MENU
रङ्गीन दुनिया
 : 1,697 views
  Nov 12, 2017

 

‘कृपया ममाथि सहानुभूति नपोख’ उसको शब्द तीरकै रुपमा मेरो मन भित्र रोपिएको अनुभव भयो मलाई । दुव्लो पाताले अग्लो शरिर, सुलुत्त परेको लाम्चो अनुहारमा गजबको दृढता (अथवा एक किसिमको कठोरता), उमेर ४० वर्ष (यो उसले आफ्नो प्रोफाइलमा उल्लेख गरेकी थिइ) वास्तवमा मैले उसलाई कुर्सी अगाडि पुगेपछि आसनका लागि उसको हात समाउन प्रयास मात्र गरेको थिए, तर मेरो स्पर्श पाउनासाथ उसले मेरो हात झट्कारेर वडो रुखो शैलीमा त्यो भनेकी थिइ ।

 

हुन त मैले यस अघि पनि औपचारिकतावस अरुलाई आसन देखाउदै पहिला वस्ने अवसर दिएको थिए । आज भने के भयो ? किन मेरो शिष्टता उसको शारिरिक कमजोरीका कारण भएको उसलाई भान भयो ? के वास्तवमा मैले आफ्नो शिष्टता प्रदर्शन गर्दा त्यो सिमालाई नाघेको हो ? अथवा हैन ? की हो ? म आफै दुविधामा पर्दै थिए । उसको अर्काे भनाइ आयो–मेरो दृष्टिविहिनताले मलाई कहिल्यै कमजोर अनुभव हुन दिएको छैन । अनी जव म कमजोर छैन भने किन अरुको सहानुभूती स्विकार गरुँ ? मभन्दा धेरै कमजोर मानिस छन् यस दुनियामा मेरो विचारमा म ति हजारौँ, लाखौँभन्दा सक्षम छु ।

 

उ मेरो अनलाईन् साथी । मलाई उ दृष्टिविहिन भएको थाहा थियो । उसले आफ्नो परिचय विवरणमा त्यो सबै कुरा खुलाएकी थिइ । पहिलो पटक सामान्य परिचयपछि उसले दिनहू सन्देश पठाउथी । त्यस्ता सन्देश उसको दैनिकी देखि लिएर अन्य विषयसम्मका हुन्थे । विवाहित र एक १४ वर्षीय छोरीकी आमा उसको आत्मविश्वास मैले उसको लेखाइमा नै अनुभव गरि सकेको थिए । धेरै दिनको अनलाईन् कुराकानीपछि उ आज कार्य विशेषले नजिकैको वजार आउने भनेपछि उसँग सल्लाह गरेर मैले पनि समय मिलाएको थिए । मलाई धेरै वेर कुर्न परेन र एउटा छडी र तालिम प्राप्त सानो कुकुरसँग उ आइ पुगेकी थिइ ।

 

मैले आफ्नो मनसाय त्यसो नभएको र सामान्य शिष्टाचारवस मात्र त्यसो गर्न पुगेको वताएपछि उ अली शान्त देखिएकी थिइ ।

 

‘त्यसो भए ठीकै छ । मैले तिमि अरु जस्ते नभएको लख काटेकी थिए र मलाई विश्वास छ तिमि त्यस्तो छैनौँ पनि ।’

 

‘तर सहानुभूती र सहयोगमा के खरावी छ र ?’

 

मेरो प्रश्नको उत्तर दिनु पूर्व उ फिस्स हासी आँखाका परेलालाई अनौठो रुपमा चलायमान पार्दै भनी–अचेल देखाइने सहानभूतीमा त्यस शब्दको अर्थभन्दा दया हुन्छ । र जहाँसम्म सहयोगको कुरा छ वास्तविक सहयोग गर्ने कुरा त एका देसको कथा भइ सक्यो । अचेल सहयोगमा स्वार्थ हुन्छ । भन्नलाई त सहयोग गरेको भन्छन् तर त्यो सहयोगकर्ताले त्यसलाई उपकारका रुपमा लिएका हुन्छन् । मलाई कसैको उपकार चाहिएको छैन । अनी सहयोगको वदला केही अपेक्षा गर्नेहरूको पनि कमी छैन । त्यो त व्यापार भयो नी हैन र ?

 

‘तर जुन रुपमा भए पनि सहयोग त तिमिले लिएकै छौँ नी होइन र मानिसको नभए मानिसले नै तालिम दिएको यो कुकुरको सहयोग त लिन पर्छ होला नी !’ मैले स्पष्ट रुपमा गरेको कुरा सुनेर उ केही वेर गम्भिर भइ । त्यसक्रममा उसका अनुहारमा विभिन्न भावहरू ओहोर दोहोर गरेको मैले स्पष्ट देखे । अन्त्यमा आफूलाई सहज बनाउदै उसले भनी–हो, मैले कुकुरको सहयोग लिएकी छु र लिनु पर्छ । तर यसले सहयोग गर्ने क्रममा सहानभूती देखाउदैन । सहयोगलाई सहयोगकै रुपमा अथवा आफ्नो कत्र्यव्यका रुपमा गर्छ ।

 

‘र जहाँसम्म सहयोगको कुरा छ त्यो त सबैले कुनै न कुनै रुपमा लिएकै हुन्छन् । अनी शारिरिक रुपमा केही असामान्य भएकाहरूले सहयोग लिन पर्दा किन दयाका पात्र हुनु पर्ने ?’

 

सहानभूतीले वास्तवमा आफ्नो अर्थ गुमाएको उसको भनाइ थियो । सहानभूती व्यक्त गर्नु भनेको एक किसिमले आफूलाई त्यस व्यक्तिभन्दा बलियो अथवा सक्षम सम्झिनु, अथवा अरुलाई कमजोर सम्झिनु भएको उसको ठम्याइ थियो ।

 

‘मैले विचरा भन्ने शब्द जीवनमा धेरै सुन्दै आएकी छु । र त्यो शब्दसँग मलाई अचेल घृणा लाग्न छाडेको छ । किनभने त्यो ‘विचरा’ शब्दसँग खेल्दै म हुर्किएकी हूँ । अरुले जुन रुपमा भने पनि मैले उनीहरूको अर्थका रुपमा त्यस शब्दलाई स्विकार गरिन । तर यसो भन्दैमा मलाई त्यो शब्द सुन्दा नराम्रो लाग्दैन भन्ने पनि होइन ।’

 

उसले आफ्नो काखमा वुरुक्क उफ्रदै आएको कुकुरलाई विस्तारै मुसार्दै भन्न थाली–मेरो दृष्टिविहिनतालाई लिएर मैले धेरै सुन्दै आएकी छु । तिमिलाई पनि लाग्दो हो मेरो अगाडि अन्धकार मात्र छ, अथवा तिमिलाई जिज्ञासा लाग्दो हो मैले वास्तवमा कस्तो देख्छु । तिमिले आँखा चिम्लदा जस्तो नै देख्छु की अर्कै । मैले तिमिलाई मात्र भन्न खोजेको होइन यस्ता जिज्ञासा मेरा सामु कुनै न कुनै मुखबाट कुनै न कुनै रुपमा धेरै पटक तेर्सिदै आएका छन् ।’

 

‘हो तिमिले देख्ने रातो रङ्ग र मैले सुनेको भरमा मनको पर्दामा देख्ने रातोमा फरक हुन सक्छ । तर देख्न त मैले पनि मनको पर्दामा विभिन्न रङ्ग देख्ने गर्छु । वाहिरको दुनियाको रङ्गसम्म मेरो पहुँच छैन तर मेरो मनको दुनिया तिम्रो जस्तै अथवा तिम्रोभन्दा पनि रङ्गीन छ । मैले पनि सुनेका भरमा रङ्गहरूको कल्पना गर्छु । मेरो कल्पनाको संसार तिम्रो यथार्थको संसारभन्दा वढी रङ्गीन छ की तिमिलाई के थाहा ?’
कुराकानीका क्रममा उ एक्कासी रुकी र ‘म कफी लिएर आउछु है भन्दै हिडी । नजिकैको कफी पसलमा गएर उसल सामान्य मानिस सरह कफी लिएर आइ । यहाँ भने उसलाई कुकुरकोभन्दा आफ्नो हातमा रहेको छडीको सहयोग वढी चाहिएको थियो ।

 

‘मानिससँग केही भयो भने उ अगाडि सोँच्नुभन्दा पहिले आफूसँग भएको त्यो ‘केही’मा निमेसभरीका लागि भए पनि अल्झन पुग्छ । तर केही नहुनेका लागि सोँच पनि असिमित छ । त्यसैले जति स्वतन्त्रता पूर्वक म कल्पना गर्न सक्छु तिमी सक्दैनौँ । त्यसैले म कल्पना जति रमाउन सक्छु शायद् तिमी सक्दैनौँ । यसमा म गलत हुन सक्छु । तर मेरो वुझाइ यही हो ।’

 

मैले पनि सुनेको भरमा आकासका ताराहरू, सूर्य, चन्द्रका बारेमा कल्पना गर्छु । कसैले वनाएको चित्र अथवा आकारलाई छामेर आफैले मन भित्र खाका तयार गर्छु । मैले नदेखे पनि सुने अथवा स्पर्शको भरमा वाहिरी संंसारको कल्पना गर्न सक्छु तर मेरो भित्री संसारको त छेँउसम्म पनि अरु पुग्न सक्दैनन् ।’
त्यसपछि हामीबीच अरु सामान्य छलफल मात्र भयो । उसले आफ्ना परिवारका वारेमा वताइ र मेरा वारेमा पनि जिज्ञासा राखी ।

 

केही समयपछि ‘ल मेरो वस आउने वेला भयो है’ भन्दै उ उठी र मसँग फेरी भेटौला भन्दै हात मिलाएर हिडी ।

 

म उसलाई हेर्दे थिए । उसको हिडाइमा सावधानी त थियो तर त्यसले उ भित्रको आत्मविश्वासलाई असर पार्न सकेको थिएन ।

Comments

NIC Asia