MENU
पृथ्वीनारायण शाहको उध्रिन लागेको सपना सिलाइदिने बिसे नगर्ची
 : [views]
  Jan 15, 2019

अतिसामान्य पृष्ठभूमि भएका बिसे नगर्ची नाम गरेका व्यक्तिले राज्य विस्तारको महत्वाकाङ्क्षा बोकेका गोरखाका राजा पृथ्वीनारायण शाहलाई युद्धका लागि खर्च जुटाउने जुक्ति सिकाइदिएको जनश्रुति छ।

नेपाल एकीकरण गर्न कस्सिएका राजालाई सल्लाह दिन सक्ने क्षमता र सम्बन्ध भएका बिसे नगर्ची को हुन् र उनको नेपालको इतिहासमा कस्तो स्थान छ?

‘गोरखा दरबारको पुरानो नगर्चीको सिलाइ पसल”

गोरखा बजारबाट कालिका मन्दिर जाँदा बाटोमा पर्ने हटियाथोकमा केही सिलाइ पसलहरूमा माथि उल्लिखित ब्यहोराको बोर्ड टाँगिएको देखेपछि जिज्ञासावश सोधखोज गरेँ।

‘बिसे नगर्चीको नाम सुन्नुभएको छैन? हामी उनैका सन्तान त हौँ नि!’ पसलमा रहेका श्यामबहादुर नगर्चीले भने।

नेपाली इतिहासको एक महत्त्वपूर्ण पात्र बिसे नगर्चीको नाम सुनेपछि अलिकति चाख बढ्नु स्वाभाविकै थियो।

तर श्यामबहादुर र वरिपरि उस्तै ब्यहोराको बोर्ड टाँगेर सिलाइबुनाइको काम गरिरहेका कसैलाई पनि हामी बिसेकै सन्तान हौँ भन्नेबाहेक बिसे नगर्चीबारे गहिरो जानकारी थिएन।

श्यामबहादुर भन्छन्, “हाम्रा पुर्खा बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई देश बनाउन चाहिने खर्च उठाउने अक्कल सिकाउनुभएको थियो। आफैँले एक रुपैयाँ दिएर राज्यको ढुकुटी बढाउने काम थाल्नुभएको थियो। हाम्रा पुर्खा गोरखा दरबारमा नगरा बजाउने काम पनि गर्थे।”

मूलधारको इतिहास
आक्कलझुक्कल केही सामग्रीमा बिसे नगर्चीको नाम भेटिएपनि नेपालको मूलधारको इतिहासबाट उनको नाम लुप्तप्राय: छ।

राजालाई सल्लाह दिने र राज्यलाई नागरिकले ढुकुटी भर्न चन्दा दिने नागरिक बिसे नगर्ची गोरखा दरबारमा सिलाइबुनाइ गर्ने, नगरा बजाउने, कटुवाल फलाक्ने र पृथ्वीनारायणको गोरखा राज्य विस्तारको अभियानमा गोरखाली फौजसँगै लडाइँमा नगरा बजाउन हिँड्ने गरेको देखिन्छ।

थोरै जनसङ्ख्या भएको त्यस समयमा लडाइँ गर्न सक्ने बलिया पाखुरा भएका मानिसको सङ्ख्या निकै कम थियो।

विस्तारको अभियानमा लागेको राज्यलाई सेनामा र राज्यका अरू काम गर्न युवकहरू चाहिएको थियो।

बिसे नगर्चीले नगरा बजाउने र सिलाइबुनाइ गर्नेबाहेक लडाइँमा सिपाहीको रूपमा पनि काम गरेको सैनिक इतिहास एवम् गोरखालीहरूको राज्यविस्तारको इतिहाससँग सम्बन्धित सामग्री पढ्दा थाहा पाइन्छ।

बिसे नगर्चीको नालीबेली
बिसे नगर्चीको न्वारनको नाम विशेश्वर नौवाग थियो।

पृथ्वीनारायण शाहले बिसेलाई “तँ मेरो बुवाको पालादेखिको काठोभोटो गर्ने बूढो दमै” भनेबाट बिसेको जन्म विसं १७५० भन्दा पहिल्यै गोरखा बजारनजिकै रहेको जर्किनडाँडामा भएको अनुमान गर्न सकिन्छ।

गोरखा दरबारमा नगरा बजाउने काम गर्नेलाई ‘नगार्ची’ भनिन्थ्यो। पछि नगर्ची भन्न थालियो।

के पृथ्वीनारायण शाहलाई ‘बाघले खाएको’ थियो
तत्कालीन समयमा गाउँलेहरू विभासको धुनसँगै ब्युँझिन्थे र आरतीको धुनपछि सुत्थे।

बिहान सनई बजाएर ‘राग विभास’ बाट मानिसलाई ब्युँझाइन्थ्यो। राग विभास भालेको प्रात:कालीन वाग (डाँक) सँगै बजाइन्थ्यो।

त्यसबेला वाग (डाँक) हाल्ने पेसा गर्नेहरूको थर नववाग वा नौवाग थियो। यसरी बिसे दमाईँ जातका नौवाग थरका नागरिक भएको रामशरण दर्नालले आफ्नो पुस्तक ‘बिसे नगर्ची’ मा लेखेका छन्।

पृथ्वीनारायण शाहको समयभन्दा पहिलादेखि नै गोरखा दरबारमा प्रशस्ति गाउने भाटदेखि सगुनी फुक्ने दमाईँसम्म, साइत निकाल्ने ज्योतिषीदेखि गाथा फलाक्ने गाइनेसम्मको दरबन्दी रहेको देखिन्छ।

बिसेपछि उनका छोरा दुब्ल्याहा दमाईँले नगार्ची पदमा काम गरेको विसं १८४६ को लालमोहरमा उल्लेख छ।

बिसे नगर्चीकी वंशज तिलकुमारी गोरखा तेह्र किलोमा बस्छिन्। उनका अनुसार दुब्ल्याहाका छोरा सगुने, सगुनेका छोरा जमाने हुँदै गजमाने, डम्बरे, चखते, गणेशे र मछिन्द्र, मनबहादुर, यादवबहादुर, शिव र शङ्करसम्म आइपुगेको छ।

शङ्कर बिसेको चौधौँ पुस्ताका हुन्।

शङ्कर भन्छन्, “यस्तो रे, उस्तो रे भन्नेबाहेक हामीसँग जिजुबाजे बिसेको कुनै लिखत छैन।’

पछि पृथ्वीनारायण शाहले गोरखाबाट राजधानी काठमाण्डू सारे। नगार्ची पद उनका नाति रणबहादुर शाहको पालामा काठमाण्डू हनुमानढोका देगु तलेजु मन्दिरको नित्य पूजा गरेपछि नगरा बजाउने चलन सुरु हुँदा पनि कायम भएको देखिन्छ।

अहिले वासुदेव परियारका दाजुभाइ त्यहाँ नगार्चीका रूपमा कार्यरत छन्। उनीहरू पनि आफूहरूलाई बिसेको परिवारकै रूपमा चिनाउन रुचाउँछन्।

गोरखा कालिका दरबारमा अझै पनि नगार्ची पदको दरबन्दी छ। तर नियमित रूपमा तलब दिन छाडिएपछि नियमित नगरा बजाउने काम समेत रोकिने गरेको श्याम नगर्चीले (परियार) गुनासो गर्छन्।

द्रव्य शाहको पालादेखि नै
गोरखामा द्रव्य शाहको शासनकालपछि नगार्ची पद सिर्जना गरिएको देखिन्छ।

विसं १६६६ को छत्र शाहको नगरा भेटिएकाले त्यसअघि नै नगरा प्रचलनमा रहेको ठम्याउन सकिन्छ। तर सबै अभिलेख नराखिएको हुनाले यति सालदेखि भन्ने स्पष्ट प्रमाण भने छैन।

नरभूपाल शाहको पालामा नगार्चीलाई सङ्क्रान्ति खर्च भनेर एक-एक मोहर दिइएको लालमोहरमा उल्लेख छ। तर त्यसरी मोहर पाउनेहरूको नाम भने भेटिँदैन।

शाहकालीन समयअघिको गोरखा आफैँमा पनि अनेक स्थानीय रजौटाहरूको भागमा विभाजित थियो।

द्रव्य शाहको समय हुँदै पृथ्वीनारायणको समयसम्म आइपुग्दा चेपे नदीदेखि नुवाकोटको सीमासम्म र मर्स्याङ्दीदेखि सामासम्म फैलिएको थियो, गोरखा।

यति सबै गर्दा पनि गोरखामा जम्मा छ हजारदेखि आठ हजार रुपैयाँ वार्षिक कर उठ्थ्यो।

त्यति रकमले पृथ्वीनारायणलाई हतियार किन्न काशी जानका लागि खर्च अपुग भएको थियो।

तत्कालीन समयको एउटा घोषित पद्धति नै थियो – प्रत्येक राज्यले आफ्नो सीमा बढाउने प्रयास गर्ने।

त्यस्तै परिस्थितिमा गोरखा राज्य विस्तारको अकल्पनीय र महत्त्वाकाङ्क्षी सपना पालेर हुर्किँदै गरेका पृथ्वीनारायण शाह नुवाकोट लडाइँमा गोरखाली फौजको पराजयपछि अनिवार्य रूपले गोरखाली फौजको स्तरोन्नतिका लागि हातहतियार खरिद गर्ने र सैन्य तालिमका लागि तालिमे जुटाउन काशी जाने निष्कर्षमा पुगेको बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ मा लेखेका छन्।

राज्यकोषमा खडेरी
ठिक त्यही बेला गोरखा राज्यकोषमा भने नुवाकोट युद्धका कारण खडेरी नै उत्पन्न भएको थियो।

आर्थिक सङ्कटका बीच पृथ्वीनारायणले गोरखा विस्तारको सपना उध्रिँदै, च्यातिँदै गरेको अवस्थाको सामना गर्नुपरेको थियो।

सीमा विस्तार गर्दै ‘नेपाल खाल्डो’ को समेत राजा हुने सपना उध्रिँदै गएपछि पृथ्वीनारायण आफ्नो सपना तुनिदिने कुनै भरोसाको खोजीमा थिए।

पृथ्वीनारायणको त्यसरी उध्रिँदै गरेको राज्य विस्तार अभियानको सपनालाई तुनिदिने पात्रका रूपमा फेला परेका थिए गोरखा दरबारकै बालीघरे दर्जी विशेश्वर। योगी नरहरिनाथले ‘गोर्खालीहरूको सैनिक इतिहास’मा यसबारे लेखेका छन्।

नुवाकोटसँग युद्ध गर्दा गोरखाको राज्यकोष रित्तिएको थियो
दमाईँहरूबाहेक त्यस बेला अन्य दलितहरूले पनि गोरखा राज्य विस्तारको मेरुदण्डका रूपमा काम गरेका पाइन्छ।

पृथ्वीनारायण शाहले सिपालु धार्ने कामीसहितका कामी कालिगढ भर्ना गरेर युद्धका लागि आवश्यक धनुकाँड, तरवार, भाला, ढाल, भुजेली (निसीभुजीका भुजेली मगरहरूले प्रयोग गर्ने खालको ठूलो खुकुरी), खुँडा, खुकुरीहरू बनाउन लगाएका थिए। सोमध्वज बिष्टले लेखेको ‘शाही सैनिक इतिहास’ मा यसबारे उल्लेख छ।

पृथ्वीनारायण शाहको फौजविरुद्ध लड्न कप्तान किन्लकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीको फौजले “घर, सम्पत्ति जे मागेपनि दिऊँला, बाटो देखाइदेऊ” भन्दा “देशभन्दा धन ठूलो होइन” भनेर अस्वीकार गरेका थिए बाङ्गे सार्कीले।

बिसे नगर्ची, धार्ने कामी, कालु सार्की, मणिराम गाइने, बानादार दमाईँ लगायतका दलितहरू पृथ्वीनारायणको फौजका अभिन्न सारथि थिए।

लडाइँमा सहभागिता
लडाइँ सुरु गर्नुअघिको मङ्गल धुन बजाउन, लडाइँका क्रममा योद्धाहरूमा वीररस थप्न, युद्धपछि विजयी या शोक धुन बजाउन वाद्यवादकका रूपमा बिसे, बानादार, मणिरामहरू गोरखाली फौजसँगै जाने गर्थे।

हातहतियारको सरसफाइ गर्न, मर्मत गर्न र आवश्यक पर्दा चलाउन समेत कालु, धार्नेहरू लडाइँमा सँगै सामेल हुन्थे। भइपरिआउँदा उनीहरू हतियार लिएर लडाइँमा पनि होमिएका हुन्थे।

बिसे पृथ्वीनारायण शाहलाई सल्लाह दिएर उनको तुहिन लागेको गोरखा विस्तार अभियानलाई तुनिदिएर आजको नेपाल तुनिदिने दमाईँ मात्रै थिएनन्। तिनले अनेक गोरखाली मोर्चामा लडाकुका रूपमा पनि सहभागिता जनाएका थिए। लेखक बिष्टका अनुसार नुवाकोट लडाइँमा उनी पृथ्वीनारायणसँगै तीनधारेरिको मोर्चाबाट सहभागी भएका थिए।

उनीसँगै धार्ने कामी, कालु सार्की, मणिराम गाइने, बानादार दमाईँ पनि थिए।

विजयपछि बिसे र बानादारले नगरा बजाए भने मणिरामले विजय सवाई गाए। बिसेले नालदुम भिडन्त, सिह्रानचोक र अजिरकोट भिडन्तमा पनि भाग लिएका थिए।

पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी
गोरखा र लमजुङबीच सिह्रानचोकमा भएको भिडन्तमा पराजित लमजुङे फौजलाई मानमर्दन गर्न बिसे दमाईँको धोती टाँगेर लमजुङे फौजका सरदार महिधर साही र फौजलाई त्यसमुनिबाट छिर्न लगाइएको योगी नरहरिनाथ ‘गोर्खालीहरूको सैनिक इतिहास’ मा लेखेका छन्।

त्यसका अलावा स्याङ्जासम्मको भिडन्तमा पनि बिसे सहभागी भएको अनुमान गर्न सकिन्छ।

स्याङ्जाको बहाकोटमा त बिसे नगर्ची चोक नै नामकरण गरिएको पाइन्छ।

बुढेसकाल लागेपछि बिसेले राजालाई स्वतन्त्र भएर सल्लाह दिन थालेको विश्वास गरिन्छ।

कालु पाण्डेलाई काजी दिने अन्तिम सल्लाह पनि उनलै नै पृथ्वीनारायणलाई दिएका थिए ।

बिसेको मृत्युको तिथिमिति पाउन सकिएको छैन। तर उनी विसं १८२८ तिर ८२ वर्षको उमेरमा मरेको अप्रमाणित लोकस्मरणहरू भने भेटिन्छन्।

यही मङ्सिरमा गोरखाको गितारडाँडामा बिसे नगर्चीको प्रतिमा राखिएको छ।

नाटकमा बिसे नगर्ची
बिसे नगर्ची र पृथ्वीनारायणबीच गोरखा राज्य विस्तारका लागि खर्च जुटाउने सन्दर्भमा भएको कुराकानीको प्रसङ्गलाई साहित्यकार भीमनिधि तिवारीले आफ्नो ‘ऐतिहासिक पाँच एकाङ्की’मा एउटा नाटकको विषयवस्तु समेत बनाएका छन्।

उनी लेख्छन् –

बिसे: जाबो दमैसित सल्लाह गर्नुपर्ने के कुरो परो त, ख्वामित?

पृथ्वी: सल्लाह जातले दिने हो र? अनुभवले, बुद्धिले पो दिन्छ। तँ आफ्नो घरको पुरानो नगर्ची, मेरो काठोभोटो पनि तैँले नै गरेको होइनस्?

बिसे: आ ख्वामित! पढ्या छैन, मूर्ख दमैको छोराले के सल्लाह दिन्थ्यो नाइँ।

पृथ्वी: बिसे, त्यसो त नभन्। विद्या भनेको आर्कै कुरा हो, बुद्धि भनेको आर्कै कुरा हो। कति विद्या भएका मानिसको बुद्धि छैन, कति बुद्धि भएकाको विद्या छैन। विद्या त आर्जन गर्न सकिन्छ बुद्धि भन्ने कुरा, तँ बुझ्छस् बिसे, आर्जन गर्न सकिँदैन।
-बिबिसी बाट

Comments

NIC Asia