MENU
अन्यौल
 : [views]
-ध्रुव मधिकर्मी   Jan 12, 2019

 

– खै, यसै भन्न सकिएन .. कुनै समाधान छैन । एउटा अप्रत्यक्ष सन्नाटा व्याप्त छ । समय ढल्नुबाहेक परिवेशमा अरु परिवर्तन छैन । भोलिको सोचेर मान्छे सके समयको गति नै रोक्न चाहन्छ ।

 

-ध्रुव मधिकर्मी

 

– हेलो …
– हैलो, सुस्केरा टाइप प्रत्युत्तर स्वर । अलिकति हाँसेर औपचारिकताको आदान– प्रदान । तर दाँतको प्रस्तुति छैन । केवल हातहरु एकापसमा टप्प जोडिन्छन् ।

– के छ हालचाल ?
– केही छैन ।
– अनि तेरो …?
– बरवाद छ ।

अनुहारमा कुनै फूल छैन । कोपिला पनि छैन । आसपास रुखहरु नाङ्गिदै छन् । दुवै क्षणांश मौन तर समय मौन छैन, त्यो आफ्नो गतिमा छ । तिनीहरुका थकित एवं सुस्त आँखाहरु सडकमा बजारमा सलबलाउन खोजिरहेछन् । निरर्थक खोजी । फगत् ट्वालट्वालती चुहिएको स्खलित सपनाहरुजस्ता ।

– कस्तो उदास छ मौसम .. ।
– मौसम उदास छ कि हामी ….।
– मौसम पनि विभक्त छ नि ….।
जवाफ छैन । समर्थनमा केवल टाउको हल्लाउँछ ।
– के गर्ने ?

प्रश्न । तर कोहीसँग जवाफ छैन । चुपचाप । आकलझुकल हेराहेर । पर सडक छ । सडकसँग फुटपाथ छ । र त्यहाँ व्यस्तता छ । व्यस्ततामा मान्छेहरु कोही प्रतीक्षारत त कोही ओहोर– दोहोर गरिरहेछन् । सडकसँग टाँसिएको बजार झिलिमिली छ । सम्पूर्ण वातावरणमा एकप्रकारको खल्लो कोलाहल छ ।

– बोल न किन चुप ?
– के बोल्ने ?
– जे भए पनि ..
– बोलेर के फाइदा … जे पायो त्यही बोल्न … ।
– किन सोच्नुप¥यो फाइदा बेफाइदा
– पेटको कारणले …
– त्यसो भए तेरो जागिर छ ।
– होइन आमाबाबुको पीर छ ।
– एकछिन पेटलाई पर राख न …, ठट्टामा उडाउँदै अनौठो सल्लाह दिन्छ ।
– सके यसलाई सधैंको लागि पर राख्न पाए हुने हो ।
– दर्शन नछाँट न यार.. ।
– प्रत्यक्ष भन न, जिन्दगी नबोल …
– यो त झन कविता भो ।
– अर्थ आउने गरी जिन्दगीलाई कुनै पनि शब्दले इङ्गित गर्न सकिन्छ ।
– उफ् वर्तमान ! .
– यो जिन्दगी … के गर्ने ?

प्रश्वास ! पर सडक छ, जहाँ धेरैको बाटो अलमलिएको छ । सँगै फूटपाथमा एकजना प्रहरी नाङ्गले पसलेसँग कराइरहेछ । व्यस्तता र विवाद त्यतिकै छ ।

– मलाई त यो शहरदेखि विरक्त जागिसक्यो … आखिर के छ यो शहरमा ?
– केही छैन ?
– अहँ .. ..
– अनि के हेरेर पस्यौ त ?
– भो घाउ नकोट्याऊ …

– हैन भन न … तिमी जुन सपना बोकेर पस्यौ …त्यस्तै मात्र सपना बोकेर यहाँ कति मान्छेहरु आइरहेछन् । धेरैले सपनालाई यथार्थ पनि बनाइसके । आज हालत यो छ कि यहाँबाट रैथानेहरु क्रमशः पलायन गर्न खोज्दै छन् ।

– यस्तै छ विस्थापित कोही गाउँबाट .. कोही शहरबाट …

– एउटा कथा त याद होला … एउटा विशाल मरुभूमिमा प्रचण्ड घाम लागेको बेला प्यासले छट्पटिएर एउटा मृग पानी खोज्दै खोज्दै आउँछ । घामको थुप्रोलाई ऊ पाइलैपिच्छे पानी सम्झेर भौंतारिइरहन्छ , तर पानी भेट्टाउन सक्दैन । यहाँसम्म कि पटकैपिच्छे भ्रम भोगेर पनि त्यसदेखि नितान्त अनभिज्ञ भइरहन्छ । यसैलाई मृगतृष्णा भनिन्छ ।

– हो, यस्तै भइरहेछ आज शहर …

फेरि एक पटक तिनीहरुका बीच सानो मौन आएर थपक्क बस्छ ।
– जिन्दगीमा केही उपलब्धि छैन ।
– यसैले निराश लाग्छ
– तर यसरी निराश हुनु ठीक छैन ।
– था’छ … तैपनि … ।
– खै के गर्ने ?
– हँ ….

भर्खर सूर्यलाई छोपेर बसिरहेको एक ढिका बादल पर भाग्छ । बादलले ओगटेको घाम फेरि पोखिन्छ भइँमा ।

– घाममा बसे गर्मी, छायामा बसे जाडो …कस्तो अप्ठेरो समय !
– त्यस्तो टापु जसको अगाडि आगो, पछाडि पानी तर हामी त्यसै बस्न पनि मन पराउँदैनौं, चलहल पनि गर्न नसक्ने स्थिति …

– ओहो ! कस्तो उच्चाटलाग्दो समय ..
फुटपाथमा बसेर कुरा गरिरहेका दुई तीन जना मान्छेहरु एकासि हाँस्न थाल्छन् । यसै बेला एक डफ्फा केटीहरु गल्लीबाट निस्केर बाटो काट्न थाल्छन् ।

– यी ठिटीहरुलाई कति फेसन गर्नुपर्ने … ।
– नत्र कल्ले हेरोस् त …?
– ल भन त मानिसहरु यिनीहरुलाई हेर्छन् कि फेसनलाई ..?
– कहाँबाट आयो होला त्यत्तिका पैसा … ।
– होला प्रेम प्रकरणको प्रसाद … ।
– के मतलब हामीलाई ।
– त्यो बीचकी राम्री छ है ।

प्रसङ्ग बदलिन्छ । सबका आँखाहरु त्यतैतिर हानिन्छन् । क्रमशः अनुहारबाट खुशी प्रस्फुटित हुन थाल्छ । यही एउटा गफ छ जसमा मान्छेहरु स्वयँलाई पनि चुर्लुम्म डुबाउन पुग्छन् ।

– तेरो बिहा भो ?
– छैन .. ।
– नगर्ने त ? यतिका ठिटीहरु हेरेर कसरी बस्न सक्छस् हँ ? मनभित्र कस्तो कस्तो हुँदैन ?
– किन नहुनु ।
– त गरिहाल न …भोज नखाएको धेरै भो …
– बिहे गरे पैसासँग गर्ने …, प्रत्युत्तर सुनेर अर्को पक्क पर्छ ।
– अनि तेरो भो त ?
– भो, मरेको स्वरमा जवाफ दिन्छ ।
– वाह ! मोज भइहाल्यो नि …

– भुत्रो मोज, बन्धनमा फँसेर कस्तो ! आमाबाबुलाई के छ र …खुरुक्क एउटीसँग गाँठो कसिदियो जिम्मेवारीबाट मुक्त …खप्नुपर्ने त मैले हो नि । अब त यी ठिटीहरुलाई हेर्दा घरकी सम्झेर रुन मन लाग्छ …, ऊ पीडा सुनाउँछ ।

अर्को मरी मरी हाँस्छ ।
– रोएर के फाइदा …?
– हाँसेर पनि के फाइदा … ।
– तब …..
– खै, यसै भन्न सकिएन .. कुनै समाधान छैन । एउटा अप्रत्यक्ष सन्नाटा व्याप्त छ । समय ढल्नुबाहेक परिवेशमा अरु परिवर्तन छैन । भोलिको सोचेर मान्छे सके समयको गति नै रोक्न चाहन्छ ।

– चिया खानुपर्ने….
– उधारो दिने होटल यहाँ कहाँ होला ?, दोश्रो जिल्ल पर्छ । शब्दको अभाव छ ।
– समय बिताउन कति गाहारो …
– समय अर्थात् जिन्दगी … !
– अँ ..
– खै गर्ने के ?
– निश्चित छैन ।
– हामीभित्र जिजीविषा छ तर भोग्न परिरहेछ विभीषिका …
– के गर्ने ?
यहाँ पनि उत्तरको अभाव छ ।
– भन हामी के गर्न सक्छौ ?
– खोई म त केही गर्न सकुँला जस्तो देख्दिनँ ।
– परिवेशै यस्तो छ ।
– बुझ्यौ हामीमा साहसकै कमी छ ।
– साहस छ तर कायरता देखाउने साहस, हाम्रो साहस यही हो कि हामी गौरवका साथ भन्छौ , यो गर्न सक्तैनौं

– उः गर्न सक्तैनौं …
फेरि पनि सन्नाटाको स्थिति । उक्त दिनको समय किनारमा पुग्दैछ ।
– केही त गर्न पर्ने हो … वास्तवमा समयको ठूलो महत्व छ …
– त्यै त चुप लागेर बस्ना कामै छैन ।
– तब …
– केही त गर्नै प¥यो…
– भन न के गर्ने ?
– कुनै पनि …केही पनि ..
– त उठिहाल केही गरौं …
– हुन्छ .. तर एकछिन पख न ..
– हैन अब ढिलो किन ?
– उठिहाल्ने र !

– अँ, घर पनि त फर्कनु पर्यो नि …

घाम ओरालो लागिसक्यो । अब चिसो बतास चल्न थालेको छ । विधवीको जिन्दगीजस्तो फुङ्ग उडेको देखिइरहेछ निन्याउरो साँझ ।
जिन्दगी सामान्य छ ।

००

Comments

NIC Asia