MENU
 मकवानपुरगढी र पृथ्वीनारायण शाह
 : 307 views
-डा. मदन रिमाल    Jan 10, 2019

 

भोली पौष २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती ।  यसै अवसरमा प्रस्तुत छ नेपाल एकीकरणका नायकको ससुराली राज्य मकवानपुरगढीको इतिहास ।  

 

 

-डा. मदन रिमाल 

 

सन् १३०३ मा दिल्लीका सुल्तान अलाउद्दिन खिलजीले चित्तौरागढमाथि आक्रमण गर्दा त्यहाँका राजा र प्रजाले देखाएको पराक्रमले गर्दा त्यस बेलाका हिन्दु राजा र जनताहरु त्यहाका वीर योद्धाहरुसंग आफ्नो सम्बन्ध देखाउन गौरब महशुस गर्दथे । मध्यकालमा विभिन्न राजवंशका शासकहरु पनि आफ्नो पुर्खौली सम्बन्ध यिनीहरु संग गास्ने गर्दथे । भारतमा पर्ने राजस्थान क्षेत्रको  चित्तौरा राज्यका वीर सिसौड़ीया वंशसंग देखाउने र उनीहरुका गाथाहरुसंग आफ्नो सम्बन्ध कायम गर्ने गर्दथे । भारतमा मुसलमान राजाहरुको आतंकले उत्तराखण्डतिर पस्न बाध्य भएका विभिन्न कुलका क्षेत्रीयहरुले पनि आफ्नो स्वतन्त्र राज्य कायम गरेपछि चितौरागढ राज्यबाट आफ्नो पुर्खा आएका भनि गर्ब गर्दथे । यिनै मध्ये चितौराका राजा चित्रसेनसंग गाँसिएका तुलासेन राजाले मकवानपुरगढी निर्माण गराएको बिस्वाश गरिन्छ (सेन बंशावली )। यिनै तुलासेनको बंशमा पछि रुद्रसेन भए जसले पाल्पाली सेन राजबंशको स्थापना गरे ।

 

अनुमानित : सन् १४८६ देखि १५१८ सम्म रुद्र सेन पाल्पाका राजा भएका थिए । उनीपछि उनका छोरा मुकुन्दसेन (प्रथम ) पाल्पाको राजगद्दीमा बसे । यिनले सन् १५१८ देखि १५५३ सम्म राज्य गरे भन्ने अनुमान गरिन्छ । मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले पूर्व तराईको स-साना राजा-रजौटा र जिम्दारीहरुलाई जितेर आधुनिक नेपालको पूर्वी सिमा सम्म सेन राज्य को विस्तार गरेका थिए । मुकुन्द सेन बिजयी र पराक्रमी हुनुका साथै त्यागी, बिध्याप्रेमी र धर्मात्मा ब्यक्ति थिए । आफ्नो बिशाल राज्य आफ्ना छोरा नाती र भतिजाहरुमा विभक्त गरि यिनले आफ्नो जीवनको अन्तिम समय देबघाटमा तपस्या गरि बिताए ।

 

यिनी मुनिमुकुन्द सेन वा मणिमुकुन्द  सेन भनि प्रसिद्द भएका हुन् । मुकुन्द सेनका नाती हरिहर सेनको अन्तिम समयमा मकवानपुरको सेन राज्य दुइ टुक्रा हुन गयो । पूर्वमा विजयपुर विधाता इन्द्रसेन र मकवानपुर शुभ सेनको राजधानी कायम भयो । शुभ सेनका छोरा मनिक्य सेनले सिन्धुलीमा मजबुत गढी बनाएका थिए । यिनैले राजधानी भएको मकवानपुरको डांडामा पनि गढी बनाएर भारतको बेतिया तर्फबाट उत्तर बिहारमा ओर्लिने नयाँ  बाटो खोलि त्यस बाटोको सुरक्षाकालागि तल ओर्लने ठाउँमा  पर्सा गढी बनाएका थिए । यस प्रकार तत्कालिन नेपाल राज्यको गढी प्रसिद्द हुन गयो।

 

सन् १७३८ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको बिवाह मकवानपुरका राजा हेमकर्ण सेनकि छोरी इन्द्रकुमारीसंग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसंग पृथ्वीनारायणशाहको सम्बन्ध राम्रो थिएन ।  हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणशाहले हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसंग झगडा परि फर्केका थिए ।

 

 

किर्तिपुरको युद्दपछी  पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आर्थिक नाकाबन्दी गर्ने सिलसिलामा मकवानपुर बिजयी गर्न आवश्यक ठाने । यसको साथै मकवानपुर राज्यको दक्षिण सिमासम्म तत्कालिन भारतको अंग्रेज शासकहरुको अधिपत्य बढिरहेको हुनाले पनि उनले मकवानपुर विजय गर्नु पर्ने भएको थियो । उनि यसकालागि योजना बनाउन थाले । सन् १७५९ मा मकवानपुरका राजा हेमकर्ण सेनको मृत्यु भएपछी दिगबंधन सेन मकवानपुरका राजा भए । यिनले काठमाडौँ उपत्यका मल्ल राजाहरुको पक्ष लिएको हुनाले  पृथ्वीनारायण शाहलाई मकवानपुर आक्रमण गर्न आवश्यक हुन गयो ।

 

काठमाडौँ दहचोकमा बसेर उपत्यकामा आर्थिक नाकाबन्दी गरिरहेका पृथ्वीनारायण शाहले मकवानपुर विजय गर्न सैनिक संगठन मजबुत बनाए । आफु दहचोकमै बसेर युद्द संचालन गर्ने निधो पृथ्वीनारायण शाहले गरेका थिए । दहचोकबाट हिडेको एघार सय जवानको गोर्खाली सैनिकदल २० अगस्त १७६२ मा मकवानपुर बिजय गर्न मकवानपुरमा घेरा हालेर बस्यो । यो आक्रमण को सुइँको पाएर दिग्बन्धन सेनले आफ्ना परिवारलाई हात्तीमा चढाई चालिस किलोमिटर जति टाढा पूर्वमा रहेको हरिहरपुर गढ़िमा पठाई आफु किल्ला बाहिर टाढा रहेर गोर्खाली आक्रमणको दृष्य हेरिरहेका  थिए।

 

२१ अगस्तका दिन किल्लामा आक्रमण गर्ने साइत थियो । गोर्खाली सैनिकदलले किल्ला घेरी शत्रुलाई बाहिर निकाली दिनको एघार बजेदेखि लडाई सुरु गर्यो । लगभग आठ घण्टासम्म घमासान युद्द भयो । रातको समयमा मकवानी सैन्य हार खाई किल्ला छोड्न बाध्य भए ।यस लडाईमा गोर्खालीहरुको एक सय जनाजति हताहत भए भने एक हजार जति मकवानी सेना हताहत भए भन्ने अनुमान गरिन्छ । बचेका सैनिक लिएर दिग्बन्धन सेन र दिवान कनकसिंह बानियाँ समेत हरिहरपुरगढी तर्फ लागे ।

 

मकवानपुरमा विजय हासिल गर्न पूर्व सिन्धुली गढी विजय  गर्न आवश्यक थियो । २१ सेप्टेम्बरका दिन गोर्खाली सैन्य सिन्धुली गढीमा घेरा दिन पुग्यो । बाटामा परेका गाउँहरु बिनारक्तपात संग दखल गरियो । विजयादशमीको चाड मनाई गोर्खाली सैन्यले २ अक्टोबरका दिन सिन्धुली गढीमा आक्रमण गर्यो । लडाईमा पचपन्न जवानजती  गोर्खाली सैनिक र तिन सय जवान जति मकवानी सैनिक हताहत भए । सिन्धुलिगढ़िमा विजय हासिल गरि गोर्खाली सैनिक हरिहरपुर गढी विजय गर्न हिडे । ४ अक्टोबरका दिन हरिहरपुर गढीमा आक्रमण गरियो । मकवानपुरका सैनिक आधारात ढलेसम्म लडिरहे र ५ अक्टोबरका दिन मकवानी सैनिकले गढी खाली गरिदिए । यस लडाईमा पाचसय जति मकवानपुरका सैनिक हताहत भए । मकवानपुरका राजा दिग्बन्धन सेन र दिवान कनकसिंह बानियाँ सम्पति र हात्तीहरु समेत लिएर खुन्द घत (बागमती नदीको छेउ )पुगे । उनीहरुले उत्तर विहार आइरहेका नबाब कसीमअलि खानलाई सहयोगका लागि निम्त्याए ।

 

नेपाल उपत्यकामा प्रसस्त सुन र देबस्थानहरुमा चढाएका धन सम्पत्ति प्रसस्त छन् भन्ने सुनेका कसीमअलि  खानले सम्पत्ति पाउने लोभ गर्न थाले । उनले गुरगिन खानको नेतृत्वमा दुइहजार सैनिक र एकहजार पिपालाई मकवानपुर बिजय गर्न पठाए । ६ जनवरी ,१७६३ का दिन भुगल सैनिक दल मकवानपुर आइपुग्यो । अंग्रेजी ढाँचामा बर्दिलगाएका, आधुनिक बन्दुक र तोप समेत लिएका गुरगिन खानको सैनिकले मकवानपुरलाई घेरा हाल्यो । दहचोकमा बसेर नेतृत्व गरिरहेका पृथ्वीनारायण शाहले सो थाहा पाई काजी बंशराज पांडे र बख्शी नहारसिह  बस्नेतको नेतृत्वमा आवश्यक गोर्खाली सैन्यदल पठाए ।

 

२० जनवरीका दिन सो सैन्यदलले शत्रुहरुमाथि हमला गर्यो । शत्रु भागाभाग भए । गुरिल्ला लडाई जानेका गोर्खाली सैनिकले भाग्न लागेका शत्रु एक एक गरि सत्रसय जवानलाई मार्न सफल भए  । यस लडाईमा लगभग एक सय जति गोर्खाली सैनिक हताहत भए।  गुरगिन खान दिग्बन्धन सेनबाट सहयोग नपाएको  हुनाले रिसाएर  ज्यान बचाई भारत तर्फ भागे । यो लडाईमा गोर्खाली सेनाले विभिन्न सैन्य समान, दुइ वटा तोप र पांच सय जति बन्दुक हात पर्यो । गोर्खाली सेनाको बिजयको खबर सुनेर  पृथ्वीनारायण शाह स्वयं मकवानपुर गए र प्राप्त सामरिक महत्वका हात हतियार देखेर खुशी भए।

 

यसपछि पृथ्वीनारायण शाह गोर्खालीले विजय हासिल गरेको हरिहरपुर गढी पुगे । खुद घाटमा बसेका दिग्बन्धन सेन र उनका परिवार पृथ्वीनारायण शाह हरिहरपुर पुगेको थाहा पाई सार्है डराएका थिए । १३ फेब्रअरीमा पृथ्वीनारायण शाहले उनीहरुलाई पक्राउ गर्न सैनिक पठाएको थाहा पाएर दिगबंधक सेन, उनका छोरा, आमा र बहिनी भाग्न सफल भए । तर उनकी रानी, छोरि र सात हात्ती पक्राउ परे । केहि दिनपछि दिगबंधन सेनले आत्म समर्पण गर्ने खबर पठाए । पृथ्वीनारायणशाहले उनीलाई ल्याउन डोली पठाए । बहिनी इन्द्रकुमारीसंग बिबाह गर्दाका समयमा पृथ्वीनारायणशाहले माग  गरेको हात्ती र गजमोतिहार दिगबन्धन सेनले समर्पण गरेर  पृथ्वीनारायणशाहलाई खुशी पार्ने प्रयास गरे । पछि उनीहरुलाई पृथ्वीनारायणशाहले जीवनभर गोरखामा नजरबन्दमा राखे । यस प्रकार महत्वपूर्ण एतिहासिक, सामाजिक दृष्टिले महत्वपूर्ण रहेको ब्यापारी  मार्ग   कब्जा गर्न  पृथ्वीनारायणशाह सफल भए । मकवानपुर राज्यको गोर्खा राज्यमा बिलय भयपछि  कमला नदिसम्मको उब्जाउ फाट, पर्सा, बारा, रौतह, सर्लाही   र महोतरी  समेत गोर्खा राज्यको अभिन्न अंग हुनपुग्यो । मकवानपुरमाथिको यो विजयनै  पृथ्वीनारायणशाहको एकीकरण अभियान  सफल पार्ने एक सहयोगी  माध्यम बन्न पुग्यो ।

 

मकवानपुर सम्बन्धि एक रोचक वर्णन 

सन् १७५६मा भारत आइपुगेका पादरी मारको सन् १७७३ सम्म भारतमा बसेका थिए । उनको बयान अनुसार भारतको बेतिया भएर नेपाल जानु पर्दछ, उतरपूर्व तिर लाग्न्नु पर्दछ तीन दिनसम्म बाघ, भालु, गैडा बास बस्ने र अग्ला घास भएको  ठाउँबाट हिड्नुपर्दछ । त्यसपछि सानो डाँडाको फेदमा पर्सा भनिने जंगलको बिचमा रहेको किल्ला पुगिन्छ । त्यहा यात्रीहरुले कर तिर्नुपर्छ । फेरी त्यहाँबाट अनेक जंगल तर्नुपर्छ र साँझमा बेसिया खोर आइपुगिन्छ । त्यहाँ बाघबाट बच्न बास बस्नुपर्छ । आगो बालेर रातभरि जाग्राम बसिन्छ । त्यहाबाट पहाड सुरु हुन्छ । दोस्रो रात हेटौडामा बास  बस्नुपर्छ जुन नक्वामपुर (मकवानपुर ) को सिमा हो । त्यही ठाउँमा सन् १७६३ मा कस्मलिकन (कसीम खान) का सेनाले बाटो बिराएका थिए ।

 

तिनीहरु नेपाल जित्ने हेतुले आएका थिए । तर बाटो बिराएर मकवानपुरतिर लागेछन र त्यहाँका तीन किल्लामध्ये एकमाथि हमला गरेछन उनीहरुलाई एक जना पुरुष र दुइ जना महिलाले बहादुरीकासाथ भगाएछ्न ।  तीन जनाले ढुंगा हानेर नै दस हजार मान्छेलाई भगाउन सफल भएछन् । दुइ दिन पछि पाँच जना एक महिना पछि अरु पाँच जना किल्ला पसेछ्न । यी १२ जना राति घुम्न निस्केर एउटा  मुसलमान क्षेत्रमा घुसेछ्न र हजारौ मान्छे मारेछन । कसिमका सेनाले  त्यस रात ६ हजार मान्छे घुमाए । स्थानीयहरुले बाँकि सोझा साझा  आक्रमणकारीहरुलाई उनीहरुले तिन दिन भित्र पहाड छोडी गएमा केहि नगर्ने तर ढिला गरे भनि बाहिर निस्कने भन्ज्यांगहरु सबै थुनेर तिनीहरुलाई  धुलो पिठो पार्ने चेतावनी दिएर भगाए  ।

 

स्रोत पुस्तक:

१ बाबुराम आचार्य , श्री ५  बडा महाराज धिरज पृथ्वीनारायणशाह को सन्क्षिप्त जिबनी २०६१ बि.स

२ बालचन्द्र शर्मा ,नेपालको एतिहासिक रुप-रेखा २०२२ बि.स.

३ सिल्मा लेभी ,नेपाल हिन्दु अधिराज्यको इतिहास (पहिलो खण्ड ) ,(अनुवादक :डिल्लीराज उप्रेती ) २००५ ई

४ दुंडी  राज भण्डारी ,नेपालको एतिहासिक बिबेचना २०१५ बि.स.

Comments

NIC Asia