MENU
थूक
 : 45 views
-ध्रुव मधिकर्मी   Feb 09, 2019

सडकबाट घाम डुबेपछि अचानक लाश चलमलायो र चारैतिर आँखा डुलाउँदै जुरुक्क उठ्यो । लाशको आँखा रगतले राताम्य थियो, रगतपच्छे अनुहार जस्तो भयावह । उसले वरपर उभिरहेका मान्छेहरुको अनुहारमा घृणाले हेर्दै…..

 

 


-ध्रुव मधिकर्मी

 

यो सब अचानक भयो । यति अचानक भयो कि, के भएको हो भन्नेबारे मान्छेहरुले केही बेर त ठम्याउनै सकेनन् । संयोग हो वा दुर्घटना ! एकजना बटुवा बाटोमा हिँडिरहेको थियो । उसित एक हातमा झोला थियो तर झोलामा केही थिएन । अर्को हातमा केही थिएन, सिवाय कागजको एक मुठ्ठा ।

अचानक एउटा घटना भयो । हिँडिरहेको बटुवा अपर्झटको पीडाले करायो र बाटोमा भुक्लुक लड्यो । बाटोभरि भलभल्ती रगत बग्यो । घाइते बटुवा केही छट्पटायो र तत्क्षण चलमलाउन छोड्यो । बेहोश मात्र भयो कि ! वा कतै लाशै पो भयो कि ! त्यही समयमा केही मान्छेहरु एउटा गाडी चढेर बेतोडले हुइँकिएको जस्तो देखे मान्छेहरुले ।

मान्छेहरु अलमल्ल परे । हुइँकिएको गाडी निमेष भरमै त्यहाँबाट बिलायो । बाटोमा रगतपच्छे भएको घाइते छ, तर त्यहाँ कुनै शंकास्पद गाडी छैन । हुइँकिएको गाडीले धक्का दिएको हो कि वा आफैँ लडेर घाइते परमधाम भएको हो कसैले ठम्याउन सकेनन् । हुइँकिएको गाडीलाई रोक्न दौडूँ या नजिकै प्रहरीलाई अबर गरुँ एकप्रकारले बटुवाहरु अलमलिए । कसैले निर्णय गर्न सकेनन् । सडकमा बीभत्स दृश्य छ र मान्छेहरु पन्छिएर त्यसलाई हेर्न थाले ।

– च्व ! च्व ! विचरा ।

– को रै’छ ?

– खै बोल्न सक्दैन, बेहोश भा’छ ।

– ए के भएछ ?

– लडेर घाइते भा’ हो कि !

– हैन, गाडीले धक्का दिएर गएको होला !

– कति नम्बरको गाडी रै’छ ?

दिनदहाडै बीच बाटोमा कुनै घटना हुन्छ । तर, कसरी हुन्छ, कसरी भयो, मान्छेहरु ठम्याउन सक्तैनन् । एउटा मान्छे हिँड्दा–हिँड्दै अचानक ढल्यो, बेहोश भयो वा लाशमा परिणत भयो । तर, कसरी भयो त्यसको हेक्का कसैलाई हुन्न ।

– ए यो त दुर्घटना पो हो, कसैले प्रहरीलाई खबर गर्नुपर्ने ।

– प्रहरी चौकी त यतै नजिकै छ नि ।

– ऊः प्रहरी त त्यहीं उभिरहेको छ । तर यता किन आउँदैन हँ ।

– प्रहरीलाई त देखाउनु पो पर्छ ।

दुर्घटना हेर्न झुम्मिएकाबाट दुई÷चार बटुवाहरु हटे । शायद प्रहरीलाई खबर गर्न वा प्रहरीको नाउँ लिनासाथ आफ्नो बाटो तताउन । त्यसैगरी, बाटोमा हिँडिरहेका दुई÷चारजना नवागन्तुक जिज्ञासु थपिए ।

प्रहरी परै थियो, तर उसको ड्यूटी यता रहेन’छ क्यारे । भीड पन्छाउन र के भएको हो बुझेर ठेगान लगाउन यता आएन ।

– प्रहरी नआएर के भयो । कसैले अस्पताल पु¥याइदिए हुन्थ्यो नि !, कसैले मानवीय सद्भावको सल्लाह दियो।

– बाँचेको पो छ कि छैन हेरौं न !

–टाउकोे फुटेर रगत भल्भलती बगेको छ के बाँच्छ !

– बेहोश मात्र भएको पनि हुनसक्छ ।

– ए एम्बुलेस बोलाइदेऊन ।

भीडमा बोल्न त कोही बोलेको हो । तर, को बोलेको र कसलाई भनेको हो त्यो भने खुट्टिएन ।
फेरि दुई÷चारजना हटे ।

बाटोमा हिँडिरहेकी एउटा महिलाले भीडमा यसो टाउको उठाइन् र कस्तो जँड्याहा रै’छ दिउँसै सडकमा सुत्ने ! भन्दै अगाडि बढिन् । उनलाई सत्यतथ्यसित खासै सरोकार थिएन । बीच बाटोमा लम्पसार परेकोसित मात्र सरोकार थियो शायद ।

बाटो त्यतिकै व्यस्त थियो । मान्छेहरु उस्तै हतारमै थिए । केही मान्छेहरु भने त्यतिकै फुर्सदिला देखिन्थे जो कुनै पनि घटनाका सक्रिय तर मौन साक्षी हुन्थे । तमासाको लागि सहभागी बन्थे ।

अलि पर प्रहरी बिट थियो, त्यहाँभन्दा अलि पर चौकी नै थियो । चौकीमा फोन थियो र केही प्रहरी पनि थिए । यतिञ्जेल शायद कोही खबर दिन पुग्यो वा फोन गरेर एम्बुलेन्सलाई बोलाइसक्यो होला ! तर न प्रहरी हतारिएर आइपुग्यो न त दनदनाएर एम्बुलेन्स नै आयो । प्रहरी शायद दुर्घटना भएको हो वा होइन, घटनास्थलमा पर्याप्त प्रमाण छ वा छैन किटान गरेर पो आउने हो कि !

प्रहरीको ढिलाई देखेर एकजनालाई के लागेछ कुन्नि नजिकै उभिरहेको प्रहरीलाई भन्न गयो ।

– हेर्नुस् अर्को कोही छैन, म यहाँ ड्यूटीमा छु, प्रहरीले भन्यो ।

– तपाईंहरुको डुयूटी बिट कुर्ने हो कि दुर्घटनामा परेको मान्छेको उद्धार पनि गर्ने हो !

– दुर्घटना भएको तपार्ईंले देख्नुभयो ?

– दुर्घटना भएको त होइन भइसकेपछि देखें ।

– दुर्घटनाचाहिँ नदेख्ने अनि तपाईं किन जान्ने भएको !

– मैले त नागरिकको कर्तव्य पो निर्वाह गरेको ।

– म पनि आफ्नो कर्तव्य गर्दैछु ।

मध्यान्ह ढलेर घाम ओरालो लाग्यो । धमिलो उज्यालोमा साँझको प्रवेश भयो । लाश त्यस्तै छ, केही मान्छेहरु अझै झुम्मिएका छन– के भयो ! कसरी भयो ? प्रहरी किन आएन ! एम्बुलेन्स बोलाउनुपर्ने , बाटामा एक्लै हिँड्न पनि बडो गाह्रो भयो ! सहरमै यस्तो हुनथालेछ है ! आदि–इत्यादि तर्क र टीका–टिप्पणी गर्दै आ–आफ्नो बाटो लाग्नेहरुको पनि कमी छैन ।

यता मान्छेहरु प्रहरी पर्खंदै थिए ।

– कस्ता प्रहरीहरु रहेछन् । यत्रो दुर्घटना भएपछि त्यसको छानबिन गर्न आउनुपर्दैन !
उता प्रहरीहरु भन्दै थिए– कस्ता तमासेहरु रहेछन्, कोही त गएर एम्बुलेन्स बोलाएर ल्याउनुपर्दैन !
धेरै बेरसम्म लाश त्यतिकै रहिरह्यो !

सडकबाट घाम डुबेपछि अचानक लाश चलमलायो र चारैतिर आँखा डुलाउँदै जुरुक्क उठ्यो । लाशको आँखा रगतले राताम्य थियो, रगतपच्छे अनुहार जस्तो भयावह । उसले वरपर उभिरहेका मान्छेहरुको अनुहारमा घृणाले हेर्दै थुक्यो– थुक्क ! ए लाछी नामर्दहरु हो ! थुक्क, तिमीहरुको मानवीय संवेदना ! यति भनेर फटाफट हिँंड्यो ।

वरपर बसेर उभिरहेका तमासेहरु, टीका–टिप्पणी गर्दै हिँडिरहेका संवेदनहीन अनुहारहरु र पर बसेर डयूटी गरिरहेका प्रहरीहरुको अनुहारमै एकसाथ त्यो थूक लपक्कै पर्यो  ।
००

Comments

NIC Asia