MENU
पर्यटकको पर्खाइमा ऐतिहासिक शिवालय क्षेत्र
 : [views]
  Dec 07, 2018

जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ कालेगाउँमा रहेको शिवालय क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिले निकै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । जाजरकोट जिल्लाको, स्थानीय परम्परा, लोकसंस्कृति र इतिहाससँग प्रत्यक्ष जोडिएको शिवालय क्षेत्र पछिल्ला वर्षमा राज्यको ध्यान नपुग्दा ओझेल पर्दै गएको छ ।

शिवालय क्षेत्रमा तीन वटा ऐतिहासिक एवं कलात्मक मन्दिर रहेका छन् । शुरुमा सुनको गजुर भएको बुढापाकाको भनाइ भए पनि अहिले एउटा मन्दिरमा सुनको जलप लागेको गजुर र अन्यमा जीर्ण रहेका काठ र अन्य वस्तुका गजुर रहेको स्थानीय बुढापाका बताउँछन् ।

 

यसरी स्थापित भयो शिवालय

 

शिवालय क्षेत्रमा रहेका तीनमध्ये एउटा जाजरकोटी राजा इन्द्रनारायण शाहका छोरा दीपनारायण शाहले आफ्नी आमा शिवकुमारीको सम्झनामा बनाएको मन्दिरको नाम हो शिवेश्वर, त्यस्तै दीपनारायणका छोरा जङ्गबहादुर शाहले बुबा दीपनारायण शाह र आमा दुर्गाकुमारी (रणबहादुर शाहकी छोरी) को सम्झानामा अर्काे दीपदुर्गेश्वर मन्दिर बनाए र जङ्गबहादुर शाहका छोरा अम्बरबहादुर शाहले आफ्ना दाजु महाशमशेर शाहको नाउँमा बनाएको मन्दिरको नाम हो महामुक्तेश्वर ।

 

जाजरकोटी राजा दीपनारायण शाह र उनका छोराले २०० वर्षअघि निर्माण गरेको शिवालय क्षेत्र अहिले ओझेलमा पर्दै गएको स्थानीय सरोकारवालाको भनाइ छ । तेलियाइँटको प्रयोग गरी अति कलात्मकरूपमा बनेका मन्दिरको सुन्दरता र वरिपरिको प्राकृतिक वातावरणले शिवालय क्षेत्र ठूलो सम्भावना बोकेको पर्यटकीय एवं धार्मिक क्षेत्र बन्नसक्ने कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक खत्री बताउँछन् ।

 

शिवालय क्षेत्रभित्र रहेका तीन वटा मन्दिर महामुक्तेश्वर, दीपदुर्गेश्वर र शिवेश्वर बनावटको कलात्मकताले सबैलाई मोहित पार्दछ । मन्दिर र शिवालय क्षेत्रले नेपाल एकीकरणको सन्दर्भ तथा जाजरकोट र गोर्खाली सेनाबीचको सम्बन्धको महत्व पनि दर्शाउने गरेको स्थानीय बुढापाका बताउँछन् ।

 

जाजरकोट र गोरखाका राजा एवं पछि काठमाडौँ र जाजरकोट राज्यबीचको वैवाहिक तथा कूटनीतिक सम्बन्धका केही विषयलाई यो शिवालय क्षेत्रमा रहेको दीपदुर्गेश्वर मन्दिरले झल्काउँछ । छेउमै कलकल बग्ने भेरी नदीको सुन्दरतासँगै खुला चौर अनि वरिपरि हरिया पहाडको बीचमा रहेको शिवालय क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवं आकर्षक पर्यटकीय स्थल बनाउन यतिबेला स्थानीयले योजनाबद्ध पहल तुरुन्त थाल्नुपर्ने खत्रीको भनाइ छ ।

 

संरक्षणमा कसैले ध्यान नदिएको गुनासो

 

शिवालय गुठी संरक्षण तथा व्यवस्थापन समितिकोतर्फबाट शिवालय क्षेत्रमा रहेका मन्दिरको संरक्षण, सम्वद्र्धन, शिवालयसम्म पुग्ने बाटो, खानेपानी, आगन्तुकलाई विभिन्न खेलकूद तथा मनोरञ्जनका साथै अन्य धार्मिक संस्कारमा सहभागी गराउनका लागि आवश्यक पूर्वाधार तथा तयारी जरुरी रहेको सरोकारवाला बताउँछन् ।

 

पहिले १६ रोपनी क्षेत्रफलमा रहेको शिवालय क्षेत्र यतिबेला छ रोपनीमा मात्र सीमित भएको र यसको संरक्षण गरी जिल्लामा पर्यटन व्यवसायको विकास गराउन स्थानीयवासी सरोकारवाला र स्थानीय सरकारले गम्भीर चासो दिनुपर्ने देखिन्छ ।

 

सडक यातायातको पहुँचभित्रै रहेको शिवालय क्षेत्रको उचित विकास र व्यवस्थापन हुनसके वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक शिवालय भ्रमणमा आउनेमात्र नभएर स्थानीय युवाका लागि रोजगारीको राम्रो अवसर सिर्जना हुनसक्ने पनि देखिन्छ ।

 

भेरी नदीमा पौडी तथा जलयात्रा गर्ने, खुला हरिया चौरमा वनभोज खाने, पवित्र शिवालय मन्दिरको दर्शन गर्ने, विभिन्न प्रकारका खेलकूद सञ्चालन गर्नेलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि शिवालय अति सम्भावनायुक्त एवं उर्वर क्षेत्र भए पनि सरोकारवालाको उचित ध्यान गएको पाइँदैन ।

 

विशेषगरी शिवरात्रि, तीज, चैतेदशैँ रामनवमी तथा स्वस्थानी पर्वका बेला हजारौँ भक्तजनको उपस्थितिमा ठूलाठूला मेला लाग्ने गरेको शिवालय क्षेत्र अब फुर्सदमा या विदाको दिन मनोरञ्जन गर्ने ठाउँका रूपमा पनि विकास गर्न जरुरी छ ।

 

विगतमा तत्कालीन जिल्ला विकास समिति र अन्य सरकारी तथा गैरसरकारी निकायको सहयोगमा शिवालय क्षेत्रको सुधार एवं विकासका लागि थोरै प्रयास भएको भए पनि खासमा यस क्षेत्रको प्रचारप्रचार र विकासका लागि ठोस पहल भएको देखिँदैन । शिवालय क्षेत्रलाई सुन्दर एवं मनोरम क्षेत्र बनाउन व्यवस्थित आर्यघाटको निर्माण, जोगी बाबा बस्ने कुटीको निर्माण, पाहुना घरको निर्माण, सुन्दर बगँैचाको निर्माण, गाडी पार्किङको उचित व्यवस्था, वृद्धाश्रमको निर्माण तथा नदीसम्म पुग्नका लागि पक्की सडक र मान्छे हिँड्ने सहज पैदल मार्ग निर्माणलगायतका योजना कार्यान्वयन हुनुपर्ने स्थानीयवासीको माग छ ।

 

तत्कालीन जिविसका तर्फबाट शिवालय क्षेत्रको संरक्षणका लागि विभिन्न समयमा विभिन्न सहयोग उपलब्ध गराइएको भए पनि अहिले सबैको बेवास्ताले शिवालय क्षेत्रको समग्र अवस्था जीर्ण देखिएको छ ।

यस क्षेत्रलाई जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउन र विकास गर्नसके आन्तरिक र बाह्य पर्यटकको आवागमन निकै बढ्न सक्ने सम्भावना देखिन्छ । यसका लागि स्थानीयवासी, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र विभिन्न क्षेत्रका व्यवसायीले अग्रसरता लिएर अघि बढ्न जरुरी देखिन्छ । शिवालय क्षेत्रलाई बलियो घेराबार गरेर स्थानीय सरकारले आफ्नो स्वामित्वमा लिँदै यसको विकासको जिम्मेवारी लिन पनि आवश्यक छ ।

Comments

NIC Asia