MENU
पोखराको नालीबेली
 : 1,130 views
-सुनील उलक   Aug 25, 2018

 

 

बि.सं. ११८५ को आसपासमा आएको भूकम्प, १३१२ असार ५ र १४०२ मा आएको तीनवटा ठूला ठूला भूकम्पले पुुर्याएको असरको प्रमाणहरु यस क्षेत्रमा भेटिएको छ । यस मध्य दोश्रो भूकम्प पछी अन्नर्पूण क्षेत्रमा आएको पहिरोले सेतीको पानी रोकिन गई ठूलो ताल बन्न गएको र सो ताल फुट्न गई आएको बाढीले पोखरा जलमग्न भएको थियो ।

 

 

 

पोखरा साच्चै कति पुरानो हो या पोखरामा बस्ती बिकास कसरी शुरु भयो भन्ने विषयमा बेला बेलामा बिभिन्न धारणा आउने गर्दछ । नेपालका भूगोलबिज्ञहरु पनि आफ्रनो रिसर्चलाई गहिरिएर गर्दैनन् । जसले वास्तविकता थाहा पाउन निकै कठिन हुन्छ । तर नामले नै हामी अनुमान लगाउन सक्छौ, कुनै पोखरीकै कारण ले यो ठाउको नाम पोखरा रहन गएको हो ।

 

 

ई.सं.१९७० मा हर्क गुरुङ्गले जे अनुमान गर्नु भएको थियो त्यस बिषयमा २०१० मा मोनिक फोर्टले अन्वेषण गरेर सिद्ध गर्ने कोशिस गरे । उनको सोधमा उनले लेखेका छन्, पोखरा उपत्यका प्राकृतिक प्रकोपबाट बनेको शहर हो । जसरी काठमाडौ शहर ठूलो प्राकृतिक प्रकोपबाट बनेको ठूलो तालले चोभारबाट निकास पाएपछी विस्तारै शहरको रुपमा बिकास हुने अवसर पायो, त्यसरी नै पोखरा पनि अन्नपूर्ण श्रृंखलामा आएको ठूलो प्राकृतिक प्रकोपबाट त्यहा बनेको ठूलो ताल फुट्न गई आएको बाढीले ल्याएको ढुंगा माटो सहितको पानीले ताल बन्न गएको र सो तालको पानी बिस्तारै कोत्रेको खो“चबाट पानीको निकास पाए पछी तालको पानी सुक्न गएको थियो । तालको पानी सुकेपछी समथर बगर त बन्यो तर मानिसको बस्ती योग्य बनेको थिएन ।

 

 

बि.सं. ११८५ को आसपासमा आएको भूकम्प, १३१२ असार ५ र १४०२ मा आएको तीनवटा ठूला ठूला भूकम्पले पुुर्याएको असरको प्रमाणहरु यस क्षेत्रमा भेटिएको छ । यस मध्य दोश्रो भूकम्प पछी अन्नर्पूण क्षेत्रमा आएको पहिरोले सेतीको पानी रोकिन गई ठूलो ताल बन्न गएको र सो ताल फुट्न गई आएको बाढीले पोखरा जलमग्न भएको थियो ।

 

 

पोखरा सेती किनारमा बेला बेला ढिस्कोहरु खसेपछि हामीले लामो तेर्सो धर्साहरु देख्ने गछौ । यो चिन्ह नै बिभिन्न कालखण्डमा पोखरामा आएका डरलाग्दो वाढीको निशानीहरु हुन् । यसरी हेर्दा सेतीको किनारका भूभाग करिव २५ मीटर बाढीले बगाएर ल्याएको ढुंगा माटोले पुरिएको देखिन्छ । बैज्ञानिक अन्वेषणले समुच्च पोखरा ४० मीटर सम्म डुबेर बिशाल ताल बनेको थियो । भीमकाली पाटनमा भएको ठूलो ढुंगा १३१२ को भूकम्प पछि गएको पैह्रोले अन्नपूर्ण क्षेत्रमा सेतीको निकाश रोकिन गई बनेको ठूलो ताल फुटेर बाढी आउदा बगाएर ल्याएको भन्ने तथ्य पत्ता लगाएका छन् । करिव ३००० टन तथा १० मीटर ब्यास भएको ढुंगा हालको सेती नदीबाट ५० मीटर उचाईमा रहेको छ । यति ठूलो ढुंगा कसरी आएको होला भन्ने बिषयमा निकै अध्ययन गरेका थिए ।

 

 

२०२१ सालमा  (माथिल्लो ) र हालसालै गुगलबाट  लिइएको  पोखराको तस्विर  ।                                                  तस्विर : सुनिल उलकको संग्रहबाट  

 

 

 

यहि क्रममा अध्ययन गर्दै जाँदा समय समयमा पोखरा जलमग्न भएका प्रमाणहरु भेटिएका छन् । भीमकालीको ठूलो ढुंगाको माथिल्लो तहको अध्ययनले पोखरा तीन चोटी जलमग्न भएको भन्ने प्रमाणित गरेका छन् । यसरी बनेको तालको पानी सुकेर गए पनि कमजोर माटोले बनेका भूभागहरुमा ठूला ठूला ताल बने । जहाको पानी अन्य बस्तीको पानी सुके पनि यस खाल्डोहरुको पानी सुकेन । यसै मध्य एक बैदामे ताल पनि हो, जसलाई पछि फेवाताल भन्ने गरियो । साथै बेगनास, रुपा, मैदी, खाष्ते, गुंदे, दिपाङ, न्युरेनी तथा कमल पोखरी सबै त्यही समयमा बनेका ताल तथा पोखरीहरु हुन् ।

 

 

यसरी बारम्बार सिंगो पोखरा नै ताल बन्ने गरेको भेटिएका प्रमाणहरुले गर्दा यस ठाउमा बस्ती बसेको पुराना प्रमाण खासै भेटिदैन । पोखराको ईतिहास बढीमा ८०० वर्ष पुगेको अनुमान गरिएको छ । तर यस वरपरको डाडा मध्य सराङ्गकोटमा भने एघारौ शताव्दीबाट नै मगरहरुको राज्य रहेको जसलाई घलेहरुले जितेर आफ्नो राज्य बनाएको र यिनै घलेराज्यलाई पनि खा“डहरुले आफ्नो राज्य बनाएका थिए । यहि खांड बंशका कुलमण्डन खांडलाई दिल्लीका मुगल शासकले शाह उपाधी दिए पछि कुलमण्डन शाह भए ।

 

 

आखिर पोखरामा बस्ती बिकास कहिले भयो भन्ने तथ्यमा जादा बिक्रम सम्वतको १५औ शताव्दी तिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकामा ठाउ ठाउमा गाई पाल्न थालेका थिए भन्ने देखिन्छ । यसरी गाई पाल्दा पनि गोठालाहरु तल बेसीमा बस्दैनथे, रात परेपछी नजिकैको अग्लो पाखोमा गएर बास बस्दथे । पोखरामा औलो लाग्दछ भन्ने डर सबैमा थियो, त्यसैले हत्तपत्त बेसीमा बस्ने आट गर्दैनथे । गाई पालनको शुरुवात संगै पोखरामा गाईको चरणको लागी ठूला ठूला चौरहरु र खुला पाटनहरु बनाए, चौर कै छेउछाउमा गोठालो बस्न चौताराहरु बनाए । यसरी शुरु भएको बिकासक्रममा बिस्तारै गर्मीबाट जोगिन सकिने तालको किनारमा बस्ती बस्न थाल्यो । यसरी हेदौ सोह्रौ शताव्दीमा आईपुग्दा पोखरामा केही ठाउमा बस्तीको शुरुवाट भएको थियो भन्ने भेटिन्छ । बाटुलेचौर, बैदाम तथा ढुंगेसाघु इलाकामा बस्ती बिकासको शुरुवात भएको थियो ।

 

 

यहि क्रममा बस्ती बढ्दै गएको थियो, कास्कीका अन्तिम राजा सिद्धीनारायण शाहको बिबाह बाटुलेचौरमा भए पछी राजाले ससुराली आउन जानको लागी लामाचौर नजिकै बाबिया तरो बनाए । सेती तर्नको लागी बाबियोको डोरीले बाँसमा बाँधेर बनाइएको भएर यसलाई बाबियातरो भनिन्थ्यो । यसको केही समय पछी बाटुलेचौर नजिकै हिउदे दरवार बनाए । जाडो महिनामा यहि दरवारमा बस्दथे, अन्य महिनामा भने कास्कीकोटमा नै बस्ने गर्दथे । यहि बाटुलेचौरमा दरवार बनाए पछि नाचगान गरि दरवारमा मनोरञ्जन गराउन तनहुबाट गन्धर्वहरुलाई ल्याई बस्ती बसाए ।

 

 

त्यसै समयमा केही नेवार ब्यापारीहरुलाई पनि बिभिन्न स्थानबाट सामान ल्याई बिक्री बितरण गर्नको लागी भक्तपुरबाट बोलाए । भक्तपुरका राजा रणजित मल्लसंग सिद्दीनारायण शाहको राम्रो सम्बन्ध भएको हुदा पछी केही नेवारलाई बिन्ध्यवासिनी नजिकै बस्ने प्रबन्ध मिलाए । पछी यिनै नेवारहरुले यस क्षेत्र आफु अनुकुल पाए पछी आफन्तहरु पनि बोलाए, जसलाई सिद्धीनारायण शाहले बिर्ता दिई २६ परिवारलाई २६ कुरिया दिए । यहि २६ कुरियाले बिर्ता पाएको ठाउ भएको हुदा बिन्ध्यवासिनी देखी दक्षिण, सिंहनाथ टोल (हालको रामकृष्ण टोल) देखी उत्तर तथा साघुमुख नजिकैको स्थान सम्मलाई २६ कुरिया भन्न थालियो ।

 

 

पोखरामा नेवारको प्रवेश पछी धार्मिक, सांस्कृतिक तथा ब्यापारिक दृष्टीकोणले पोखराको बिकास हुन थाल्यो । नेवारको प्रवेश पोखरामा हुनु अगाडी केवल बिन्ध्यवासिनी मन्दिर मात्र बनेको थियो । तर नेवारको प्रवेश पछी सबैभन्दा पहिले भीमसेन मन्दिरको स्थापना भयो । त्यसपछी नेवारहरुले नै भैरव नाच पोखरा ल्याए । नाचका ख्वापाहरु राख्नको लागी भैरवस्थानको स्थापना गरे । बिन्ध्यवासिनी मन्दिर परिसरमा बिभिन्न मन्दिरहरु स्थापना गराए । यसरी पोखरामा मन्दिरको संख्या बढ्दै गयो, साथै भगवान प्रतिको आस्था पनि बढ्दै गयो । नाचहरु पनि थपिदै गए । नेवारहरु ब्यापारिक दृष्टीकोणले चलाख थिए, त्यसैले आफ्नो ब्यापार प्रबर्धन गर्ने मूलउद्येश्यले पनि नाचगानको आयोजना गरेर गाउका सर्वसाधारणलाई बजारमा नाचगान हेर्न बोलाउने र त्यही मौकामा उनिहरुलाई आबश्यक सामान खरिद गर्न लगाउने गर्दथे ।

 

 

शुरुमा पोखरामा कोही बस्न चाहन्नथे । कास्कीका राजाले बस्ती बसाउने ध्ययले बिर्ता दिएर बस्न प्रेरित गरे । तर पनि २०११ को पहिलो जनगणनामा पोखराको जनसंख्या ७९१३ पुग्यो । २०६८ मा आईपुग्दा पोखराको जनसंख्या २५५४६५ पुग्यो, अहिले लेखनाथ पनि गाभिदा पोखरा लेखनाथ महानगरपालिकाको जनसंख्या ४१३३९७ पुगेकोे छ । यसरी पोखराको जनसंख्या बृद्धीदर नेपालको सबैभन्दा बढी हुन पुगेको छ ।

 

 

यसरी हाम्रा पूर्वजहरुले दुख कष्टले बनाएको यो पोखरालाई हामी सबैले आफ्नो मानेर यहाको लागी आफ्नो तर्फबाट जे गर्न सकिन्छ त्यसरी सहयोग गर्नुपर्छ । आफुमा जे छ त्यो नै ठूलो सम्पति हो, यसको उपयोग समाजको लागी गरौ ।

 

Comments

NIC Asia