भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिने

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका हुन् । पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई चितवन पठाएका थिए ।

भेटमा गृहमन्त्रीले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर पौडेलले आफू उम्मेदवारी फिर्ता लिन नहुने ठाउँमा पुगेको पत्रकारहरुलाई बताए । उनले भने, ‘मेरो कारणले केन्द्रीय गठबन्धन र सरकारलाई असर पर्ने म देख्दिनँ । चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यको कुरा हो । यो मैले मात्र निर्णय गर्न मिल्ने विषय होइन।’

पौडेलले चितवन र लोकतन्त्रवादीले पार्टी बचाउन आफूले अभियान सुरु गरेको पनि बताए । गृहमन्त्री खाँणसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि केही दिनदेखि चितवनमै छन् । श्रेष्ठले पनि पौडेललाई उम्मेदवार फिर्ता लिन आग्रह गरेका थिए । भरतपुरमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा मेयर पद आफ्नो पार्टीले पाउनु पर्ने चितवन कांग्रेसको माग थियो ।

तर केन्द्रीय गठबन्धनमा निर्णय हुँदा भरतपुरको मेयर पद माओवादी केन्द्रले पाएको छ । जसका कारण चितवन कांग्रेसमा असन्तुष्टि बढेको छ । मेयर पदकी उम्मेदवार रेनु दाहाल अघिल्लो चुनावमा पनि कांग्रेससँग तामेल गरेर मेयरमा विजयी भएकी थिइन् । पौडेलले उम्मेदवारी फिर्ता नलिए एमालेका उम्मेदवार विजयी सुवेदीलाई जितका लागि सहज हुनेछ ।साभार: drishyatv.com