रुसले बोल्न थालेपछि अमेरिका, क्यानडा र बेलायतले गर्‍यो जी–२० बैठक बहिस्कार

काठमाडौं– युक्रेनमा रूसको निरन्तर आक्रमणको विरोध गर्दै अमेरिका, क्यानडा र बेलायतका प्रतिनिधिहरुले विश्वका शक्तिशाली राष्ट्रहरूको समूह जी–२० बैठक बहिस्कार गरेका छन्। 

बेलायती अर्थमन्त्री ऋषि सुनकका अनुसार वाशिंगटन डीसीमा भएको बैठकमा रुसी प्रतिनिधिले बोल्ने क्रममा बेलायती, अमेरिका र क्यानडाका प्रतिनिधिहरुले बहिस्कार गरेका हुन्।

‘हामी युक्रेनविरुद्ध रुसको युद्धको निन्दामा एकजुट छौं र रुसलाई सजाय दिन बलियो अन्तर्राष्ट्रिय समन्वयको लागि जोड दिनेछौं,’ सुनकले  बैठकपछि ट्विटरमा लेखे।

फेब्रुअरीको अन्तमा युक्रेनमा रुसले आक्रमण सुरु गरेको थियो। १ हप्तामा नै युक्रेनको राजधानी किएभ कब्जा गर्ने लक्ष्य बनाएको रुसी फौज असफल भएपछि यो हप्ता देशको पूर्वी डोनबास क्षेत्रमा सरेको छ।

यता, अमेरिका र अन्य पश्चिमी देशहरूले रुसलाई जी–२० बाट बाहिर निकाल्नुपर्ने धारण सार्वजनिक गरेका थिए।

तर, जी–२० बाट रुसलाई बाहिर राख्ने पश्चिमी देशहरूको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेम्बिनले जी–२० मा कुनै पनि देशले अन्य देशलाई बहिष्कार गर्ने अधिकार नभएको बताएका थिए।

अमेरिकी अधिकारीहरूले रुसको सट्टा यस गुटमा पोल्याण्डलाई राख्ने सुझाव दिएको थियो। जी–२० विश्वका ठूला अर्थतन्त्रहरूको समूह हो। जसले विश्वलाई असर गर्ने विषयहरू जस्तै : विश्वव्यापी अर्थतन्त्र, जलवायु परिवर्तन र विकासमा मिलेर काम गर्ने लक्ष्य राख्छ।

यदि रुस बाहिरियो भने यो पश्चिमाद्वारा लगाइएको आर्थिक प्रतिबन्धमा अर्को वृद्धि जस्तै हुनेछ। यद्यपि, भारत, चीन र साउदी अरब जस्ता जी–२० राष्ट्रहरूले यसमा रुसको समर्थनमा भिटो गर्न सक्छन्।