MENU
सिके राउतको धार
 : [views]
-राजीव भण्डारी   Mar 11, 2019

राउतले भोली पर्सि के गर्लान्, यो उनको दाऊ थियो कि के थियो, उनी फेरि पुरानै माँगमा लाग्लान् ? इत्यादी भनेर अहिले हामीले प्रश्नमाथी प्रश्न तेर्स्याएर उनलाई राजनैतिक स्पेश नदिनु भन्दा उनलाई उनकै तरिकाले राजनीति गर्नु दिनुनै बुद्धिमानी ठहर्नेछ ।

 

 

घर बनाउँदा सर्वप्रथम घर बनाउने ठाउँको माटोको परिक्षण गरिन्छ । माटो परिक्षण गरेपछि मात्र थाहा हुन्छकी घर कस्तो र कत्रो बनाउँदा उक्त जमिनले थेग्न सक्छ । त्यसपछि सोही अनुसारको नक्सा बनाइन्छ । नक्सा बनाउँदा त्यसको जगलाई विशेष ध्यान दिइन्छ । जग सहि भयो भने घर बलियो हुन्छ, नक्सा अनुसारको घर बनाउँदा त्यसले पुर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरको दिशा अनुसारको डिजाइन बनाउन सकिन्छ । तर जग र नक्सा भन्दा अर्कै तरिकाले घर बनाइयो भने त्यो घर धेरै दिन टिक्दैन र गर्ल्याम गुर्लुम ढल्छ ।

जसले जतीनै शंका, अनुमान र ठोकुवा गरेपनि सिके राउतको राजनीतिको जगनै सहि रुपमा गाडिएको थिएन । उनले डिजाइननै गलत तरिकाले गरेका थिए । त्यो घरनै गलत माटोमा ठड्याउने कोशिष गरिएको थियो । त्यसैले त्यो घर बलियो पनि भएन र घरको रंगरुप पनि आकर्षक भएन । जब घरमा कोहि आकर्षित नभएपछि उनी नयाँ घर बनाउन विवश भए । जसको सहि समयको पर्खाइमा उनी थिए । धेरै प्रकारको दौडधुप पछि केपी ओलीलाई उनले विश्वास दिलाउन सफल भएको अनुमान लगाउन सकिन्छ । जसको परिणाम स्वरुप सर्वोच्च अदालतले सफाइदिन नपाई काठमाण्डौको राष्ट्रिय सभागृह बाट सरप्राइज दिन उनी सफल भए ।

हुनत जब उनी अमेरिकाको बसाईँ त्यागेर मधेशमा छुट्टै राज्यको माग गर्न भाषण गरिरहेका थिए त्यतीबेलापनि मानिसहरु एक प्रकारको सरप्राइज्डमै थिए । कसरी यो व्यक्ति एक्कासी मधेशको भुमिमा आइपुग्यो ? अहिलेपनि मानिसहरुमा यहि कौतुहल छ । कोही भन्छन् उनी युरोपियन युनियनले खडा गरेको व्यक्ति हुन्, कोही भन्छन् उनको पछाडी अमेरिका नै छ । यती भएपछि भारतले तयार पारेको मान्छे नभन्ने त झन् को होला ?
तर, जसको जे अनुमान भएतापनि उनी कोही, कतै र कुनै शक्तिकेन्द्रको आडभरोसामा चाहिँ थिए । यसको बारेमा अनुमान लगाउन सकिने आधार पनि छ ।

 

केही वर्ष पहिले जब उनलाई पहिलो पटक सरकारले गिरफ्तार गर्यो, त्यतीबेला काठमाण्डौमा सर्वसाधारणलाई यो पनि थाहा थिएन कि मधेश छुट्टै राज्यको माग गरेर कसैलाई गिरफ्तार गरिएको छ । जब दमननाथ ढुँगाना लगायत यहाँका मानवअधिकार वादीहरुले एक स्वरमा मिडियाहरुमा सिके राउतको पक्षमा वहश गर्न शुरु गरेर चिन्दै नचिनेको र राज्यले कानुन अनुसार देश टुक्र्याउन पाउनु पर्छ भन्नेलाई गिरफ्तार गरेको विषयलाई तातो कराईमा तताएर सबैको सामुन्ने राखिदिए । बल्ल सर्वसाधारणको नझरमा को रहेछन् सिके राउत भन्ने व्यक्ति भनेर खोजी हुन थाल्यो ।

शक्तिकेन्द्रहरुले त कुनै बेला जयकृष्ण गोइत लाई पनि उचालेकै थिए । त्यसपछि ज्वालासिंहको नाम धेरै उँचाईमा पुर्याइयो । त्यसपछि पनि क्षणिकरुपमा धेरै नामहरु बाहिर आएकै हो तर टिकाउ चाहिँ भएन । सिके राउतले पनि त्यही आगोमा रोटी सेक्ने कोशिष त गरेको हो तर मधेशका जनताले साथ नदिएको पनि सत्य हो ।
मधेशले आफूलाई अन्याय परेको त महशुस गरेको छ तर छुट्टै राज्य बनाएर त्यसको समाधान हुनसक्छ भनेर त्यहाँका आम जनसमुदायलाई विश्वासै छैन । एकछिनलाई मानौं, मधेश छुट्टै देश भयो भने त्यो समथर मधेश राज्य चल्छ कसरी ? अहिले दुई नम्बर प्रदेशलाई त जानकी मन्दिरको भेटी मात्रले चलाउन सकिंदैन भनेर नेताहरु कुर्लिरहेका छन् भने सिंगो देशमा अरु के छ त्यस्तो खानी कि देश चलाउन पुगोस् ।

 

एकातिर भर्खरै छुट्टिएर गएको देश नेपालसँगको सिमामा सँधै किचलो हुने पक्का छ भने भारत बाट आउने आप्रवाशीहरुले गर्दा अर्को टाउको दुखाई हुने पनि पक्का छ । त्यो कल्पनाको सानो देश बाह्रै महिना भारतकै भरमा बाँच्नुपर्ने उसको भौगोलिक अवस्थालेनै प्रष्ट पारिसकेको छ । यदि पश्चिमाहरुले मद्दत गर्नै चाहेपनि त्यो भुराजनीतिको हिसावले सम्भवनै छैन । जो सँग छुट्टै अन्तर्राष्ट्रिय एअरपोर्ट समेत छैन । फेरि भारतले अर्को देशको उपस्थिती हुन देला ? । नेपालले आफ्नो भुमी त्यसको लागि दिने कल्पनै गर्दैन भने भारतले स्वयं विहार र युपी नसुध्रे सम्म यता ध्यान दिनै सक्दैन । यी सबै कुराको मध्यनजर गर्दै असम्भव र आफ्नो खुट्टाले आफैंलाई बन्चरो हान्न कुन चाहिँ मधेशी को बुद्धि त्यतातिर लाग्ला ?

अहिले भइरहेको हिमाल, पहाड र तराईको अखण्ड राज्य जस्तो मिलेको राज्य त्याग्न कुन चाहिँ मधेश बासी तयार होलान ? त्यो कुराको गल्ती सिके राउत र उनको आसेपासेहरुले महशुस गरेको हुनु पर्छ त्यही भएर ढिलो नगरी उनले यो गाडीलाई याहिँ रोक्ने कोशिष गरे । उनको बठ्याँईमा अहिले आएर मधेशमा राजपाको चुरीफुरीलाई केही हदसम्म भएपनि काँटछाँट गर्छु भन्ने लागेर होला प्रधानमन्त्री केपी ओलीले पनि दश वर्ष जनयुद्ध गरेर फर्केको माओवादीकै शैलीमा आफ्ना गृहमन्त्री रामवहादुर थापा र राउतलाई सभागृहको हलमा आफू र प्रचण्डको अगाडी दुनियाँलाई साक्षी राखेर बडो तामझामका साथ हिरो बनाईदिए ।

हुन सक्छ राउत ओलीका विश्वासपात्र र सम्भवतः अब हुने चुनाव पछिका मुख्यमन्त्री बनाइन्छ भनेर जुँगा चिप्लो बनाएर बसेका होलान् तर सबै भन्दा ठूलो कुरा लोकतन्त्रमा जनताको मत हो । यदि जनताले मत दिए भने उनको राजनैतिक भविष्य अगाडी बढ्ला नत्र राजा महेन्द्र र बीरेन्द्रले पनि धेरै मधेशीहरुलाई राज्यको उच्चपदमा पुर्याएकै थिए तर मधेशले कहिले पनि राजा महाराजाहरुलाई साथ दिएन ।

मलाई लाग्छ बादल र राउतको बिचमा भएको सहमतीका बुँदाहरुलाई हिजोआज विशेषगरी नेकपाका नेता भीम रावल लगायत अन्य महानुभावहरुले जस्तो एक एक अक्षर, कमा र पूर्णबिरामलाई ध्यान दिइराख्नु पर्छ जस्तो लाग्दैन । किनभने तत्कालिन राज्य र माओवादीका बिचमा पनि त्यसैगरी गीरिजाप्रसाद कोइराला र प्रचण्डको रोहवरमा सहमती भएको थियो । के त्यो सहमतीका सबै बुँदाहरु अहिले अक्षरस पालना भएका छन् त ? कती त चाहेर पनि नसकिने अवस्था सृजना हुन्छ । यति सम्मकी सम्पूर्ण बेपत्ता नागरिकको नामावली समेत तयार पार्न सकिएको छैन । जहाँसम्म एउटा बुँदा हरेकको सहमतीमा हुन्छ, त्यो भनेको जेलमा भएका आफ्ना कार्यकर्ताको रिहाई, घाइतेको उपचार, मृतकलाई सहिद, झुठा मुद्दा फिर्ता इत्यादी । यस्ता कमन बुँदाहरुत जो सँग सहमत गर्दा पनि राखिनै पर्ने हुन्छ जसलाई सबैले बुझ्दछन् पनि तर अन्य अमुक बुँदाहरुमा घोत्लीनु र चर्का चर्का कुराहरुले वास्तविकता भन्दा बढ्ता ब्याख्या गर्नु भन्दा ती बुँदाहरुलाई आफ्नै स्थितीमा हिंड्न दिनु ठिक होला । समय आएपछि त्यसको ब्याख्या स्वयं सम्झौताकारीहरुबाट नै आउला ।

शरिर जतीनै ठूलो भएपनि टाउकोको कुनै कुनामा दुखिदिंदा मानिस बिरामी जस्तो, फ्रेस नभएको जस्तो भइरहन्छ जब सम्म टाउको दुखेको निको हुँदैन । हो राउतको व्यवहार पनि राज्यको लागि त्यस्तै थियो । सतहत्तर जिल्ला मध्ये पाँच, सात जिल्लाको तिन, चार प्रतिशत भुगोलमा उनको उपस्थिती थियो तर राज्यको लागि त्यो समस्या भनेको टाउको दुखाईनै थियो । जसलाई न ठूलो अवरोध भन्ने न सानो इस्यु भन्ने । बरु अहिले एक हद सम्म राज्यले सञ्चो महशुस गरेको हुनुपर्छ ।

राउतले भोली पर्सि के गर्लान्, यो उनको दाऊ थियो कि के थियो, उनी फेरि पुरानै माँगमा लाग्लान् ? इत्यादी भनेर अहिले हामीले प्रश्नमाथी प्रश्न तेस्र्याएर उनलाई राजनैतिक स्पेश नदिनु भन्दा उनलाई उनकै तरिकाले राजनीति गर्नु दिनुनै बुद्धिमानी ठहर्नेछ । सबै भन्दा ठूलो शक्ति भनेको जनशक्तिहो, त्यसैले भोली गएर यदि उनले मधेशमा पहिलेकै मागहरु तेर्स्याएर राजनीति शुरु गरेभने उनलाई सँजाय दिन कसैले मेहनत गर्नु पर्दैन त्याहिँकै जनताहरुले नै उनलाई सँजाए दिनेछन् । लोकतान्त्रीक विधी अपनाउने हो भने सबै समस्याहरुको समाधान शान्तीपूर्ण ढँगबाटै सम्भव छ, यसको लागि कसैलाई बाटो अवरोध गर्नु पर्दैन । बाटो अवरोध हुँदा ऊ स्वयंम त त्यसमा गुम्सेर विष्फोट होला त्यसमा अरुलाई पनि क्षती पुर्याएर जान्छ । सिकेले आफ्नो भाषणमा सायद त्यहाँको जनमत पक्षमा पार्न नेपाल आमालाई तल्लो स्तरमा गाली गरेकै हो । तर, उनले पछिको लागि फेस सेभिङ पनि सोचेको रहेछन् त्यो भनेको कतै पनि हतियार उठाएनन् उनी अहिंसात्मक आन्दोलन गर्दै थिए । जुन आन्दोलनको ठूलो नैतिक आधार हुन्छ । हेर्नुत यो छ कि अब सिके राउतको बाटो के हुन्छ ?

Comments

NIC Asia