MENU
जम्बो जेटका फाइटर चालक
 : [views]
-युवराज आचार्य   Mar 13, 2019

“के गल्ती गरेको छु र क्षमा याचना?” स्वभाविक प्रश्न उनमा उठ्ला तर क्रान्तिको एउटा चरण सकिएको जानकारी उनले आफ्ना छरपष्ट भएका कार्यकर्तालाई नदिई शाही जीवनमा प्रवेश गरेको सवैले देखेका छन । “केन्द्रिय राज्य सत्तासङ्ग लड्दैछौं” भन्ने भावना पलाउनै नदिनु जत्ति उपयोगी अर्को कुनै उपाय छैन । अहिलेको दमन र प्रतिबन्ध सरकारको हतियार होला तर वाँदरलाई लिस्नु भन्दा बढि केही होइन।

२०-३० मान्छे भेला पार्यो १०० रुपियाँ जति कमायो नगरपालीकाको पुलिस आउँदा टाप ठोकिसक्ने पहिले-पहिले रत्नपार्क वरिपरि बस्ने चटके जस्तो व्यवहार सरकारको देखियो । को छन यिनका सल्लाहकार कि आफ्नै दिमागले यस्तो उट्पट्याङ्ग कुरा अह्राउँछ, म छक्क पर्छु । प्रधानमन्त्रि वसेर “घोषणा” गरेकै भोलीपल्टका जनकपुरका नारा, ब्यानर त देखे होलान नि ।

 

 

हवाई उड्ड्यनको क्षेत्रमा एउटा रमाइलो भनाई रैछः Being a pilot doesn’t make you cool but if you’re cool, you’re probably a pilot. अङ्ग्रेजीको ‘कूल’ शब्द जसरी नेपाली भाषामा हामी ठ्याक्कै प्रयोग गर्दैनौँ तर नजीकको अर्थ हुन्छ जहाजको पाइलट हुनु भनेको तिमिलाई धैर्यवान/शान्त हुन दिँदैन तर यदि तिमि धैर्यवान/शान्त छौ भने तिमि सायद पाइलट हौ।

मैले पाइलटको उदाहरण छान्नुका पछाडि दुई कारण छन, एक वर्ष अघि एउटै पार्टीका दुई अध्यक्ष हुँदा दिइएको जहाजको उदाहरण र दुई तिहाइ मत प्राप्त पछि ति चालकका सम्बन्धमा “उनीहरू जम्बो जेटका पाइलट हुन” भनी गरिएको दावी। दुवै उदाहरण अहिलेको सन्दर्भमा गज्जबले मिल्ने।

अहिले असभ्य सुनिएपनि मेरा हजुरवाका पालामा एउटा भनाइ थियो दुइटा श्रीमतिको घर बलियो, तीनवटा गोरुको घर बलियो । सुगर, प्रेसर आदित्यादी रोगले हल्का-फुल्का छोएका भएपनि दुईटा पाइलट भएपछि पक्कै जहाज राम्रो सङ्ग चल्छ, सबैले विश्वास गर्ने आधार त्यही हो। पहिलेका सबै जसो पूर्ण बहुमतका सरकारले क्र्यास ल्याण्डिङ्ग गरेको देखेका नेपाली जनताले आशा गरेका थिए पहिला सरकारका पालामा जस्तो आन्तरिक किचलो बीच जहाजमा पसेका पहिलेका पाइलट जस्ता अहिलेका पाइलट नभएका हुँदा  नयाँ जहाज यिनले राम्रै उडाउँछन।

तिनले उडाउने जहाज ठट्टै-ठट्टामा जम्बो जेटनै भएको थियो, मलेठमा शत्रु घोषणा गरेर युद्धमा होमिएका समेत थपिँदा तीन-चौथाइ बहुमतको अर्थात इतिहासमा कहीँ कतै बन्दूकबाट त प्राप्त भएका थिए होला तर चुनावी बाक्साबाट विरलै प्राप्त हुने खालको शक्ति ।

बाटोका अवरोध सवै हटेका, अल्पमत मात्रै होइन अल्पबुद्धि समेतको विरोधी दल उपस्थित, दक्षिणका नाकाबन्दि-प्रभु दाहिने भएका, उत्तरी-वायु अत्यन्त उदार भएर सहयोग गर्न तम्सेका, पश्चिमा वायु नजानिँदो तवरले देव्रे ढल्केका । हावाको विपरित बहाव समेत नभएको अवस्था। जम्बोजेट पनि थियो, दुईवटा पाइलट पनि थिए, अनि के चाहियो । सोचेका थियौँ यो जेट लामो यात्रामा निस्कन्छ ।

तर अहिले लाग्दैछ फाइटर जेट उडाउने तालीम लिएका पाइलटलाई जम्बो जेटमा तालीम चाहिँ नपुगेकै रैछ । अहिले उदाहरण दिनै पर्दैन, चिया पसलमा वसेर दुई कप चिया पिउञ्जेल गफ सुने हुन्छ सरकारको र सत्तारुढ दलको गति फाइटरको जस्तो छ कि जम्बो जेटको जस्तो ।

नौ महिना भन्दा बढि सरकार चलाएको अनुभव नभएका पाइलटको दिमागको बनोट नै नौ-महिना पर नदेख्ने खालको देखियो। एक दिन माला र ढाकाको गलबन्दि नदेखे बेलुकाको भात नपच्ने, दुईवटा रिबन नकाटे निद्र नलाग्ने  र तीनवटा टिभि च्यानलमा अरूलाई अर्ति नदिई विहानको फलफूल नपच्ने बानी परेका पाइलटलाई लामो यात्रामा निस्कने बानी थिएन कि आँट आएन मलाई थाहा भएन तर उनीहरूका गतिबिधि तत्कालका लोक-रिझाइँ र उट्पट्याङ्ग बाहेक केही देखिएनन ।

स्वास्थ्य, शिक्षा,  खेतीपाती, उद्योग, रोजगारी र श्रम सिर्जना जस्ता आशाको पुनर्जागरण गराउने विषयमा देखिने केही काम भएका छैनन तर भ्यू-टावर, सुख्खा बन्दरगाहा, पानी जहाज कार्यालय जस्ता धेरै टाढाका विषय तिर ध्यान केन्द्रित देखियो । तिनको उद्देश्य प्रष्टै छन, आफूले पोहोर बोलेको कुराको नाक राख्नु । “पर्सी एक वर्ष पुग्छ, ति ठेट्नाहरूलाई जहाजको अफिसको तयारी गर भन्देऊ” भन्ने आदेश आयो होला अफिस खुल्यो, भोलिपल्ट बन्द भयो भन्ने समाचार आए। यस्ता अनगिन्ती उदाहरण  सुनिन्छन चिया पसलमा बस्दा ।

। दुई-तिहाइ मत दिनेले नै सांझ विहान हरेक विषयमा उडाइरहेका छन, सरकारले नसुन्नु अलग कुरा ।  त्यसैले यिनमा मैले चर्चा गर्नु बेकार छ ।

तर सबै भन्दा पछिला दुई दूरगामी असर पार्ने राजनैतिक घटनामा चाहिँ  जम्बोजेटको फाइटर शैलीको उडान देखिएको छ । हो, नेत्रविक्रम चन्द अहिले वार्तामा आउँदैनन, न सरकारले ल्याउँछ । माधव नेपालको पेलाइमा परेका कार्यकर्तालाई विस्तारै संरक्षण दिँदै-दिँदै एमालेमा आफू मूलधार भएर केपी ओलीले माधव नेपाललाई एउटा कुनामा निरीह बनाएर थन्क्याए जस्तै प्रचण्ड सङ्ग, वैद्य सङ्ग र अव ओली-प्रचण्ड साँठ-गाँठसंग विरक्तिनेहरूको जमात बढाउनेमा चन्द केन्द्रित छन । यो जमात अलि देखिने गरी नबढाई चन्द न पूर्ण-स्तरको सशस्त्र द्वन्द्वमा जान्छन, न सिके राउत जस्तो सभागृहमा आएर ओलीको बायाँ बसेर “सयौँ थुङ्गा”को मौनगीत गाउँछन ।

चन्दलाई गलाउने उपाय भनेको ‘प्रतिबन्ध’ नामको लिस्नु लगाइदिएर होइन गलाउँछु भन्नेहरू आफू सुध्रिएर हो । यही पद्दतिबाट सुधार हुन्छ भन्ने आशा जगाएर हो, र कम्तिमा प्रचण्डले क्षमा याचना गरेर एउटा नयाँ अपील जारी गरेर हो । “के गल्ती गरेको छु र क्षमा याचना?” स्वभाविक प्रश्न उनमा उठ्ला तर क्रान्तिको एउटा चरण सकिएको जानकारी उनले आफ्ना छरपष्ट भएका कार्यकर्तालाई नदिई आफू शाही जीवनमा प्रवेश गरेको सवैले देखेका छन । र उनले अर्को चरणको कार्यनीति के हुने भन्ने समेत कसैलाई बताएका छैनन ।

चन्दलाई गलाउने अर्को महत्वपूर्ण तरीका भनेको एकिकृत पार्टीको आन्तरिक लोकतन्त्रको सुदृडःइकरण र शक्ति विकेन्द्रिकरण हो । त्यो विकेन्द्रित शक्ति मार्फत स्थानीय तहमा बन्ने सत्ता मात्रै यस्तो कडी हो जसले चन्दका कार्यकर्तालाई या त स्थान दिन्छ या खुइल्याउँछ । “केन्द्रिय राज्य सत्तासङ्ग लड्दैछौं” भन्ने भावना पलाउनै नदिनु जत्ति उपयोगी अर्को कुनै उपाय छैन । अहिले दमन र प्रतिबन्ध सरकारको हतियार होला तर वाँदरलाई लिस्नु भन्दा बढि केही होइन ।

विप्लवसङ्गको भन्दा सिके सङ्गको व्यवहार हाँसो उठ्दो छ । हो,  सरकारी वार्ता टोलीले यि दुवै समूह सङ्ग वार्ता गर्न सकेन तर इङ्गेज गराएर उनीहरूको पोजिशन र बटमलाइन छुट्याएर त्यही अनुरुपको कदम चाल्न त सक्थ्यो । एक दुई महिना ब्युरोक्रेटिक तहमा उनका दाईमार्फत मनोवैज्ञानिक उपचार गर्दा समानान्तर रुपमा पार्टी भित्रका नेता सङ्ग सल्लह त गर्न सक्थ्यो । यसरी दिउँसो चतकी शैलीमा त्यत्रो तामधाम गर्नु रैछ, विष्णु रिमाल र कृष्णगोपालको ट्विट भन्दा अरू च्यानल बन्द नै भैसकेका थिए त पार्टी भित्र?  निश्चय नै एउटा बिखण्डनको नारा घन्काउनेलाई मूलधारमा ल्याउनु स्वागत योग्य कदम हो तर २०-३० मान्छे भेला पार्यो १०० रुपियाँ जति कमायो नगरपालीकाको पुलिस आउँदा टाप ठोकिसक्ने पहिले-पहिले रत्नपार्क वरिपरि बस्ने चटके जस्तो व्यवहार सरकारको देखियो । को छन यिनका सलाहकार कि आफ्नै दिमागले यस्तो उट्पट्याङ्ग कुरा अह्राउँछ, म छक्क पर्छु ।

प्रधानमन्त्रि वसेर “घोषणा” गरेकै भोलीपल्टका जनकपुरका नारा, ब्यानर त देखे होलान नि । यही चिजलाई एउटा एड्भेन्चुरिष्ट शैलीमा नगरी २ नम्बर प्रदेश सरकारसंग समन्वय गरेर, सम्झौताका बुँदा कार्यान्वयनका मेकानिज्म र तरिकामा गृहकार्य गरेर गरेको भए के हुन्थ्यो? राती नै आकाश खस्थ्यो?

अहिले पार्टीको आन्तरिक लोकतन्त्र खतम छ, बैठक बस्दैन, काङ्ग्रेसमै जस्तो बैठकले छलफल मात्रै गर्छ निर्णय गोजीबाट फुत्त निस्कन्छ, कहिले दाहिने गोजी बाट कहिले देव्रे गोजी बाट । ५ लाख कार्यकर्तामा ४लाख ९० हजार काम नपाएर बसेका छन, हुकुम पाए काम गर्दा हौँ भन्दै ।  बाँकी १० हजार जतिको काम गर्ने ठाउँ त होला तर  स्थानीय निकाय , खोला, नाला, जङ्गल, सरुवा-बढुवामा । केपी गूटका एक-डेढ सय र प्रचण्ड गूटका २५-३० जतिको शैली राजसी छ, तिनका नातागोता कुटुम्ब जोड्दा बलियै शक्ति बनेको छ,  पार्टी भित्रै नयाँ वर्गको उदयको रुपमा । मेरो सङ्गतमा इमान्दार कम्युनिष्ट कार्यकर्ता छन जो आफ्नो भावना मसङ्ग समेत सुनाउँछनःअव सङ्घर्ष ति पार्टी भित्रका बुर्जुवा दलाल बिरुद्ध गर्ने कि बाहिरका?

मक्किँदै गरेको जम्बोजेटको इञ्जिन फाइटर जेटका पाइलटका हातमा छ, कुन दिन जहाज झार्छन भन्ने डर उनीहरूमा छ । हो जम्बो जेट छ, दुई पाइलट छन तर तिनलाई फाइटर जेट उडाउने बानी परेको छ । पाइलट हुन सजिलो होला तर असल पाइलट हुन त्यति सजिलो छैन ।

झण्डै एक हजार जति युद्ध अभियानमा एक पल्ट पनि शत्रुको गोली नखाएका बेलायती वायुसेनाका भाइस-मार्शल जे.इ. जोन्सनको भनाई चाख लाग्दो छ । महान पाइलटहरू जन्मसिद्ध हुँदैनन, कसैसङ्ग राम्रो दृष्टि हुन सक्छ, संबेदनशील हात हुन सक्छन र पूर्ण समन्वयकारी क्षमता तर निरन्तरको प्रशिक्षण, धेरै अभ्यास र अनुभवले मात्रै उसमा निखार ल्याउँछ ।

 

Comments

NIC Asia