MENU
चीन–भारत: तनाव स्थगित, विवाद जिउँदै । -श्रीकृष्ण अनिरुद्ध गौतम
 : 767 views
  Aug 29, 2017

 

* नेपालबाट उत्तर हेर्दा चीन जति शक्तिशाली देखिन्छ, समुद्री मामिलामा त्यस्तो छैन । त्यहाँ उसको अवस्था दुर्बलै नभए पनि सबल छ भन्न सकिदैन ।

 

* दक्षिण एसियामा भारतले सोचेजस्तो उसको एकाधिकार छैन । उता पाकिस्तान चीनको किल्लाका रुपमा स्थापित भइरहेको तथा नेपालमा, यता आएर विशेष गरी भारतीय नाकाबन्दीपछि, चिनियाँ प्रभावको गुणात्मक वृद्धि भइरहेको छ । 

 

* बंगालको खाडी र हिन्द महासागरमा आफ्नो उपस्थिति सबल बनाउन चीनलाई बर्मा (म्यानमार), थाइल्याण्ड, मलेशिया, सिंगापुर तथा बंगलादेश र श्रीलंकाको साथ चाहिन्छ । तर यी देशहरुमा चीनलाई साँच्चिकै विश्वासिलो साथी मान्ने अवस्था भने आइसकेको छैन ।

 

दुई महिनाभन्दा लामो चीन भूटान सिमानामा पर्ने दोक्लाममाथि कसको अधिकार भन्ने विवाद अन्ततः कूटनीतिक समझदारीमा अन्त्य भएको छ ।

 

चिनियाँ र भारतीय फौज आआफ्ना ब्यारेकमा फर्किन थालेका छन् यद्यपि यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने चिनियाँ फौजले आफ्नो सिमानामा गस्ती गरिरहने बताएकी छन् । त्यस्तै सिन्ह्वाका अनुसार चीनले दोक्लाममाथि आफ्नो सार्वभौम अधिकारको दावी परित्याग गरेको छैन । भारतीयहरु भने यसलाई, आफूले चीनलाई झुकाएको तथा, आफ्नो जित भएको बताइरहेका छन् ।

 

जबकि विवाद अन्त्य अथवा स्थगित हुनुको वास्तविक कारणचाहिँ आउँदो महिना चीनमा हुन गइरहेको ब्रिक्स सम्मेलन हो जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागिता अनिवार्य हुनेछ । भारत र चीन यसका पहलकर्ता र संस्थापक हुन् । त्यसैले यो सजिलै बुझ्न सकिन्छ, मोदीको चीन यात्रा सहज होस् भनेर नै चिनियाँ राष्ट्रपति सी चिनफिङ यो निर्णय गर्न राजी भएका हुन् । त्यस्तै उनीमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रभाव पनि परेको हुनसक्छ किनभने ब्राजिल, दक्षिण अफ्रिकाका साथै रुस पनि ब्रिक्स समूहको सदस्य राष्ट्र हो ।

 

 

 

 

साथै, यस सन्दर्भमा, निश्चय नै, संयुक्त राज्य अमेरिकाले सहजकर्ताको भूमिका निर्वाह गरेको अनुमान गर्न सकिन्छ किनभने केही दिनपूर्व अमेरिकाले दुबै पक्षलाई समस्याको शान्तिपूर्ण समाधान खोज्न र यथास्थानमा फर्किन आग्रह गरेको थियो । यसले कति काम गर्यो, ठ्याक्कै र यकिन साथ भन्न सकिँदैन । तथापि, कतिचाहिँ भन्न सकिन्छ भने यसबीच अमेरिका पक्कै पनि रमिता हेरेर बसेको थिएन । उसले दुबै प्रतिस्पर्धीमाथि आफ्नो प्रभाव प्रयोग गरिरहेको थियो । किनभने अमेरिका र चीनबीच सामरिक प्रतिस्पर्धा चलिरहे पनि उनीहरु ठूला व्यापारिक पार्टनर हुन् ।

 

यहाँ स्मरणीय छ, भारत र अमेरिकाबीच सामरिक सम्झौता भएको छ । यसकारण दुई एसियायी शक्ति चीन र भारतबीच युद्धजन्य टकराव हुँदा अमेरिका निश्चय नै अप्ठ्यारोमा पर्न सक्थ्यो । त्यस्तै चीन र भारत आफैं पनि व्यापार र लगानीमा एकार्कामाथि निर्भर छन् । भारत चीनको ठूलो बजार हो भने चीनमा भारतीय लगानी पनि उल्लेख्य छ । त्यसैले चीन भारत यथास्थितिमा फर्किनुका पछाडि व्यापार एउटा फ्याक्टर हो नै तर यहाँ, व्यापारभन्दा पनि सामरिक सन्तुलनको विषय प्रमुख रहेको स्वीकार्नु पर्छ । किनभने, चीनलाई पढ्दा उसको थल र वायु सैन्य क्षमता निश्चय नै उच्चस्तरको रहेको पाइन्छ तर उसको समुद्री युद्ध क्षमता अझै पनि अरु ठूला शक्तिहरुका तुलनामा कमजोर छ ।

 

प्रशान्त महासागरमा चीनको एकलौटी चल्दैन । त्यसमा जापान, कोरिया, अष्ट्रेलिया, रुस त छन् नै, त्यसमा पनि सबैभन्दा प्रमुख विषय त्यहाँ अमेरिकाको सशक्त उपस्थिति हो । दक्षिण चीन सागरमाथि उसको दावी पनि विवादमुक्त छैन । त्यस्तै, चीनको करीब ८० प्रतिशत इन्धन आपूर्ति हिन्द महासागर र बंगालको खाडी हुँदै अरब मुलुकहरुबाट हुने गर्छ । भनिरहनु नपार्ला, हिन्द महासागर र बंगालको खाडीमाथि सबैभन्दा सशक्त उपस्थिति भारतकै छ ।

 

खाडीका टापुहरु भारतकै अधीन छन् र एकप्रकारले त्यस क्षेत्रमा हुने आवतजावतमा उसकै निगरानी रहेको छ । यसकारण, जबसम्म हिन्द महासागर र बंगालको खाडीमा चीनको सशक्त उपस्थिति हुँदैन, तबसम्म भारतमाथि उसको दबाब थलबाट र आकाशभेदनमार्फत् मात्र हुनसक्छ । जबकि त्यस अवस्थामा उसले जलमा भारतसँग कडा मुकाबिला गर्नुपर्ने हुन्छ ।

 

खाडी र हिन्द महासागरमा आफ्नो उपस्थिति सबल बनाउन चीनलाई बर्मा (म्यान्माँ), थाइल्याण्ड, मलेशिया, सिंगापुर तथा बंगलादेश र श्रीलंकाको साथ चाहिन्छ । तर यी देशहरुमा चीनलाई साँच्चिकै विश्वासिलो साथी मान्ने अवस्था भने आइसकेको छैन । फेरि, बर्मा तथा दक्षिणपूर्वी एसियाका देशमा चीनको प्रभाव भए पनि त्यहाँ उसको रेकर्ड त्यति राम्रो छैन । यता बंगलादेश र श्रीलंका भारतबाट आफ्नो बचावका लागि मात्र चिनियाँ कार्ड प्रयोग गर्ने हुन् भन्ने यथार्थसित चीन आफैं पनि अपरिचित छैन ।

 

अर्थात्, नेपालबाट उत्तर हेर्दा चीन जति शक्तिशाली देखिन्छ, समुद्री मामिलामा त्यस्तो छैन । त्यहाँ उसको अवस्था दुर्बलै नभए पनि सबल छ भन्न सकिदैन ।

 

समुद्रभेदनका लागि भने चीनले अझै प्रशस्तै मेहनत र लगानी गर्नुपर्ने अवस्था छ ।

 

अझ गहिरिएर हेर्दा, आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ प्रति भारतको असहमतिबाट रुष्ट भएका कारण दोक्लाममा चीनले उसलाई चुनौति दिएको हो भनिन्छ र यो असत्य होइन । त्यस्तै भारतले पनि चीनलाई दक्षिण एसिया नहेर्न चेताउन खोजेको हुनसक्छ । तर यसबीच, दुबैले आआफ्ना शक्ति र सीमाको राम्रो आकलन गरेका हुनुपर्छ किनभने दक्षिण एसियामा भारतले सोचेजस्तो उसको एकाधिकार छैन । उता पाकिस्तान चीनको किल्लाका रुपमा स्थापित भइरहेको तथा नेपालमा, यता आएर विशेष गरी भारतीय नाकाबन्दीपछि, चिनियाँ प्रभावको गुणात्मक वृद्धि भइरहेको छ । भूटानलाई निश्चय नै उसले आफ्नो पकडमा राखेको छ तर त्यहाँ पनि भारतप्रति सद्भाव, दिनप्रति दिन, क्षीण भइरहेको छ ।

 

तात्पर्य के भने दोक्लाम विवाद अहिलेलाई किनारा लागेको देखिए तापनि चीन र भारत दुबैले हिमालय क्षेत्र र यस क्षेत्रमा अवस्थित देश तथा बंगालको खाडी र हिन्द महासागर क्षेत्रमा आआफ्नो शक्तिकेन्द्रित र विस्तार गर्दै जानेछन् । यसबाट उनीहरुबीचको आर्थिक सहकार्यमाथि पक्कै दुष्प्रभाव त पर्नेछ नै, पूर्वी एसियाका देश तथा दक्षिण एसियाका नेपाल, बंगलादेश, श्रीलंकालाई तटस्थताको नीति निर्वाह गर्न निकै मुश्किल पर्ने देखिन्छ । यस विषयमा अफगानिस्तानको चर्चा सान्दर्भिक हुँदैन किनभने यसले के गर्ने भन्ने निर्णय काबुलमा होइन, वाशिङटनमा हुने गर्छ । पाकिस्तान खुलेरै चीनतर्फ छ भने भूटान भारतको सुरक्षा छाता अन्तर्गत रहेकाले दुबैको नियति तदनुरुप नै निर्धारण हुनेछ ।

 

Comments

NIC Asia