MENU
राजेश खन्नाको जीवन : सुखद सुरुवात,दुखद अन्त्य
 : [views]
  Jan 01, 2019

राजेश खन्ना साँच्चो अर्थमा भारतीय चलचित्र उद्योगका पहिला सुपरस्टार थिए।

चाहे कपाल पाल्ने उनको शैली होस् वा कमिज लगाउने तरिका अथवा अलिकति नजर झुकाएर हेर्ने स्वभाव, राजेश खन्नाले चलचित्रप्रेमीहरूको एउटा सिङ्गो पुस्तालाई सम्मोहित पारेका थिए।

 

उनीबारे लेखिएको चर्चित किताब ‘द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार’ का लेखक यासिर उस्मान भन्छन्, बंगालकी एक वृद्धा थिइन् जसलाई मैले सोधेँ राजेश खन्ना तपाईँका लागि के थिए? उनले भनिन्, तपाईँ बुझ्नुहुन्न।

 

उनले अगाडि थपिन्, “जब हामी उनको फिल्म हेर्न जान्थ्यौँ लाग्थ्यो उनीसँग भेटन् गइरहेका छौँ। हामी मेकअप गरेर र राम्रो लुगा लगाएर फिल्म हेर्न जान्थ्यौँ। उनले आँखा झिम्काउँदा, मुन्टो घुमाउँदा वा मुस्कुराउँदा हाम्रै लागि सबै गरेजस्तो लाग्थ्यो।”

 

“जुन ‘मास हिस्टिरिया’बारे मानिसहरू कुरा गर्छन्, त्यसका अनेकौँ किस्सा मैले सुन्न पाएको छु कि कसरी सेतो रङ्गको उनको गाडी महिलाहरूको लिपस्टिकले गुलाफी हुन पुग्थ्यो र कसरी उनको गाडीको धुलोले महिलाहरूले आफ्नो सिउँदो सजाउँथे। यी सब अफवाह होइनन्, वास्तविक कुरा हुन्।”

 

अहङ्कारी र ढिलो पुग्ने

सन् १९६५ मा युनाइटेड प्रोड्युसर्स र फिल्मफेयर प्रतिभा खोजी अभियानले राजेश खन्नालाई फेला पारेको थियो। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन।

 

यासिर उस्मान भन्छन्, “युनाइटेड प्रोड्युसर्स अन्तर्गत बीआर चोपडा, जीपी सिप्पी र शक्ति सामन्त जस्ता निर्देशक हुन्थे। उनीहरू मिलेर राम्रा अभिनेताको खोजी गर्थे।”

 

जसअन्तर्गत विनोद मेहरा, राजेश खन्ना र फरीदा जलाल जस्ता अभिनेता-अभिनेत्री छानिएका थिए। एउटा सम्वाद सुनाएपछि राजेश खन्ना चुनिएका थिए।

 

जीपी सिप्पीले सबैभन्दा पहिला राजेश खन्नालाई ‘राज’ नामक चलचित्रमा भूमिका दिए, जसमा उनको दोहोरो भूमिका थियो। त्यसपछि राजेश खन्नाले चेतन आनन्दको ‘आखिरी खत’ मा भूमिका पाए, तर उक्त चलचित्र असफल भयो।

 

भनिन्थ्यो राजेश खन्ना अहङ्कारी थिए र चलचित्रको छायाङ्कनका क्रममा उनी सधैँ ढिला पुग्थे।

 

त्यसबारे जान्न खोज्दा थाहा भयो उनी आफ्नो पहिलो चलचित्रदेखि नै त्यस्तै थिए। पहिलो दिनको छायाङ्कनका लागि बिहान आठ बजे बोलाइएका राजेश खन्ना ११ बजे पुगे। सबैले उनलाई हेरिरहेका थिए, ढिलो भएकोमा केहीले आँखा तरे भने वरिष्ठ प्राविधिकबाट उनले गाली पनि खाए।

 

जवाफमा राजेश खन्नाले कुनै पनि कुराका लागि आफ्नो जीवनशैली बदल्न नसक्ने भने। त्यो सुनेर सबै मौन भए। यस्तो व्यवहारबाट दुइटा लख काटिन्छः कि त्यो मान्छ सफलताको शिखरमा पुग्छ कि नराम्ररी असफल हुन्छ।

 

‘आराधना’बाट स्थान बनाउन सफल

चलचित्र ‘आराधना’ले राजेश खन्नालाई राष्ट्रिय पहिचान दिलायो। शर्मिला टैगोरका लागि बनाइएको चलचित्रले राजेश खन्नालाई प्रस्तुत गर्‍यो।

 

‘बलिवूड न्यूज सर्भिस’का सम्पादक एवम् वरिष्ठ पत्रकार दिनेश रहेजा भन्छन्, “म अहिले पनि सम्झिन्छु मेरा दाइले आफ्नी गर्लफ्रेन्डलाई आकर्षित गर्न ‘मेरी सपनों की रानी कब आगोगी’ भन्ने गीत ठूलो आवाजमा बजाउँथे जुन ती केटीको घरसम्म सुनिन्थ्यो।”

 

यो गीतको छायाङ्कन दार्जिलिङमा गरिएको थियो र रमाइलो कुरा के थियो भने अभिनेत्री शर्मिला टैगोर विनै त्यसको छायाङ्कन भएको थियो। पछि शर्मिलाको हिस्सा स्टुडियोमा छायाङ्कन गरी दुइटा फूटेजलाई जोडिएको थियो।

 

यासिर उस्मान भन्छन्, “यो फिल्ममा राजेश खन्नाको सानो भूमिका थियो। उनी शर्मिला टैगोरका पति बनेका थिए जसको प्रारम्भतिरै मृत्यु हुन्छ। बिस्तारै फिल्मले आकार लिँदै गयो। र, पछि छोराको भूमिका पनि राजेश खन्नालाई नै दिने निर्णय भयो।”

 

पहिलो कहानीमा मुख्य भूमिका आमाको थियो। तर चलचित्र पूरा हुँदा राजेश खन्नाको भूमिका दोहोरो भइसकेको थियो। चलचित्रको प्रवर्द्धन यसरी गरियो कि मानौँ त्यो शर्मिला टैगोर अभिनित ‘मदर इन्डिया’ होओस्।

 

तर ‘ट्रायल शो’ हेरेर निस्केपछि मानिसहरूले शर्मिला टैगोरको सट्टा राजेश खन्नाबारे सोध्न थाले। त्यसअघि आफूले सबैलाई नमस्ते गर्दा कसैले मतलब नगरेको कुरा राजेश खन्नाले एउटा अन्तर्वार्तामा बताएका थिए। प्रदर्शनपछि राजेश खन्नालाई होटलबाट बोलाइयो।

 

त्यसपछि हो राजेश खन्नाद्वारा अभिनित चलचित्र सफल हुने सिलसिला शुरू भएको। लगातार उनका १३-१४ वटा चलचित्र सफल भए जुन उदाहरण अहिलेसम्म बलिवूडमा भेटिँदैन।

 

यासिर उस्मान भन्छन्, ” ‘मास हिस्टिरिया’ यस अर्थमा थियो कि त्यो जमानामा न सामाजिक सञ्जाल थिए न टीभी च्यानलहरू। अचानक एउटा केटा आयो र समग्र चलचित्र जगत्‌माथि हावी भयो। उनका हरेक फिल्म ‘जुब्ली हिट’ र ‘ब्लकबस्टर’ हुन्थ्यो। एउटा सिनेमाघरमा ‘आराधना’ प्रदर्शन भइरहेको थियो भने अर्कोमा ‘दो रास्ते’।”

 

“मानिसहरू ‘आराधना’ सकेपछि ‘दो रास्ते’ हेर्न जान्थे। सबै ठूला सिनेमाघरमा ६-७ महिनादेखि राजेश खन्नाकै चलचित्र प्रदर्शन भइरहेका थिए।”

 

मीठो मुस्कान

चर्चित चलचित्र कथाकार सलीम खान भन्छन्, कुनै पनि अभिनेताप्रति त्यो हदसम्मको आकर्षण न त्यसअघि मैले देखेको थिएँ न त्यसपछि देखेँ।

 

उनी भन्छन्, “उनी अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन्। सलमान, शाहरुख वा राजेन्द्र कुमार जो पनि आए राजेश खन्नाको लोकप्रियतालाई पछ्याउन सकेनन्। कारण यो थियो कि मानिसहरूले राजेश खन्नामा आफूलाई पाउँथे, उनको मुस्कानले महिलाहरूलाई निकै आकर्षित गर्थ्यो।”

 

यासिर उस्मान भन्छन्, “७० र ८० को दशकका चर्चित अभिनेता नवीन निश्चलले अमिताभ बच्चन र राजेश खन्ना दुवैसँग काम गरेका थिए। त्यतिबेला अमिताभ बच्चनको समय शुरू भइसकेको थियो। शोले र दीवार चलचित्र आइसकेका थिए।”

 

“एउटा बिहेभोजमा ठूला अभिनेता-अभिनेत्री पुगेका थिए, राजेन्द्र कुमार, धर्मेन्द्र र राज कपुर लगायत। अचानक राजेश खन्ना आइपुगे र सबै क्यामेरा उनीतिरै तेर्सिए।”

 

“त्यो कार्यक्रममा चार-पाँच सयजना थिए तर सबैजना राजेश खन्नाकै पछाडि रहेको माहोल थियो। मैले कैयौँ वर्ष फिल्म क्षेत्रमा बिताएको छु तर त्यस्तो उनको हकमा मात्रै भएको पाएँ।”

 

अन्जु महेन्द्रु र राजेश खन्नाबीच दरार

“उसो त लाखौँ महिलाले राजेश खन्नालाई मन पराउँथे तर उनको सबैभन्दा नजिककी साथी थिइन् अन्जु महेन्द्रु। यासिर उस्मान भन्छन्, “अन्जु उनको जिन्दगीमा त्यतिबेलादेखि थिइन् जतिबेलादेखि उनी सङ्घर्ष थाले। अन्जुले उनलाई धेरै सहयोग गरिन्।”

 

“त्यतिबेला चलचित्र नगरीमा स्थापित हुनका निम्ति अन्जु पनि सङ्घर्षरत थिइन्। राजेश खन्ना अन्जुको घर गइरहन्थे र घरबाहिर उनको गाडी देखेर महिलाहरू उनलाई कुरिरहन्थे। राजेश खन्नाको सफलतसँगै अन्जुसँगको उनको सम्बन्धमा पनि परिवर्तन आयो।”

 

“उनी ठूलो स्टार बन्न पुगे। उनी चाहन्थे त्यसलाई अन्जुले पनि महसुस गरून्। अन्जु भन्थिन् मेरो लागि उनी जतिन नै थिए तर उनी चाहन्थे म उनीसँग सुपरस्टारलाई गर्नुपर्ने व्यवहार म गरूँ, जुन मेरो लागि सम्भव थिएन।”

 

“त्यसबाहेक उनलाई प्रशंसा गर्ने मानिसहरू चाहिएको थियो त्यस्ता मानिसहरूमाझ रहिरहन उनी मन पराउँथे। सफलता पाउँदै गएपछि राजेश खन्नाले अन्जुलाई कम समय दिन थाले र बिस्तारै दुवैको सम्बन्धमा दरार आउन थाल्यो।”

 

यासिर भन्छन्, “केही समयपछि राजेश खन्नाको जिन्दगीमा डिम्पलको आगमन भयो। उनी उमेरले सानै थिइन्। तीन-चार दिनमै दुईजनाको बिहेको टुङ्गो लाग्यो। यो कुरा अन्जुले पछि मात्रै थाहा पाइन्।”

 

मुम्बइको बान्द्रबाट जुहु भएर गइरहको आफ्नो जन्तीको बाटो राजेश खन्नाले परिवर्तन गराए र त्यसलाई अन्जुको घरको बाटो भएर लगे। शायद राजेश खन्नाले अन्जुलाई आफ्नो हैसियत देखाउन चाहेका थिए। हुन त पछि अन्जुसँग फेरि उनको मित्रता भयो।

 

सञ्जीव कुमारको प्रशंसा गर्दा…

 

मान्छेको जीवनमा राम्रो समय मात्र सधैँको लागि रहिरहँदैन। राजेश खन्नाको हकमा पनि त्यस्तै भयो। भनिन्छ उनले सफलतालाई राम्रोसँग सम्हाल्न सकेनन्।

 

यासिर उस्मान भन्छन्, “असफलताभन्दा सफलताले मानिसलाई सिध्याउँछ। सफलता दोहोरो नशा जस्तै हुन्छ। सफलतासँगै थुप्रै रकम पनि आउँछ। र, त्यो बढ्दै गएपछि लरखराएर मान्छे लड्न पुग्छ। सफलतालाई पचाउन गाह्रो हुन्छ।”

“राजेश खन्नाले कतै न कतै सन्तुलन कायम राख्न सके

 

नन्। वर्षमा उनले १० वटा फिल्ममा अभिनय गर्थे। उनको तर्क हुन्थ्यो प्रशंसकमाझ म धेरैभन्दा धेरै आउन चाहन्छु। सफलतासँगै उनमा अहङ्कार पनि बढ्दै गयो।”

 

एउटा रोचक प्रसङ्ग छ। ‘हाथी मेरे साथी’ चलचित्रदेखि नै सलीम खान उनको धेरै निकट थिए। एकचोटि एउटा म्यागजिनको मुख्यपृष्ठमा सञ्जीव कुमारबारे समाचार छापिएको देखेर राजेश खन्नाले सलीम खानलाई लिएर आउन आफ्ना गाडी चालकलाई अह्राए।

 

सलीम खान आउना साथ राजेश खन्नाले सोधे, सञ्जीव कुमार तपाईँलाई कस्ता अभिनेता लाग्छन्? जवाफमा सलीम खानले एकदम राम्रो भने र त्यसपछि ६ महिनासम्म राजेश खन्नाले उनलाई फोन समेत गरेनन्।

 

‘एङ्ग्री यङ्ग म्यान’ को आगमन

‘एङ्ग्री यङ्ग म्यान’ को आगमनपछि प्रेमप्रधान चलचित्रहरू पुराना लाग्न थाले। राजेश खन्नाले केही यस्ता चलचित्रमा काम गरे जसका कारण उनले ‘करियर’मा ठूलो घाटा बेहोर्नुपर्‍यो।

 

यासिर उस्मान भन्छन्, “मूल रूपमा राजेश खन्ना प्रेमप्रधान चलचित्रमा अभिनय गर्ने स्टार थिए। उनले केही द्वन्द्वप्रधान चलचित्रमा काम गरे पनि त्यो स्वाभाविक लागेन। चलचित्रको विषयवस्तुमा आएको परिवर्तनसँगै उनी डिप्रेशनमा गए।”

 

डिम्पलसँग पनि मनमुटाव

 

कैयौँ असफल चलचित्रपछि ‘सौतन’बाट राजेश खन्नाले पुनरागमन गरे र उनलाई लाग्यो उनी फेरि पुरानो लयमा फर्किए।

 

सो चलचित्रका निर्देशक सावनकुमार टाकका अनुसार सोही चलचित्रका क्रममा राजेश खन्ना र टीना मुनिमबीच प्रेम शुरू भयो र डिम्पल उनको जीवनबाट बाहिरिन्।

 

उनी भन्छन्, “डिम्पल मरिशस आएकी थिइन्, राजेश र टीना एकअर्काको नजिक भएको आफ्नै आँखाले देखेपछि उनी मुम्बइ फर्किन्। एकदिन राजेश खन्ना छायाङ्कनबाट फर्केपछि डिम्पललाई घरमा देखेनन्। एउटा कागजमा उनी लेखेर गएकी थिइन्, आइ लभ यु, गुड बाय।” त्यसपछि डिम्पल उनको जीवनमा कहिल्यै फर्किनन्।

 

जीवनको अन्तिम हिस्सामा एक्लो

आफ्नो जीवनको अन्तिम हिस्सामा राजेश खन्ना एक्लो भए। उनी क्यान्सरबाट पीडित भए। हुन त उनका निकटवर्तीहरूले उनको मनोबल उकास्ने काम गरिरहे। तर एकदिन राजेश खन्नाले भने, “अब मेरो समय आइसक्यो।”

 

यासिर उस्मान भन्छन्, “करलाई लिएर आयकर विभागले उनको घर सील गरिदियो। जसका कारण उनी आफ्नो कार्यालयमा बस्न थाले। नजिकै एउटा म्याकडोनल्ड रेष्टुराँ थियो जहाँ उनले बर्गर र मिल्क शेक खान्थे।”

 

“उनी गाडी लिएर एक्लै जान्थे। त्यहाँ उनलाई प्रतीक्षा हुन्थ्यो कि कोही आओस् र मलाई चिनिहालोस्। कहिलेकाहीँ आफ्ना पुराना प्रशंसकहरूले चिन्दा उनी खुशी हुन्थे।”

-बिबिसी बाट

Comments

NIC Asia