MENU
राजाको शासनमा पंचायती जागिर
 : [views]
-भागवत खनाल   Dec 29, 2018

 

उनी इमान्दार थिए, सायद उनका मान्छे इमान्दार थिएनन । सायद उनी नितान्त एक्ला सच्चा मान्छे थिए, जो आफ्नो प्रतिष्ठाको कारण आफ्ना दर्दहरू कतै बाड्न सक्दैनथ्यो । समग्रमा उनी एउटा निर्मल, निश्छल, निर्दोष सुधो र सोझो मान्छे थिए । सायद उनलाई समस्या थाहा थियो, समाधान थाहा थिएन । रानीमा केही रिस र तनाव झल्कन्थ्यो, कुनै असन्तुष्टी केही ईर्ष्या, केही सिकायतको भाव झल्कन्थ्यो रानीको व्यक्तित्वमा । रानी भनेपछि कर्मचारी र पन्चहरुको सातो जान्थ्यो । अधीर रानीले कहाँ वित्यास पार्ने हुन भनेर त्रसित हुन्थे सवै ।                            

 

   पन्चायतकालीन जागिरका केही संस्मरण

 

म श्री ५ को सरकारको शाखा अधिकृत पदमा २०४२ साल असार पच्चीस देखि लागू हुनेगरी नियुक्त भएको थिएँ । त्यसबेला नेपालमा सक्रिय राजतन्त्र थियो । राजनीतिक पद्धतिको रुपमा निर्दलीय पन्चायती व्यवस्था थियो । राजा बीरेन्द्रको राज्यकाल थियो त्यो समय । मैले नियुक्ति पाएको समयमा बैतडी जिल्लाका लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री थिए । २०४३ सालको प्रारम्भमा आम चुनाव सम्पन्न भएपछि सल्यान जिल्ला निवासी मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री भए , अहिले उनको देहावसान भइसक्यो । सवैलाई थाहा भएकै कुरा हो पन्चायती व्यवस्थाको सुरुवात २०१७ सालमा भयो ।

 

पैंतीस सालको अन्ततिर पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई जनरल जियाउल हकको सैनिक सरकारले फाँसी दियो । त्यसको विरोधमा काठमाडौँमा निस्केको जुलुसको विस्तारित रुप पछि गएर पंचायत विरोधी आन्दोलनमा परिणत भएपछि राजा बीरेन्द्रले छत्तीस सालमा राष्ट्रिय जनमत संग्रहको घोषणा गरेका थिए । जनतालाई सुधार समेतको मौजुदा पन्चायत प्रणाली वा बहुदलीय शासन व्यवस्था रोज्न मतदान गर्ने मौका प्रदान गरिएको थियो ।

 

  तस्विरहरु : चन्द्रशेखर कार्की /सदृश्य 

 

सानो मतपत्रमा एकातिर पहेंलो र अर्कोतिर नीलो रंग थियो । बहुदल चाहनेले नीलो र पन्चायत मन पराउनेले पहेंलोमा मतदान गर्ने व्यवस्था गरिएको थियो । सैंतीस सालको वैशाख वीस गते जनमत संग्रह भयो । जनमतमा निर्दलको विजय भयो पचपन्न प्रतिषत मत ल्याएर । त्यसबेला सूर्य बहादुर थापा प्रधानमन्त्री थिए । बहुदल हराउन शक्तिको चरम दुरुपयोग, धाँदली र जंगल फडानी गरेको आरोप लागेको थियो ।

 

ऊ बखत प्रशासन सेवाको अधिकृत पदमा नियुक्ति पाएपछि भर्खर खुलेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तीन महिने पूर्व सेवाकालीन तालिम दिन्थ्यो । तीन महिनाको तालिम समाप्त भएपछि हामी छपन्न जना अधिकृतहरुलाई पदस्थापन गरियो, मेरो पदस्थापन राप्ती अन्चलाधीसको कार्यालय दांगमा भयो । म सत्ताइस लागेको थिएँ । अग्लो, धेरै पातलो शरीरको र देखाइमा कुनै आकर्षक व्यक्तित्व नभएको साधारण किसानको छोरो, दहकिस मान्दै हाजिर हुन गएको थिएँ । मनमा डर पनि थियो, किनकि म सैंतीस सालको जनमतको समयमा सक्रिय रुपमा बहुदलको समर्थनमा लागेको थिएँ ।

 

त्यतिले नपुगेर मतदान केन्द्रमा बहुदलको एजेन्टको रुपमा काम गरेको थिएँ, मतगणना नहुँदासम्म तानसेनको बालमन्दिरमा जम्मा गरिएका मतपेटिका राखेको लाहाछाप लगाइएको ढोका बाहिर पालो समेत बसेको थिएँ । त्यस बखत पुलिस रिपोर्ट बिग्रेर आयो भने पदस्थापन भइसकेको कर्मचारीलाई पनि सरकारले नोकरीबाट हटाउंथ्यो, कुनै मुद्दा गर्ने व्यवस्था थिएन । खुरुक्क घर जाने बाहेक अर्को उपाय थिएन । केही महिना बितेपछि अव त केही हुन्न होला भनेर ढुक्क भैयो, धन्न नोकरी जोगियो । अहिलेकालाई यो कुरा थाहा पाउँदा आश्चर्य लाग्ला ।

 

यो आलेखमा मैले २०४२ मार्ग देखि २०४६ असोजसम्म राप्ती अंचलमा बसेर नोकरी गर्दा हासिल गरेका अनुभव र हालसम्म बिर्सन नसकेका अशंख्य सम्झनाहरुमध्ये केहीको झलक प्रस्तुत गर्ने जमर्को गरेको छु ।

 

हँसिला राजा, अधीर रानी

राजा बीरेन्द्र ! राजा बीरेन्द्र त्यस युगको नेपालका एकमात्र व्यक्तित्व, जसले नेपाल र नेपालीलाई सवैभन्दा माया गर्थ्यो । राजा बीरेन्द्र विद्वान र प्राज्ञ थिएनन तर इमान्दार राष्ट्रभक्त थिए । उनी राजा भएर पनि राष्ट्रसेवक थिए । निरन्तर काममा खट्थे, देशभरिका सूचनाहरु लिन्थे, जनतालाई भेट्थे र समस्या सोध्दथे । तत्कालीन नेपालमा देशको सर्वांगीण विषयमा सबैभन्दा धेरै सूचना भएको एउटा मात्र व्यक्ति उनी थिए । उनलाई कहाँ कहाँ के के भइरहेको छ भन्ने थाहा थियो, तर सायद के गरे उद्धार हुन्छ भन्ने भेउ उनीसंग थिएन ।

 

उनी इमान्दार थिए, सायद उनका मान्छे इमान्दार थिएनन । सायद उनी नितान्त एक्ला सच्चा मान्छे थिए, जो आफ्नो प्रतिष्ठाको कारण आफ्ना दर्दहरू कतै बाड्न सक्दैनथ्यो । देशको बारेमा चिन्तित थिए, जनताको विषयमा चिन्तित थिए, विरोधीहरुको मागको बारेमा चिन्तित थिए, तर उनको परिवार केटीको विषयमा चिन्तित थियो । राजा पनि मान्छे नै हुन । उनको मन पनि साधारण मानिसको जस्तै त हो, उनी पनि प्रेमका दुई शव्दका भोका हुँदा हुन, न्यानो आश्रयको आशा गर्दा हुन, बाहिर भन्न नसकेको कुरा भन्ने र त्यसको सुनुवाइ र सहानुभूति राख्ने पात्र खोज्दा हुन । त्यस्तो पात्र सायद कोही थिएन ।

 

राजा बीरेन्द्र ले बहुदलीय पद्धति आएर आफू संबैधानिक हुनुभन्दा ठीक अघिला दुई वर्षको क्षीत्रीय भ्रमण मध्यपश्चिमान्चल र पश्चिमान्चल विकास क्षेत्रमा गरेका थिए । संयोगवश मलाई ती दुवै भ्रमणलाई देख्ने, अवलोकन गर्ने र सहभागी हुने मौका प्राप्त भएको थियो । पैंतालीस सालको मध्यपश्चिम भ्रमणको समयमा शाही भ्रमणको सदरमुकाम सुर्खेत सवारी शिविरमा बसेर लगभग तीन महिना काम गर्दा दिनदिनै जस्तो राजा देख्न पाइन्थ्यो । प्रत्येक साँझ आजको भ्रमणको समीक्षा र भोलिको भ्रमणको तयारी बारे छलफल हुन्थ्यो सवारी शिविरमा । राजा हरेक कुराको संगोपांग जान्न चाहन्थे ।

 

कुनै आयोजना उदघाटन गर्नु पर्यो भने त्यो आयोजनाको महत्व, फाइदा , प्रभाव, लाभग्राही जनता, लागत र यतिसम्म कि त्यस आयोजनाको आयोजना प्रमुखको नाम समेत सोधेर जानकारी लिन्थे । राजाले अघिल्लो पल्ट आउँदा भेट भएका पन्च प्रतिनिधिलाई पछिल्लो पटक भेट हुँदा पनि चिन्थे । राजाले आफूसंग को को भेट्दै छ, तिनको पृष्ठभूमि के हो, कस्तो योगदान गरेका छन् भन्ने कुराको पनि जानकारी लिने कोशिश गर्दथे । तर त्यसै बेला पनि राजालाई छट्टुहरुले झुक्याउने गरेको, ढाट्ने गरेको, गलत सूचना दिने गरेको र सोझा राजा पनि चाटुकारहरुको फन्दामा परेको सुनिन्थ्यो । राजा गर्न खोज्ने तर दरवारको नोकरशाही र पारिवारिक कारणले सफल हुन नपाएको भन्ने कुरा त पछि पछि थाहा हुँदै गयो ।

 

 

भ्रमणको बेला जिल्ला सदरमुकाममा हुने कार्यक्रममा राजा र रानीको भिजिट छुट्टा छुट्टै हुन्थ्यो । राजा हँसिला र मायालाग्दा थिए । राजालाई देख्दा ओहो राजा ! भनेर डराउने भन्दा पनि कति मज्जाको राजा, कति सुन्दर, कति हँसिलो, कति माया लाग्दो भन्ने भावना जाग्ने खालका थिए उनी । उनी भव्य तर साधारण र शालीन देखिन्थे । एउटा साधारण मानिसले पनि आफ्ना कुरा धक नमानी भन्न सक्ने , यी राजासंग अरु बोल्न पाए हुन्थ्यो, यिनको नजिकमा बस्न पाए हुन्थ्यो, यिनलाई केही सुनाउन पाए हुन्थ्यो, यिनको सामु एउटा गीत गाउन पाए हुन्थ्यो भन्ने भावना विकास हुने खालको व्यक्तित्व थियो । उनी विस्तारै भलाद्मी तरिकाले हिड्थे, यताउता हेर्दै, दृश्यावालोकन गर्दै, मुस्काउँदै । उनको समग्र व्यक्तित्व नै कोमल, मायालु, सौम्य, भव्य र सुन्दर थियो । समग्रमा उनी एउटा निर्मल, निश्छल, निर्दोष सुधो र सोझो मान्छे थिए । सायद उनलाई समस्या थाहा थियो,समाधान थाहा थिएन ।

 

रानी पनि भव्य थिइन । उनको व्यक्तित्व अरुलाई दवाउने किसिमको थियो । कोही राजालाई कोमल देख्दथ्यो भने सायद रानीलाई कठोर देख्दथ्यो । सायद राजालाई देख्दा यिनलाई थोरै माया गर्न पाए हुन्थ्यो, थोरै बेर संगै बस्न पाए हुन्थ्यो भनेर सोच्ने मान्छे रानीलाई देख्दा डराउँथ्यो, छिटो भाग्न चाहन्थ्यो । रानीमा केही रिस र तनाव झल्कन्थ्यो, कुनै असन्तुष्टी केही ईर्ष्या, केही सिकायतको भाव झल्कन्थ्यो रानीको व्यक्तित्वमा । रानी सामाजिक संस्थाहरुको केन्द्रीय संस्था सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष भएको हुँदा त्यस्ता कार्यक्रमको उद्दघाटन, सिल्यान्यास, निरीक्षण, अवलोकन आदि कुरा उनै गर्दथिन । फूर्तिली रानीसंग हिड्न पुरुषलाई त गाह्रो हुन्थ्यो भने संस्थाका महिला प्रतिनिधिहरुलाई त हम्मे पर्थ्यो । सदरमुकाम बाहिरका कार्यक्रमामा त राजा रानीको कार्यक्रम प्रायः एकै ठाउँमा पर्थ्यो, प्रभाव पनि रानीकै हुन्थ्यो । रानी भनेपछि कर्मचारी र पन्चहरुको सातो जान्थ्यो । अधीर रानीले कहाँ वित्यास पार्ने हुन भनेर त्रसित हुन्थे सवै ।

 

 

उनी पर्दा बन्द गरेको बैठकमा जिरो वाटको बत्ती बालेर एक्लै बसेका थिए । मलाई इसाराले बस्न भनेपछि म बसें । एक प्रकारको सन्नाटा थियो त्यहाँ । उनले विस्तारै भने तपाईंहरु मेरै कार्यालयका कर्मचारीले सरकारको आलोचना गर्ने ? के चाला हो यो ?   

 

 

अनसन तोडाउँदा जागिर धरापमा

२०४५ सालतिरको कुरा हो । प्रतिवन्धित माले पार्टीका कार्यकर्ताले लिथो गरिएका केही पंचायत विरोधी पर्चाहरु गोवरले चप्काएर टाँसेको खवर आयो । यस्तो घटना हुनुलाई तत्कालीन प्रशासनिक प्रणालीमा अन्चलाधीस, सिडिओ, प्रहरी र गुप्तचरको असफलता मानिन्थ्यो । दुईचार वटा पर्चा के टाँसिएका थिए, खैलाबैला मच्चियो प्रशासनमा । माले पार्टीका पहिचान भएका सवै नेता र कार्यकर्ताहरुलाई कडा निगरानीमा राखियो । प्रशासनमा यत्रो पहिरो जाँदा सो कुरा न जनमानसमा पुग्यो, न मालेले थाहा पायो,  नत अन्य सरकारी अड्डाले थाहा पाए । सवै गोप्य र शान्त तरिकाले काम भयो । भित्ताका पनि कान हुन्छन भनिने त्यो जमानामा गोप्यता भंग गर्ने हिम्मत कसैको हुँदैनथ्यो । अहिलेजस्तो पिछा पर्ने मिडिया पनि थिएन ।

 

एक दिन कुनै घरमा मालेका केही कार्यकर्ता जम्मा भएर मिटिंग गर्दै रहेछन, पुलिसले बामपन्थी विचार बोक्ने केही डकुमेन्ट सहित झ्यापझुप रंगेहात समातिहाल्यो । पाँच छ जनाको सो डफ्फालाई राजकाज मुद्दा लाग्यो, हिरासतमा राखिए । राजकाज मुद्दाको सुरु मुद्दा सुन्ने अधिकारी अन्चलाधीस हुन्थे । पुलिसले अन्चलाधीस समक्ष्य मुद्दा पेश गरेपछि उनीहरु पुर्पक्षको लागि न्यायिक हिरासतमा राखिए । मुद्धा लागेका अभियुक्तहरु तुलसीपुर् जेलमा राखिएका थिए । उनीहरु कहिले मुद्धा फैसला होला र क्षेत्रीय अदालत सुर्खेतमा अपिल गर्न पाइएला भनेर बसेका थिए । त्यो बखतमा राजकाज मुद्धा लाग्नेहरु प्रायः सुरु मुद्धामा हार्थे र क्षेत्रीय अदालतबाट पुनरावेदन मुद्धा जितेर जेलमुक्त हुन्थे । उनीहरु जति छिटो मुद्धा फैसला भयो त्यति छिटो पुनरावेदन गरेर फुत्कने आशामा थिए । तर मुद्धा लम्बिंदै गयो ।

 

एक दिन जेलर आएर अन्चालाधीसलाई खवर गरेछन, अभियुक्तहरुले अनसन सुरु गरे । बुझ्दै जाँदा अनसन गरेको कुरा सत्य ठहरियो । प्रशासनलाई अव वित्यास परिहाल्यो । मुद्द्धा छिनीहाल्नु उनीहरुले जितेको आफू हारेको अर्थ लाग्ने, त्यसै चुप लागेर बस्नु अनसन लम्बिने डर । उनीहरुलाई सम्झाउन सिडिओ, सहायक अन्चलाधीस र कुनै उदारवादी पन्च पनि पठाइयो । तर उनीहरुले अनसन तोड्न मानेनछन् ।

 

 

एकदिन अन्चालाधीसले मलाई एक्लै बोलाएर भने,” चारदिन भइसक्यो, यिनीहरु टसमस हुदैनन । अझै केहीदिन अनसन लम्बियो भने त वर्वाद हुन्छ । म आफै गएर सम्झाउन पदीय मर्यादाले दिन्न, अरुलाई पठाउँदा सफल हुन सकिएन । तपाईंले उनीहरुलाई बयान गराउनु भएको हो, सो सिलसिलामा तपाईंलाई चिन्दछन् पनि । तपाईं गएर एक पल्ट कोशिश गर्नुस सायद मान्छन कि ? ”म त सिरिङ्ग भएँ । उनी भन्दै गए ” यो कुरा मैले कसैलाई भनेको छैन, यो जुवा म एक्लै खेलेको हो ।  भोलि बिहान तपाईं जेलमा जानुस, उनीहरुलाई भेट्नुस र कुरा गर्नुस । आश्वासन मागे भने दुई महिनाभित्र मुद्धा फैसला हुन्छ भन्नु होला ।”

 

म बिहान सवेरै गएँ । उनीहरुलाई एकै ठाउँ जम्मा गराएँ । लौ हामीलाई थुन्ने साव आईपुग्नुभयो भन्न थाले । हाँसो पनि चल्यो । सवै मलीन र थकित देखिन्थे, तर हार्न तयार देखिदैनथे उनीहरु । उनीहरुले छिटो मुद्धा फैसला गराइदिनु पर्यो, हामीलीई ग्यारन्टी दिनुपर्यो भन्न थाले । म जस्तो अनुभवहीन, कुटनीतिक र पालिसे कुरा गर्न नजान्ने, कटौले उमेरको कनिष्ठ अधिकारीले भन्दैमा उनीहरुले अनसन तोड्लान भन्ने आशा पनि थिएन र मेरो प्रयास सफल होस् भन्ने चाहना पनि थिएन । वास्तवमा म भित्रभित्रै डराइरहेको थिएँ । तैपनि मैले चिया बिस्कुट मगाएँ र भनें, म आजको मितिले दुई महिनाभित्र मुद्धा फैसला हुने ग्यारेन्टी दिन्छु, तपाईंहरु अनसन तोड्नुस ।

 

आश्चर्य, उनीहरुले चिया बिस्कुट खाएर अनसन समाप्त गरे । मलाई झन् डर लाग्न थाल्यो । म चुपचाप अन्चालधीशकहाँ गएँ । उनी व्यग्र प्रतिक्षामा थिए, मेरो निन्याउरो पारा देखेर उनी पनि मलीन भए । तर मैले बेलिविस्तार लाएपछि उनी धेरै खुसी हुँदै मलाई धन्यवाद दिए । पछि सिडिओ र सहायक अन्चालाधीसले भन्दा नमान्ने यो खनालले भन्दा मान्ने, यो कस्तो खाले खनाल हो, साँठगाँठवाला त हैन भन्ने खासखुस पनि चल्यो । त्यो समयमा खतरा-खतरा काम गरेर वाहवाही कमाउनभन्दा भरसक कम प्रचारमा आउने र चुप लागेर जागिर खानेको खैरियत छ, बढी जान्ने र चर्चामा आउनेको दशा लाग्छ भन्ने गर्थे अनुभवीहरु । तर कुनै खतरा मोल्नु परेन।

 

भीअईपी थुनुवाको अड्डासार

२०४५ साल तिरकै कुरा हो । धेरै वर्षको कारावासपछि तत्कालीन मालेका वरिष्ठ नेता राधाकृष्ण मैनाली रिहा भएछन । उनी ससाना कार्यक्रम गर्दै पश्चिम नेपालको भ्रमणमा निस्केका रहेछन । दांग पुगेपछि च्याप्प समतेर हिरासतमा राखिहाल्यो । एक दुई महिना चुपचाप बसेपछि भने उनले अन्चलाधीसलाई चिट्ठी लेख्न थाले एक पटक भेट्न पाउँ भनेर । म यसै भन्न त सक्दिन, तर वर्षौं वर्ष जेलमा बिताएको कम्युनिस्ट नेतालाई भेट्ने हिम्मत पनि त हुनुपर्यो प्रशासकमा । अथवा अन्चलाधीस एउटा माले नेतासंग भेटेर आफू विवादमा आउन सक्ने सम्भावनासंग पनि परिचित थिए होला । पन्चहरु, अन्य प्रशासकहरु मौजुदा प्रशासक असफल भएर खोसुवामा परोस र आफूले मौका पाउँला भनेर ढुकेर बस्नेहरु पनि हुन्थे त्यस बखत ।

 

भेट्न असफल भएपछि उनले आफूलाई केन्द्रीय कारागारमा अड्डासार गर्ने माग गर्दै पत्र पठाउँन थाले । उता युएनएचसीआरले पनि तारन्तार लेख्न थाल्यो । अन्चलाधीस पनि यस्तो हाइप्रोफाइल थुनुवालाई आफ्नो कार्यक्षेत्रबाट बाहिर पठाउँन पाए हुन्थ्यो भन्ने सोच्थे होला अवश्य पनि, तर पठाउने कसरी । पुलिसको नियन्त्रणमा गाडीमा राखेर पठाउनु , हल्ला भयो भने सुरक्षाको समस्या पर्ने । दांगबाट काठमाडौँ गाडीमा पठाउनु सम्भव देखेन प्रशासनले । विकल्पहरु बारे विचार गर्दा गर्दा प्रशासन उनलाई हवाइजहाजको नियमित उडानबाट पठाउने निष्कर्षमा पुगेछ । हल्ला नगरिकन कसैले थाहा नपाउनेगरी एअरपोर्ट लैजाने र सुटुक्क पठाउने ।

 

पुलिस लगाएर पठाउँदा स्थानीय मालेका कार्यकर्ताले पत्तो पाउने डर एकातिर थियो भने भरसक स्थानीय मण्डले युवाहरुले पनि थाहा नपाओस भन्ने मनसाय प्रशासनको थियो होला । अतः उनलाई काठमाडौँ पुर्याएर केन्द्रीय कारागारमा बुझाउने जिम्मा मलाई लगाइयो । खतरनाक काम ! तर के गर्ने, सक्दिन, गर्दिन र जान्दिन भन्ने कुनै गुन्जायस थिएन । पुलिस प्रशासनको गाडी किन प्रयोग गर्नु भनेर कसैको आँखा नलाग्ने नेपाल खाद्य संस्थानको जीपमा ड्राइभर र आफ्नो वीचमा नेताजीलाई राखेर म बिमानस्थलतिर लागें । मैले पनि सुइँको नपाउनेगरी किनाराबाट प्रहरीले अवश्य निगरानी राख्यो होला, तर अत्यन्तै पाको किसिमले ।

 

विमानस्थल त पुगियो, तर बिमान दुईघण्टा डिले भयो । छ फीट अग्लो, झन्डै एक शय केजी तौल, जाज्वल्यमान व्यक्तित्व भएको भव्य थुनुवालाई अड्डासार गर्नु छ । मनमा अत्यास छ, तर बाहिर देखाउन मिल्दैन । ज्यादा फूर्तिफार्ति पनि गर्नु भएन, घोप्टे पनि हुनु भएन । एक एक मिनेट एक एक युग हुँदै थीयो मेरो लागि, यस्तैमा राधाकृष्णले नै मुख फोरे । । मलाई लाग्यो कतै नेताजीले किन बुर्जुवाको जागिर खाएको ? भनेर बित्यास त पार्ने हैनन ! तर उनले त्यसो भनेनन, उनले यहाँको घर कता होला, कहाँ पढ्नु भएको, जागिर खाएको कति वर्ष भयो, यहाँको गाउँमा उव्जा हुने मुख्य बाली  नाली के हुन जस्ता जसले जसलाई पनि सोध्न हुने र जासुसले सुने पनि रिपोर्ट पार्न नसक्ने कुरा मात्र सोधे ।

 

उनले यो पनि भने, चिन्ता नगर्नु होला म तपाइंलाई असहज हुने कुनै गतिविधि गर्ने छैन । उनले अलि विस्तारै यो पनि भने , म तपाईंजस्ता कर्मचारीको भावना बुझ्दछु । मलाई उनीप्रति श्रद्धा लाग्यो, मैले मौन रुपमै कृतज्ञता व्यक्त गरें, सायद उनले बुझे । काठमाडौँ बिमानस्थलमा हामीलाई पिकअप गर्न एउटा जीप आयो, सादा पोशाकका प्रहरी पनि जीपमा थिए । उनलाई सेन्ट्रल जेलमा बुझाएर म बिदा भएँ, उनी हात हल्लाउंदै जेलभित्र गए, मैले उनलाई ओझेल नहुँदासम्म हेरिरहें । त्यसपछि भेट भएको छैन।

 

सवै दारी पाल्नेहरू कम्युनिस्ट हुँदैनन्

२०४४ सालको कुरा हो । प्युठानका सिडिओ शम्भु खनालको काठमाडौँ सरुवा भएछ, अर्को अधिकृत स्तरका कर्मचारी पनि नभएको बेला पर्यो । गृह मन्त्रालयले अंचलभित्रको कुनै अधिकृतलाई कामु दिएर प्युठान पठाउनु भन्ने आदेश दिएछ । मेरो उमेर अट्ठाइस पुगेको भर्खर, अनुभवको कमी, प्युठान जस्तो जिल्ला । तैपनि अन्चालाधीसले सिडिओ बनाएर पठाइहाले । मङ्सिर महिनाको अन्तिम अन्तिमको समय थियो । पुष महिनामा राजाको जन्मोत्सव समेत तीन वटा राष्ट्रिय समारोह गर्नु छ ।

 

यसै महिनामा पन्च सम्मेलन र जिल्लासभा पनि छ । तत्कालीन स्थानीय विकास अधिकारी डाक्टर टीकाराम शर्मासंग लागियो प्युठानतिर । घोराहीबाट हर्नक मर्कावांग हुँदै कच्ची बाटो थियो, हामी विस्तारै हर्नकको उकालो लाग्दै थियौं गाडीमा, भयङ्कर पानी पर्यो । अव गाडीमा जान सम्भव थिएन, फर्कनु त झन असम्भव थियो । जिल्लामा जिल्ला प्रशासनमा एउटा अफिसर छैन, एलडीओ पनि बाहिरै । पानी थामिएपछि हामी सिउ सिउ काम्दै चिप्लो बाटोमा पैदल हिड्न थाल्यौं । गाडीमा यात्रा गर्ने निधो भएको हुँदा कुनै सहयोगी पनि थिएनन । हामी सांझ अबेर भएपछि मर्कावांगमा एकजना पन्चको घरमा बास बस्यौं । भोलिपल्ट येनतेन खलङ्गा पुगियो।

 

लगातार दुईदिन जिल्लासभा र दुईदिन पन्च सम्मेलनको कार्यक्रम रहेको हुँदा सवै गाउँका पन्च प्रतिनिधि उपस्थित थिए । प्युठान परम्परागत रुपमै टाठो ठाउँ हो । चेतनाको स्तर उच्च थियो, मानिसहरु बुझकी थिए । तर प्युठानलाई जिस्क्याउन हुँदैन भन्थे अनुभवीहरु । ख्यालख्यालैमा जुलुस निकालिहाल्ने, नारा लाइहाल्ने , अप्ठेरो पारिहाल्ने जिल्ला हो है होसियार हुनुपर्छ भन्दै थिए एलडीओ साव पनि । चार दिनको कार्यक्रमभरि म सिडिओको नाताले सरिक भएँ । व्यापक सहभागीतामाझ दुवै कार्यक्रम सफल भए ।

 

त्रीचालीसको चुनावमा कतिपय ठाउँको राष्ट्रिय पंचायत र गाउँ नगर पंचायतको चुनावमा कम्युनिस्ट र कांग्रेस दुवै पार्टीले प्रयोगको रुपमा भाग लिएका थिए र केही ठाउँमा विजयी पनि भएका थिए । प्युठान त राम्रो बामपन्थी पकड भएको जिल्ला थियो । बामपन्थी रुझान भएका केही व्यक्ति  प्रधानपन्च चुनिएर आएका थिए । उनीहरु सरकारी कार्यक्रममा सिधा पन्चायत व्यवस्थाको विरोध त गर्दैनथे, तर विकास, सेवा प्रवाह, जनताको सरोकारका कुरालाई लिएर एलडीओ को सातो लिन्थे भने सिडिओलाई पनि बाँकी राख्दैनथे । मुख्य कुरा उनीहरुले कुरा बुझेका थिए, अध्ययनशील थिए, देश बुझेका थिए र तार्किक कुरा गर्दथे । उनीहरु निडर पनि थिए ।

 

कार्यक्रम सकिएपछि दुईजना दारीवाल युवा प्रधानपन्चहरु मेरो कार्यालयमा आए । चियापाना भयो, भलाकुसारी भयो, हाँसो ठट्टा पनि  भयो । यस्तैमा एकजनाले भने – दारी पाल्ने पन्चलाई तपाईं प्रशासकहरु कम्युनिस्ट भन्नुहुन्छ नि किन हो सिडिओ साव ? मैले भनें, म त भन्दिन । कार्ल मार्क्सले दारी पाल्थे भन्दैमा सवै दारीवालहरु कहाँ कम्युनिस्ट हुन्छन ? त्यस्तो हुने भए त रविन्द्रनाथ ठाकुर, लेखनाथ पौड्याल, अब्राहम लिंकन सवैलाई कम्युनिस्ट भन्नु पर्ने भयो । तपाईंहरु त झन् कम्युनिस्ट हुने कुरै भएन, यत्रो भव्य रुपमा पन्च सम्मेलन सफल पार्ने मान्छे कहीं कम्युनिस्ट हुन्छन ? उनीहरु आपसमा मुखामुख गर्न थाले । तर उनीहरु दुवैजना कम्युनिस्ट हुन भन्ने कुरा मलाई थाहा थियो ।

 

फूर्तिवाजलाई खिरको भोज

एकजना व्यक्ति थिए बडो फूर्तिला । कट्टर पन्च थिए उनी । मेलो मेसो मिल्दा राजाको धाक पनि दिन पछि नपर्ने । सवैलाई अर्ति उपदेश दिने, तर आफूमा लागू नगर्ने । पन्चायतको समयमा पनि धेरै कार्यक्रम र भाषण हुने गर्थे, तर अहिले जस्तो हैन । अहिले सहिदको नाममा मौन धारणा गर्ने चलन छ, ऊ बेला राजा रानीको तस्वीरमा फूल माला अबिर चढाएर श्रीमान् गम्भीर गएर कार्यक्रम सुरु हुन्थ्यो । राजाका महानवाणी र शाही घोषणाका वाक्य प्रयोग गर्नमा पन्च र प्रशासक सवै प्रतिष्पर्धा नै गर्दथे । यस्तो लाग्दथ्यो, राजा जहाँ भए तापनि उनीहरुको भाषण ध्यान दिएर सुनिरहेका छन् । ती फूर्तिला पन्च जुन कार्यक्रममा पनि जानै पर्ने, उनलाई बोलाउनै पर्ने । खाँटी पन्च र राजाको प्रवल हिमायती मान्छे, अझ बेला बेलामा राजालाई बिन्तीपत्र पनि लेखिरहने । उच्च प्रशासक र उपल्लो तहका पन्चहरु यसलाई चिढ्याउन हुँदैन भन्दै सतर्क रहन्थे । तर उनी जानी जानी कार्यक्रममा बिलम्बसाथ् आउंथे, राजाको सपनाको कुरा गर्दै आफू ढिलो आउनु देशकै हितमा रहेको गुड्डी हाक्न पछि पर्दैनथे।

 

उनीबाट आजित भएका अन्चलाधीसले यसलाई पाठ पढाउनु पर्यो भन्ने विचार गरेछन । उनले फूर्तिवाजलाई शनिबारका दिन आफ्नो निवाशमा खिर खाने निम्तो दिएछन् । खिर खाने निम्तो त्यो पनि अन्चलाधीसको निवासमा । उनले भनेछन् कति बजे आउँ हजुर ? अन्चलाधीसले बिहान नौ बजे आउनु होला भनेछन । फूर्तिवाज आफ्नो स्वभाव अनुसार दश बजे मात्र पुगेछन । उनलाई एकजना हवल्दारले निवासको भुइंतलाको एउटा सानो बैठकमा बसालेछन । फूर्तिवाजले कहिले अन्चलाधीश आउलान, कहिले आफू ढिलो आउनुको महत्व बताउँला र कहिले खिर खाउँला भनेर कुर्दा कुर्दा बाह्र बज्यो, तर न अन्चलाधीस् आए न त खिर आयो । भो म जान्छु, भोक पनि लाग्यो साहेव पनि आउनु भएन भनेर भन्दा हवल्दारले न आत्तिनुस न हजुर साप आइहाल्नुहुन्छ भन्दै मुट्ठे जुँगा देखाएर हाँस्दा रहेछन । चार बजेसम्म कसैले पानी पनि सोधेन, बाहिर जान पनि दिएनन, हजुर हजुर भनेरै साता घण्टा बित्यो । बेलुका पांच बजे मात्र अन्चलाधीस् आए । तर आफूले ढिलो गरेको बारे कुरै उठाएनन, माफी माग्नु त कता कता । केही पनि नभएजस्तो गर्दै उनले खिर मगाए, फूर्तिवाजलाई सम्मानसाथ खुवाए र विदा गरे । त्यसदिनदेखि ती फूर्तिवाजले समयको महत्व बुझेछन र तोकिएको समयमा उपस्थित हुन थालेछन ।

 

महंगी बढ्ला कि भन्दा स्पष्टीकरणको भारी  

असारको अन्तिम हप्ता थियो । कहिले बजेट पेश होला र तलव बढ्ला भनेर पर्खेर बसेका थिए सवै कर्मचारी । बजेट भाषण भयो , हामी पाँच छ जना कर्माचारी संगै बसेर बजेट भाषण सुन्दै गर्दा एकजना वयोवृद्ध पूर्व पन्च आउनुभयो । उहाँलाई बजेटसंग उति चासो त थिएन तर सुनेर बस्नु भयो । शाखा अधिकृतको तलव चौध शयबाट बढेर सत्र शय पुग्यो । तीनशय मासिक तलव बढ्नु भनेको प्रशस्त थियो । सानो र किफायती परिवारलाई दाल चामल र तरकारी किन्न पुग्ने रकम थियो त्यो । त्यस बखत आवश्यकता सीमित थिए । मोबाइल, टीभी, बोर्डिंग स्कूल, महंगा रेस्टुरेन्ट केही थिएनन । थोरै पैसा बचाउन सकियो भने पनि खेत घडेरी जोड्न सकिन्थ्यो । तराइका बजारको छेउ छाउमा अहिले पचास लाख पार्ने घडेरी बीस हजारमा पाइन्थ्यो । कर्मचारी महत्वाकांक्षी थिएनन । साधारण जीवन यापन गर्दथे ।

 

बजेट भाषण सकिएपछि एकजना नासु स्तरका कर्मचारीले खुसी हुँदै भने जे होस् तलव राम्रै बढ्यो । अव महंगी बढेन भने मजाले पुग्छ, सरकारले महंगी नियन्त्रण गर्नु पर्छ । करिव एक घण्टापछि मलाई तुरुन्त आउनु भन्ने आदेश आयो अन्चल प्रशासकबाट । अल्छी गर्दै म गएँ । उनी पर्दा बन्द गरेको बैठकमा जिरो वाटको बत्ती बालेर एक्लै बसेका थिए । मलाई इसाराले बस्न भनेपछि म बसें । एक प्रकारको सन्नाटा थियो त्यहाँ । उनले विस्तारै भने तपाईंहरु मेरै कार्यालयका कर्मचारीले सरकारको आलोचना गर्ने ? के चाला हो यो ? मैले कुरा बुझिहालें । मैले भनें, सर फलाना आउनु भएको थियो ? उनले भने हो आउनु भएको थियो, तपाईंलाई कसरी थाहा भयो ?  मैले सवै बेलिविस्तार गरेपछि पो थाहा भयो तिनै पूर्व पन्च आएर तपाईंका कर्मचारी नै सरकारले महंगी बढायो भनेर सरकारको आलोचना गर्दै हिंडछन् भनेर सुनाएका रहेछन । सत्य कुरा जानकारी भएपछि उनले मलाई हाँस्दै भने ल ल  कुरा बुझें, हुन्छ जानुस ।

 

 

 

 

 

 

Comments

NIC Asia