श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा गोली चल्यो, एकजनाको मृत्यु, २१ घाइते

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। साथै घटनामा थप ११ प्रदर्शनकारीसहित २१ जना घाइते भएका छन्।

यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ। उनीहरु सबैलाई केगाले अस्पतालमा भर्ना गरिएको छ।

केगाले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन्। घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको उनले बताए।

गोलीबारीको यो घटना श्रीलंकाको पश्चिमी मध्य भागको रामबुकाना शहरमा मंगलबार भएको हो।

प्रहरी प्रवक्ता निहाल तल्दुवाले १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको बताए।

अर्को सूचना नभएसम्मका लागि  रामबुकानामा कर्फ्यू लगाइएको पनि उनले जानकारी दिए।

मुलुकको असाधारण आर्थिक मन्दीको विरोधमा मंगलबार देशका रामबुकाना, हिङ्गुरकगोडा, बड्डेगामा, दिगाना, गम्पोला, रत्नपुरा र तेलदेनियामा प्रदर्शन भएका थिए।

प्रदर्शनका क्रममा रामबुकना हुँदै जाने रेलमार्ग अवरुद्ध भएपछि सो रुटमा रेल सेवा पनि अवरुद्ध भएको थियो ।