MENU
सुखलाई लत्याउ,दुःखलाई अङ्गाल
 : [views]
  Jan 01, 2019

रङ्गमञ्चको सुरुवात

कादर खान- रङ्गमञ्चले मलाई निकै ठूलो सहयोग गरेको छ । मैले ८–९ वर्षको उमेरमा नै थिएटरमा काम गर्न थालि सकेको थिएँ । महबुब खानका सिनेमा ‘रोटी’मा एउटा बुढा अभिनेता हुनुहुन्थ्यो । उनको नाम हो– असरफ खान । उनले एउटा नाटक तयारी गरिरहेका थिए– वमाज अजरा । यो रोमियो जुलियट टाइपको नाटक थियो । उनलाई एउटा सानो राजकुमारको खाँचो थियो । त्यो नै मेन क्यारेक्टर थियो । भनेपछि ८–९ वर्षको त्यस्तो केटालाई कहाँ खोज्ने ? जसले झण्डै ४० पाना लेख्न पनि सकोस र त्यो प्रत्यक्ष दर्शकहरूलाई सुनाउन सकोस् ।

तिनताका हाम्रो परिवार निकै गरिब थियो र हामी झुप्रोमा बस्थ्यौँ । आमा मलाई प्रार्थनाका लागि मस्जिद पठाउनु हुन्थ्यो । म त्यहाँबाट भागेर एक्लै कब्रस्तान जान्थेँ र दुइटा चिहानका बीचमा चर्को–चर्को एक्लै बोल्ने गर्थेँ । जो मान्छेले राम्रो बोलेको हो भन्ने मलाई लाग्थ्यो मैले उसको नक्कल गरेर उसैको शैलीमा बोल्ने गर्र्थें । प्रार्थनाको समय एक–ढेड घण्टा बितेपछि म घर फर्किन्र्थें । तर प्रायजसो आमाले मेरो गतिविधि समाइ हाल्नुहुन्थ्यो । तिनताका चप्पल त कहिलै लगाइएन, त्यसैले आमाले मेरो खुट्टा हेरेर म मस्जिद गइन भन्ने अनुमान गर्नुहुन्थ्यो ।

 

भनेपछि तपाईं निकै बठ्याइँ गर्नुहुन्थ्यो?

कादर खान–के गर्नु ? मान्छेभित्र क्रान्ति भन्ने कुरा जन्मसिद्ध हुन्छ । मान्छे जन्मदै विद्रोही हुन्छ । केही मानिसहरूले असरफ खानलाई गएर एउटा केटो छ, जो राति दुइटा चिहानको बीचमा एक्लै बसिरहन्छ र चिच्चाइ रहन्छ भनेछन् । त्यसपछि उनले कयौँ रातसम्म मलाई नियालिरहेछन् । त्यसै गरी एउटा रात उनले टर्चलाइट बालेर त्यसको प्रकाश मेरो मुखमा लगाउँदै भने– ‘यता आऊ । त्यहाँ बसेर एक्लै तिमी के बोलिरहन्छौँ ?’ मैले भनेँ– ‘केही होइन, जे राम्रो लाग्छ त्यही बोल्छु ।’

 

उनले मतिर आँखा झिमिक्क नपारी– नाटकमा काम गर्छौँ ? भनेर सोधे । मैले नाटक भनेको के हो र ? भनेर सोधेँ । उनले भने– यो तिमीले बोलेको कुरा नै चर्को–चर्को गरी बोल्ने हो भने त्यसैलाई नाटक भनिन्छ । होइन मैले यस्तो पहिले कहिल्यै पनि गरेको छैन भन्ने मेरो कुरा थियो । त्यसपछि के थियो र उनले मेरो ट्रेनिङ नै सुरु गराइदिए । उनको मार्गनिर्देशन, माया र पितृवत स्नेहले म महिना दिनमै रोलका लागि तयार भएँ ।

 

ढेड महिनापछि नाटक सुरु भयो । दर्शकहरूले उभिएरै मलाई हौसला थपे । त्यसपछि एक जना बुढा सज्जन स्टेजमा आए र मलाई सयको नोट दिँदै भने– यो उमेरमा तिम्रा लागि यो ठूलो रकम हो । यो तिम्रा लागि प्रमाणपत्र हो । सधैँ के सम्झनु भने यो प्रमाणपत्र तिमीले निकै सानो उमेरमा पाएका थियौँ । मेरो आशिष तिमीसँगै छ । त्यसपछि उनले मेरो टाउकोमा हात राखे र खोई कता हराए । मालई उनी को थिए भन्नेसमेत थाहा थिएन ।

 

सय रुपियाँको त्यो नोट मसँग निकै महिनासम्म सँगै रह्यो । तर गरिबीले मान्छेलाई सम्मान र ट्रफी पनि बेच्न विवस बनाइदिन्छ । मेरो पनि त्यस्तै परिस्थिति बन्यो । घरमा चामल ल्याउन मैले त्यो सयको नोट खर्च गरेँ । त्यसपछि मैले लेख्ने र निर्देशन गर्ने काम थालेँ । त्यसपछि म कलेजमा विद्यार्थीहरू माझ यति लोकप्रिय भइसकेको थिएँ कि बम्बईका मान्छेहरूले के भन्न थालेका थिए भने यदि कादर खानको नाटकमा काम गरेको छैन भने त्यो बम्बईको कुनै कलेजमा गएको छैन ।

 

म यति चर्चित भइसकेको थिएँ कि अन्य विद्यालय र कलेजका विद्यार्थीहरू मेरो अटोग्राफ लिने गर्थे । भन्नुको अर्थ म आफ्नो जीवनको पहिलो खुड्किलोमै निकै चर्चित भइसकेको थिएँ । त्यसपछि मैले पढ्ने काम सुरु गरेँ । मूलतः म सिभिल इन्जिनियर थिएँ । म स्ट्रक्चर, हाइड्रोलिक्स, आरसीसी स्टिललगायतको विषयमा पढाउँथेँ । तर मेरो रुचि भने थिएटरमा थियो । स्टानिस्लाब्स्की, मैक्सिम गोर्की, एनटोन चेखब र दोस्तोवस्की मेरा अर्का अध्यापक थिए ।

 

कमाठिपुरा
हाम्रो परिवार मूलतः काबुलको हो । म त्यहीँको एउटा कट्टर मुस्लिम परिवारमा जन्मेको हुँ ।  हजुरबुवा सारै गरिब थिए । हातमुख जोड्न निकै धौ–धौ थियो । मभन्दा अघि मेरा तीन भाइ थिए जो आठ वर्ष पुग्दा नपुग्दै बिते । जब म पैदा भएँ आमाले– होइन यो ठाउँ मेरो छोराका लागि होइन भन्नुभयो । खासमा काबुलको हावा आफ्ना केटाकेटीलाई नफापेको आमाको ठम्याइ थियो । उनी त्यहाँबाट हिँड्न चाहन्थिन् तर कहाँ ? केही पत्तो थिएन ।

त्यहाँबाट निस्किएर खोई कसरी हो, हाम्रो परिवार बम्बई आइपुग्यो । नौलो ठाउँ, नौलो सहर, नौलो देश जान आउन कोही चिनेका मान्छे छैनन् । साथमा एक सुको छैन् । परिस्थितिले उहाँलाई बम्बईको सबैभन्दा नराम्रो सुकुम्बासी टोल कमाठिपुरा ल्याएर थेचार्यो । घर बनाउने सबै मजदुरहरू त्यहीँ रहन्थे । तर यो निकै नराम्रो सुकुम्बासी टोल थियो । सबैजसो रन्डीखाना त्यहीँ थिए । तपार्इं कुनै पनि नराम्रो कुराका बारे सोच्नुस्, त्यहाँ मौजुद थियो । यसलाई एसियाको सबैभन्दा ठूलो सुकुम्बासी टोल भनिन्थ्यो ।

 

धारावीलाई पनि बम्बईको ठुलो सुकुम्बासी टोल भनिन्छ तर कमाठिपुरा त त्योभन्दा पनि निकृष्ट थियो । धारावीमा झुप्राहरूको सङ्ख्या धेरै छ तर त्यहाँ– वेश्या, अफिम, गाँजा, चरस सबै पाइन्थ्यो । यदि कसैले आफ्नो जीवन बर्बाद गर्ने हो भने ऊ यहाँ आए पुग्ने थियो । मैले पहिलो कक्षादेखि सिभिल इन्जिनियरसम्मको आफ्नो अध्ययन त्यहीँ बसेर सकेको हो ।

पढेँ

मैले टोलका अरू केटाहरूलाई नियालिरहेको थिएँ, जसले घरको खर्च चलाउन काम गर्नेगर्थे । कहिलेकाहीँ घरमा खाने कुरा नहुँदा म पनि काममा जाऊँ कि क्या हो भन्ने भाव आउँथ्यो । एक दिन म आफ्नै अडानमा पराजित हुन लागेको थिएँ कि मेरो काँधमा कसैले हात राखेको महशुस गरेँ ।

 

पछाडि आमा उभिनुभएको थियो । उहाँले भन्नुभयो– ‘मलाई थाहा छ, तँ कहाँ जाने विचार गर्दैछस् । केही केटाहरूसँग कुरा गर्दै थिइस । तैले दिनमा दुई–तीन सय कमाउने बारे सोच्दैछस् । तर तैले कमाएको दुई–तीन सयले यो घरको गरिबी मेट्न सक्दैन । त्यसपछि त पुरै जीवनभर त्यही दुई–तीन सय कमाएर बस्छस् । यदि तँैले यो घरको गरिबी मेट्न चाहन्छस् भने तैले पढ्नुपर्ने हुन्छ ।

 

जसै आमाले मलाई पढ भन्नुभयो, त्यो कुरा मेरो टाउकोमा बज्रियो र गिदी हुँदै मेरो नसा–नसामा गएर मिसियो । त्यो कुरा म आज पनि महशुस गर्न सक्छु । मेरो पूरै जिउ काम्न थाल्यो । त्यसपछि मैले निर्णय गरेँ मैले मेरी आमालाई कहिल्यै पनि धोका दिन्न । मैले पढ्न सुरु गरेँ । हामीसँग दुइटा कोठासमेत थिएन । गणितमा निकै धेरै जोड घटाउ गर्नुपर्ने हुन्थ्यो । मसँग हिसाब किताब गर्न कागजसमेत हुँदैनथ्यो । त्यसैले मैले चक किनेर ल्याएर भुइँमा लेख्दै मेट्दै गरेर रातभरि पढ्थेँ । आमा रातभरि एउटा कुनोमा बसेर मैले पढ्दै गरेको हेर्नुहुन्थ्यो । फेरि उहाँ मलाई एकाबिहानै ब्युझ्याएर अब पढ भन्नु हुन्थ्यो ।

 

पढ्नुपर्छ भन्ने यस्तो जबरजस्त चेतना उहाँमा कसरी आयो?

 

मलाई थाहा छैन । मेरा लागि उहाँ भगवान हो । मेरीजस्ती आमा सबै छोराहरूले पाऊन् भन्ने कामना गर्छु । उहाँले मलाई जीवनमा सबै कुरा दिनुभयो । मेरो भनाइको आशय भौतिक कुराहरूसँग होइन, आजसम्म– म जे बन्न सकेँ, त्यो मेरी आमा र बुबाका कारण सम्भव भएको हो । मेरा बुबा निकै कमजोर मान्छे हुनुहुन्थ्यो । निकै गरिब हुनुहुन्थ्यो तर निकै पढेको । उहाँलाई दश प्रकारको फारसी र आठ प्रकारको अरबी भाषाको ज्ञान थियो ।

उहाँले यो सबै कुरा कसरी सिक्नु भयो त?

 

काबुलमा उहाँले खोई कुन चाहिँ हो एउटा विद्यालयमा काम गर्नु हुन्थ्यो । उहाँको हस्तलिपि निकै राम्रो थियो । तर पढेलेखेका मान्छेहरू पैसा कमाउन सक्दैनन् । जब उहाँ बम्बई आउनुभयो, त्यसपछि यहाँको एउटा मस्जिदमा मौलबी बन्नुभयो । त्यहाँ उहाँले अरूलाई अरबी भाषा सिकाउनु हुन्थ्यो । तर त्यसको साटो उहाँलाई त्यहाँ केही पनि हासिल हुँदैन्थ्यो । सिवाय पाँच–छ सय मात्र महिनाको ।

सौता बुबा र म

 

गरिबीका कारण मेरो आमा–बुबाको सम्बन्ध अगाडि बढ्न सकेन । बुबा घरको आवश्यकता पूर्ति गर्न सक्नु हुँदैनथ्यो । घरमा सधैँ एउटा तनावको वातावरण रही रहन्थ्यो । त्यसपछि उहाँहरू छुट्टिनुभयो । म जम्मा चार वर्षको थिएँ, जति बेला आमा–बुबाको तलाक भयो । त्यसपछि मेरो हजुरबुबा मामासँग आउनुभयो र उहाँले भन्नु भयो– एउटी जवान महिला यस्तो घिनलाग्दो ठाउँमा बस्ने, त्यो पनि एक्लै ? तिमीले अब बिहे गर्नुपर्ने हुन्छ ।’ त्यसपछि उहाँले मेरी आमाको दोस्रो विवाह गराई दिनुभयो । त्यसपछि आठ वर्षको उमेरदेखि मैले आफ्नो जीवनमा मेरी  आमाका दुइटा पतिलाई बेहोर्न थालेँ– एउटा वास्तविक बुबा र अर्को सौता ।

 

आमा–बुबा छुट्टिसक्नुभएको थियो तर दुवैको मनमा एकअर्काका लागि सहानुभूति थियो । सबैलाई थाहा थियो, उनीहरू गरिबीका कारण छुट्टिएका हुन् । परिस्थिति उनीहरूलाई सँगै देख्न चाहँदैनथ्यो । नभए उनीहरू छुट्टिनुपर्ने कुनै कारण थिएन । मेरो मनमा आमाका लागि जति धेरै माया थियो त्यति नै मेरा सौता बुबाका लागि मेरो मनमा नफरत थियो । उनी कुनै नाटक अथवा स्क्रिनप्लेमा खेलिने सौता बुबा जस्ता थिए ।

 

एक पटक के भयो भने मैले ‘लोकल ट्रेन’ भन्ने नाटकबाट राज्यस्तरीय प्रतियोगितामा पुगेर बेस्टप्ले, बेस्ट राइटर र बेस्ट एक्टरको पुरस्कार लिएर आएँ । म यी सबै कुरा आमालाई देखाउन चाहन्थेँ । त्यस दिन मेरा सौता बा मसँग कुरा गर्ने मुडमा थिएनन् । उनले त्यो पुरस्कारको चाङ देख्ने वित्तिकै आगो भए र मलाई पिट्न थाले । उनले मलाई पट्दा पिट्दै निलो बनाइदिए । मलाई लगातार उनले लात्तिले, हातले, के–के पाउँथे त्यसैले पिटिरहेका थिए । पिट्दापिट्दै थाकेर उनले मलाई घरबाट निकालिदिए । उनी त्यति कठोर हृदयका मान्छे थिए । त्यसपछि म कहिलै पनि फर्केर घर गइन । म आफ्नो प्रिन्सिपलको घरको छेउमा एउटा खाटमा सुतेर जीवन जिउन थालेँ ।

 

त्यति बेला तपाईं कति वर्षको हुनुहुन्थ्यो?

 

त्यति बेला म झण्डै २४ वर्षको थिएँ । त्यति हुँदा पनि म आमालाई भेट्न दिउँसो गइरहन्थे । आमा मलाई घर आउन भन्नुहुन्थ्यो तर मैले त्यो कुरा मान्न सकिनँ । मैले भनेँ– तपाईंलाई माया गर्छु, त्यसैले भेट्न आउँछु तर मेरो आत्मसम्मानले मलाई यहाँ बस्न दिन्न । म त्यो मान्छेबाट बेइज्जत हुन चाहन्न । जब उसले मेरो बेइज्जती गर्छ तब कुन्नि किन मलाई लाग्छ, त्यसले तपाईंको बेइज्जती गर्दैछ ।

 

कैयौँ वर्षसम्म यस्तै चलिरह्यो । फेरि मेरो बिहेको दिन पनि आयो । त्यो मान्छे काम पनि गथ्र्यो र राम्रो सिकर्मी थियो । यदि उसले चाहन्थ्यो भने राम्रो पैसा पनि कमाउन सक्थ्यो तर उसको सङ्गत निकै नराम्रो थियो । उसका साथीहरू उसलाई भट्टी पसल लिएर जान्थे । ऊ निकै रक्सी खान्थ्यो र आमालाई पिट्थ्यो । सबैलाई गाली गथ्र्याे । मलाई अझै सम्झना छ, जब म सानो थिएँ उसले मलाई– जा आफ्नो बाउसँग पैसा मागेर ले भन्थ्यो । म कहिले काहीँ बुबाको अघिल्तिर गएर उभिइरहन्थेँ । बुबाले पैसा लिन आएको हो भन्ने बुझेर मलाई दुई रुपियाँ दिनुहुन्थ्यो ।

 

त्यसबाट मैले अलिकति पिठो, दाल, तेल लिएर आउँथेँ । अनि आमाले खाना बनाएपछि हामीले खान पाउँथ्यौँ । हप्तामा हामी दुई–तीन दिन भोकै बस्थ्यौँ । यो जीवनमा मैले सबै कुरा भोगिसकेको छु । यी सबै कुराले मलाई विद्रोही बनाइदियो र मैले कुनै पनि साहित्य नपढी लेख्न थालेँ ।
मैले आमा र बुबाबाहेक कसैको पनि माया पाइन । भनेपछि मायाको त्यो ठाउँ खाली नै थियो । म त्यस्तो स्कुल र कलेजमा पढेँ जहाँ केटीहरू हुँदैनथे । त्यसले ममा उनीहरूप्रति कुनै प्रकारको अनुराग र स्नेह थिएन । कुनै माया प्रेम थिएन । सबैलाई जीवनमा आमा–बुबाको माया चाहिन्छ । साँचो कुरा के हो भने तपाईंलाई भगवानको पनि प्रेम चाहिन्छ । त्यो नै सबैभन्दा उच्च कोटीको माया हो । तर मान्छे उच्च कोटीको हुँदैन । मान्छेलाई माया चाहिन्छ तर खासमा माया कहीँ पनि हुँदैन । यिनै कुराहरूलाई मैले विद्रोहमा परिणत गरिदिएँ । म लेख्ने काम गर्थेँ । नाटकका निकै पेचिला पङ्क्तिहरू म त्यत्तिकै लेख्थेँ ।

 

तपाईंको सिनेमाको काम?

 

कादर खान– मैले झण्डै २८ वर्षसम्म सिनेमाका लागि लेख्ने काम गरेँ । त्यसपछि म वाक्क भएँ । मूलतः मलाई बुबाले शिक्षक बनाउनुभएको थियो । मैले सबैभन्दा आनन्द पढाउँदा पाएँ । त्यसपछि ग्ल्यामरको संसारमा गएँ । त्यहाँ मैले राम्रो नाम र दाम कमाएँ । तर मेरो मनलाई आराम भने थिएन । मलाई के लागिरहन्थ्यो भने कतै मेरा विद्यार्थीले मलाई कुरिरहेका होलान । त्यसपछि जब मलाई लाग्यो कि नयाँ पिढीले बलिउडमा कब्जा गरिरहेको छ, भन्नुको अर्थ नयाँ नयाँ केटाहरू, जो मेरो निर्देशकको असिस्टेन्टको पनि तल–तल काम गर्थे, उनीहरू डाइरेक्टर र हिरो बनिरहेका छन् ।

 

त्यसले के दर्शाउँथ्यो भने बलिउडमा एउटा ‘जेनेरेसन ग्याप’ भइरहेको थियो । विचार र भावनाहरूमा एउटा दूरी पैदा भइरहेको थियो । मैले एक दुई जनासँग काम त गरे तर त्यसलाई निरन्तरता दिन सकिनँ । त्यसपछि मैले विस्तारै काम गर्न बन्द गरिदिएँ । यसरी म सिनेमा उद्योगबाट बाहिर आएँ । मेरो बेलाका ७०–८० प्रतिशत निर्देशक र एक्टर गइसकेका थिए र उनीहरूसँग सधैँ कुरा गर्नु गारो भइरहेको थियो । उनीहरूका विचारहरू सबै निर्यातित छन् । म त यहीँको भुइँ मान्छे हो । म वास्तवमा कमाठिपुराकै मान्छे हुँ । जबसम्म मलाई त्यो कमाठिपुराकै माहौल उपलब्ध हुँदैन, म न त लेख्न सक्छु न अभिनय गर्न सक्छु ।

 

आजको यो नयाँ पुस्ता यसलाई कम्प्युटर साइन्स र विजनस म्यानेजमेन्टका बारे सबै कुरा थाहा छ । हाम्रो समयमा यी विषयहरू हुँदैनथे । उनीहरूको म्यानेजमेन्ट राम्रो छ । प्रविधि निकै अगाडिको छ तर साहित्यलाई उनीहरूले धेरै पछाडि छोडिसके । अहिले कुनै लेखक नै छैन । उनीहरू लेख्दै लेख्दैनन् । किनभने लेख्नुभन्दा अघि तपार्इंले जीवनका ती यावत पीडामय आगोका भट्टीहरू पार गर्नुपर्ने हुन्छ ।

 

भनेपछि तपाईंले के सोच्नु हुन्छ भने नयाँ पिढीसँग त्यति धेरै भोगेकै छैन कि उसले राम्रो लेख्न सकोस्?

 

हेर्नुस्, यातनाको सघनता– यो पिढीका मान्छेहरू यातनालाई अर्कै केही नामले सम्बोधन गर्छन् । यदि एउटा केटोलाई एउटी केटीसँग प्रेम भइहाल्यो र उसले घण्टौँसम्म उसलाई कुरिरह्यो भने त्यो यातनालाई यिनीहरू ‘सफरिङ’ भन्छन् । होइन हजुर, यो ‘सफरिङ’ होइन । त्यो अरू केही नै हो र त्यो यस्तो कुरा हो जुन तपाईंको अचेतनमा जानुपर्ने हुन्छ । त्यसलाई त्यही नै लेखिनुपर्छ । त्यही रेकर्ड गरिनुपर्ने हुन्छ । त्यसपछि बल्ल तपाईंले जीवनको कुनै पनि समयमा आफैलाई रुवाउने मुडमा पाउन सक्नु हुन्छ ।

 

भनेपछि त्यो कुन समय हो जब तपाईंले अध्यापन,लेखन र अभिनयबाट एकैचोटि सिनेमामा हाम फाल्नुभयो?

 

कादर खान– सिनेमा उद्योगका मान्छेहरू नियमित रूपमा थिएटर आउने गर्थे । उनीहरूले मेरो नाम सुने । मलाई थिएटरको स्टेजमा देखे । उनीहरूले मेरो अभिनयकला र निर्देशन पनि नियाले । त्यसपछि उनीहरूले के भन्न थालिसकेका थिए भने– ‘यो स्वाँठ सिनेमा उद्योगमा किन आउँदैन ? यसमा यति धेरै प्रतिभा छ कि ऊ सिनेमा उद्योगमै हुनुपर्छ ।’

 

जब मलाई ‘लोकल ट्रेन’का लागि अवार्ड दिइयो, त्यसको अर्को दिन एउटा निर्माता, केही निर्देशक र लेखक मलाई भेट्न आए र भने– ‘तपाईं सिनेमामा किन नआएको ?’ मेरा लागि यो एउटा उडन्ते कुरा जस्तो थियो । उनीहरू थप्दै थिए– ‘तपाईं बलिउडको लेखक र अभिनेता हुनुपर्ने । तपाईं जे पनि गर्न सक्नुहुन्छ, किनभने तपाईंले सबै कुरा भोग्नुभएको छ ।’ मैले सिनेमामा जानेबारे कहिल्यै पनि सोचेको थिइनँ । त्यतिबेला सिनेमालाई हेर्ने सामाजिक दृष्टिकोण राम्रो थिएन । निर्माता रमेश बहल ‘जवानी दिवानी’ (१९७२) भन्ने सिनेमा बनाउने सोचिरहेका थिए ।

 

उहाँले भन्नु भयो– ‘म चाहन्छु, तपाईं मेरो सिनेमाका लागि ‘डायलग’ लेख्नुस्’ । मेरो सीधा कुरा थियो– मलाई ‘डायलगस्’ लेख्न आउँदैन । उहाँले भन्नुभयो– तपाईले आफ्नो नाटकका लागि जे लेख्नु हुन्छ त्यही लेखे पुग्छ । किनभने त्यही सिनेमाको ‘डायलग’ हो । त्यसपछि म त्यहाँ गएँ र उहाँले मलाई ‘चान्स’ दिनुभयो । उहाँले अर्को हप्ता सिनेमा सुट गर्ने सेडुल बनाएका छौँ, त्यसैले तपाईंले छिटो गर्नु होला भन्नु भएको थियो । त्यति बेला मसँग बस्ने ठाउँसमेत थिएन । लगत्तै म क्रस मैदान गएँ, जाहाँ केही केटाहरू फुटबल खेलिरहेका थिए । म एउटा कुनामा बसिरहेँ र चार घण्टामा मैले स्क्रिप्ट तयार पारेँ ।

 

उर्दूमा?

 

उर्दूमै । म फर्किएर गएँ । मलाई देख्ने बित्तिकै उनी बौलाए जस्ता भए । ‘यो स्वाँठलाई सिन के हो थाहै भएन’– उनले भने । म उनको ओठ पढ्न सक्थेँ । उनी मेरा बारे नराम्रो–नराम्रो बोलिरहेका थिए । त्यसैबीच मैले भने– ‘यो स्वाँठले सब्जेक्ट के हो भन्ने बुझिसकेको छ र केही लेखेर ल्याएको छ ।’

 

उनी अचम्मित हुँदै– ‘के ? यति छिटै ! आजै !?’ मेरो जीवन यस्तै हो । मैले जे कुराको निर्णय गर्छु, त्यसलाई त्यही दिन पूरा गर्छु । म काम लाग्ने हो कि होइन भन्ने ढिलो थाहा पाउनुभन्दा आजै थाहा होस् । मैले भने– ‘यो हेरेर तपाईंले लिने हो भने ठीक छ होइन भने म आफ्नो बाटो लाग्छु । मेरा विद्यार्थी मलाई कुरी रहेका होलान् ।

 

त्यसपछि मैले आफ्नो सब्जेक्ट र सिन उहाँलाई पढेर सुनाएँ । त्यो सुनेर उहाँ उफ्रिनु भयो । उहाँको पहिलो शब्द– ‘फेरि !’ भन्ने थियो । मैले झण्डै तीन–चार पटक पढेर सुनाएँ । उहाँले त्यसलाई रेकर्ड गर्नुभयो र तीन दिनपछि सुटिङ सुरु भयो । त्यसरी मेरो स्क्रिप्टले सिनेमाको स्वरूप लियो । खासमा सुटिङ दश दिनपछि हुनुपर्ने थियो तर स्क्रिप्ट तयार भएका कारण काम छिट्टै अगाडि बढ्यो । सिनेमाको सुटिङ हुँदै गर्दा मेरो बारेमा सिनेमा उद्योगमा भित्र–भित्रै निकै हल्ला हुन थालिसकेको थियो । जस्तै– एउटा राइटर आएको छ, जसले निकै यथार्थमा टेकेर लेख्छ । त्यसले कति खतरा लेख्छ भने अभिनेताहरूलाई पनि त्यो अभिनय गर्नै गारो हुन्छ ।

 

पहिलो फिल्मका लागि मैले १५ सय पाएँ, त्यतिबेला त्यो निकै ठूलो रकम ठानिन्थ्यो । त्यो भन्दाअघि मैले पाँच सयको नोट पनि देखेको थिइनँ । सात हप्तापछि म आफ्नो संस्थामा जान तयार थिएँ कि मलाई कसैले आएर भन्यो– ‘म प्रोड्युसर हुँ र एउटा सिनेमा बनाउने सोच छ । त्यसको नाम ‘खेल खेल में’ हो । तपाईंले यसको स्क्रिनप्ले हेरेर डायलग लेखिदिनुस् ।’ उसले मेरो हातमा अलिक मोटै खालको खाम राखिदियो । त्यसमा दश हजारभन्दा धेरै नोट थियो । त्यो स्क्रिप्ट सकेलगत्तै मलाई अर्को अफर आयो ।

 

चार अथवा छ महिनापछि मलाई मनमोहन देसाईले बोलाए । उहाँ ‘रोटी’ बनाउन लाग्नुभएको थियो । उहाँ उर्दूका लेखकदेखि निकै दिक्क हुनुभएको रहेछ । उहाँले भन्नुभयो– ‘मलाई तिनका शब्दहरूदेखि निकै घृणा छ । यी लेखकहरू अनेकौँ लोकोक्ति, उपमाहरूको प्रयोग गर्न जान्दछन् तर दैनिक जीवनको शब्द यिनहरूलाई केही पनि थाहा छैन । मलाई मेरो दैनिक जीवनको शब्द लेख्ने लेखक चाहिएको छ । के यस्तो कसैले लेख्न सक्दैन ?’ त्यसपछि उहाँको प्रोड्युसरले कादर खानलाई एक पटक हेरौँ न भनेछन् ।

 

‘थप अर्को एउटा मुसलवान, म वाक्क भइसकेँ ।’ तैपनि उहाँले मसँग भेट्ने सहमति दिनुभयो । मसँगको पहिलो भेटमा उहाँले भन्नु भयो– ‘हेर्नुस् हजुर म निकै सीधा कुरा गर्छु । तिम्रो स्टोरी र डायलग मन पर्यो भने ठीक छ, होइन भने धम्क्याएर बाहिर निकालि दिन्छु ।’ बितेको छ–आठ महिनामा कसैले पनि मसँग यस्तो कुरा भनेको थिएन । उहाँले त्यति मात्र भन्नु भएन– ‘यदि तिम्रो स्क्रिप्ट राम्रो लाग्यो भने गणपतिलाई जसरी काँधमा राखेर नचाउँछु ।’ पनि भन्नुभयो । उहाँले मलाई पूरै क्लाइमेक्स न्यारेट गर्नुभयो । दुई–तीन दिनपछि म फेरि त्यहाँ गएँ । उहाँ टोलका केटाहरूसँग क्रिकेट खेलि रहनुभएको थियो । उहाँले मलाई हेर्नुभयो र ‘के हो ?’ भन्नुभयो ।

 

मैले सब्जेक्ट र सिन सुनाउन आएको हो भनेँ । ‘सुनाउने ? के लेखेर ल्याएको छस् ?’ उहाँले क्रिकेट खेल्न छोड्नुभयो र ‘ल आऊ छिटो’ भनेर मलाई घरमा लग्नुभयो । पहिलो पटक यति ठूलो मान्छेले मेरो स्क्रिप्ट सुन्दै थियो । पहिले के हुन्थ्यो भने सबै ‘क्रु मेम्बर’ र निर्देशकसँग मेरो राम्रो भएका कारण सबै कुरा उतै हल हुन्थ्यो । यति ठूलो प्रोड्युसरलाई पहिलो पटक यसरी आफ्नो स्क्रिप्ट सुनाउने अवसर पाइएको थियो ।

 

जे होस, मभित्रको अभिनेताले यसमा निकै ठूलो सहयोग गर्यो । त्यसपछि लेखकले अभिनेतालाई सहयोग गर्न थाल्यो । मैले सिन सुनाएलगत्तै उहाँ उफ्रिनु भयो । ‘फेरि, फेरि सुनाऊ !’ उहाँ एकाएक चिच्याउन थाल्नुभयो– ‘जीवन !, जीवन !’ जीवन उहाँकी श्रीमतीको नाम थियो । ‘यता आउँ ! सुन यसले के लेखेर ल्याएको छ ।’

 

मैले फेरि सुनाएँ । उहाँ अचानक रुन थाल्नु भयो । ‘म यस्तो सिनका लागि छ महिनादेखि पागल झँै भौँतारिरहेको छु । तँैले त्योभन्दा पनि राम्रो लेखेर ल्याएको छस् ।’ उहाँले– ‘फेरि सुनाऊ !’ भन्नुहुन्थ्यो, मैले फेरि सुनाउथेँ । मैले झण्डै १० पटक उहाँलाई सुनाएँ । मलाई उहाँले रेकर्ड गरिसक्नु भयो भन्ने पनि थाहा थिएन । त्यसपछि उहाँभित्रको कोठामा जानुभयो र एउटा सानो पानासोनिक टिबी ल्याएर– ‘मेरो तर्फबाट यो तिमीलाई उपहार ।’ भन्दै दिनुभयो । त्यसपछि उहाँले मलाई सुनको एउटा बाला र पच्चीस हजार पनि दिनुभयो । उहाँ कस्तो मान्छे हुनुहुन्थ्यो भने केही कुरा राम्रो लागेमा त्यसलाई मनैदेखि माया गर्नुहुन्थ्यो । उहाँ पटक्कै लोभी मान्छे होइन ।

 

त्यसपछि जे भयो मेरा लागि बडो अप्ठेरो थियो । उहाँले भएभरका लेखक र निर्देशकलाई फोन गर्न थाल्नुभयो । उहाँले– ‘अब तिमीहरू सबैले चेते हुन्छ । सिनेमा उद्योगमा एउटा मान्छे आएको छ, जसले अब यो संसारमा राज गर्नेछ ।’ भन्नुभयो । उहाँ अलिक सन्की पनि हुनुहुथ्यो । उहाँले लेखकहरूलाई केसम्म भन्नु भयो भने– ‘तिमीहरूले आफ्नो कलम फालिदिए हुन्छ । तिमीहरू कसैलाई पनि लेख्न आउँदैन ।’ अनि मलाई सोध्नुभयो– ‘लेखेबापत तिमीले कति पाउँछौ ?’

 

मैले भनेँ– ‘२५ हजार ।’ उहाँले भन्नुभयो– ‘अब तिम्रो मूल्य एक लाख हुन्छ ।’ त्यसरी म एक लाख पाउने लेखक भएँ । मेरा लागि यो कस्तो कुरा थियो भने कुनै मानिस पहिलो तलाबाट एकै चोटि नवौँ तलामा पुगेको होस् । भन्नुको अर्थ मैले सय तलाबाट उडान भर्न थालेको हो । त्यहाँबाट फर्किने कुनै बाटो थिएन । म नभई उहाँ कुनै पनि सिनेमा बनाउन नसक्ने हुनुभयो । उहाँले स्क्रिनप्ले, बहस, कथा तथा गीत सुनाउने जस्ता साधारण ठाउँहरूमा पनि मलाई लिएर जान थाल्नुभएको थियो ।

 

म एक दिन आरके स्टुडियोमा सुट गरिरहेको थिएँ, जितेन्द्र भन्ने साथी मसँग आउनु भयो– ‘माफ गर्नु होला एउटा प्रोड्युसर दुई वर्षदेखि तपाईंसँग भेट्न खोजिरहेका छन्, तर तपाईंसँग भेट्ने आँट नभएर उनी आउँदै फर्कंदै गरिरहेका छन् ।’ भन्नुभयो । त्यसपछि एक जना प्रोड्युसर आए । अनि मैले भनेँ– ‘तपाईंलाई म ठूलो मान्छे र लेखक हुँ भन्ने किन लाग्यो ? म एउटा साधारण मान्छे र साधारण लेखक हुँ ।’

 

त्यसपछि हनुमन्त राय भन्ने ती प्रोड्युसरले मलाई कन्नड सिनेमालाई हिन्दीमा रिमेक गर्ने बारे आफ्नो योजना सुनाए र मलाई त्यो संसारमा छिराए । अब म तीन हिस्सामा बाढिएको थिएँ– मनमोहन देसाई, प्रकाश मेहरा र दक्षिण भारतको सिनेमा । यही मेरो जीवन थियो । तर यसले घरमा भने सधँैजसो तनाव निम्त्याइरहेको थियो । म हरितन्नम सुकुम्बासी टोलबाट आएको थिएँ । मैले आफ्नी श्रीमती र केटाकेटीका लागि राम्रो घर र आवश्यक सबै कुरा दिइसकेको थिएँ । तर यति हुँदाहुँदै पनि मैले उनीहरूलाई समय दिन सकिरहेको थिइनँ ।

 

भन्नुको अर्थ मेरो जीवनमा अब दुईको साटो तीन विभाजन रेखाहरू कोरिएका थिए । पहिलो, मनमोहन देसाई र प्रकाश मेहराका बीच । दोस्रो, दक्षिण र बलिउड सिनेमाका बीच र तेस्रो मेरो घर र कामका बीच । म विभिन्न टुक्राहरूमा विभक्त भइसकेको थिएँ । यदि तपाईंले रोटीलाई टुक्रायाउनु भयो भने जसरी त्यसलाई जोड्न सक्नु हुन्न त्यसैगरी मेरो जीवन पनि टुक्रिँदै गइरहेको थियो । म छरिँदै गइरहेको थिएँ । भलै मलाई त्यसमा कुनै ग्लानि छैन । म जे छु तपाईंका अघिल्तिर छु । मलाई थाहा छ, मैले अझै पनि मेहनत गरिरहेको छु ।

 

मेरा आफ्ना मान्छेहरूले यो कुरालाई कहिलै बुझ्न सकेनन् तर एक दिन उनीहरूले मलाई सम्झने छन् । बुबाले परिवार, खुसी र परिवारको मायाका बारेमा भन्ने गर्नु हुन्थ्यो किनभने उहाँ परिवारदेखि टाढिएर बस्नुभएको थियो । त्यही कुरा मेरा हजुरबुबाले पनि भन्ने गर्नु हुन्थ्यो । परिवारले तपाईंलाई हुर्काउन एउटा काखझै काम गर्छ । यदि त्यही छैन भने सबै कुरा असरल्ल हुनेगरी छरिन्छ ।

 

बाबु र छोरा

 

बुबा निकै राम्रो मान्छे हुनुहुन्थ्यो । जब म आफ्नो क्लासमा विद्यार्थीलाई पढाइरहेको हुन्थेँ, उहाँ त्यहीँ आउने गर्नुहुन्थ्यो । साँझ आएर उहाँ अन्तिम कक्षामा बस्नुहुन्थ्यो । मैले तपाईं मेरो क्लासमा किन आउनु हुन्छ भनेर सोध्दा– ‘सिक्नका लागि कुनै उमेर हुँदैन । तपाईं जहाँ गएर जे कुरा पनि सिक्न सक्नु हुन्छ । म तिमीबाट कसरी पढाउने भनेर सिक्दैछु र तिमी निकै राम्रो अध्यापक हो’ भन्नु हुन्थ्यो ।

 

उहाँले तिमी हाम्रो मुस्लिम समुदायलाई पढाएर सहयोग गर्न सक्छौँ भन्नु हुन्थ्यो । मैले भनेँ– ‘म त्यस्तो केही जान्दिनँ ।’ अनि उहाँ भन्नुहुन्थ्यो– ‘तिमीलाई त फिल्म लेख्न पनि आउँदैनथ्यो । न त नाटक लेख्न आउँथ्यो । ती सबै तिमीले सिकेर गरेको हो र तिमी सिक्न सक्छौँ ।’ आफ्नो जीवनको अन्तिम दिनहरूमा उहाँ हल्यान्ड जानुभयो जहाँ उहाँले एउटा शिक्षा संस्थानको स्थापना गर्नुभयो । उहाँले त्यहाँ अरबी, फारसी र उर्दू सिकाउने गर्नुहुन्थ्यो ।

 

जब उहाँ आफ्नो मृत्युशय्यामा हुनुहुन्थ्यो उहाँले मलाई भन्नु भयो– ‘तिमीलाई थाहा छ नि तिमीले मलाईं एउटा वाचा गरेका थियौ ।’ मैले भने मैले कुनै वाचा गरेको छैन तर म प्रयास गर्नेछु । अनि उहाँले भन्नु भयो– ‘तिमी जतिको कुनै मान्छेले मैले प्रयास गर्छु भन्छ भने त्यसलाई वाचाकै रूपमा लिनुपर्छ र तिमीले वास्तवमै इमानदार प्रयास गर्छौ भन्नेमा म ढुक्क छु ।’ त्यसपछि उहाँको मृत्यु भयो ।

 

उहाँको मृत्युपछि म वास्तवमै अनाथ भएँ । मलाई घरी–घरी उहाँ भैदिएको भए हुन्थ्यो भन्ने लाग्छ । उहाँको ९५ वर्षको उमेरमा मृत्यु भयो । उहाँ मेरा लागि एउटा साथी, दार्शनिक, मार्गदर्शक र अध्यापक हुनुहुन्थ्यो । म कतिसम्म भाग्यशाली छु भने म जहाँ–जहाँ गएँ मेरा लागि हरेक ठाउँमा अध्यापक हुन्थे । मनमोहन देसाई मेरा लागि गुरु भन्दा माथि हुनुहुन्थ्यो । उहाँले नै मलाई कमर्सियल सिनेमा सिकाएको हो । उहाँले मलाई आफ्नो गाडीबाट घर छोड्नु हुन्थ्यो । ती सबै कुराहरूलाई मैले एउटा समुद्रसरी लिने गर्थेँ ।

 

सिनेमा लेखनका बारेमा केही कुरा भन्नु न?

 

कादर खान– मनमोहन देसाई मलाई निकै विश्वास गर्नु हुन्थ्यो । उहाँले मलाई आउटलाइन दिनुहुन्थ्यो म त्यसका बीच आफ्ना पङ्क्तिहरू सेट गर्थें । पछि मैले उहाँको यो कमजोरी थाहा पाएँ । उहाँ सिनेमाको डाइलागहरूमा थपरी बजोस् भन्ने चाहनुहुन्थ्यो । भन्नुको अर्थ मलाई उहाँको कमजोरी थाहा थियो । म मनमोहन देसाईलाई फ्रेममा राखेर काम गर्थें । उहाँ घर जानुअघि नै मलाई उनको प्रतिक्रिया कस्तो हुनेछ भन्ने थाहा भइसक्थ्यो । उहाँ मेरा लागि दर्शक हुनुहुन्थ्यो र उहाँ दर्शकको नाडी छाम्न खप्पिस हुनुहुन्थ्यो ।

 

मैले दर्शकबारे तपाईंको मष्तिष्कमा कस्तो छवि छ भनेर सोध्नै लागेकी थिएँ । ए,भनेपछि तपाईंको मष्तिष्कमा मनमोहन देसाईको छवि रहन्थ्यो?

 

जस्तै, मैले जुन बेला चौपाटीमा भारतीय विद्या भवन नाममा आयोजना गरिने निकै तल्लो स्तरको नाटक प्रतियोगिता हुन्थे– ‘या खुदा’ त्यहाँ कस्ता अडियन्स हुन्थे । आम्मामा… निकै डर लाग्दा । जहिलै स्टेजमा गयो कि उनीहरू– ‘ल आउँ आउँ’ भन्थे । एक्टर डराउनै लागेको हुन्थ्यो कि उनीहरू भन्थे– ‘ल ल बस’ । एक्टरले कुनै सिनमा कसैलाई फोन गर्न फोन उठाउँदा दर्शकहरू– ‘हेलो’ भन्थे । अनि एक्टर नम्बर डायल नगरीकनै बोल्न थाल्थ्यो । अनि उसलाई जुत्ताले हानेर बाहिर निकालिदिन्थे ।

 

भन्नुको अर्थ म त्यस्तो ठाउँमा काम गरेर आएको हुँ । दर्शकहरूले मलाई धेरै कुरा सिकाए । नाटकघरको क्षमता चार सयको थियो तर त्यहाँ १७–१८ सय दर्शक हुन्थे र म हरेक पटक उनीहरूलाई थप्पडी बजाउने गरी कायल बनाउथेँ । म उनीहरूलाई ग्यालरीमा बसाई दिएको कल्पना गर्थेँ । दश दुःखपछि तपाईंले दर्शकको मानसिकता बुझि हाल्नुहुन्छ । अनि बल्ल उनीहरूलाई तपाईंले आफ्नो विचार भन्ने हो । त्यस्तो गरिराख्नु पर्छ । अनि दर्शक पूरै मौन हुन्थे । उनीहरू सोचमा डुब्न बाध्य हुन्थे । त्यस अनुभवबाट मैले धेरै कुरा सिकेँ । मनमोहन देसाईसँग काम गर्दा मैले आफ्नो पूरै फोकस भारतीय विद्या भवनबाट मोडेर उनी माथि केन्द्रित गरिदिएँ ।

 

लेखन र अभिनयका बारेमा

 

लेखकले सधैँ स्केच र अभिनय गर्नुपर्ने हुन्छ । अधिकांश लेखक रङ्गमञ्चबाट आउनु हुन्छ । वक्तृत्व कला पनि अभिनय नै हो । जब तपाईं बोल्नु हुन्छ, तपाईं दर्शकलाई बाँध्ने काम गर्नु हुन्छ । शब्द चयन, स्वर, भावमुद्रा यी सबै कुरा मिसिएर मात्रै तपाईं अभिनेता बन्न सक्नुहुन्छ । जब हामी वास्तविक जीवनमा झुठो बोलिरहेका हुन्छौँ त्यतिबेला हामी सबै अभिनय गरिरहेका हुन्छौँ । त्यति बेला हाम्रो ‘एक्सप्रेसन’ले मेकअपको काम गर्छ । त्यसले तपाईंको वास्तविक रूपलाई छोपिदिन्छ ।

 

शहदत हसन मन्टोको लेखनले मलाई निकै प्रेरित गर्यो । मन्टोको लेखनीबाट मैले के कुरा सिके भने राम्रो भाव ल्याउन राम्रो शब्द चाहिन्छ । ‘आइडिया जेनेरेट’ गर्न मानिसहरू ठूला–ठूला शब्दावली प्रयोग गर्छन् । जब कि मन्टो– ‘सोच ठूलो हुनुपर्छ शब्द साधारण’ भन्थे । मैले त्यही कुरा अनुसरण गरेँ र यही कुरा मेरो सफलताको कारण बन्यो । गालिबले मलाई स्क्रिनप्लेको दृष्टिकोण दिए । कुनै पनि सिनलाई लिएर तपाईंको दिमागमा केही कल्पना चाहिन्छ र ती सबै कुरा तपाईंले थोरै शब्दमा भन्न सक्ने हुनुपर्छ । तर महत्वपूर्ण कुरा के हो भने यी सबै शब्द तपाईंसँग जोडिएका शब्द हुनुपर्छ, किनभने दर्शकले त्यसलाई आफ्ना शब्द, आफ्ना लाइन भनेर महसुस गरुन् । यी सबै कुरालाई संयोजन गर्न निकै गारो हुन्छ ।

दर्शकहरूलाई बाँधेर राख्ने कुनै‘ट्रिक’ छ र?

तपाईंले सबैलाई चिन्नुपर्ने हुन्छ । तपाईंले आफूलाई हरफनमौलाको रूपमा ढाल्नुपर्ने हुन्छ । यदि तपाईं राम्रो डकर्मी हो भने राम्रो काठ छान्न त जान्नु पर्यो नि । त्यसलाई राम्रोसँग काट्न जान्नु पर्यो । त्यहाँ भएको जम्मै खाली ठाउँमा तपाईं खेल्न सक्नुपर्यो । डिजाइन पनि सक्दो राम्रो गर्नुस् । ‘डिजाइन’ र ‘एकोमोडेसन’ नै स्क्रिप्ट लेखनको उपकरण हो ।

 

मैले लेखेको लाइन सही छ भनेर तपाईंलाई कसरी थाहा हुन्छ?

 

प्रतिक्रिया, प्रतिक्रिया नै महत्वपूर्ण कुरा हो । अहिलै केही कुरा भन्नुस् यस्तो–यस्तो प्रतिक्रिया पाउनु हुन्छ कि त्यसबारे तपाईंले सोच्नु नै भएको हुन्न । कैयौँ पटक तपाईंलाई लागिरहन्छ कि ‘ओ हो !’ यो लाइनले निकै हिट गराउँछ तर त्यसले केही गर्न सक्दैन । मलाई लाग्छ तीन किसिमका प्रतिक्रियाहरू हुन्छन्– पहिलो, तपाईंको प्रतिक्रिया । दोस्रो, निर्देशकको प्रतिक्रिया र तेस्रो, दर्शकको प्रतिक्रिया । तीनै प्रतिक्रियाका आआफ्ना क्षेत्र हुन्छन् । तर तपाईं लेखक भएपछि तीनै कुराको प्रतिक्रियाबारे आफैले सोच्नुपर्ने हुन्छ । यो काल्पनिक संसार जस्तो हुने गर्छ ।

 

मैले रङ्गमञ्चबाट के सिकेँ भन्दा– एउटा अभिनेता जब ऊ स्टेजमा आउँछ त्यही कुरा सबैभन्दा महत्वपूर्ण हो । उसको इन्ट्री असाधारण हुनुपर्छ । तपाईंको स्वर त्यस्तो हुनुपर्छ, दर्शकको मन अन्त कतै भए पनि त्यसलाई तानेर आफूतिर ल्याउन सकियोस् । मान्छे आखिर मान्छे नै हो । ऊ नाटकघरमा बसेर पनि अन्यत्र सोचिरहेको हुन सक्छ । दर्शकको ध्यान तपाईंले आफूमै केन्द्रित गर्नुपर्छ । उसको हरेक वाक्य थिएटरमा बसेको अन्तिम मान्छेसम्म पुग्नुपर्छ । एउटा वास्तविक अभिनेता गायक पनि हुनुपर्छ ।

 

गायकले आफ्नो गीतका शब्दहरू गाउँछ भने अभिनेताले आफ्नो डाइलगको पङ्क्ति गाउनुपर्ने हुन्छ । उसको स्वर दर्शकलाई मिठो लाग्नुपर्छ । मैले के पाएँ भने छोरा मान्छेको स्वर अलिक मोटो, धोद्रो हुनुपर्छ । अलिकति बेस, अलिकति नेजल हुनुपर्छ । यसले तपाईको स्वरलाई त्यस्तो बनाउँछ मानिलिनुस् एउटा गुम्बदमा कसैले पाउँजु खसालेको होस् । दर्शक गुम्बद हुन र तपाईंले त्यहाँ पाउँजु खसाल्ने हो । त्यही नै अभिनेताको मुखबाट निस्कएको आवाज हो । डायलग हो ।

 

यदि तपाईंले त्यो स्वरमा बोल्नुभयो भने सुन्ने मान्छे सबै मन्त्रमुग्ध हुन्छन् । त्यसपछि उनीहरू तपाईंले कस्तो प्रफर्मेन्स गर्नुभयो भन्ने भुल्छन् । शब्द र आवजमा निकै शक्ति हुन्छ । त्यससँगै यदि उसँग भाव र अभिनय कला छ भने उसले दर्शकलाई डोर्याएर घरसम्म लान सक्छ ।

 

सुख र दुःखको बारेमा नि?

 

दुःख भनेको निकै राम्रो कुरा हो ।

 

सुख,दुःख र यातनाबारे जान्न जब मैले कादर खानलाई तपाईंको मनपर्ने डायलग कुन हो भनेर सोधेँ उहाँले‘मुकद्दर का सिकन्दर’ भन्ने सिनेमाको एउटा सिन रोज्नु भयो र आफ्नो बशीभूत गर्ने आवाजको उतार–चढावमय शैलीमा एउटा अध्यापकले जसरी मलाई डायलाग सुनाउनु भयो?

 

यो सिनेमामा मेरो अभिनय एउटा भिकारीको थियो । म चिहानमा जान्छु, त्यहाँ एउटा सानो केटालाई देख्छु । केटो चिहानमाथि बसेर रोइरहेको हुन्छ ।

 

‘कसको चिहानमाथि बसेका छौँ बाबु ?’

 

‘मेरी आमा बित्नु भयो ।’

 

‘उठ र आऊ मसँग । हेर चारैतिर । यहाँ पनि कोही कसैको बहिनी हो, कोही कसैको भाइ हो । कोही कसैकी आमा हो । यो मौनतामा डुबेको सहरमा, यसै माटोको थुम्को तल सबै थिचिएर बसेका छन् । मृत्युको बाटोबाट को विमुख हुन सकेको छ ? यो मृत्युबाट को पन्छिन सक्छ र ? आज उनको त भोलि हाम्रो पालो हो । मेरो यत्ति कुरा सम्झनु, यो फकिरले भनेको यत्ति कुरा नभुल्नु । यो कुरा जीवनभरि निकै काम लाग्नेछ । यदि खुशीमा मुसुक्क हास्छौँ भने दुःखमा खित्का छोडेर हाँस्नु किनभने जिउँदा हुन् ती मानिसहरू जो मृत्युलाई चुनौती दिन्छन्, तर मुर्दाभन्दा पनि घिनलाग्दा हुन ती मानिसहरू जो मृत्युदेखि डराउँछन् । सुख त साथ नदिने निर्दयी हो, केही दिनका लागि मात्र हो । उमेर जसरी आउँछ र जान्छ । संसारलाई सान्त्वना दिन्छ, मनलाई सान्त्वना दिन्छ तर दुःख त सधैँको साथी हो । एकचोटि आयो भने कहिलै पनि फर्किएर जाँदैन । त्यसैले सुखलाई लत्याउ, दुःखलाई अँगाल । भाग्य तेरो चरणमा हुन्छ र तँ मुकद्दरको बादशाह हुन्छस् ।

 

(कोनी हामले कदार खान संग लिएको यो अन्तर्वार्तालाई  नरेश ज्ञवालीले अनुबाद गरेका हुन् )

Comments

NIC Asia