MENU
सम्झनाले सताउछ
 : 1,340 views
  Dec 10, 2017

 

उसले ‘हेल्लो’ भन्नु र मैले उ तिर फर्केर हेर्नु लगभग एकै पटक भएछ । म आफ्नो धुनमा रहेको मानिस अनायास टाउको घुमाउदा उसलाई सामुन्य पाएको थिए, अनी त्यतिनै वेला उसले मेरो ध्यान आकृष्ट गर्नका लागि होला ‘हेल्लो’ भनेर वोलाएकी थिइ ।

 

उसको पोषाकमा आज पनि केही फरक पाइन मैले । उही निलो जिन्स माथि अगाडि ठूला ठूला टाँक भएको घिउ रङ्गको स्वेटर, टाउकोमा खरानी रङ्गको ऊनी स्कार्फ र हातमा गुलाफी रङ्गको ठूलो पर्स ।

 

लगभग तीन चार महिनापछि भेट भएकी थिइ हेलेन आज । म त्यो सपिङ मलमा दिउसो मात्र जाने गर्थे हिड्नका लागि उ चाहि पहिलेको नियम अनुसार नै विहान आउने गर्थी त्यसैले भेटघाटको संयोग जुरेको थिएन त्यस अघि । आज भने म विहानै आइ पुगेको थिए मलमा । अनी मलाई देखेर उ आएकी रहिछ ।

 

‘अनी के छ त हाल खबर ? कता छौ अचेल तिमी ? नदेखेको धेरै भयो । मैले त कतै ‘मुभ’ भयौकी भनेर सोँचेकी !

 

मैले उसको प्रश्नमाथी ध्यान नदिइ वरु उल्टै सोधे,‘के छ तिम्रो हाल खबर ? कता छौ ? के गर्दैै छौँ ?

 

‘हाल खबर के हुनु नी यी यही हो ।’ उसले मुस्कुराउदै जवाफ दिइ–आफ्नो पुरानो रुटीनमा फर्केकी छु । घुम्न आउछु जान्छु । अनी दिनभरी चाही घरमा एक्लै हुन्छु । अचेल भने चर्चको काममा सघाउन थालेकी छु ।

 

आफूलाई व्यस्त राख्न अनेकौँ उपाय गरेपछि अन्त्यमा चर्चको काममा लागेको वताउदै उसले भनी–नियमित कार्यक्रम हुदा आफू जस्तै अरु एकल महिलासँग पनि भेट हुन्छ । त्यसैले केहीलाई साथी समेत वनाएकी छु ।

 

उसको श्रीमान नोर्मनको मृत्यु भएपछि उसँग यसअघि एक पटक मात्र भेट भएको थियो । त्यतिवेला र अहिले उसमा मैले खासै अन्तर देखिन । आफ्नो स्याहार राम्ररी गर्न जानेकी अथवा रुचाउने उ पहिले जस्तै श्रृङ्गारमा थिइ, कपडा पनि उस्तै किसिमले चिटिक्क पारेर लगाएकी । तर अनुहारमा भने त्यो रौनकता थिएन । वेला वेलामा ठट्टा गर्दै उसलाई जिस्क्याउने नोर्मनमाथि नक्कली रिस देखाउदै आएको ति मायालाग्दा क्षणहरू अब सम्झनामा मात्र सिमित भएका थिए । सम्भवतः तिनै क्षणहरूले उसलाई सताइ रहेको थिए । मुस्कानमा पनि एक किसिमको फिक्कापन थियो उसको ।

 

‘के गर्ने सबै सपना जस्तै रहेछ ।’ उसले भनी–तिमिलाई थाहा छ कतिपय कुरा हामीले वेहोसीमा वोल्दा रहेछौँ । मेरो मतलव हामी निदाएको अवस्थामा जस्तै वोल्दा रहेछौँ । अरुका लागि भनिने सहानभूतीका शब्द जव आफ्नै लागि रोज्नु पर्ने अवस्था आउदो रहेछ अनी वल्ल ति शब्दहरूका अर्थ थाहा पाइदो रहेछ । नत्र हामीले अरु वेला वोल्ने शब्दहरूका अर्थलाई आत्मसात गरेका हुदैनौँ अथवा आत्मसात गर्न पर्दैन ।

 

‘जीवन एउटा सपना हो, अथवा मरी लाने केही छैन, भन्ने कुरा हामी कति सहज रुपमा भन्ने गर्छौँ, तर यसो भन्दा त्यसको वास्तविक अर्थलाई भने हामी आत्मसात गर्ने प्रयास गर्दैनौँ ।’ उ धारा प्रवाह वोल्दै थिइ–तर जब आफूलाई पर्छ अनी ति शब्दहरूको यथार्थताले मन मस्तिष्कमा हिर्काउन थाल्छन् । त्यो यथार्थलाई आत्मसात गर्न त्यति सहज हुदैन रहेछ ।

 

उसको कुरा सुनेर म सहमतिमा टाउको हल्लाउन वाहेक अरु केही गर्न सकिरहेको थिइन । तर उ भने त्यस दिन वोल्ने अठोट गरेरै आए जस्तो थिइ भन्दै गइ–आज म एक्लो छु र पनि छैन । उसको (नोर्मन)को उपस्थितिको आभास मलाई पलप्रतिपल भइ रहेको हुन्छ । एउटा अचम्मको कुरा अनुभव गरेकी छु मैले थाहा छ, मान्छे एक्लो हुनलाई एक्लीनु पर्दैन रहेछ, त्यो त आफूले गर्ने अनुभवमा भर पर्ने कुरा पो रहेछ ।

 

त्यति भन्दासम्म आफ्नो पतिको सम्झनाले गर्दा रशाइ सकेका आँखाहरूलाई निलो रङ्गको सानो रुमाल जस्तो कपडाले पुछ्दै उसले अगाडि भनी,‘आज म अरुका लागि एक्लीएकी छु । तिमिले मलाई एक्लो देखी रहेका छौ होला, तर मैले जहिले पनि उसलाई आफूसँगै भएको अनुभव गरेकी छु । अचम्म लाग्ला तिमिलाई मैले कतिपटक त कुरा गर्ने प्रयास पनि गरे उसँग । त्यस्तै कतिपय मानिसहरू सँगै रहदा एक्लो भएको मैले थाहा पाएकी छु ।’

 

तर कहिलेकाँही नोर्मनको सम्झनाले पनि सताउने गरेको उसले बताइ । ‘के गर्ने आफूसँग सशरिर नभएको मान्छेको सम्झना पनि पिडादायक हुने रहेछ कहिलेकाही त । त्यसैले कहिले काही त घरमा भएका उसका तस्विर पनि लुकाएर राख्छु ।’

 

उसले आफू अचेल आफ्नो पतिको कामलाई अगाडि बढाउन तर्फ लागेको वताइ ।

 

‘उ परोपकारको काममा पनि संलग्न थियो, निकै गोप्य रुपमा । परोपकार गर्दा प्रचार गर्न नहुने तथ्यमा विश्वास राख्थ्यो उ । त्यसैले उसका नजिकका साथीहरूलाई यस वारेमा थाहा थिएन ।’ उ गर्वकासाथ भन्दै गइ–उसको त्यही कामलाई मैले निरन्तरता दिन खोजेकी छु । तर खै तिमिलाई पनि यो कुरा भन्न हुने थियो की थिएन कुन्नी !

 

त्यति भनेर उ ‘फेरी भेटौँला’ भन्दै हिडी । मैले उसलाई परसम्म हेरी रहे । केही पर पुगेपछि उसले फनक्क पछाडी फर्केर हेरी । अनी मैले नोर्मन अस्पतालमा भर्ना भएको बेला उसले भनेको सम्झे, ‘पहिला हामी मर्निङ वाकमा आउदा मैले कहिल्यै पनि उसलाई पछाडी फर्केर हेरिन । अचेल एक्लै हिड्दा भने वेला वेलामा आफसेआफ पछाडी फर्केर हेर्न थालेकी छु । खै के भएको हो ?’

Comments

NIC Asia