MENU
खल्तीका विज्ञ !
 : 29 views
राजीव भण्डारी   Feb 11, 2019

ओली र प्रचण्ड, विगतका उत्तर र दक्षिण ध्रुवहरुले चुनावदेखि सबैलाई आश्चर्य चकित पार्दै सकि- नसकि एक अर्काको काँधमा काँध मिलाईरहेका थिए । अहिले आएर चुनाव पछि पहिलो पटक मिडियामा देखिने गरेर यी दुई जुम्ल्याहा भाइको बिचमा तिक्तता आएको छ ।

मजदुरको कार्यक्रममा गए मालिकलाई गाली गर्ने मालिकको कार्यक्रममा गए मजदुरलाई गाली गर्ने, तामाङको कार्यक्रममा गए तामसालिङ ठीक भन्ने नेवारकोमा गए नेवाः राज्य ठीक भन्ने बानीले गर्दा हाम्रा नेताहरुमा कहिले पनि जिम्मेवारी पन देखिंदै देखिएन ।

खल्तीबाट निकालिएका विज्ञहरु वा विषयको विज्ञता बिनाका सल्लाहकारहरुको भरमा देशले खोजेको सम्वृद्ध नेपालको अभियान कसरी पूरा हुन्छ ?

 

 

 

नेताहरुले सबैकुरा जानेका हुँदैनन् त्यही भएर उनीहरुलाई सल्लाहकार राख्ने सुविधा राज्यलेनै दिने गर्दछ । नेपालमा पनि त्यो सुविधा प्राप्त गरेका नेताहरु प्रशस्तै छन् । तर, उनीहरुले राज्यकोषबाट तलव खाने विज्ञहरु लिँदा सम्बन्धित विषयमा विज्ञता प्राप्त गरेका व्यक्तिहरु राख्दैनन् । आफ्ना नजिकका नातेदारहरु, कार्यकर्ताहरु र आसेपासेहरु लिने गर्दछन् । हामीले अहिले पनि देखिरहेका छौं, पढिरहेका छौं र सुनिरहेका छौं,कति नेताजीहरुले स्वकिय सचिवको तलव पनि आफैं बुझेर लान्छन् भनेर ।

सहि सल्लाहकारको अभाव र आफ्नै पार्टीभित्रका आफ्नै गुटका नेताहरुबाहेकका नेताहरुसँग समेत सल्लाह नगर्ने बानी हाम्रा नेताजीहरुमा छ भन्ने त हामी सबैलाई थाहा भएकै थियो जसलाई प्रमाणित गर्ने काम नेकपाका एक अध्यक्ष पुष्प कमल दाहालले भेनेजुएलाको विषयमा वक्तव्य दिएर विवादमा फसेबाटै यो प्रष्ट हुन्छ ।

उनको हतारको वक्तव्य र त्यसको भोलिपल्टै एयरपोर्टमा उत्रने बित्तिकै प्रधानमन्त्री केपी ओलीको जवाफले पनि यो विषयलाई ओलीले काँध नथाप्ने प्रष्ट पारिसकेका थिए । त्यतीमात्र होइन, ओलीले आफ्नो एकलौटी साप्ताहिक कार्यक्रममा अन्तर्वार्ता दिंदा यो विषयमा प्रचण्डको जिब्रो चिप्लेको भनेको पर्सिपल्ट प्रचण्डले पुस्तक बिमोचन कार्यक्रमको मञ्चबाटै हाकाहाकी पुरानो माओवादीलाई कमजोर नआँक्न चुनौती दिँदै सरकारको खुलेर गाली गरे ।

ओली र प्रचण्ड, विगतका उत्तर र दक्षिण ध्रुवहरुले चुनावदेखि सबैलाई आश्चर्य चकित पार्दै सकि- नसकि एक अर्काको काँधमा काँध मिलाईरहेका थिए । अहिले आएर चुनाव पछि पहिलो पटक मिडियामा देखिने गरेर यी दुई जुम्ल्याहा भाइको बिचमा तिक्तता आएको छ । दिनैपच्छिे एकले अर्कोलाई नामै नलिई घोचपेच गरिरहेका छन् । जसबाट पुर्व एमाले र पुर्व माओवादी भनेर ध्रुविकरण हुन शुरु भइसकेको छ । जसलाई समयमै व्यवस्थापन नगर्ने हो भने ढिलो चाँडो ठूलै दुर्घटना नहोला भन्न सकिंदैन ।

भेनेजुएलाको विषयमा अमेरिकाले स्पष्ट जवाफ दे भनेर सरकारलाई र्याख र्याख्ती पारिरहेको छ । सरकार कनिकुथी टालटुले जवाफ दिईरहेको छ । अमेरिकी राजदुत प्रम ओलीसँग बालुवाटारमा इमरजेन्सी बैठक गर्न पुग्दछन् । भेनेजुएलाको पक्ष वा विपक्षमा लाग्नु पर्छ, वा अमेरिकालाई गाली वा ताली बजाउनु पर्छ भन्ने विषय यो लेखको आशय होइन । यसको मुख्य आशय भनेको हाम्रा नेताहरुले अबको आन्दोलन मैदानमा वा सडकमा वा जँगलमा गर्ने होइन, अबको लँडाई आफ्नै दिमागमा गर्ने हो । के लेख्दा, के बोल्दा सहि हुन्छ ? आफ्नो वा आफ्नो पार्टीको मात्र होइन देशको हित कसरी हुन्छ भन्ने सोच्नु पर्दछ ।

मजदुरको कार्यक्रममा गए मालिकलाई गाली गर्ने मालिकको कार्यक्रममा गए मजदुरलाई गाली गर्ने, तामाङको कार्यक्रममा गए तामसालिङ ठीक भन्ने नेवारकोमा गए नेवाः राज्य ठीक भन्ने बानीले गर्दा हाम्रा नेताहरुमा कहिले पनि जिम्मेवारी पन देखिंदै देखिएन । जहाँ जे विषयले बढी ताली आउँछ त्यही वक्तव्य दिने बानीलाई अब भने परिवर्तन गर्नै पर्दछ । बोल्दापनि मुख्य मुख्य बुँदाहरु सम्बन्धीत विज्ञहरुसँग सल्लाहगरेर टिपेर लाने अनि त्यसै विषयलाई जोड दिएर बोल्दा कती राम्रो हुन्थ्यो होला ।

जनताहरु पहिलेका जस्ता छैनन्, पहिलेका र अहिलेकामा पुस्तानै परिवर्तन भैसक्यो । नेताहरुमा मात्रै पुस्ता परिवर्तन हुन सकिरहेको छैन । प्रविधिको विकासले कुनै विषयपनि लुकाउन सकिंदैन । केही घटना भयो भने तत्कालै त्यसको प्रतिकृया आइहाल्छ । बामदेवले गृहमन्त्री हुँदा डोरी नाघेर गएको होस् कि प्रहरी आफैंले बिना हेलमेट मोटर साईकल चढेको होस् वा मन्त्रीले कर्मचारीको गालामा छाप बनाइदिएको होस् सबै विषयहरु उनीहरु घर पुग्नु भन्दा अगाडीनै सामाजीक सञ्जालमा भाइरल भैसकेको हुन्छ ।

नेतागणहरु हामीले तपाईंहरुलाईनै नेता मान्ने भइसकेपछि तपाईंहरुपनि हामीलाई सुहाउने नेता बनिदिनुस् । थाहा छ अहिले देशमा जापानमा शिक्षा आर्जन गरेर आएको व्यक्तिले च्याउ खेती गरिरहेछ, बैंकको जागिर छाडेर गोलभेंडा खेती गरिरहेछन्, अष्ट्रेलियामा पढेर फर्केर मःमः पसल चलाईरहेछन्, कलेजमा पढाउन छाडेर गाई पालन गरेर बसिरहेका छन्, अमेरिकाको शिक्षा लिएको व्यक्ति मासु पसल सञ्चालन गरिरहेछ । बिचार गर्नुस् देशमा अब बिस्तारै अर्कै प्रकारका शिक्षीत, देश विदेशबाट ज्ञान आर्जन गरेका व्यक्तीहरु कामकाजीको रुपमा आइरहेका छन् । उनीहरु हरप्रकारले चेतनशिल हुन्छन् । त्यही चेतनास्तरले गर्दा जस्तोसुकै काम गर्न पनि लाज हुँदैन भनेर लागिपरिरहेका छन् । त्यसैले जनताको चेतनास्तरलाई पहिले र अहिलेको बिचमा एउटै हो भनेर पटक्कै नसम्झनुहोला ।

अहिलेको जनताहरुलाई सडक आन्दोलन गर्नपनि इच्छा छैन । उनीहरुले अब के को लागि लँडाई भनेर प्रश्न गरिरहेका छन् । देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघियता जस्ता सबै विषयहरु सम्बोधन भैसक्यो अब यसलाई सहि कार्यान्वयन गरोस् भन्ने चाहना राख्छन् । जसको लागि विभिन्न जटिल विषयहरुलाई संबोधन गर्नु पर्दछ । उक्त विषयहरुको सहि सम्बोधन सहि विज्ञहरुबाट मात्रै हुन्छ । ती विज्ञहरुको विज्ञताको सहि सदुपयोग हुनको लागि हाम्रा नेताजीहरुले नै आकर्षित गर्न सक्नु पर्दछ।

खल्तीबाट निकालिएका विज्ञहरु वा विषयको विज्ञता बिनाका सल्लाहकारहरुको भरमा देशले खोजेको सम्वृद्ध नेपालको अभियान कसरी पूरा हुन्छ ? जेलबाट झिकेर ल्याएर शपथ खुवाएर फेरि जेलमै पुर्याईदिएको दृश्य लाई के भन्ने ? कच्चा निर्णय वा कच्चा विज्ञहरुको सल्लाह ? राज्यको निर्णय भनेको अन्तत्वगत्वा व्यक्ती आफैंले गर्ने निर्णय हो । देश निर्जीव पदार्थ हो । सजिव बनाउने भनेको त्यो देश हाँक्ने नेताहरुले हो । ती नेताहरुको गलत निर्णयले देशको गती सुस्त र उल्टो हुन बेर लाउँदैन ।

वाईडबडी काण्ड भनेर अबौंको घोटाला सहितको फेहरिस्त पत्रकार सम्मेलननै गरेर सार्वजनिक गरियो । तर, हतार हतार गरेर सार्वजनिक गरिएको उक्त रिपोर्ट अहिले आएर उक्त उपसमितीका संयोजकलेनै बिच बाटोमा अलपत्र पारेर छाडिदिएको देखिईरहेको छ । कहाँ हरायो उक्त काण्डको आवाज ? पत्रकारले सोधेका प्रश्नको जवाफ समेत प्रष्ट रुपमा दिन नसक्ने व्यक्तिहरुमा विज्ञता थियो भनेर कसरी पत्याउने ? त्यसैले भनेको हो, आफू सँग नभएको सिप वा ज्ञानको कमी अर्को विज्ञ सँग सल्लाहगरेर मात्र सहि रिपोर्ट तयार गर्नुनै बुद्धिमानी हो।

चाहेर वा नचाहेर नेताहरुको आँखामा आज कयौं विद्वानहरु वा विभिन्न विषयका ज्ञाताहरु पर्न सकिरहेका छैनन् । नेताहरुलाई त यती सम्म पनि थाहा छैनकि यो विषयमा पनि कसैको सल्लाह लिनु पर्छर ? यती कुरा त हामी आफैंलाई आई हाल्छनी भन्ने भ्रम छ । विज्ञ वा सल्लाहकार भनेको पिएचडी गरेको व्यक्तिनै सर्वश्रेष्ठ भन्ने होइन । भारी बोक्ने मानिसको विषयमा भरियानै सबै भन्दा उपयुक्त विज्ञ हुन सक्छ भने खेलाडीको विषयमा सम्बन्धीत खेलका खेलाडी वा प्रशिक्षकनै उपयुक्त व्यक्ति हुन सक्छन् ।

त्यसैगरी तत्सम्बन्धी विषयमा अध्ययन गरेका व्यक्तिहरुनै उपयुक्त पात्रहरु हुन्छन । उनहिरुले चाहेर पनि देशको लागि आफ्नो विज्ञता पस्किन सकिरहेका छैनन् । आफ्नो विज्ञता प्रस्तुत गर्ने ठाउँनै पाईरहेका छैनन् । टाढा बाट हेरेर अनुभवको भरमा अन्दाजको भरमा निर्णय लिनु भन्दा नजिकै गएर, आत्मसात गरेर, त्यसको भुत, वर्तमान र भविष्यका सकारात्मक र नकारात्मक पक्षहरु माथी गहन अध्ययन गरिकन गरिने निर्णयहरु सत्य सावित हुनेछन्।

Comments

NIC Asia