ककटेल देश

यस्ता ककटेल पार्टीहरु भित्रका ककटेल नेताजीहरुले यो देशलाई पनि ककटेल देश बनाईसके ।

 

 

भर्खरै प्रधानमन्त्री केपी ओली सरकारले आफ्नो एक वर्षे कार्यकाल पूरा गरेको छ । प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफ्नो सफलताको बुँदाहरु भनिरहँदा ‘यो सरकारले एक वर्ष पूरा गरेको छ’ भनेर भने तर न त्यहाँ कोही हाँस्यो न कसैले ताली बजायो । उनले दर्शक दीर्घाले आफ्नो शब्द नबुझेर अलमलिएको बुझे र फेरि त्यो शब्दमा जोड दिएपछि त्यहाँ ताली पनि बज्यो र हाँसो पनि गुन्जियो । हुनपनि हो, अरुबेला भएको भए यतिबेला देशमा कम्तीमा पनि दोस्रो सरकार बनिसकेको हुन्थ्यो । यस मानेमा यसलाई सफल नै मान्नु पर्छ । बरु अरु चारवर्ष टिकाउने पो कसरी ? यदि टिकिरह्यो भने हरेक वर्ष यसैगरी दोस्रो वर्ष सम्मपनि सरकार एउटै छ, तेस्रो वर्ष सम्मपनि सरकार एउटै छ भन्दै प्रत्येक बर्थडेको प्रमुख बुँदा यहि नै हुने छ ।

 

ओलीले बाऊ र आमाको उदाहरण दिंदै जँड्याहा र बोक्सीको रमाइलो चुटकिला सुनाएर कसरी आफूहरु बिचमा उचाल्ने र पछार्ने प्रबृत्ति हावी भइरहेको छ र सरकारको नेतृत्व परिवर्तन गर्न बिभिन्न शक्तिहरु लागिरहेछन् भनेर आफ्नो पिडा पोखे । चुनाव मिलेर उठेपनि पार्टी एकिकरण चुनाव पछि मात्र भयो । एमाले र माओवादी दुवैलाई आफू तल परेको देखाउनु थिएन । त्यहि भएर नेकपामा दुई अध्यक्ष छन् । यो ककटेल पार्टीमा अबको महाधिवेशनमा पनि यहि संरचना हुने अनुमान गर्न सकिन्छ ।

 

उता ओली र प्रचण्ड मात्रै मिलेर निर्णय गर्ने आफू सँग कुनै सल्लाह नै नगर्ने भन्दै माधव नेपाल बिभिन्न फोरमहरुमा सार्वजनिक रुपमै असन्तुष्टि पोख्दै हिंडिरहेका छन् । झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ आदीको असन्तुष्टि छँदै छ । त्यसलाई मिलाएर लाने कसरी ? त्यसैले यो ककटेललाई सम्बोधन गरेर अगाडी बढ्न यो पार्टी नेतृत्वलाई कत्ती सजिलो होला?

 

उता काँग्रेस, आफ्नो पार्टी मजवुत बनाउन छाडेर सरकार फेल, सरकारले पास मार्क पनि ल्याएन भन्दै आत्मरतीमा रमाइरहेको छ । बेमौसमको बाजा बजाउँदै बिरोध कार्यक्रम गरिरहेको छ । जनतालाई उठाउन पहिलेको जस्तो सजिलो छैन भन्ने हेक्का राखेकै होला । गोविन्द केसीले आन्दोलन स्थगित गरेपछि संसदभित्र कुनै मुद्दानै नभएको जस्तो भएको छ । काँग्रेसलाई पनि किन कम्युनिष्ट पार्टीहरुकै जस्तो बिरोधको शैली अपनाउनु परेको होला ? संसदभित्र त्यहि शैली, रोष्ट्रम उक्लनुपर्ने, सडकमा त्यही शैली, सरकारी गाडीहरु तोडफोड तथा आगजनी गर्नु पर्ने । बिगतमा बिपक्षीहरुले गरेको विरोधका कामलाईनै फोटोकपी गर्नुभन्दा, पृथक र कम्युनिष्ट पार्टी भन्दा फरक छु भनेर सालिन तरिकाहरु अपनाउँदा उसैलाई राम्रो हुने थियो ।

 

यसो हुनुमा आफैं भित्रका नेताहरुको बिचमापनि शालिन समझदारी नहुनुनै हो । यसमापनि बिभिन्न नेताहरु शेरवहादुर देउवा, रामचन्द्र पौडेल, जो आफ्नै गृह जिल्लामा समेत बिबाद मिलाउन नसकेर थाकिसकेका छन्, सायद अबको चुनावमा तनहुँबाट जित्नु फलामको चिउरा चपाउनु सरह हुने पक्का छ, कृष्ण प्रसाद सिटौला, सशांक र शेखर कोइरालाहरु, प्रकाशमान सिंह, बिजयकुमार गच्छदार आदीको ककटेललाई कसरी मिलाउने हो ?

 

राष्ट्रिय जनता पार्टी, छ वटा पार्टीको मिश्रण, छ जना अध्यक्ष भएको अध्यक्ष मण्डलनै छ । महाधिवेशन गरेर नेतृत्व चयन गर्नु पर्नेमा कोहिपनि अरुभन्दा तल बसेर काम गर्न अनिच्छुक भएर होला भइरहेको समानान्तर पद गुम्ला भन्ने डरले सबै जना चुप छन् । राजेन्द्र महतो, महन्त ठाकुर, महेन्द्र यादव, शरद सिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको ककटेलले कसरी पदिय जिम्मेवारी निभाउला ?

 

क्षेत्रीय पार्टीबाट राष्ट्रिय पार्टी बन्ने महत्वाकांक्षाले उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र एमालेलाई ठूलै धक्कादिन सकिन्छ भनेर जातीय पार्टी गठन गर्न पुगेका अशोक राई तथा राजेन्द्र श्रेष्ठको मिश्रणले बनेको संघिय समाजवादी फोरमको गती यी नेताहरुको ककटेललाई कहिले सम्म मिलेर अगाडी बढ्ने बाटो लिन सफल होलार ? महाधिवेशन आएपछि यसको रुप सबैको सामुन्ने आउनेनै छ ।

 

हाल संसदमा भएका मुख्य पार्टीहरु यीनै हुन् । सबै पार्टीहरु भित्र नेताहरु आफू सधैं उपल्लो तहमा बसेर अरु नेताहरुलाई आफ्नो मातहतमा बसिदिउन् भन्ने इच्छा छ । त्यसको लागि आआफ्नै गुट र उपगुट तयार पारिरहेका छन् । जब उनीहरुले आफ्नै पार्टी व्यवस्थित गर्न सकिरहेका छैनन्, उपल्लो तहकाले अब पुग्यो भनेर सन्तोष मान्दै अवकाश लिने वा अभिभावकको भूमिकामा बस्न सक्दैनन् भने यीनीहरुले कसरी हामी जस्ता देशबासीहरुको ’boutमा सोचेका होलान् भनेर आश गर्न सकिन्छ ?

 

अरु देशमापनि नेताहरु हुन्छन्, तर उनीहरु आ आफ्ना विद्यान अनुसार हिंडिरहेका हुन्छन् । व्यक्तिगत नैतिकता प्रदर्शन गरिरहेका हुन्छन् । एउटा निश्चित पदमा पुगिसकेपछि आफ्नो कार्यकाल सकिईसकेपछि फेरि त्यही पदको लागि झगडा गरेको, पार्टीमा हालिमुहाली गर्न खोजेको देखिंदैन । कोही हातमा मार्कर र डस्टर बोकेर पढाउन जान्छन्, कोही घरमै किताव पढेर बस्छन् वा चुपचाप राज्यले दिएको सेवा लिएर आराम गर्छन् । तर, यो देशमा किन नेताहरुले चित्त नबुझाएका होलान् ?

 

त्यसैले यस्ता ककटेल पार्टीहरु भित्रका ककटेल नेताजीहरुले यो देशलाई पनि ककटेल देश बनाईसके । प्रचण्डको अगाडी एकजना व्यक्तिले कविता र व्यंगमार्फत भनिदिए कि उनलाई पृथ्बीनारायण शाहलाई सम्झेर पौष २७ गते पनि मनाउनु पर्ने, फागुन १ गतेको जनयुद्ध दिवस पनि मनाउनुपर्ने । साम्राज्यवादी भनेर घोषित गरेका राजालाई पनि अहिले आएर उनको एकिकरण ठीक हो भन्नुपर्ने र गणतन्त्रको लागि लँडाई गरेका व्यक्तिहरुको बलिदानलाई पनि सहि भन्नु पर्ने कस्तो ककटेल निर्णय ?

 

आफूले बैधानिक तरिकाले प्राप्त गरेको पदमा बसेर पूर्ण कार्यकाल काम गर्न पाउनु पर्ने अधिकार सरकार सञ्चालक र पार्टी सञ्चालक दुवै पक्षलाई छ । राम्रो काम र नराम्रो कामको हिसाव किताव समय आएपछि वा आ आफ्नो कार्यकाल सकिएपछि फेरि दोस्रो कार्यकालको बेला भइहाल्छ ।

 

प्रजातन्त्र वा लोकतन्त्रमा अन्तिम परिक्षा उत्तीर्ण गर्ने बिधी हुन्छ । सरकारको हो भने प्रत्येक पाँच वर्षमा जनताहरुले गरिदिई हाल्छन्, पार्टीको हो भने प्रत्येक महाधिवेशनमा,यो पनि सम्भवत पाँच वर्षमा, आफ्ना कार्यकर्ताहरुले गरिदिइहाल्छन् । सरकार चलाउनेले अरुबाट पद खोसिन्छ कि भनेर सोच्न नपरीकन निर्धक्क ढंगले सरकार चलाउन पाउनु, पार्टी चलाउनेले आफ्नो निर्णयले पार्टी भित्रका गतिवीधिगर्न पाउनु, बिपक्षी दलहरुले सहि रुपमा बिरोध गर्दै सरकारको गलत काम र निर्णयहरु जत्ति आगामी चुनावको लागि आफूमा समाहित गर्दै उर्जा प्राप्त गर्न सदुपयोग गर्ने हो भने मात्रै देशलाई हरेक प्रकारले विकाशको पथमा अगाडी बढाउन सकिन्छ । नत्र हरेक वर्ष सरकार यति वर्ष टिक्नुनै उपलव्धि हो भन्नु बाहेक अरु उपलव्धि केही हुने छैन ।

 

आमजनताको लागि कुनै व्यक्ति वा पार्टीको सरकार सँग सरोकार राख्दैन उसले आफ्नो सकेको जोश, जाँगर र मेहनत अनुसार देश सँग सहज रुपमा गाँस, बास, कपास प्राप्तगर्न पाइयोस् भन्ने मात्रै अपेक्षा हुन्छ । ककटेल पार्टीहरुले सञ्चालन नगरेको देशलाई शुद्ध बनाउँ न की ककटेल ।