के गर्लान् कांग्रेसी, मुख हेर्लान् कि रुख हेर्लान्?

काठमाडौं। आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस समर्थक मतदाताले मुख हेर्लान् कि रुख हेर्लान् भन्ने प्रश्न नै यतिबेला बहसको केन्द्रमा छ। दुइवटा बामपन्थी दललाई दुइतिर अँगालो मारेर निर्वाचन लडिरहेको नेपाली कांग्रेस ‘रुख है रुख’ भन्न अन्कनाउनु पर्ने परिस्थिति देखिएको छ। रुख हेर भनोस, अँगालेका दल भड्किने खतरा। मुख हेर मुख भनोस् आफ्नै कार्यकर्ता हच्किने जोखिम। नेपाली कांग्रेस दुइतिर धार भएको तरबारमा हिँडिरहेको अवस्था सायद पहिलो पल्ट अनुभव गरिरहेको छ। 

सभापति शेरबहादुर देउवाले भनेका छन्, गठबन्धनलाई साथमा साथ दिएर निर्वाचन लड्ने हो, एमालेलाई साईजमा ल्याउने हो। गठबन्धनका दुइ वामपन्थी दलका मुखिया पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल न ‘रुख पनि है’ भन्न सकिरहेका छन् न त ‘मुख मात्रै है’ पनि भनेर अर्थ्याउन भ्याईरहेका छन्। उनीहरु विद्रोह गर्ने कार्यकर्तालाई थामथुम पार्नमै असिनपसिन भैरिहेका देखिन्छन्। प्रचण्डलाई निर्वाचनले कुन स्थान पुर्याईदिने हो भन्ने चिन्ता त छँदैछ, साथै एमालेले कार्यकर्ता र नेता लोभ्याएर पार्नु चौपट पारिरहेको छ। यस्तै नियति माधव नेपालले पनि सामना गरिरहेका देखिन्छ। 

माधव नेपाल स्थानीय निर्वाचन परिणामको सम्भावित अंक गणितबाट समेत त्रशित भैरहेको बुझ्न सकिन्छ। आफ्ना ‘जानी दुश्मन’ एमाले अध्यक्ष केपी शर्मा ओलीको निन्तरको कटाक्ष र धम्की नेपालको चिन्ता बढाउने कारण बनिरहेको छ भने संगठनको मूल आधार नै एमाले भएकाले आफूले अलग्ग संगठित गरेको समूहले कस्तो मत पाएर जित्ने भन्ने पनि उनको अर्को तनावको कारण हो। यी दुइ वामपन्थी समूहको यस्तो छटपटीलाई शान्त पार्ने कुनै भरपर्दो अस्त्र गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि देखिँदैन। उनी त रुख कि मुख भनेर प्रष्ट भन्न सक्ने अवस्थामै छैनन्। सबै वामपन्थी शक्ति एकजुट हुँदा आईपर्ने चुनौतिको भार भन्दा अहिले एक्लिएको एमालेसँग भिड्न माओवादी र एकृकित समाजवादीको साथ नै बढी लाभकारी हुने बुझेर नै देउवा गठबन्धनको डोरी खस्किन नदिन न्वारान देखिको बल लगाएर काम गरिरहेका छन्।  

चितवनको भरतपुर महानगरपलिकामा प्रचण्ड पुत्री रेणु दाहाललाई आगामी मेयर हुनबाट रोक्न नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता चौबिस घण्टे प्रचार अभियानमा सक्रिय देखिन्छन्। ती नेता कार्यकर्तालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले धाप मारिरहेको बताईन्छ। 

गृहजिल्ला डडेलधुराका पूर्व सभापति तथा प्रदेश सभा सदस्य कर्ण मल्ललाई निस्काशन गरेर ‘विद्रोही’ तर्साउन खोजे पनि देउवाको यो रणनीतिले देशभर भने काम गर्ला जस्तो देखिँदैन। सभापति देउवालाई नैतिक चुनौति दिईरहेका मल्लले देशभरबाट पाईरहेको सहानुभूतिले यस्तो सन्देश दिएको देखिन्छ।

यता महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्व उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। महामन्त्री शर्मा त अहिले मुख हेर्ने भन्दा पनि रुख हेरेर मतदान गर्नुपर्ने बेला रहेको बताएका छन्।

‘व्यक्ति जो–जो भए पनि रूख चिहृन लिएर उठेको व्यक्ति कांग्रेसको उम्मेदवार हो, हामी केही अप्ठ्यारोहरू बेहोरिरहेका छौँ। पार्टीमा हामीले पनि चाहेजस्तै गरी सबै कुरा भइरहेको छैन,’ महामन्त्री शर्माले भने, ‘त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु– देशभरिका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन, रूख हेर्ने हो। यो बेला नेपाली कांग्रेस पार्टीलाई विजयी गराउन एकढिक्का भएर लाग्ने बेला हो।’साभार: drishyatv.com