MENU
मैले नै किन लेख्ने ?
 : [views]
-युवराज आचार्य   Apr 10, 2019
  • 48
    Shares

न्यायाधीश राजनैतिक पृष्ठभूमिबाट आउनु हुन्न भन्ने मेरो तर्क छैन । मात्रै राजनैतिक नियतले आउनु हुन्न भन्ने मात्रै हो ।  राष्ट्रसङ्घीय आधारभूत सिद्धान्तले समेत “नियुक्ति हुने” वा “निर्वाचित हुने” भनेर राजनीति स्वीकारेको छ (दफा १२) र राजनीतिक विचारकै भरमा उसलाई अयोग्य मानिनु हुँदैन समेत भन्छ (दफा १०) । तर राजनीति-प्रेरित पूर्वाग्रह भएको मान्छे आयो भने पिडितले न्याय पाउँदैन भन्ने मा म विश्वस्त छु। 

 

 

 

 

अघिल्लो सप्ताहन्तमा मलाई साह्रै लेख्न मन लागेको विषय थियो भूपू स्वतन्त्र र निष्पक्ष न्यायालयका वारेमा । भूपू लेख्नु पर्ने कारण चाहिँ मैले सुरक्षित शब्दावली छानेको । अहिले यो स्वतन्त्र छ छैन, निष्पक्ष छ छैन भन्नेमा कानून र न्याय क्षेत्रमै मेरो उमेर भन्दा झण्डै दुई दशक बढि समय  बिताइसकेका मान्छे बहसमा उत्रिए पछि मैले त्यो विवादास्पद शब्दावली प्रयोग नगरेको हो ।

 

मलाई लेख्न मन थियो न्यायपालिका के हो भन्नेमै म जस्तो एउटा भुइँमान्छेको बुझाई ।  मेरो बुझाई थियो एक जना सर्वोच्च अदालतको न्यायाधीश भन्दा माथि यमराज मात्रै छन, आस्तिक कोणबाट हेर्दा। अरू ज-जसले दायाँ-बायाँ गरेपनि यि अदालतका न्यायमूर्तिले मात्रै तिनलाई सजायँ दिन सक्छन, पिडितलाई न्याय दिन सक्छन । यिनले दायाँ-बायाँ गरे यमराज बाहेक अरू कसैले न पिडकलाई सजायँ दिन सक्छ, न पिडितलाई न्याय ।

 

आफूलाई आवस्यक पर्ने थोरै कानून वारे त अलि अलि जानकारी राख्नै पर्यो तर  कानूनको प्रयोग, व्याख्या, वहस केही पनि मेरो ज्ञान र अभ्यासका विषय होइनन् । तर हाम्रो संबिधान निर्माणका क्रममा कुनै प्रसङ्गवस इटलीको मिलानमा १९८५मा पारित न्यायालयको स्वतन्त्रता सम्बन्धि राष्ट्रसङ्घीय आधारभूत सिद्धान्त चाहिँ पढेको रहेछु। राष्ट्रसङ्घीय महासभाको १९८५को प्रस्ताव नं ४०/३२ र ४०/१४६, एसिया क्षेत्रका प्रधान न्यायाधीशहरूको १९९५को सम्मेलनबाट पारित सिद्धान्त, २००१ को ल एसिया काउन्सिलबाट पारित प्रस्ताव, इन्टरनेशनल एसोसियशन अफ जजेजबाट १७ नोभेम्बर १९९९मा पारित युनिभर्शल चार्टर अफ जजेज सम्म चाहिँ हेर्न भ्याएको रहेछु ।

 

बोल्ने जस्ता वकील सबै दलका कार्यकर्ता जस्तै छन, न्यायाधीश बोल्दैनन भन्ने लागेर मैले यिनै अन्तरराष्ट्रिय मापदण्ड, सिद्धान्त र अभ्यासहरू समेटेर लेख्न खोजेको थिएँ कसरी हाम्रो निष्पक्ष, निर्भिक, स्वतन्त्र र सक्षम   न्यायालय भूपू भयो भनेर । तर अघिल्लो हप्ता वकील र न्यायाधीश बोल्दैनन्  भन्ने मेरो भ्रम टुट्यो । मैले  नेपाल बारका पूर्व अध्यक्ष, अहिलेका अध्यक्ष, कानूनमै विद्यावारिधी गरेका पूर्व न्यायाधीश, नेपाल बारका पूर्व उपाध्यक्ष लगायत थुप्रैले खुला बहसमा उत्रिएर यस्तै हो भने न्यायालयको “स्वतन्त्र” र “निष्पक्ष”पन सकिन्छ भनेर प्रष्ट शब्दमा बोलेको देखेँ । बहालवाला न्यायाधीशहरूले समेत न्यायालयका विकृति नियुक्ति देखि शुरु हुने भन्दै सुधारको शुरुवात समेत त्यहीँबाट थाल्न सुझाव दिएको समाचार पढेँ ।

 

यति भैसके पछि त्यो क्षेत्रको आधिकारिक भाषा बोल्न नसक्ने मैले किन लेख्ने भनेर मैले लेखिनँ । एक जना त्यो क्षेत्रको अल्पज्ञानीले जति लेख्नु पर्ने हो त्यति मैले लेखिसकेको छु । प्रधानन्यायाधीशको “न्यायाधीश-पन”को परीक्षा न्यायाधीश जोशीको बचाऊ वा उनीमाथिको सजायँमै हुनेछ भनेर लेखिसकेको छु र मेरो सुनुवाई भएको छैन । न ति न्यायाधीश माथिको आरोप प्रमाणित भएर नक्कली  प्रमाण-पत्रधारी ठहरिए, न तिन माथि सांसदहरूले लगाएको नक्कली प्रमाण-पत्र प्रयोगको आरोप झुठा ठहरियो । महाभियोग लगाउने प्रशस्त आधार थिए | कार्य क्षमता अभाव र खराब चरित्रलाई संसारभर प्रमुख आधार मानिएको छ (UN Basic Principles, Clause 18) नैतिक चरीत्र त कस्तो थियो थाहा भएन कार्यक्षमताको अभाव देखाउने ठाउँ थिए।

 

त्यो विषयमा संस्था स्वतन्त्र र सक्षम छैन भन्ने छर्लङ्ग देखाइयो, कसैले आँखा बन्द गरेर बस्नु अलग कुरा । म्युजिकल चेयर खेल्दा पछाडिबाट स्वाट्ट कुर्सी हटाइए जस्तै जोशीको कुर्सी हटाइयो, उनको नेमप्लेट हटाइयो। उनले न न्याय पाए, न सजायँ।  त्यसैले त्यस्ता कुरा मैले नलेख्नमै भलाई देखेँ । मैले लेखेको भए नेकपा सांसद योगेश भट्टराई र सुरेन्द्र पाण्डेले प्रधानन्याधीशको संसदीय सुनुवाई सकिएपछि ढोका निर प्रधानन्यायाधीश माथि अझै तरवार झुण्डिएको छ भनेर दिएको सन्देश देखि नियुक्ति पछि भएका केही लोकप्रीय फैसलामा समेत आफ्नो विचार लेख्थेँ होला ।

 

२०४८ देखि न्यायालयमा राजनीतिक हस्तक्षेप शुरु भएको, त्यो निरन्तर बढेको भन्ने प्रशस्त उदाहरण छन । त्यही लटका न्यायाधीशहरू संस्थाको प्रमुख हुनेबेला छरपस्ट भएका विवादले त्यो बेला सम्झाएको हो । यसैलाई  समेटेर कसरी न्यायाधीश नियुक्ति न्यायालय माथि राजनीतिक हस्तक्षेपको प्रस्थान-विन्दुको रुपमा रहेको छ भनेर लेख्न खोजेको पूर्व न्यायाधीश डा.शङ्करकुमार श्रेष्ठको माउन्टेन टिभिमा अन्तरवार्ता हेरे पछि मैले लेख्नु पर्ने आवस्यकता नै देखिनँ ।

 

न्यायाधीश राजनैतिक पृष्ठभूमिबाट आउनु हुन्न भन्ने मेरो तर्क छैन । मात्रै राजनैतिक नियतले आउनु हुन्न भन्ने मात्रै हो ।  राष्ट्रसङ्घीय आधारभूत सिद्धान्तले समेत “नियुक्ति हुने” वा “निर्वाचित हुने” भनेर राजनीति स्वीकारेको छ (दफा १२) र राजनीतिक विचारकै भरमा उसलाई अयोग्य मानिनु हुँदैन समेत भन्छ (दफा १०) । तर राजनीति-प्रेरित पूर्वाग्रह भएको मान्छे आयो भने पिडितले न्याय पाउँदैन भन्ने मा म विश्वस्त छु।

 

न्यायालय भनेको अन्याय गर्नेलाई सजायँ दिन र पिडीतलाई न्याय दिन खडा भएको संस्था हो । सत्ताधारीहरूसङ्ग बढि शक्ति हुने  र त्यसको प्रयोग निरीह मान्छे माथि हुने बढि सम्भावना हुने हुँदा कार्यपालिकाकै शक्तिलाई सन्तुलन गर्नु यसको पहिलो दायित्व हो । तर कार्यपालिकाले नै गोजीबाट नाम निकाल्न थाले पछि उसको आधारभूत चरित्र त्यहीँ सकियो भनेर त्यस्ता दिग्गज न्यायवीदले भने पछि मैले यसमा लेख्नु पर्ने आवस्यकता देखिनँ । संबैधानिक परिषद, न्यायपरिषद, कर्मकाण्डी संसदीय सुनुवाई र दलका भातृसङ्गठनरूपी बारलाई स्वतन्त्र न्यायापालिका सिध्याउने चार संरचनाका रूपमा डा. श्रेष्ठले चित्रित गरिसकेपछि  मैले लेखिराख्नु पर्ने आवस्यकता नदेखेको हुँ ।

 

कार्यपालिकाले मनपरि नगरोस भनेर प्रमुख संबैधानिक पदमा नियुक्तिको सिफारिश गर्न  संबैधानिक परिषदको कल्पना गरिएको हो, विपक्षी दलको नेता समेत राखेर । न्यायाधीशको नाम सिफारिश गर्न र न्यायाधीशलाई सजायँ दिन समेत प्रधानन्यायाधीशका अलावा वरिष्ठ न्यायाधीश, पाखे वकील वा बारका प्रतिनिधि र कानूनमन्त्रि समेत रहने न्यायपरिषदको व्यवस्था गरिएको हो । उद्देश्य पवित्र नै हो तर हाम्रा अभ्यास भन्ने हो भने संसारभरका सबै भन्दा चरित्रहीन शासनमा हुने भन्दा खराव भए ।

 

पद्दति असल छ भने त्यसका कर्ताको चरित्र जति खराव भए पनि समाजमा फटाईका मात्रा कमै हुन्छन । जस्तो कि अमेरिकाका राष्ट्रपतिलाई उच्च नैतिक चरित्र भएका व्यक्ति भनेर भन्ने  १० प्रतिशत अमेरिकी हुन पनि मुस्किल छ। तर उनीहरूलाई पद्दतिमा विश्वास भएकाले ट्रम्पकै नेतृत्वमा पनि देश बिग्रँदैन भन्ने झिनो विश्वास उनीहरूमा बाँकि छ । चीनमा खराब चरित्रकै कारण राजनीति र प्रशासनको उपल्लो तहका झण्डै ३-४ प्रतिशत वर्षेनी सजायँका भागीदार बन्छन तर त्यहाँका जनतामा उनीहरूको राज्य प्रणालीले त्यसलाई करेक्शन गर्न सक्छ भन्ने विश्वास छ । तर  हाम्रोमा चरित्र सुधार्न कहाँबाट थाल्ने भन्ने मलाई नै थाहा छैन । त्यसैले थाहा नभएको चिजमा म के उपचार सुझाउन सक्छु र लेख्नु?

 

जसले सार्वजनिक विमर्श निर्माण गर्दछ, जोगाउँछ, अघि बढाउँछ त्यो तप्का अत्यन्त स्वार्थी र बेइमान छ। हरेक लेखाई, बोलाई र गराईको हिसाव किताव गरेर केले कसलाई फाइदा पुग्छ उसलाई थाहा छ । मेरो त्यस्ता हिसाब-किताब विहीन लेखाईको कुनै लक्षित समूह नै भएन । कसलाई के सन्देश संप्रेषण गर्न खोजेको र के परिवर्तन ल्याउन खोजेको भन्ने लेखाजोखा नभएको लेखाईको अर्थ नभएर पनि कतिपय विषयमा लेख्न मन नलागेको हो ।

 

लेख्नु पर्ने त समाजको चरित्र निर्माणका तीन प्रमुख थलोहरूका कमजोरी बारे हो भन्ने थाहा छ । नेपालको सन्दर्भमा  एउटा असल राष्ट्रिय चरित्र परिवार, शिक्षालय र राजनैतिक दलको त्रिकोणीय खाका भित्र बन्छ। हामीले देखेका उच्च चरित्रवान धेरै जसो नेताहरूका बौद्धिक धरातल पनि यि तीनै खाका भित्र तयार भएका छन। कोही परिवारको उत्पादन छन, कोही विश्वविद्यालयका र कसैले पार्टी भित्र भेटेको वातावरणका।

 

अहिलेका हाम्रा परिवार भित्र हेर्ने हो तिनले के सिकाउँदैछन प्रष्ट छ । सङ्घर्ष, बलीदानी र त्याग, समर्पण, सामुहिकता, कमरेडरी-भाव सबैको तिलाञ्जली यस्ता सङ्घर्षबाट आएको पुस्ताले नै आफैँ गरिसक्यो, दोस्रो पुस्ता पर्खिनै परेन । राजधानीका संभ्रान्त स्कूलमा पढाएर छोराछोरीलाई विदेशी सपना देखाउने मात्रै होइन आफूले गरेको सङ्घर्षको कथा ति छोराछोरीमा जानबाटै रोकि राखेको छ यस्ता सङ्घर्षबाट आएकै पुस्ताले । आफ्ना छोराछोरीलाई त्यो आफू हुर्किएको परिवेश र आफूले टेकेको धरातल देखाउन लाज मान्ने र आफ्नो विगत वारे गर्व गर्न छोड्ने नेताले राजनैतिक संस्कार आफ्ना सन्तान सम्म पनि सारेनन् । नत्र हेर्नुस त अत्यन्त आदर्शवान कम्युनिष्ट, काङ्ग्रेस  नेताका कति छोराछोरी राजनीति गर्न इच्छुक छन?

 

कतिपय हामीले आदर्श मानेका नेताका छोरा छोरी अहिले वदनाम भएका छन, दलाल पूँजीवादको औजारको रूपमा रहेका मेनपावर, शैक्षिक परामर्शकेन्द्र र निजी स्कूलका लगानीका साझेदार वा बिचौलिया भएका छन। कतिपय नेताका सन्तानका गतिविधि हेर्दा त्यो परिवार भित्र पनि त्यस्तो दलाल, व्यभिचारी, निजी सम्पत्ति प्रति त्यतो आशक्त सन्तान जन्मिन्छ होला र भनेर हामीले २० वर्ष अघि कल्पना समेत गरेका थिएनौँ।

 

श्रीमान सर्वहाराको अधिनायकत्वको नारा लगाउँदै मुड्कि उठाएर अझै आक्कल-झुक्कल सलाम गरिरन्छन तर श्रीमतिले सरकारी गाडीमा  राखेर आफ्नो सारी धुलाउन सरकारी ड्राइभरलाई माइशप तिर दौडाउदै हुन्छिन, साँझ सहरीया धनाड्यहरूको भोजमा गलाले थेग्न नसक्ने गरी सुनका गहना लगाएर नाचिरहेकि हुन्छिन । जुन नेताले त्यो संस्कार, आदर्श र जीवन शैली दुई दशक समेत टिकाउन सकेनन र  त्यो संस्कार आफ्नो श्रीमान श्रीमती, छोरा छोरी कसैमा सार्न  सकेनन तिनै नेताका हातमा अहिले राष्ट्रिय चरित्र निर्माणको जिम्मेवारी आइलागेको छ।

 

त्यसैले सङ्घर्ष, बलीदानी र त्याग, समर्पण, सामुहिकता, कमरेडरी-भाव आदिको संस्कार अर्को पुस्तामा नसरेको मात्रै होइन कथा समेत नसुनिने अवस्थामा पुगेको छ । परिवार एउटा “एजेण्ट”को रुपमा पूर्ण रुपमा असफल भएको छ ।

 

अव शिक्षालय तिर फर्कियौँ भने त्यस्तै स्थिति देखिन्छ । “असल मान्छे बनाउने” न पाठ्यक्रम छ न सिकाइको उद्देश्य। राम्रो इङ्लिश भएका  र विदेश जान सक्ने इञ्जिनियर, डाक्टर त बनाउछन तर प्राथमिक कक्षा पूरा नगर्दै ठूलो सङ्ख्यामा विद्यार्थीका सपना स्वार्थी भौतिकवादको चास्नीमा लपट्याइदिन्छन,  विद्यालयले । कलेज पुगेपछि आधारभूत चरित्र निर्माण गर्ने त गाह्रो काम हो तर पनि आफ्ना विद्यार्थीको बोली र बानी कस्तो हुँदैछ भनेर सूक्ष्म ढङ्गले हेर्ने कलेज एक दम कम छन।

 

एउटा कलेज छेऊको सानो टुहुरे पसलमा मैले सोधेको एक हजार रुपियाँको चुरोट र अर्को हजारको चेविङ्ग गम बेच्दा रहेछन एकाविहानै, कलेज शुरु हुनु अघि नै। केटा-केटी वरा-वरि रे चुरोट तान्ने। कुनै कुनै समूहका विद्यार्थी अगाडी गफ गर्दै हिड्दा तिनको भाषा सुनेर श्रीमान श्रीमति समेत सँगै हिँड्न सक्दैनन । विश्वविद्यालय त्यस्तै । विश्वविद्यालय, सरकारी कलेजमा हुने अति-राजनीति बारे  नकारात्मक सोच भएकोले  विद्यार्थीको एउटा समूह त्यहाँ जाँदैन, भलै ५-७ वर्षमा त्यसमा ठूलै परिवर्तन भैसकेको छ ।

 

शैक्षिक थलोहरू अव नैतिकता र मानवता सहितको ज्ञान वाँड्ने भन्दा छिटो बिक्री हुने योग्यता बाँड्नेमा केन्द्रित छन, आखिर बजार हो, उत्पादन बिकाऊ नभए तिनको पसलै सुक्छ ।

 

चरित्र निर्माणको परिवार र शिक्षालय भन्दा महत्वपूर्ण थलो, नेपालको सन्दर्भमा, राजनैतिक दल हुन। पश्चिमा समाजमा भन्दा हाम्रोमा दलको भूमिका समग्र समाजको चरित्र निर्माणमा बढि महत्वपूर्ण हुने एउटा  प्रमुख कारण छ । तिनका दलहरू संसदीय वा विधायिकी अभ्यासको क्रममा जन्मेका हुन हाम्रोमा होइनन । हाम्रोमा सवै परिवर्तन एउटा नेता वा नेताको समूहका दिमागका उपज हुन, जुन दलमार्फत कार्यान्वयन भए ।

 

एउटा काँग्रेस कार्यकर्ता कस्तो हुनु पर्छ, एउटा कम्युनिष्ट कार्यकर्ता कस्तो हुनु पर्छ भनेर दल भित्रको प्रशिक्षण वा अभ्यासले सिकायो। उसका बानी-व्यहोरा, चालचलन, बोल्ने शैली सबै त्यही अनुरुप ढाल्यो । समाजले हेर्दै थाहा पाउँथ्यो यो काँग्रेस, यो एमाले, यो माओवादी, यो पञ्च आदि।  यो समग्र परम्परा सामुहिक चरित्र निर्माणको थलो मात्रै नभएर प्रकृया समेत थियो ।

अहिले लुवाई-खुवाई,लवज, सङ्गत, जीवन शैली केही हेरेर को कुन पार्टीको कार्यकर्ता वा नेता छुट्याउन गाह्रो छ ।  यसको अर्थ सबै दलका नेता र कार्यकर्ता आधारभूत रूपमा उस्तै भैसके। देउवा र प्रचण्डको वीचमा कुनै पनि मापदण्ड बनाउनुहोस ्त्यसले ति दुई अलग बर्गका नेता भनेर छुट्टिन्न । त्यस्तै ओली र कमल थापाको।

 

अव कार्यकर्ता र नेताको सम्बन्ध प्रेरित र प्रेरकको रहेन । चरित्र, आदर्श, जीवन शैली एकबाट अर्कोमा सर्ने चिज रहेनन । अव  राजनीतिक रणनीति, खुराफाती र नाफा-घाटाका हिस्सेदारको रुपमा उनीहरूको सम्वन्ध परिभाषित हुने दिन आए । सामुहिक चरित्र निर्माणको थलोको रुपमा दल नरहे पछि दल गौण र त्यसका रणनीतिकार प्रधान भएर निस्किए । जुन दलले समाजको सामन्ती  हाइरार्कीका विरुद्ध सङ्घर्ष गऱ्यो त्यो दल अहिले त्यही हाइरार्कीको सबैभन्दा ठूलो सिकार भएको छ । नेताको ओछ्यान सम्म पहूँच भएका पाँच नेता र तीन व्यापारी उपल्लो तहमा छन । सयनकक्ष छेऊको बैठक कक्षसम्म पहूँच भएका अर्को १०-१५ जनाको समूह छ, तल्लो तल्लाको बैठक कोठा सम्म पहूँच भएकाको समूह अर्कै छ र बाहिरै कालो चिया पिएर फर्किनेको  समूह अर्कै छ ।

 

अहिले हामीले देखेका नेतामा केही पूर्व पञ्च बाहेक सबैको राजनैतिक हैसियत उनीहरूको “करि्स्मा”ले होइन सामुहिक सङ्घर्षका सफलताले बढाएको हो । झलानाथ खनाल, माधव नेपाल, सिपी मैनाली, केपी ओली कोही चमत्कारिक नेतृत्व क्षमता प्रदर्शनमार्फत आएका होइनन । कसै कसैले प्रचण्डलाई करिस्मेटिक भनेपनि उनको “बिलक्षण प्रतिभा” होइन “समन्वयकारी भूमिका”ले माओवादी आन्दोलनले उचाई पाएको हो भन्नेमा मलाई भ्रम छैन । तर अहिले केही नेताहरूले आफूमा दैवी शक्तिनै प्राप्त भए झैँ संसारलाई नियन्त्रण निर्देशित गर्ने एक मात्र अधिकारी आफू हुँ भन्ने सन्देश प्रवाह गरि रहेका छन ।

 

नेपाली काङ्ग्रेस र पूर्व पञ्चहरूको दलमा नहोला तर सामुहिकतामा विश्वास गर्ने दल भित्र यस्तो प्रवृत्ति बढ्नु मुलुकको स्वास्थ्यका लागि हानीकारक छ भनेर एक दुई पल्ट लेखेँ तर जसलाई त्यो सन्देश दिन खोजेको उनीकोमा तीन-चार पल्ट चाल्नोले छानेको मिहीन सन्देश मात्रै पुग्ने रैछन । यस्तो बुझी बुझी मैले किन लेख्ने भनेर उनीहरूका बारे पनि मैले लेखिनँ ।

 

अहिले किन लेख्छु त? मलाइ नै थाहा छैन । तर हरेक घटनामा म जे लेख्छु त्यो मेरो एक काल खण्डको मेरो विचारको इतिहास हो । मैले पूर्वाग्रही भएर कसैलाई नाफा-घाटा पुर्याउने, होच्याउने-उचाल्ने, तथ्य बङ्ग्याउने-सोझ्याउने गरेको रहेछु भने त्यसले मलाई भविष्यमा पश्चाताप गर्ने विषयवस्तु  दिने छ ।


  • 48
    Shares
  •  
    48
    Shares
  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia