MENU
किन छट्पटिँदै छन् प्रचण्ड ?
 : 52 views
-संजिव कार्की   Feb 12, 2019

अर्को माओबादी जन्मिन्छ भन्ने नेकपा अध्यक्ष प्रचन्डको हालैको अभिव्यक्ति एक तीरले तीन शिकार गरेका हुन् । आफ्ना सहकर्मी पाइलट प्रधानमन्त्री अनि अदालत र अख्तियार तिनैतिर उनको धमास र अप्रत्यक्ष धम्की हो । उनको धम्की र छट्पट आफ्नो भ्यालु कम भएको हीनताबोधको कारण पनि हो । दुवैजना पाइलट भनिए पनि ओलीको अगाडि प्रचण्ड को पाइलट त परको कुरा उनी नाम मात्रका पाइलट हुन् भन्न पनि सकिन्न, जसको प्रमाण हो भेनेजुएला बक्तब्य काण्ड ।

नयाँ जन्मने माओबादीबाट कसैलाई खतरा छ भने सर्वप्रथम प्रचन्डलाई छ । प्रचण्डले देखाएको अनगिन्ती सपना र रहरलाई छ ।

 

 

 

बलात्कार गरेर जे जन्माए पनि त्यो परिणामको आधारमा सजायबाट बिमुख पारिनुहुदै , गरिनुहुदैन । बुद्द जन्माउछु भनेर बलात्कारको छूट दिंदैजाने हो भने बलात्कार अपराध बन्दैन, कानुनको परिधान भित्र समेटिन सक्तैन । जोर जबर्जस्ती जसले र जुन प्रयोजनको खातिर गरेको भए पनि त्यो क्षम्य हुदैन । असल र सकारात्मक परिणामको लागि भनेर कुकर्मलाई ढाक्दै छोप्दै जाने हो भने सत्कर्म फस्टाउछ भनेर सोच्नु मुर्खता शिवाय केहि हुन्न । सकारात्मक परिणामको लागि सकारात्मक पहल र मार्ग अबलम्बन जरुरि हुन्छ, नकारात्मक बाटोबाट सकारात्मकताको अपेक्षा बलात्कार गरेर मार्क्स जन्माउछु भन्ने दुष्प्रयास र नकारात्मक निरन्तरताको द्योतक भन्दा अरु केहि होइन । गणतन्त्र ल्याउनुमा प्रचण्डको योगदान छ भन्दैमा उनलाई र उनका कार्यकर्तालाई कानुन, नियम र बिधान भन्दा माथि राख्ने अपबाद मान्न सकिन्न ।

 

प्राकृतिक रुपमा जति अपबाद स्वीकार गर्न सकिन्छ मानव निर्मित समाजको कानुन र विधानमा त्यो स्वीकार गर्न सकिन्न र कुनै पनि नैतिक, भौतिक सामाजिक, न्यायको सबालमा त्यो सुहाउँदो हुन्न । युद्दमा समेत नियम हुन्छ अनियम नहुनु त पशुत्वको पराकास्ठ हो हामी त्यस्तो समाजको परिकल्पना गर्न सक्तैनौ जसले त्यो परिकल्पना गरेको छ त्यो केवल दिवा स्वप्ना मात्र हो यथार्थिक अभिव्यक्ति भन्न सकिदैन । जनयुद्दको नाममा जे र जति पनि अपराध भएका छन ती सबै जनयुद्दकालिन मुद्दा भनेर एकै डोकोमा हालेर पन्छाउन खोजियो भने त्यो प्रत्युत्पादक बन्ने खतरा रहन्छ ।

 

युद्दको नियम भन्दा बाहिर गएर भएका सबै गैर न्यायिक हत्या, बलात्कार र खुन खराबी चाहे तत्कालिन सत्तापक्षबाट भएको होस् या तत्कालिन बिद्रोही माओवादीबाट यो कानुनको कठघरामा आउनुपर्छ । दण्डहीनताको अन्त्यको लागि सबै राजनीतिक निर्णय भनेर पन्छनु हुन्न कानुनलेभने बमोजिम परिभाषित गरेको सजाय शेरबहादुर देउबाको हकमा होस् या प्रचण्डको हकमा बराबर हुनुपर्छ । दोषी भएमा दुवैले आ आफ्नो भागको सजाय नेपालको कानुन बमोजिम भुक्तानी गर्नुपर्छ । अदालत र अख्तियारको सक्रियता जब बढ्छ तब राजनीतिक पार्टी र तिनका नेताको छटपटी शुरुहुन थाल्छ । प्रचण्डको सार्वजनिक छटपटी पनि अदालतको निर्णय र अख्तियारको सक्रियतासंग कतै झस्केको छ भनेर बुझियो भने शायद अन्यार्थ हुनेछैन ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको फैसला र अहिले देखिएको सक्रियतामा निस्कर्ष निकालिहाल्न छिटो भए पनि उनले देखाएको तदारुकता र फैसलाको गतिमा दुई तिहाइको तरबार झुण्डिएन र असल मनशाय प्रेरित कर्मको हेतु हो भने संकेत नराम्रो होइन । भलै उनको भावी कदम र उनीप्रति झुण्डिने खतराको तरवारको दृश्य, परिदृश्य हेरेर परिणाम आकलन गर्न सकिन्छ । सोझो र सपाट अर्थमा बुझ्ने र जाने हो भने चोलेन्द्रशमशेरको फैसला र आगामी कार्यभार यहि र यस्तै गतिमा रहन्छ या रहन्न ?  प्रधानन्यायधिस इतिहास रच्ने मार्गमा छन् । या सनातनी पूर्वज न्यायधिस जस्तै मात्र बन्छन ?  प्रधानन्यायाधीशले इतिहास बनाउदा प्रचण्डको इतिहास गर्ल्याम गुर्लुम्म ढल्ने खतरा पनि उत्तिकै छ ।

 

अदालतमा थुप्रै द्वन्द्कालिन मुद्दा आज पनि बेबारिसे र वेवास्ताको शिकार बनेर बसेका छन् ।  आज सम्म ती मुद्दाहरुको  फैसला र न्यायिक निरुपण हुनुपर्थ्यो जो हुन सकिरहेको छैन । प्रधानन्यायाधीशको यो सक्रियता आकाशको चिल देखाएर भुइको चल्ला हात लाउने दाउ नभएमा थाती रहेका र यथाशक्य छिटो न्याय दिनु पर्ने मुद्दाहरुमा  बस्तुनिस्ठ न्याय पहिल्याउने हो भने फैसला गरेर कार्यान्वन गराउने हो भने हाम्रो जेल अरु फराकिलो र ठुलो बनाउन आवश्यक छ जहाँ गैरन्यायिक हत्या गर्ने , युद्दको नियम बिपरित कार्य गर्ने थुप्रै पूर्व माओवादी कार्यकर्ताले, सरकारको सेवामा रहेर पनि युद्दको नियम बाहिर गएर कुकार्य गर्ने सुरक्षा निकायका धेरैले जेलमा आश्रय पाउनेछन । जुनकुराको आभास प्रचन्डलाई मिलेको हुनुपर्छ ।

 

अदालत जस्तै अख्तियार सक्रिय भएर जनमुक्ति सेनामा भएको भ्रस्टचार जसलाई तत्कालिन नेकपा एमालेका युवा नेता महेश बस्नेत मार्फत उजुरी गरेर छानबिनको माग गरिएको थियो । जनमुक्ति सेना भ्रस्टचार प्रकरण पनि प्रचण्डको लागि मुटु झस्काउने र सधै आतंक आमन्त्रित गर्ने पेचिलो मुद्दा हो । सरकारको शक्ति र सामर्थ्यको प्रभावमा परेर आजसम्म अख्तियारले सो मुद्दाको छानबिनमा चासो देखाएको छैन तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले बार्गेनिङ टुल्सको रुपमा यसलाई बाहिर ल्याएका थिए तर न्यायिक निरुपण अभिस्ट थिएन । पूर्व माओबादी बाबुराम भट्टराईले समेत लडाकु शिविर घोटालामा प्रचन्डलाई आक्षेप लगाएका छन् । जबजब अख्तियार चलायमान हुन्छ अदालतले केहि परिणाम दिने संकेत देखाउन थाल्छ तवतव प्रचण्डमा छटपटी र बेचैनी अनि धम्कीको स्वर विद्रोहको आवज देखिन थाल्छ ।

 

भनिन्छ अर्को माओबादी जन्मिन्छ भन्ने नेकपा अध्यक्ष प्रचन्डको हालैको अभिव्यक्ति एक तीरले तीन शिकार गरेका हुन् । आफ्ना सहकर्मी पाइलट र प्रधानमन्त्री अनि अदालत र अख्तियार तिनैतिर उनको धमाश र अप्रत्यक्ष धम्की हो । उनको धम्कि छट्पट आफ्नो भ्यालु कम भएको हीनताबोधको कारण पनि हो । दुवैजना पाइलट भनिए पनि ओलीको अगाडि प्रचण्ड को पाइलट मात्र हुन नाम मात्रका पाइलट जसको प्रमाण हो भेनेजुएला बक्तब्य काण्ड । सरकारले  पनि प्रचण्डको बक्तब्य पछि आफ्नोतर्फ बाट बोल्न त तयार भयो प्रचण्डको भन्दा अलि नरम भाषामा बोल्यो पनि तर टिक्न सकेन र प्रधानमन्त्रीले प्रचण्ड चिप्लिएको अभिव्यक्ति दिनुपर्यो । पार्टी भित्रको  आन्तरिक शक्ति संघर्ष र एक अर्काको अस्तित्व वचाउन थुप्रै पापड पेलिए यो बीच तर पनि विवाद सतहमा आए, कसिलो बनेर आए,  पार्टी पंक्तिलाई दुखाउने गरी आए, प्रचन्डलाई झस्काउने गरि आए तब माओबादी सकियो र सकाए भन्ने भ्रम नपाल्न भनेर प्रचण्ड गर्जन गर्न पुगे यो गर्जन अरु पार्टी व्यक्ति र संस्था लक्षित होइन केवल प्रधानमन्त्री ओलीलाई हो, अनि अख्तियार र अदालतलाई हो ।

 

आफ्नै पार्टी प्रति किन यति ससंकित र भयभित भए प्रचण्ड ? गाँठी कुरा प्रचण्ड ओलीको त्यहि हो भन्छन जानकारहरु जसले पार्टी एकीकरण गरे चुनाव जिते त्यो रहस्य होइन र छैन दुई मिलेर यो पाच वर्से कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने सहमति गरे गुप्त मन्त्रणा गरे  । पार्टी एकीकरण गर्न सिद्दान्त मिल्नु परेन, स्वार्थ मिले भयो तर आज पार्टीको अरु बर्गीय संगठन मिलाउन, पार्टी एकता गाउ तह सम्म पुर्याउन एकतालाई मुर्त रुपमा लैजान दुई नेताको आ आफ्नो स्वार्थ बाझेको र असमझदारी बढेको बुझ्न कुनै आइतबार कुर्नु पर्दैन तर दोष कार्यदल लाई दिएको छ । असमझदारी बढेर यो हदसम्म आइपुग्नु र प्रचण्ड बिरक्तिएर बोल्नुको पछाडि हीनताबोध र आफ्नो स्पेस क्रमश घट्दै गएको र प्रधानमन्त्री बन्ने रोलक्रममा पनि ओलीले बदमासी गर्ने बुझाई प्रचण्डको बनेको देखिन्छ । प्रचण्ड जति धुर्त छन् ओली पनि धुर्ततापुर्वक सबै विगतका  गुण अबगुणको हिसाब राखेर बस्ने चतुर खेलाडी हुन । प्रचण्डको आवेग, पिपलपाते स्वभाव र बार्गेनिङ र ब्ल्याकमेलिङ जुन इमोशनल पनि हुन्छ जसको बारेमा ओली राम्रो दख्खल राख्छन ।

 

हाललाई प्रचण्डको बार्गेनिङ प्रधानमन्त्रीको लागि हतारगर्ने होइन तर बाचाबन्धनमा चै बाधीराख्ने भावी रणनीतिक योजना हो । अहिले प्रचण्ड अख्तियार र अदालतबाट सुरक्षित रहन चाहन्छन अनि पार्टीमा आफ्नो भूमिका अरु बढोत्तरी प्रचण्डको अभिलाषा हो र प्रधानमन्त्री हुन् भोलि कुनै अप्ठ्यारो सिर्जना हुनेछैन र जेन्टलमेन एग्रिमेंटमा तलमाथि नहुने प्रतिबद्दता खोजेका हुन् । पार्टी फुटाउने, अरुसंग मिलेर सरकार बनाउने र अरु विकल्प प्रचन्डलाई यतिबेला सजिलो छैन । आफ्नो सुनिश्चित भविष्य नै उनको डिमाण्ड हो भलै त्यो प्राप्तीको लागि उनि जे पनि बोल्छन,भन्छन इमोशनल कुरा गरेर आफ्ना पूर्व नेताकार्यकर्ताको मन राखिदिन्छन ।  द्वन्द कालिन मुद्दा तन्केर जाला यसले लहरो तान्दा पहरो थर्केला मुख्य डर यसैमा छ । प्रचण्डहरु अब जंगल जान्दैनन् र क्रान्ती पनि गर्दैनन्, यदि अर्को माओबादी जन्मियो भने त्यसको पहिलो निशाना प्रचण्ड नै बन्नेछन, उनले आफ्ना कार्यकर्ताको आक्रोशको झापु भृकुटीमण्डपमा खाएको  बिर्सनु हुदैन त्यो झापु जे जसरी हानिएको भए पनि प्रचण्ड प्रतिको मोह भंगको प्रमाण हो । क्रान्तिकारीता छोडेको, सपना बिर्सिएको जनताको दुख भुलेको आक्रोशको अभिव्यक्ति हो ।

 

नयाँ जन्मने माओबादीबाट कसैलाई खतरा छ भने सर्वप्रथम प्रचन्डलाई छ । प्रचण्डले देखाएको अनगिन्ती सपना र रहरलाई छ । आदिवासी एमाले, आप्रवासी एमालेको रुपमा नेकपा भित्र जुन द्वन्द र आन्तरिक संघर्ष छ जुन अहिले ढाकछोप गरिए पनि त्यो रोकिन्न बिस्तारै फैलन्छ किन भने त्यो हेर्न बुझ्न रक्षा मन्त्री इश्वर पोखरेलको फेसबुक स्टाटस काफी छ  । “जनताबाट तिरस्कार र बहिस्करणमा परेको शक्तिलाई नेतृत्व दिनु आपत्तिजनक र अस्वीकार्य हुन्छ ।”  सार्वजनिक रुपमा इश्वर पोख्रेलको यो भनाइलाई सतही र हल्का टिप्पणी भन्न सकिन्न र भोलिको पार्टी राजनीतिको पूर्वाभास पनि हो ।

 

प्रचण्डले जति धम्काए पनि हाललाई यो परिस्थितिमा कुनै कदम चाल्ने हैसियत राख्दैनन् किनकी प्रचण्ड बन्धनमा छन्, घेरामा छन उम्कन सक्दैनन् अघि बढ्न मात्र हैन पछि हट्न पनि नसक्ने मझधारमा छन प्रचण्ड तर बलात्कार गरेर भए पनि आइन्सटाइन जन्माउन सकिन्छ, मार्क्स  जन्माउन सकिन्छ भन्ने रटान छोड्दैनन अहिलेलाई पुष्पकमलको धम्कीलाई ओलीले पनि यो भन्दा बढी बुझेका नहोलान शायद ?

 

Comments

NIC Asia