प्रशिक्षक–खेलाडी विवादः दुवै पक्ष आफ्नो अडानमा 

काठमाडौं। राष्ट्रिय फुटबल प्रशिक्षक तथा खेलाडीबीचको विवादमा नयाँ ‘टुइस्ट’ आएको छ। यतिबेला प्रशिक्षक र खेलाडीहरू आ–आफ्नो अडानमा छन्। फुटबल प्रशिक्षक अब्दुल्लाह अल–मुताइरी राष्ट्रिय खेलाडीहरूले अनुशासन उलंघन गरेको भन्दै नयाँ खेलाडीको खोजीमा छन् भने खेलाडीहरू प्रशिक्षकको राजीनामाको विषयमा अडिएका छन्।
 
बसोबासको विषयमा सिनियर खेलाडी रोहित चन्द र प्रशिक्षक अल–मुताइरीबीच केही असमझदारी भएको थियो। यही विषयमा राष्ट्रिय टोलीका ९ खेलाडीले कसैलाई जानकारी नदिई एक्कासी होटल छोडेका थिए। उनीहरू राष्ट्रिय खेलाडीको ‘च्याट ग्रुप’ बाट पनि बाहिरिएका थिए।
 
कुवेतमा आयोजना हुने एसियन कप–२०२३ को छनोट प्रतियोगिताका लागि बैशाख २ बाट प्रशिक्षण सुरु भएको थियो। यसअघि खेलाडीहरू एन्फास्थित आफ्नै होस्टेलमा बस्दै आएका थिए। केही खेलाडीहरूले होस्टेलमा राम्रो सुविधा नभएको भन्दै होटलमा आफूहरूलाई सारिनुपर्ने आवाज उठाएका थिए। 

यस विषयमा प्रशिक्षक अल–मुताइरीसँग सिनियर खेलाडीको नाताले रोहित चन्दले कुरा राखेका थिए। सुरुमा अल–मुताइरीले एन्फासँग पर्याप्त बजेट नभएको भन्दै हाललाई होस्टेलमै चित्त बुझाउन र पछि होटलमा सारिने जानकारी गराएका थिए।
 
तर, खेलाडीहरू आफ्नो कुरामा अडिएपछि अल–मुताइरीले होटल र होस्टेलमा बस्ने खेलाडीले हात उठाउन भनेका थिए। यतिबेला हात उठाउने खेलाडीमा रोहित मात्र परेका थिए। 

त्यो घटनापछि प्रशिक्षक अल–मुताइरीले यस्तो कुराले टिममा विभाजन ल्याउने भन्दै रोहितलाई टिम छोडेर जानसक्ने प्रस्ताव राखेका थिए। बन्द प्रशिक्षण सुरु भएपछि एन्फाले सबै खेलाडीलाई होटलमा सारेको थियो। तर, यति नै बेला ९ जना खेलाडीले आफूहरू माथि प्रशिक्षकले दूव्र्यवहार गरेको भन्दै होटल छाडेका थिए।
 
टिमका व्यवस्थापक मधुसुदन उपाध्याय खेलाडीहरूले कसैलाई जानकारी नदिई आफू खुशी क्याम्प छाडेको जानकारी दिए। उनले यस विषयमा खेलाडीहरू आवद्ध सम्बन्धित क्लबलाई जानकारी गराइने र अनुशासनको कार्यवाही अगाडि बढ्ने बताउँछन्। 

‘खेलाडीलाई कुनै समस्या थियो भने हामीहरू थियौं। तर, एक्कासी समूह बनाएर होटलबाट निस्किने निर्णयले राम्रो सन्देश गएन। फेरि हामीले होटलमा बस्ने खेलाडीको माग पुरा गरिसकेका थियौं,’ उनले भने। 

९ जना राष्ट्रिय खेलाडी बाहिरिएपछि उनीहरूको विकल्प खोजी गरिरहेको प्रशिक्षक अल–मुताइरी निकट श्रोतले दृश्यटिभीलाई जानकारी गरायो। 

‘भोलि कुनै अवस्थामा गएर खेलाडीहरूले पुनः यो कार्य दोहर्याउँदैनन् भन्ने ग्यारेन्टी भएन,’ एन्फा श्रोतले जानकारी दियो। 

अल–मुताइरीविरूद्ध ‘विद्रोह’ गरेको भनिएका खेलाडीमध्ये एकले दृश्यटिभीलाई बतायो, ‘हाम्रो बटम लाइन प्रशिक्षकको बर्खास्तगी हो।’

कुवेती नागरिक अल–मुताइरी नेपाली राष्ट्रिय टिमको प्रशिक्षक भएयता थुप्रै विवादमा मुछिसकेका छन्। उनी आफ्नो कुरा स्पष्ट राख्ने कारण धेरैको आँखाको तारा पनि बनिसकेका छन्। प्रोफेसनल लाइसेन्स प्राप्त यी प्रशिक्षकलाई कतार सरकारको सहयोगमा नेपालको प्रशिक्षक नियुक्त गरिएको हो। उनको नेतृत्वमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पल्ट पुगेको थियो।