियोपियामा लाग्यो भिड !

काठमाडौं– मंगलबार इथियोपियाको राजधानी अदिस अबाबामा रहेको रुसी दूतावास अगाडि ठूलो संख्यामा युवाहरु जम्मा भएका थिए।

रूसले युक्रेनमा युद्धको लागि सैनिकहरू भर्ती गरिरहेको छ भन्ने अफवाह फैलिएपछि दर्जनौं इथियोपियालीहरू यसरी रूसी दूतावास बाहिर जम्मा भएका हुन्।

तर, दूतावास अगाडि अनआवश्यक भिड जम्मा भएको देखेपछि प्रवक्ता मारिया चेरनुखिनाले केही बेरपछि इथियोपियामा कुनै भर्ना अभियान सञ्चालन नगरेको जानकारी दिए। त्यसपछि लाइनमा बसेका युवाहरु निन्याउरो मुख लगाएर फर्किए।

प्रवक्ता चेरनुखिना भने,‘बाहिरका केही मानिसहरूले उनीहरू रूसलाई जसरी पनि सहयोग गर्न तयार छन् भन्छन्। तर, हामी भर्ती एजेन्सी होइनौं।’

दूतावासमा आइपुगेका धेरै इथियोपियालीहरू आफ्ना कागजातहरू लिएर पुगेका थिए। कसै-कसैले रूसी सेनामा भर्ती भए धेरै तलब पाइन्छ भनेर सुनेका पनि थिए।

दूतावासबाहिर उभिरहेका एक युवाले बीबीसीलाई भने,‘म राम्रो तलबको खोजीमा थिएँ। मलाई साथीहरुले रुसमा सिपाही वा अन्य जागिर पाउन सके राम्रो तलब पाइन्छ भन्ने सुनाए, अनि म आएँ।’

रुसले युक्रेनमाथि आक्रमण गर्न थालेको करिब २ महिना पुग्न लागेको छ। युक्रेनलगायतक केही पश्चिमा राष्ट्रहरुले यस युद्धमा रुसले ठूलो सैन्य क्षति व्यहोरेको दाबी गरिरहेका छन्। 

युक्रेनविरुद्ध तुलनात्मक रुपमा कमजोर देखिएकै कारण लड्न रुसले भाडामा विदेशी सैनिक भर्ती गरेको चर्चा पनि उत्तिकै चल्ने गरेको छ। तर, रुसले यो कुरा अस्वीकार गर्दै आएको छ।

स्मरण रहोस्, युक्रेनमा रुसको आक्रमणको विरुद्धमा ल्याइएको प्रस्तावमा संयुक्त राष्ट्रसंघमा मतदान नगर्ने देशहरूमध्ये इथियोपिया पनि एक हो।

यसैबीच रुसले युक्रेनमा आफ्नो ‘सैन्य अभियान’ लम्बिनुमा अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ।

रुसी रक्षामन्त्री सर्गेई ‍शोइगुले युक्रेनमा विदेशी हतियारको आपूर्तिमा भएको वृद्धिले अमेरिका र पश्चिमा मुलुकको नियत अन्तिमसम्म युक्रेनसँग लड्ने स्पष्ट रहेको बताए ।

उनले रुसी सेनाले डोनेट्स्क र लुहान्स्कलाई मुक्त गर्न एकपछि अर्को व्यवस्थित कदम चालेको पनि बताएका छन्।

रक्षामन्त्रीले देशका उच्च सैन्य अधिकारीहरूको सल्लाहकार समितिसँग यस विषयमा छलफल गरिरहेको बताइन्छ।साभार: drishyatv.com