MENU
कसले, कहाँ,कसरी मनाउँछन् माघे संक्रान्ती अर्थात घ्यःचाकु सल्हु
 : 153 views
-सुनिल उलक   Jan 15, 2019
-सुनिल उलक

 

माघ महिनाको संक्रान्तिको दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएको हुदा यस दिनलाई मकर संकान्ति पनि भन्ने गरिन्छ । समग्रमा भन्नु पर्दा माघे संक्रान्ती महिलाहरुको लागी मनाइने बिशेष पर्व हो । पुरुषप्रधान हाम्रो समाजले एक दिन महिलाहरुको सम्मान गर्दै माईत बोलाउने मिठो मिठो खुवाउने र अन्तमा घर जाने समयमा पनि कोसेलीको रुपमा खानेकुरा पठाइदिने गरिन्थ्यो । तर अचेल महिला आफै सक्षम भइसकेको अवस्थामा क्रमश यो चलन हराउदै गएको देखिन्छ ।

 

 

-पौराणिक कथन अनुसार ईच्छा मृत्युको बरदान पाएका भिष्म पितामहले आजकै दिन मृत्युवरण गरेका थिए । साथै यसै दिन भगिरथको लामो तपस्या पछि महादेवले बरदान स्वरुप आफ्नो शिरमा रहेको गंगालाई पृथ्वीमा अवतरण गराएका थिए ।

 

– सबैभन्दा महत्वपूर्ण किराँतहरु यसै दिनबाट नयाँ वर्षको शुभारम्भ मनाउछन । काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा टासेर टीका लगाएपछि नया वर्षको स्वागत गर्दछन । किराँतहरु आफ्नो सम्बतलाइ किरात येले सम्बतको रुपमा मनाउने गर्दछन । यस सम्बतको ३७९८ साल यसै वर्षको माघ १ गते पुग्नेछ । केही बिवाद भए पनि यसलाइ नै मान्यता प्रदान गरिएको देखिन्छ । यो सम्बत यलम्वर फाउन्डेशनबाट प्राप्त जानकारीको आधारमा लेखिएको हो ।

 

– यस दिनलाई थारूहरू माघीको रूपमा मनाउने गर्दछन् । बिहानै खोलामा गएर नुहाउन जान्छन जसलाइ माघ लहानु भनिन्छ । मासको दाल र चामलको खिचडी (जसलाई माघी भनिन्छ) खाने गर्दछन् । साथै धमार गाउदै मघौटा नाच नाच्ने गर्दछन् । थारूहरू पनि चेलीबेटीलाई उपहार दिने गर्दछन् । जसलाई निसराउ भन्ने गरिन्छ ।

 

– मगरहरु खोला किनारमा गएर नुहाइ धुवाइ गरेपछि एक माना चामलमा एक माना कालो दाल मिसाएर पानीले मुछेर बनाइएको आकृतीमा बेसार अदुवा राखी पितृको प्रतिकको रुपमा घ्यूको बत्ति बालेर पितृ पूजा गर्दछन, जसलाई “डि डाँके” भनिन्छ । अघिल्लो रात देखी नै कौराहा, झ्याउरे, हुर्रा, सोरठी तथा घाटु नाच्दै मनाउछन् । आफन्तलाई बाेलाएर ख्वाउने गरिन्छ । मगरहरू पनि चेलीबेटीलाई निस्रो बाड्ने गर्दछन् ।

 

– नेवारहरू “घ्यःचाकु सँल्हु” भन्ने गर्दछन् र यस दिन घ्यू र चाकुको साथमा कन्दमुल खाने गर्दछन् । बिबाहित महिलाहरुले यस दिन आफ्नो घरको केही खानु हुदैन भन्दै माईत बोलाएर खुवाईन्छ । अन्य पर्वमा ज्वाईलाई पनि छोरीको साथ माइत बोलाउने गरिए पनि यस दिन भने ज्वाईलाई भने बोलाईदैन ।

 

– मैथिलीहरू तिला संक्रान्तिको रूपमा बाबुआमाहरू आफ्नो सन्ततिलाई सख्खर र तिल खुवाउछन् । यस दिन अबिबाहित महिलाहरु सुयोग्य पति पाउने अभिलाषाले तुसारी पर्व मनाउछन । भने बिबाहित महिलाहरु पृथ्वी पर्व मनाउछन ।

 

– पश्चिम नेपालमा यस चाडलाई चेलीत्यारको रूपमा चेलीहरूको विशेष चाडको रूपमा मनाउछन् । रातभर मुहान वा पधेरोमा आगो बालेर देउडा नाच्ने गर्दछन् । भोली पल्ट संक्रान्तिको दिन पूजा गरिसकेपछि चेली बेटीलाई पोका बनाएर रोटी र तरूल बाड्ने गरिन्छ ।

 

– रिडीको रूरू क्षेत्रमा पनि ठूलो मेला लाग्ने गर्दछ ।

– देवघाटमा पनि निकै ठूलो मेला लाग्ने गर्दछ ।

– पाेखरामा पनि ढुङ्गेसाँघुमा मेला लाग्ने गर्दछ । ५०-६० वर्ष पहिले पाेखराको बास्तोलाथरको खाली चौर (हालको महेन्द्रपुलको बजार रहेको क्षेत्र) मा मेला लाग्ने गर्थ्यो ।

 

यहि माघे संक्रान्तिको दिन बिभिन्न स्थानमा बिभिन्न जातिले आज भन्दा ४०-५० वर्ष पहिले मनाइएको मेला तथा उत्सवको झलकहरू राखेको छु ।

 

 

Comments

NIC Asia