MENU
नयाँ ध्रुबीकरणको उपादेयता तथा देश, जनता र लोकतन्त्रको भविष्य
 : 944 views
  Oct 04, 2017


नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले निर्वाचनमा तालमेल गर्ने र संगसंगै पार्टी एकिकरण गर्ने सहमतिमा हस्ताक्षर गरेर दशै लगत्तै समाचारविहिन बनेका आम सञ्चार माध्यमलाई नयाँ समाचारको बहार दिएका छन् । साथै विचार निर्माता, राजनीतिक टिप्पणीकार र स्तम्भकारलाई बिश्लेषणको नयाँ बिषय ।

 

 

विगतका तीन वटा संसदीय निर्वाचन, दुईवटा संविधानसभा निर्वाचनको क्रममा ‘एक ठाम, एक वाम’को वामपन्थी चुनावी तालमेलसमेत नभएको अनुभवको पृष्ठभूमिमा साथै एमाले र माओवादी वीच रहेको भनिएको तिक्तताले गर्दा पनि अहिलेको यो चुनावी तालमेल लगत्तैको पार्टी एकिकरणले सवैलाई चकित बनाउनु अस्वाभाविक थिएन ।

 

 

यो एकिकरण तथा तालमेल अनपेक्षित होइन भन्ने अर्काथरि तर्कशास्त्रीहरुको दावी छ । विगत धेरै बर्षदेखि नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्नु पर्छ भन्नेमा अहिलेका धेरै नेताहरु एक थिए । जस्तो नेपालमा कम्युनिष्ट पार्टीका अन्तिम संस्थापक निरञ्जनगोविन्द बैद्यको तेह्रौ दिनको पुण्यतिथिमा पनि अहिलेका सवैजसो कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुले एउटा मात्र वामपन्थी दलको आवश्यकता औल्याएका थिए ।

 

अहिले कै बिषयमा भने एमाले नेता माधबकुमार नेपालले केहि अगाडि संकेत नगरेका होइनन् । माओवादी नेता बर्षामान पुनले यसबारे करिब एक महिना अगाडिबाटै स्पष्ट पारेका थिए । सामाजिक सञ्जालमा धेरैले उनलाई उडाए पनि तर यस बिषयमा धेरै अगाडिदेखि गृहकार्य भै रहेको थियो । तर, गजब लाग्दो कुरा के भने दैनिक रुपमा देशमा भैरहेका राजनैतिक घटनाहरुको विकासक्रमवारे प्रधानमन्त्रीलाई जानकारी दिने राष्ट्रिय अनुसंन्धान विभागले भने बामपन्थी ध्रुबीकरणवारे सुइकोसम्म पाएन ! उक्त विभागले समेत सञ्चार माध्यमबाट मात्र थाहा पायो भन्ने सुनिएको छ ।

 

 

यो एकता तथा तालमेललाई लिएर नेपाली कांग्रेस भित्र खैलाबैला नै उत्पन्न भएको वाम एकताको घोषणापछि यसका नेताहरुले ब्यक्त गरेका प्रतिक्रियाले नै देखाउँछ । एमाले र माओवादी केन्द्रले मंगलवार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनको खबर फैलिएपछि पनि कांग्रेसी नेताहरु पत्याइरहेका थिएनन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले बाम ध्रुवीकरणलाई अप्राकृतिक गठबन्धन भनेका छन् । साथै अन्य कांग्रेसी नेताहरुले यो घटनालाई सहज रुपमा लिन नसकेको उनीहरुमा ब्याप्त हडबडीले प्रष्ट पारेको छ । साथै बामध्रुवीकरणको प्रतिक्रियाको रुपमा कांग्रेसले गैरवाम प्रजातान्त्रिक एकताको पहल गर्नुपर्ने आवश्यकतालाई नै अहिलेको प्रतिरोधी उपाय ठानेको देखिएको छ ।

 

 

अर्कोतर्फ यो गठबन्धनको श्रोत षडयन्त्र हो भन्ने ठूलै जमात बजारमा ब्याप्त छ र सामाजिक संजालमा आफ्ना धारणा ब्यक्त गरिरहेका छन् । अनेक विचार र तर्क बितर्क बजारमा व्याप्त छ । एकातर्फ उनीहरुमा यो गठबन्धनको कारक नेपालको उत्तरतर्फको छिमेकी हो भन्ने बिश्लेषण दह्रो छ भने अर्कोतर्फ नेपालको ‘युनिक’ अर्थात मौलिक पहिचान भएका सदावहार वामपन्थी नेता नारायणमान विजुक्छे ‘रोहित’ले भने यसलाई भारतीय षडयन्त्रको रुपमा लिएका छन् ।

यो गठबन्धनको भविष्य राष्ट्रिय प्रजातन्त्र पार्टीको केही समय अघि भएको एकिकरणको जस्तै हुने ठोकुवा गर्ने राजनीतिका पण्डितहरुको पनि कमी छैन । यस पछाडि बलीयो कारण पनि रहेको छ र यसलाई नकार्न पनि सकिदैन । वामपन्थीहरुमाथि ‘हतारमा जुट्ने र रफ्तारमा फुट्ने’ रोगले ग्रस्त भएको आरोप पहिलेदेखि लाग्ने गरेको सबैलाई अबगत नै छ ।

 

 

यो बामपन्थी गठबन्धनमा पाँच जना प्रधानमन्त्री भै सकेका व्यक्तिहरु रहेका छन् । प्रधानमन्त्री भै सकेको ब्यक्तिको छुट्टै राष्ट्रिय र अन्तरराष्ट्रिय ‘लिभरेज’को कारण मौका पर्दा सानो भन्दा सानो घटनाले पनि पार्टी फुट्ने वा चोइटिने सम्भावना अत्यधिक रहेको हुन्छ भन्ने जमात पनि बामखेमामा कम छैन । त्यसैकारण पार्टी एकिकरण नहुदै तुहिने वा एकिकरणपछि नै फुट्ने सम्भावना कायमै छ ।

 

 

राजनीतिमा दल बदल्ने ‘आयाराम, गयाराम’ प्रवृत्ति स्वाभाविक नै मानिन्छ । गठबन्धन बन्ने र भत्कने पनि स्वाभाविक नै हो । राजनीतिमा ‘कोही स्थायी शत्रु र मित्रु हुदैन’ भन्ने कथन बहुत चल्तीमै छ ।

अहिले एकिकरणको प्रकृयामा रहेका दलहरु विचारमा समान छन् भन्ने सबैलाई ज्ञाँत नै रहेको कुरा हो । साथै दुवैको पृष्ठभूमि पनि समान रहेको छ । दुवैमा माक्र्सवाद–लेनिनवाद, माओविचारधारा तथा संसारका अन्य कम्युनिष्ट विचारधाराबाट सिक्ने वैचारिक पृष्ठभूमि उत्तिकै प्रचूर छ । दुवैले सशस्त्र विद्रोह गरेको इतिहास साक्षी छ । दुबैलाई हत्याहिंसाको राजनीतिक अनुभव पनि छ र के पनि सत्य हो भने, अहिले दुवै तत्कालको प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था र पूँजीवादी क्रान्तिलाई मान्ने क्रान्तिकारी दलहरु हुन् । यसलाई अप्राकृति र अस्वाभाविक मान्नु पर्ने आधार चाहि देखिदैन ।

 

 

यो एकिकरणको एउटै राजनीतिक महत्व छ । बिथोलिएको र भद्रगोल बनेको नेपाली राजनीतिलाई सम्हाल्न र स्थिरता कायम राख्नका लागि बलियो राजनीतिक, दार्शनिक र संगठनात्मक आधार भएको पार्टी निर्माण हुनु आवश्यक छ । साथै गैरबाम खेमामा पनि यस्तै प्रकृतिको बलीयो पार्टी निर्माण भएमा त्यसले देशलाई अहिलेको पीडाबाट निकाश दिनसक्छ । अहिलेको ध्रुबीकरण दीर्घकालसम्म चलेमा यो देश, जनता र लोकतन्त्रकोे लागि एउटा सुखद शुरुवात हुने विश्वास गर्न सकिन्छ ।

 

 

 

Comments

NIC Asia