MENU
कमरेडको रातो फित्ता
 : [views]
  Jul 28, 2018

-कृष्णशरण ढुंगाना

 

सायद ३४-३५ बर्ष पहिलेको कुरा हो, प्रत्येक जसो दशैमा काठमाडौँबासी बिद्यार्थीहरुले पार्टीका कमरेडहरुलाई मासु खुवाउने चलन थियो । कलेजमा यस बिषयमा छलफल भयो । त्यसैअनुरुप बिशाल दाजुले पनि आफ्नु आदरणीय कमरेडलाई मासुभात खुवाउने सुअवसर पाउँने हुनुभयो । सो शौभाग्यशाली सुचिमा आफ्नो नाम दर्ता गर्न पाउँदा आफुलाई धन्य ठान्नु भयो र आफुलाई गौरवान्वित मान्दै यति रफ्तारमा हिड्नुभएछ की चाबहिल स्थित घर आइपुगेको पत्तै भएँन । वहाँ त सिधै गौरीघाट जाने ओरालोतिर पो पुगिसक्नु भएछ । परिचित साथीलाई भेट्दा पो झसंङ्ग भएर फर्कनु भयो ।

 

 

बेलुका खाना खाने बेलामा परिवारलाई आफ्ना केहि जिल्ला बाहिरका साथीभाई जो दशैमा बसको टिकट नपाएर घर जान नसकेका मध्येका केहीलाई खान बोलाउने कुरा राख्नु भयो । वहाका एकदमै धार्मिक बृद्ध बाबु आमा हुनुहुन्थ्यो, जो पाहुनाहरुलाई सेवा गर्न पाउँदा खुसि मान्नुहुन्थ्यो । त्यसमाथि पनि विचरा दशैमा आफ्नु घर जान नपाएर दुखित महानुभावलाई दशै जस्तो महान चाडमा खुवाउँन पाउनुलाई अहोभाग्य नै ठान्नु भयो । दाजुको आफ्नै सिद्धान्तसँग मेलखाने जीवनसंगिनी पनि बहुतै खुसी हुनु कुनै नौलो कुरो थिएन ।

 

 

भोलिको दिन त कमरेडहरु खाना खान आउने दिन भएकाले भाउजुले कति जना र कुन समयमा आउने हुन भनेर सोद्धा बिशाल दाजु झस्किनु भएछ । नत विशाल दाजुलाई खाना खान आउँने कमरेडको नाम थाहा छ, न आउँने कमरेडलाई बिशाल दाजुको घर र ठेगाना थाहा थियो । न त अहिले जस्तो फोनको सुबिधा थियो, दाईलाई प¥यो वित्यास, रात भरिको निन्द्रा पनि चट ।

 

 

बिहान झिसमिसेमा नै तरकारी लिन जाने मिनिबस चढेर दाजु बागबजार पुग्नु भयो । कामरेड भित्र घुरी रहेको आवाज सुनिन्छ र एक मन त लाग्यो यसो बंगलीको पसलको एक कप चिया र एक खिल्ली याक चुरोट भ्याएर आउ त्यतिञ्जेलमा त कमरेड उठिहाल्नु होला । तर, घरको तयारीमा बिलम्ब हुने देखेर ढोका ढकढकाउँनु भयो । कमरेडले आँखा मिच्दै ढोका खोल्नु भयो । अभिबादन आदानप्रदानपछी आउनुपर्नाको कारणबारे बिशाल दाइले एकै सासमा प्रस्ट्याउनु भएछ ।

 

 

ओहो कमरेड तपाइँ आएर सारै राम्रो गर्नुभयो, म तपाईलाई खबर पठाउँनेवाला नै थिए । तपाइकोमा दुइजना कमरेड पठाउँने सोच बनाएकोमा एक जना बिशेष कामले जान नसक्ने हुनुभयो, एक जना कमरेड चाबहिल चोकमा ११ बजे आउँनु हुने छ । अनि कमरेड मैले वहाँलाई कसरी चिन्ने, बिशाल दाइले जिज्ञासा राख्नुभयो । हेर्नुस कमरेड बिबिध कारणले गर्दा हामीले वहाको परिचय दिन मिल्दैन तर, बिशेष चिनो वहांको देब्रे हातमा रातो फित्ता बाधिएको देख्नुहुनेछ, सुरक्षालाई बिशेष ख्याल गर्नु होला । कमरेडले भाबुक मुद्रामा जवाफ दिनु भयो । अनि कमरेड तपाई पनि संगै भैदिए सारै खुसी हुने थिए, बिशाल दाइले जबरर्जिस्त दाँत देखाए । यसपाली सम्भब होला जस्तो छैन कमरेड कुनै दिन अबश्य आउँला । सकेसम्म आउनुपर्ला कमरेड भन्दै अमिलो खाएकोजस्तो मुख लाउदै अभिबादनसहित बाहिर निक्लनु भयो बिशाल दाजु ।

 

 

एकजना मात्रै कमरेडलाई खुवाउने कुराले त्यति खुसि हुनुहुन्नथ्यो बिशाल दाजु । धेरै कमरेडलाई खुवाउने इच्छा थियो, वहाँमा । घरमा पनि एकजना मात्र आउने कुराले परिवारजनलाई पनि नमिठो नै बनायो । एकैजनालाई भएपनि धेरै परिकार खुवाउने तयारी भयो । भाउजु आत्तिनु भयो । लौ ११ बज्न मात्र १० मिनेट बाँकी छ । चोकमा जानु परयो भन्या । ठिक छ, म दस मिनेटमा पुगी हाल्छु तर, पाहुनाको बारेमा धेरै सोधी खोजी नगर्नुहोला । अनि अरुलाई पनि नभन्नुहोला किनकी यिनीहरु त्यति राम्रो मान्दैनन, सबै परिवारले सुन्नेगरि भन्दै दाजु चोकतिर दगुर्नु भयो ।

 

 

चोकमा पुगेर चारैतिर नियाल्नु भयो र वहाको कल्पनाको मानिस देखिदैन त कतै र फेरी दोहोर्याएर आँखा डुलाउदा एक जना पातलो सुकुटे, झुस्स दारीपालेको व्यक्ति घरि दाया हातको सर्टको बाहुलामाथि घरि तल गर्दै गरेको र हातमा सानो रातो फित्ता पनि देखियो र बिशाल दाइलाई ठुलै चिठ्ठा परेको जस्तो गरेर खुशी महसुस भयो । कमरेडलाई देख्दा, गएर ग्वाम्लांग अंगालो हालौ झैँ लाग्याथ्यो तर, सुरक्षाको दृष्टिले नजिकै गएर सानो स्वरमा कसैले नबुझ्ने गरि अभिबादान कमरेड मात्रै भन्न पाइन्थ्यो र सोही भन्नुभयो । अनि वहा अघि अघि कमरेड पछि पछि ।

 

 

घर पुगेर सामान्य कुराकानीपछि खाना खाने प्रक्रिया शुरु हुन्छ । पहिला पाहुनालाई खुवाएपछी मात्र परिवारले खाने परम्पराअनुसार कमरेडलाई भान्छा कोठामा स्वागत गरियो । भाउजुले सबै तयारी मिलाउनु भयो र एक कुर्शीमा कमरेड अर्कोमा गफमा साथ दिन बिशाल दाजु र खाना एक जनाको लागि मात्र आयो, कमरेडले दुवैसंगै खाने आग्रह गरे । तर, बिशाल दाजुपछी अरु पनि पाहुनाहरुलाई स्वागत गरेपछी मात्र खाने भए र करिब २० मिनेट जति भान्सा कोठा सुनसान, खालि कमरेडले कचौराहरु उठाउँदा र राख्दाको मात्र आवाज आउथ्यो र कमरेडले खुब स्वादसंग खाएको दृश्यले बिशाल दाजु पुलकित हुनुहुन्थ्यो । भाउजु खाली भएका थाल कचौरा भर्नमा नै व्यस्त र करिब दुई राउण्ड जति थाल कचौरा रित्याएपछी मात्र कमरेड बोल्नु भयो । एउटा कुरा भनौ कमरेड, बिशाल दाजु खिसिक्क हास्दै स्वीकृति दिनुहुन्छ ।

 

 

तपाई सारै भाग्यमानी किनकी यती स्वादिलो खाना बनाउनु हुने भाउँजु पाउनु भएको छ । आफुले त घरको खानाको स्वाद झन्डै बिर्से भने नि भो । तर, मेरो घरमा पनि यति स्वादिलो खाना चै मैले अहिलेसम्म खाएको छैन । यी र यस्तै कुराहरु बीच कमरेडले पुन २-३ पटक खानेकुरा थप्नु भयो होला । भाउजु निरन्तर थप्न खोज्दै हुनुहुन्छ, अब चै कमरेडले भाउजुलाई धन्यवादसहित खाना पुगेको संकेत गरे । खाना लगत्तै कमरेड आराम नगरी हिड्न तयार भए, बिशाल दाजु चोकसम्म पुर्याउन जान खोज्दै हुनुहुन्थ्यो, कमरेडले आफु अर्कै बाटो जाने भन्दै दशैको शुभकामना दिदै बिदा भए । बिशाल दाजु निकै ठुलो काम सम्पन्न भए जस्तो गरेर दिउसोभर नै अति नै खुसी देखिनु हुन्थ्यो ।

 

 

राति सुत्नु अगाडि बुढाबुढी बिच कमरेडका लवाई खवाई, लुगा, अनुहारका बारेमा सामान्य कुराकानी भए दुवै जना यस्ता योद्धाहरुले नै देशमा परिवर्तन ल्याउने अनि यो राष्ट्र समृद्ध बनाउने हुन् भन्ने कुरामा विश्वस्त देखिन्थे । सो महान कार्यमा आफ्नो पनि सानो योगदान नै सम्झिएर हर्षित थिए । यस्ता त्यागी अनि संघर्षशील नौजवानप्रति गर्व पनि गरे । एउटा कुरा भोलिको लागि मासुको व्यवस्था गर्नुपर्ने भयो, भाउजुको अनपेक्षित कुराले बिशाल दाजु आत्तिए । हैन किन र झन् यसपली त गत सालको भन्दा पनि निकै बढीको खसी पो थियो ? सायद कमरेडले छ महिनाको लागि सामलको जोहो गरे, आधिभन्दा बढी त एक्लैले सिध्याए, यस्तो त म पहिलोपटक देख्दै छु, भाउजुले खित्का छोड्दै भन्नु भयो ।

 

 

एवमरितले धेरै बर्षसम्म यसले निरन्तरता पायो । पात्र फेरिने तर प्रवृति उही हुन्थ्यो करिब २०४६ सालसम्म र दशैँ मात्र नभएर तिहार, माघे संक्रान्ति, चैत्र दशैँ, जनै पुर्णिमा जस्ता चाडहरुमा पनि पाहुना स्वागत गर्थे । काठमाडौँबासी बिद्यार्थीहरुले र नेवार समुदायको गंठेमंगल र गाइजात्रा मनाउने निम्तालु कमरेडहरुले त छोरी चेलीनै भगाएर पछी घरज्वाई बसी घरभाडा र खानसमेत निशुल्क व्यवस्था मिलाएका उदाहरण पनि छन ।

 

 

दिन बित्दै गए र समय परिबर्तन हुदै गए र बिशाल दाइ काठमाडौँको रैथाने, चाबहिलमा आफ्नै घर काँठमा प्रसस्त जग्गा जमीन, आफु श्रीमान श्रीमतीनै जागिरे । तर, छोराहरुलाई विदेश पढ्न पठाउन चै एक दुइ रोपनी पैतृक सम्पति बेच्नु पर्यो । केहि वैंकबाट ऋण पनि लिनु पर्यो । हाल दुइ बच्चा बिदेशमा, सेवानिवृत बुढा बुढी मात्र घरमा र सारै सुनसान पारिवारिक बाताबरण । पेन्सनको केहि भाग बैंकको ब्याजमा जान्छ, बचेकोले जेनतेन बिहान बेलुका चलेकै छ । सिभिल अस्पताल नहुँदोहो त उपचारमा चै निकै समस्या हुने थियो । दुबैलाई विभिन्न प्रकारका बुढेउली रोगले असर देखाउन शुरु गरिसकेको छ । निन्द्रा छिटो लाग्दैन, खानापछी टेलिभिजन हेर्दै निन्द्रा कुर्नु दिन चर्या नै भएको छ ।

 

 

एक दिन बेलुका खान खादै गर्दा दाजुले टेलिभिजनमा उहिले दशैमा मासुभात खुवाएका एकजना कमरेडको सम्पत्ति विवरण देखेर सारै नै अचम्मित हुनुभयो । २०४६ पछी कमरेड, नेतामा परिणत भए र देश निर्माणवाला उद्योगमा लागे र न जागिर न उद्योग काठमाडौँमा महल छ, सुन उत्तिकै छ, जग्गा जमिन, बैंक ब्यालेन्स र कमरेडले बाहिरै यतिका देखाउन सके भने भित्र कति होला र वहाँले सुनेअनुसार प्रायः जसो नेताका बाल बच्चा विदेशमै अध्ययन गर्छन सहिद परिवारको कोटामा ।

 

 

संयोगबश केहि समयपछी उनैको भाषण पनि देखियो र उनि उत्तेजित हुदै भन्दै थिए, जसले जे सुकै भनुन हामी यो देशलाई समृद्ध बनाएरै छोडछौ । बिचरा बिशालदाइ चस्मा पुछ्दै टेलिभिजनमा दोहोर्याई दोहोर्याई हेर्दै थिए । साँच्चै कमरेड त उनै जस्तो पो लाग्छ त र भाउजुलाई पनि उस्तै लाग्यो । दुवै जनाले पुरानो दशैको दिनको याद गरे, विकशित अनि समृद्ध नेपालका सम्वाहकको आफ्नै जीवनको परिवर्तन, बिडम्वना यो देशको ।

 

 

Comments

NIC Asia