MENU
क्यान्सर दिवस कस्तो ?
 : 34 views
-राजीव भण्डारी   Feb 04, 2019

 

क्यान्सर रोग त्यसै पनि असाध्यै खर्चिलो हुन्छ । त्यस माथी पनि यो रोग लागिसकेपछि निको हुन्छ भन्ने जनविश्वास छैन । केही धनिमानीहरु, सेलिब्रेटीहरु र राज्यकोषमा पहुँचवालाहरु, जो विदेश गएर करोडौं खर्च गरेर उपचार गर्न सामर्थ्य राख्छन्, उनीहरुलाई देखाएर क्यान्सर निको हुन सक्छ भनेर जतीनै प्रचार गरेपनि साधारण जनताहरुले स्वदेशमै रोग निको हुन्छ भनेर अनुभव लिने कसरी ?

 

 

आज विश्व क्यान्सर दिवस । विश्वभरीनै यो दिवसलाई विभिन्न कार्यक्रमहरु गरी मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइन्छ । प्लेकार्ड बोकिन्छ, झाँकी गरिन्छ, स्टेज सजाइन्छ, सम्मानित गरिन्छ, प्रमाणपत्र वितरण हुन्छ, भाषण गरिन्छ, मन्त्री वा सरकारी निकायबाट यस्तो गरिन्छ र उस्तो गरिन्छ भनेर योजना सुनाइन्छ । अनि जलपान गरेर कार्यक्रम सकिन्छ ।

त्यसदिन विशेष केही गरेको देखाउन हो वा बजेट सकाउन हो फलानो को सक्रियतामा वा फलानो संस्थाको आयोजनामा भनेर अस्पतालहरुले क्यान्सर रोगीहरुलाई बेड बेडमा पुगेर प्लास्टिकको झोलामा पोको पारेर केही खानेकुरा वितरण पनि गर्ने गर्दछन् । हुनत सहयोग आफैंमा ठूलो सानो नहोला तर त्यसको उपादेयता वा त्यसले बिरामीलाई साँच्चीकै अर्थपूर्ण रुपमा सहयोग भएको छ त ? प्रश्न यती मात्र हो ।

एक त प्लास्टिकको झोलानै प्रदुषण फैलाउने मूख्य कारक हो, अर्को फलफुल सँगै राखिने फ्रुटी वा रियो जस्ता तयारी जुसहरु पनि स्वस्थवर्धक पेयपदार्थ होइनन् फेरि त्यसमा कतै कतै उसिनेको अण्डा पनि राख्ने गरेको देखिन्छ । यसबाटै थाहा हुन्छ त्यो पोकामा बिरामीले खान लायकको वस्तु भनेको एक कोसा केरा वा अर्को कुनै फलफुल होला बाँकी त खाली ठाउँ भर्न वा राम्रो देखाउन सजाइएका सामग्री मात्र हुन् ।

क्यान्सर रोग त्यसै पनि असाध्यै खर्चिलो हुन्छ । त्यस माथी पनि यो रोग लागिसकेपछि निको हुन्छ भन्ने जनविश्वास छैन । केही धनिमानीहरु, सेलिब्रेटीहरु र राज्यकोषमा पहुँचवालाहरु, जो विदेश गएर करोडौं खर्च गरेर उपचार गर्न सामर्थ्य राख्छन्, उनीहरुलाई देखाएर क्यान्सर निको हुन सक्छ भनेर जतीनै प्रचार गरेपनि साधारण जनताहरुले स्वदेशमै रोग निको हुन्छ भनेर अनुभव लिने कसरी ? नागरिकता प्रमाणपत्र देखाएर वडा कार्यालयको सिफारिश हुँदै जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमाणिकरणमा पाइने एकलाख बराबरको औषधोपचार शुल्कमा राज्यले सहुलियत दिंदैमा उसले रोग निर्मुल पार्न सक्छ ?

बरु तामझाम गर्दै यो दिवस मनाउँदा हुने खर्चलाई बचाएर बिरामीको सहुलियत कोषमा दुई चार हजार मात्र बृद्धि गरिदिएपनि त्यसले केहि राहत हुनेछ ।

यो रोग लागिसकेपछि रोगिको उपचार पद्धती मुख्य गरि तिन प्रकाका हुन्छन्, अपरेशन, किमो र रेडियशन बिधीहरु । अपरेशनमा चिरफार गरेर सम्बन्धीत भाग निकालेर फालिन्छ । किमो भनेको औषधीलाई बिरामीको शरिरमा पठाउने बिधी हो, जसलाई स्लाईन पानी दिए जस्तै गरी शरिर भित्र पठाइन्छ । रेडियशनलाइे नेपाली भाषा वा बोलिचालीको भाषा वा अस्पताल परिसरमा बोलिने चलन चल्तीको भाषामा सेकाउने भनिन्छ, जसमा बिरामीलाई विशेष प्रकारको मेशिन मार्फत प्रभावित भागमा सेकाउने गरिन्छ ।

अपरेशन प्राय सबै ठूला अस्पताल र अनुभवी डाक्टरहरुले गर्न सक्छन् । किमो पनि क्यान्सर विशेषज्ञहरुको मातहतमा सक्षम अस्पतालहरुले गर्न सक्छन् । यी दुवै विधिहरुमा अस्पतालहरु र चिकित्सकहरुको स्तर हेरेर उपचार शुल्क फरक फरक हुन्छ । तर, रेडियशन वा सेकाउने उपचार भने जहाँ पाए त्याहीँ हुँदैन । सायद, यसमा चाहिने सक्षम जनशक्ती र मेशीनको महँगो मुल्यले गर्दा हुनुपर्छ हतपत निजी अस्पतालहरुले यो सेवा दिएको पाइँदैन ।

हाल विशेषगरी सहुलियत दरमा भरतपुर, भक्तपुर र बिर अस्पतालमा यो मेशिनले बिरामीहरुलाई सेवा दिईरहेको पाईन्छ । यी तिन स्थानमा भएका मेशिनहरु मध्ये पनि तिनवटै सुचारुरुपमा चलिरहेको हुँदैन । एउटा न एउटा कतै न कतै बिग्रिरहेको हुन्छ र बिरामीहरु बाँडिनु सट्टा एउटा वा दुईटामा थुप्रिन्छन् अनि थामिनसक्नु भिड हुन्छ । त्यती ठूलो रोगले थलिएको बिरामी खोक्रो शरिर लिएर यो अस्पताल र त्यो अस्पताल गर्दा गर्दै, आफ्नो पालो कुर्दा कुर्दै, निको हुनुको सट्टा थप बिरामी भैसकेको हुन्छ । बिरामीत बिरामी भै हाल्यो उसको कुरुवाहरुलाई समेत पनि बिभिन्न प्रकारका रोगहरुले च्यापिसकेको हुन्छ । उनीहरुलाई घाँटी, टाउको, हात, खुट्टा, जिऊ दुख्ने, रुघा खोकी लाग्ने, ज्वरो आउने, डाइरिया हुने जस्ता समस्याहरुले सताइसकेको हुन्छ । बाहिरबाट हेर्दा यस्ता विषयहरु गौण झैँ लाग्छन् तर भित्र गएर हेर्दा यस्ता शारिरीक समस्याहरुले गर्दा उनीहरुलाई मानसिक रुपमै गलाई सकेको हुन्छ ।

त्यसैले भएको मेशिनहरुको उचित मर्मत सुधार गर्ने, नभएको ठाउँमा देशै भरी रहेका सरकारी वा सक्षम अस्पतालहरुमा यस्ता मेशिनहरु राखिदिने हो भने ती भोट दिने र कर तिर्ने जनताहरुले कती आशिष दिन्थे होलान् ? आफ्नो देशमा सुविधा पाउन असक्षम भएपछि झिनो आशा लिएर, खाई नखाई राजीव गान्धी मेमोरियल क्यान्सर अस्पताल लगायत भारतभर रहेका अन्य अस्पतालहरु र तेस्रो मुलुक समेत धाइरहेका बिरामीहरुले कती राहत पाउने थिए होलान् ?

व्यक्तिको लागि वा निजी क्षेत्रको लागि यस्ता औजार र मेशिनहरु अत्यन्तै महँगो भएतापनि सरकारको लागि यो गौण हो । उच्च पदस्थ वा पहुँचवाला व्यक्तिहरुको लागि करोडौंको उपचार खर्च विदेश लान दिन सकिन्छ भने आफ्नै देशमा त्यही रकम खर्च गरेर सबैको हितमा लगाउन किन कञ्जुस्याँई गर्ने ? ठूला भाषण र योजनाहरु तेस्र्याउनै पर्दैन, कसैलाई सवारी साधन, कसैलाई हेलिकप्टर, कसैलाई निवास, कसैलाई आवास, कसैलाई अतिथी गृह जस्ता अहिले नभए पनि हुने वस्तुहरु खरिद गर्नमा अर्वौं बजेट सिध्याउनु भन्दा देशैभरी सक्षम अस्पतालहरुमा यस्ता मेशिनहरु खरिद गरेर राखिदिने हो भने सर्वसाधारणले कती सजिलै सेवा पाउने थिए होलान् ?

त्यती मात्र होइन, बिरामीले अस्पताल बाट पाउनु पर्ने आधारभुत र अत्यावश्यक सुविधाहरुमात्र समेत पनि पाइरहेको छैन । जस्तैः सफाकोठा, सफा ओछ्यान, सफा र स्वस्थ खाना, सफा पाइखाना, सफा र शुद्ध खाने तथा नखाने पानी इत्यादी । त्यसको साथै, चिकित्सक तथा नर्सहरुको व्यवहार, बिभिन्न प्रकारका ल्याबमा कार्यरत प्राविधिकहरुको व्यवहार, सोधपुछ, क्यास वा प्रशासनमा बसेका कर्मचारीको व्यवहार, सफाई, गेटपाले, बगैंचे लगायतको व्यवहारमा समेत सुधार ल्याउनमा राज्यले आफ्नो ध्यान लगाउनु पर्दछ ।
यी व्यक्तिहरुको सकारात्मक सहयोगले मात्र पनि रोगीहरुको रोग निको हुन ठूलो सहयोग गरिरहेको हुन्छ । यो दिवसको तामझाममा गर्ने केही रकम यस्ता जनशक्तिहरुको व्यावहारिक तालिममा खर्च गर्न सके बरु सहि सदुपयोग हुने थियो ।

हामी रोगको बारेमा कुरा गर्दा बिरामीेको बारेमा मात्र सोच्दछौं, उसको मात्र पिर, मर्का, दुःख वा गुनासो लाई ध्यान दिइरहेका हुन्छौं । तर, हरदम उसलाई साथ दिने उसको आफन्त वा कुरुवालाई पूरा बेवास्ता गरिरहेका हुन्छौं । ती व्यक्तिहरु नभए बिरामीको उपचार सम्भवनै हुँदैन, किनकी बिना सहयोगी ऊ एकलैले उपचार सहजरुपले गर्नै सक्दैन । ती व्यक्तिहरुको दैनिक जिजिविषाका विषयहरु, जस्तैः व्यापार, व्यवसाय, जागिर, घर परिवार जस्ता जिवनको अर्को पाटोमा त पूर्णबिरामनै लागिरहेको हुन्छ । स्वयं बिरामीको आधारभुत पक्षलाई त बेवास्ता हुने देशमा सहयोगीको आधारभुत पक्षलाई सुधार गर भन्नु कती जायज होला ? तर गर्नै पर्दछ, यसबारेमा पनि यो दिवसको दिन छलफल गर्ने हो की ? रोग हो जसलाई पनि लाग्न सक्दछ । यसले धनी, गरिव, ठूला, साना भन्दैन । यसमा एउटा सिस्टम बसालौं, भोली जसलाई रोग लागेपनि कसैलाई भन्ने नपरोस्, कतै धाउनै नपरोस्, सबैकुरा सिस्टमले गरोस्, सबैको जय होस् ।

Comments

NIC Asia