MENU
 कालीगण्डकी सुसाइरह्यो
 : [views]
-भागवत खनाल   Feb 09, 2019

अहँ ! कसैले केही सोधेन । ऊ आफै पिर्कामा बस्यो र सोध्यो – सन्चै हुनुहुन्छ होला केरे । बल्ल बाबुले आँखा उठाएर हेरे । उसले बाबुको अनुहार पढ्यो, आज उसले बाबुको अनुहारमा उत्तिकै वात्सल्य देख्यो, तर त्यो बात्सल्यमा उत्सुकता भन्दा निराशा बढी देखिन्थ्यो । उसले बाबुको चीसो प्रतिक्रियामा मौन बिद्रोह लुकेको पाएको थियो । उसले त्यो मन्द तुवाँलोमय उज्यालोमा आमाको आँखाबाट झरिरहेका मौन अश्रुधारा देखेन ।   

 

-भागवत खनाल  

 

रातिको बाह्र बजे खिलनाथ चढेको एम्बुलेन्स हार्थोकबाट रिडीतिर लाग्यो । उसलाई जतिसक्यो छिटो गुल्मी पुग्नु छ, आफ्नो गाउँ पुगेर बिरामी बालाई काठमाडौँ लैजानु छ । बालाई उति सन्चो नभएको केही महिना भयो । दशैंमा घर जाँदा बा ! एकफेर काठमाडौँ गएर जचाउन परो भनेको थियो उसले । बाले आ रहन दे चैततिर अलि न्यानो भएपछि जाम्ला भनेर टारेका थिए । उसले पनि कर गरेन । आज उसलाई पछुतो लागिरहेको छ, म् कस्तो कपुत ! यिनै बाको पसिनाको भरमा आज निजामती सेवाको सहसचिव भएको के काम लाग्यो ? यतिका वर्ष काठमाडौँमा जागिर खाएर बसेको के काम लाग्यो ? सिंहदरवारभित्र सानसित नमस्कार खाँदै हिंडेको के सार भयो ? बाउले त पशुपतिनाथको दर्शनसम्म गर्न पाएका छैनन्  । कदाचित यही व्यथाले बाको देहान्त भयो भने ? खिलनाथ थर्र काँप्यो । बालाई पशुपतिको दर्शन गराउन सकिएन भनें त जीवनभर पछुतो हुनेछ, आफ्नै आत्माले माफ गर्ने छैन । सारा समाजले कुलंगार छोरो भनेर निन्दा गर्नेछ ।

 

एम्बुलेन्स जोर्तेको खतर्नाक ओरालो सकेर अर्घेलीतिर सोझियो । एम्बुलेन्सको चालक पहिलोपल्ट गुल्मीतिर जाँदै छ, उसलाई कति टाढा जानु छ, बाटो कस्तो छ र कति समय लाग्ला भन्ने जानकारी छैन । तैपनि हतास खिलनाथले सोध्छ – अव अझै कति बेर लाग्ला दिल बहादुर दाइ ? दिल बहादुरले जवाफ दियो अव त एकछिन आँखाको बिख मार्नु पर्छ साव । सात बजे काठमाडौँबाट हिंडेको, आराम गर्न पाइएको हैन । दुई घण्टा यही सिटमा सुत्छु, हजुर पछाडि सुत्नुस आत्तिन हुँदैन हजुर ! असुरक्षित हुनुभन्दा अलिकता ढिलो हुनु ठीक । थाकेको दिलबहादुर घुर्न थाल्यो, तर खिलनाथ निदाउन सकेन ।

 

खिलनाथका बाबु हुमलाल गर्भे टुहुरा, बाबुको मुख देख्न पाएनन् । सत्र वर्षको उमेरमा उनकी आमा बिधवा भएकी थिइन । चार भाइमा हुमलालका बाउ जेठा थिए, पच्चीस वर्षको चढ्दो जवानीमा रुखबाट खसेर मरे । हुमलाल सात वर्षको हुँदा उनको ब्रतवन्ध गरिदिए काकाहरुले । उनीहरुले हुमलाललाई काठको फल्याकमा अँगारको मोसो दलेर खरीले अक्षर लेखाउन सुरु गरे । आमाबाट ज्यादै पुलपुलिएका गर्भे हुमलाल काकाहरुलाई टेर्दैनथे । काकाहरुले अलिकता हप्कायो कि आमा आमा भनेर रुन थाल्थे । काकाले चुप लाग हुमे ! बाहुनको छोरो भएपछि नपढेर हुन्च ? भन्दै थप्पड पनि दिन्थे । तर हुमलालकी आमाले म टुहुरो छोरो रोएको देख्न सक्दिन, आफ्ना छोरालाई पढाउन, गाली गर्नु र पिट्ने भए पिट्नु, तर मेरो छोरालाई गाली गर्न र पिट्न पाइन्न, बरु नापढ़ाए हुन्च, बटौलीबाट नून ओसारेर खाला, निमेक गरेर खाला भन्न थालेपछि उनको पढाइ सकियो । कखरा पनि नसिकी हुमलालको पढाइ पूरा भयो । हुमलाल आफ्नो इलाकाका एकमात्र निरक्षर बाहुन थिए ।

 

हुमलालकी आमा अत्यन्त परिश्रमी थिइन । देवरहरुसंग छुट्टै बसेपछि उनले धेरै दुक्ख गरिन , तर छोरालाई राम्रोसंग खान लाउन दिएर हृष्टपुष्ट बनाएर पालिन । बीस वर्षको उमेरमा हुमलालको बिहे भयो । उनका तीनओटा छोरा पाँच वर्ष नपुग्दै लगालग मरे । त्यसपछिका तीनओटा छोरीछि मात्र सातौँ सन्तानको रुपमा खिलनाथको जन्म भयो । हुमलाललाई आफू निरक्षर हुनुपरेकोमा जीवनभर पछुतो भइरह्यो । उनका काकाहरु, काकाका छोरा भाइहरु सवै रुद्री चण्डी पढ्न सक्थे, परेको ठाउँमा वरणी भएर ब्राह्मणको आसनमा बसेर पाठ गर्न पाउँथे, तर बरा हुमलाल बढीमा सुरो समातेर होम गर्ने काम मात्र पाउँथे ।

 

उनको एउटा काकाभाइ त काशी पुगेर शाश्त्री पूरा गरेको थियो, बेला बेलामा भागवत कथा भन्न जान्थ्यो । उसले भन्ने गर्दथ्यो, ए हुमलाल दाइ मसंग जानुहुन्च भागवतमा ? हुमलाल सोध्ने गर्थे त्याँ गएर के गर्ने मैले ? तैलेजस्तो भावत भट्याउन जान्दिन ! तर खिलनाथकी आमाले भन्थिन, जानुस भो, आफ्नै भाइ हुन केरे, अलिअलि पैसो पनि आउँच, खान पनि पाउनुन्च, भगवानको कथा सुन्न पाउनुन्च  । भगवानको किर्पा भओ भनी अर्को जुनीमा पण्डित पो हुन पाउनुन्च कि ! उनी गरुङ्गो मन लिएर जान्थे र भाइको लागि भात पकाउने, होम हाल्ने र आगन्तुकहरुलाई टीको लाइदिने काम गर्थे । यस्तै मौकामा उनले टुप्पी समातेर मौन प्रतिज्ञा गरेका थिए, जसरी पनि खिलेलाई पढाउने हो, ठूलो मन्छे बनाउने हो ।

 

सातौँ सन्तानको रुपमा जन्मेको खिलनाथलाई धेरै माया गरेर हुर्काए हुमलालले । आफूले आधापेट खाएर पनि उसलाई स्वस्थ र हृष्टपुष्ट राखे । तर जव ऊ सात वर्षको भयो हुमलालले उसलाई कडा अनुशासनमा राख्न थाले । अनुशासनमा त राख्न थाले, तर पढाउने कसरी ? कसले अक्षर चिनाउने खिलेलीई ? उनले एकजना छिमेकीसंग अनुरोध गरेका थिए – काइँला ! हाम्रो खिलेलाई अक्षर चिनाइदिनु परो तैंले । काइँलाले भनेको थियो – हुन त हो हुमलाल बा, तर फुर्सद हुनु परो नि ! दुक्ख नगरी मुखाँ माड लाग्दैन, तपाईंको छोरो पढाएर बसम कि आफ्ना छौंडा पाल्न घाँसपात र मेलापात गरम ? हुमलालले भनेका थिए ठीक छ नि, तैंले चार घडी खिलेलाई पढाए वापत म एकदिनको परिमो तिरम्ला । काइँलो खुसी भयो ।

 

उसले दुई घण्टा अक्षर चिनाए बापत हुमलालले आठ घण्टा उसको लागि कोदालो खन्ने, बन्चरो हान्ने, मल सोहोर्ने काम गरे । उनले भनेका थिए हेर काइँला पढाउने बेलामा खिलेमाथि कुनै दया गर्नु पर्दैन, जे गरेर पढ्च , जे गर्दा छिटो अक्षर चिनेर स्वस्थानी पढेर सुनाउन सक्ने हुन्च तेइ गर्नु । पिट्नु परे पिट्नु हान्नु परे हान्नु, बाँध्नु परे बाध्नु । खिलनाथ छ महिनामा स्वस्थानी पढ्न सक्ने भयो । पौष शुक्ल पूर्णिमाका दिन उसले – कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनी ….. भन्दै कथा सुनाएको दिन हुमलाल जति खुसी भए त्यति खुसी न उनी त्यस दिनभन्दा अघि भएका थिए न त त्यसपछि भए । तर उनले त्यो खुसी खिलनाथलाई देखाएनन।

 

एकदिन उनी खिलनाथलाई स्कूलमा लिएर गए । स्कूल टाढा थियो, छिटोछिटो हिडेर जाँदा डेढ घन्टामा पुगिने । उनले स्कूलको हेडमास्टरलाई भनेका थिए – म अक्षर चिन्दिन, यसले राम्रोसित पढ्च कि पढ़दैन भनेर जाच्न सक्दिन । तर म एक एक महिनामा स्कूलमा आउँचु र तपैलाई सोध्चु । यसले पढ़ेन र मास्टरले भनेको टेरेन भनें तपैले नै यसलाई ठीक पार्नुहोला । खिलनाथ छेउमा उभिएर सवै कुरा सुनिरहेको थियो, थर्र काँप्दै उसले मनमनै गमेको थियो, यस्तो पनि बाउ ! सांझ घर फर्केपछि हुमलालले खिलनाथ र उसकी आमालाई संगै राखेर भनेका थिए – अवदेखी खिलेलाई घरको काम नगराउनु , सकेको मै गर्चु, तैंले गर्नु ।

 

यसको काम अव पढ्ने हो, म यताउता जाँदा यो बरालिन जाला नि, ख्याल गर्नु । उनले खिलनाथलाई भनेका थिए – थपक्क बसेर पढ्ने, भोक लागो भने मागेर खाने । गाउँ डुल्ने, केटाहरुसित घुम्ने र झगडा गरिस भने म बाँकी राख्ने छैन । खुरुखुरु स्कूल जाने, खुरुखुरु घर आउने हो । बिचरा खिलनाथ ! बाउ नभएको बेलामा आमासंग भन्ने गर्थ्यो – आमा एक्कै छिन खेल्न जान्चु है ! दले, रामे, शिवे, टुल्के सवै त खेल्दै छन् । आमाको हृदय पग्लन्थ्यो र भन्थिन – जा तर छिट्टै आ नि, बाले देख्नुभओ भनी मलाई पनि बाँकी राख्नुन्न । एकदिन खाना खाने बेलामा एक्लै भएको मौका पारेर आमाले डराई डराई भनेकी थिइन – खिलेका बा ! एउटा कुरा भन्न मन लाथ्यो, भनम ? उनले भनेका थिए – भन् के हो ? उनले भनेकी थिइन – यो खिले सोझो छ, पढ्न पनि राम्रो छ गर, स्कूलको सवैभन्दा गतिलो केटो हो गरे । हुमलालले भनेका थिए – के भओ त ? हुन त परो नि ! उनले भनेकी थिइन – यसो कैले कैले त खेल्न, रमाइलो गर्न पनि मन लाग्दो हो नि, केटाकेटी नै छ केरे, सवै खेल्दा यसलाई पनि खेल्न जान मन लाग्दो हो, हैन र ?

 

तपैं सधै डरमा राख्न खोज्नुन्च, यसो कैले कैले बाबु खिले, भनेर बोलाउन पनि हुन्च नि ! हैन र ? हुमलालले भनेका थिए – हेर् बाबै ! मलाई पनि छोराको माया लाग्च, संगै राखेर सुमसुम्याउन मन लाग्च, कुरा गर्न मन लाग्च । तँलाई त था छ मेरो लागि कालो अक्षर भैंसी बरावर छ । मैले जानेको भकारो सोर्ने, कोदालो खन्ने, दाम्ला बाट्ने, बन्चरो चलाउने र घाँस काट्ने काम हो । म गर्भे टुहुरो, काकाहरुले पढाउन नखोजेका हैनन् केरे, हप्काको र थप्पड हानेको देखेर मेरी आमाले भो पढाउन पर्दैन भनेर झगडा गरिन्, म पनि खुसी भएँ । हेर् त आज कस्तो भोग्नु परो ? भाइहरुको भान्छे बाउन हुनु परेको छ मलाई । बाहिर बाहिर भन्न पो सक्दिन, तर यो पेट पोल्च मेरो । ऐले माया गरेर खेल्न जा, रमाइलो गर्न जा, भनेर मत्याउने बेला हैन, खुरुखुरु पढाउने हो । त्यसलाई रमाइलो गर्न मन लाको भए माय सक्रातीमा रिडी लैजान्चु, गन्नई पनि न्वोउच राम पनि हेर्च ।

 

उनी भन्दै गए – बाउन भएर जन्मियो, पढ्नु पर्ने जात , पढ्न पाइएन । हलो जोते जात जान्च ! लौ जे होला होला भनेर जोतम भात चल्दैन । म त नपढेको, केइ जान्दिन, तर पढेकाले त जान्नु पर्ने नि ! आफ्नो काम गरेर खाँदा पनि जात जान्च गरे, मन्छे छुँदा पनि जात जान्च गरे, एउटो मन्छे आर्को मन्छेको घरमा पस्दा जात जान्च गरे, मन्दिर पस्दा पाप लाग्च गरे ! के रैच यो जात ? पछि ढेरै पढो भनी येई खिलेलीई सोध्नु पर्ला । आफूसित हलीलाई दिने पैसो नभएर हलो जोत्न पाउने जातसित परिमो गर्नु पर्च । पाल्पाबाट नून तेल आफै बोक्नु पर्च, सप्पै काम जति आफै गर्नुपर्च । अरु भाइहरुको त मेरोभन्दा इजेत पनि छ नि, मन्छेहरु सल्ला गर्न आउँचन, औंसी पुर्न्या कैले हो भनेर सोध्न आउँचन, मेरो घरमा को आउँच ? अव खिलेलाई पनि म जस्तै बानाउचेस कि ठूलो मन्छे बनाउँचेस लौ भन् त खगी ? उनले भनेकी थिइन – के को खगी खगी भन्नुन्च मेरो नाम खगिसरा हो भन्ने था छैन ? उनले भनेका थिए – मलाई तेरो तेत्रो लाँबो नाम भन्न भेउने ट्याम छ र ? पछि फुर्सद भओ भनी खगिसरा भनेर बोलाम्ला ।

 

एम्बुलेन्स रिडीबाट उकालो लाग्यो । खिलनाथ आफ्नो अतीतमै छ । ऊ पढाइमा अव्वल निस्क्यो । छोरीलाई स्कूल पठाउने चलन खासै चलिसकेको थिएन । अनपढ हुमलाललाई छोरी पढाउनु पर्छ भन्ने चेतना हुने कुरा पनि भएन । तैपनि खिलनाथ चारमा पुगेपछि दिदीहरुलाई पनि सिका भनेर अक्षर चिनाउन लगाए , छोरीहरु पनि स्वस्थानी पढ्न सक्ने भए । एसएलसी पास भएपछि खिलनाथ तानसेन गएको थियो उच्च शिक्षा हासिल गर्न । उसले ट्युसन पढाएर आफ्नो गुजारा गर्दै पढ्यो । पाँच वर्ष कठोर परिश्रम गर्दै पढेको थियो उसले । ऊ सुब्बा भएको दुई वर्षपछि घर गएको थियो हँसिलो अनुहार लिएर । दशैंको बेला थियो, गाउँमा रमाइलो थियो ।

 

गाउँभरि उसको खुव मानमनिता र प्रशंसा भयो, जो भेट भयो उसैले सराहना गर्थे । महाअष्टमीको दिन थियो साँझ सवै परिवार एकै ठाउँ जम्मा भएपछि खिलनाथले बाबुको लागि भनेर ल्याएको लुगा दिएको थियो । बाबुले भनेका थिए केन नय लुगा ल्याको पैसा खर्च गरेर । तेरो पुरानो कोट भए पनि नय देखिन्च यो गाउँमा । बरु तेरी आमाले एउटो तिलरी लाउन पाए हुँदो हो भन्न थालेको दश वर्ष भओ । काँ जानु पर्छ र मलाई , कैले कैले रिडी जाने हो केरे गन्नई न्वोउन । गाउँमा त यस्ता लुगा लाएर हिड्न पनि लाज लाग्च, फेरि हुमे ठूलो भएच भन्नन ! अनि उनले सोधेका थिए – ए खिले एउटो कुरो भन् त, तो रुकेको छोरो छ नि ललिते, हो तो कुन जागिरमा छ गरे ? उसले भनेको थियो – बा ललित सेक्सन अफिसर हो । उनले फेरि सोधेका थिए – ये अस्ति एकादशीमा रिडी न्वोउन जाँदा संगै भैयो ।

 

बाटाभरि हाम्रो ललिते सिक्सिङ्ग अबिसोर भओ, ठूलो मन्छे भओ भन्दै थ्यो । भन् भन् तो सिक्सिङ्ग अबिसोर ठूलो हो कि तेरो सुब्बाको जागिर ठूलो ? उसले डराउँदै भनेको थियो – बा सेक्सन अफिसर ठूलो हो । उनले सोधेका थिए – तो हुन के गर्नु पर्च ? उसले भनेको थियो – त्यो हुन धेरै पढ्नु पर्छ । भाग्यले पनि साथ दिनु पर्छ । ललित त पोहोरको दशैंमा घर पनि नआएर पढ्यो, पास पनि भयो । उनले भनेका थिए – त्यसो भए तँ किन आइस ? सिक्सिङ्ग अबिसोर नबन्दासम्म अव दशैंमा पनि घर नआउनु । बिग्रिस, नचाहिने काम गरिस र केही सुन्नु परो भनी म तलाई छोरो भन्ने छैन, यति बुझेस ।

 

दुई वर्षपछि खिलनाथ सेक्सन अफिसर भयो । काठमाडौँको बसाइ, परिश्रमी, अनुशासित र सुन्दर युवक, मान्छेको आँखा लाग्ने नै भयो । ऊ एकजना उच्च पदस्थ अधिकारीको घरमै डेरा लिएर बसेको थियो । डेरा खोज्न जाँदा उसलाई त्यो घर सरकारी अधिकारीको हो भन्ने थाहा पनि भएन । संयोगले त्यस घरमा बस्न पुगेको थियो ऊ । ती हाकिमले उसको आनीबानी सवै बुझेपछि आफ्नी छोरी दिने विचार गरेछन । उसलाई अहिले पनि झल्झली सम्झना छ, उनले उसकै अफिसको एकजना साथी मार्फत कुरा चलाएका थिए । ऊ झसङ्ग भएको थियो, ओ हो यो के आइलाग्यो ! उसले सोझै इन्कार ग-यो । तर साथीले पिछा छोडेन, डेरामै पुग्यो । प्रस्तावित केटी पनि टाढैबाट देखाइदियो उसले, र सोध्यो कस्तो लाग्यो ? कन्या आधुनिक थिइन, सुन्दर र स्वस्थ थिइन । आज खिलनाथले जीवनमा पहिलो पल्ट विवाहको भावनाले देखाइएकी केटी हेरेको थियो । ऊ केही विष्मित र रोमान्चित भयो र डरायो पनि । उसले आफैलाई सम्भाल्ने र सम्झाउने भरसक प्रयत्न गरिरह्यो, तर विवाहको कुराबाट जति टाढा भाग्यो नजानिँदो गरी उति नै त्यसको नजिक हुँदै गयो । उसले बाबुलाई सोध्न सकेन, घरमा खवर पठाउन पनि सकेन । बिना जन्ती बिना परिवार बिना इष्टमित्र उसको विवाह भएको थियो ।

 

विवाह भएको एक महिनापछि ऊ एक्लै घर पुगेको थियो । साँझ अँध्यारो भएपछि मात्र पुगेको थियो ऊ, सरासर घरभित्र पसेको थियो चुपचाप । बाबु अगेंनाको डिलमा बिछ्याएको सानो लिप्टे गुन्द्रीमा बसेर दूध तताउँदै थिए, आमा भान्सातिरको अर्को चुल्होमा खाना पकाउँदै थिइन । चार फीट अग्लो गारोमा राखेको ढेब्रीले छोडेको कालो धुवाँ माथि दलिनमा पुगेर बिलाएको जस्तो देखिन्थ्यो । घोप्टो परेर दूध चलाउन मग्न हुमलालले छोरो आएको चाल पाएनन, खिलनाथले बा भन्दै ढोग्न खोज्दा पो उनी झसङ्ग भए, आमा पनि को हो भन्दै झस्केकी थिइन । उसले चोर नजरले बाबु आमालाई हे-यो । दुवैजना गम्भीर थिए, दुवैजनाका आँखा चम्किला थिएनन, दुवै जानाले छोरातिर हैन एकनास बलिरहेको ढेब्रीतर्फ़ हेरिरहे ।

 

सन्चै आइस ? आज कहाँबाट आइस ? तिर्खा लाग्यो कि ? अहँ ! कसैले केही सोधेन । ऊ आफै पिर्कामा बस्यो र सोध्यो – सन्चै हुनुहुन्छ होला केरे । बल्ल बाबुले आँखा उठाएर हेरे । उसले बाबुको अनुहार पढ्यो, आज उसले बाबुको अनुहारमा उत्तिकै वात्सल्य देख्यो, तर त्यो बात्सल्यमा उत्सुकता भन्दा निराशा बढी देखिन्थ्यो । उसले बाबुको चीसो प्रतिक्रियामा मौन बिद्रोह लुकेको पाएको थियो । उसले त्यो मन्द तुवाँलोमय उज्यालोमा आमाको आँखाबाट झरिरहेका मौन अश्रुधारा देखेन । लामो मौनपछि आमाले भनेकी थिइन्, जा हात गोडा धोएर आ भोक लागो होला । बाबुले ठूलो मन्छे बनेस् भनेकुम केरे, शहरकी स्वास्नी ल्याइचस ठूलो मन्छे भैचस् मात्र भनेका थिए।

 

विहा भएको दुईवर्षपछि खिलनाथको छोरो जन्म्यो । उसले आमालाई फोन गरेको थियो भरखरै खुलेको टेलिफोन बुथमा । उसले भनेको थियो – आमा बुहारी सुत्केरी भएकी छ, एकपल्ट दुई तीन महिनाको लागि काठमाडौँ आउनुहुन्छ कि भनेर । आमाले भनेकी थिइन् – हुन्छ बाबु म आउँचु । नाति जन्मेको थाहा पाएर बा आमा दुवै खुसी भएका थिए । हुमलालले भनेका थिए – हुन्च त तँ जा काठमाडौँ । आमाले भनेकी थिइन् – जे भा पनि आफ्नो सन्तान जन्मो केरे । तीन मैनासम्म त सुत्केरीलाई पिर्माकी आमाले स्यार्ने गरे । वाँट मैले स्यार्ने भन्तो खिलेले । हुमलालले भनेका थिए – हुन त मलाई पनि जाने मन छ, तर दुवै जाना जान मिलेन केरे । तँलाई घराँ छोडेर जाम भनी पनि उता केटाको गु मुत स्यार्ने परो, यता फेरि गाउँमा हुमे शहरिया सुत्केरी स्यार्न गओ भनेर खिसी गर्नन । ब्वारीको अगाडि गुहे धन्ना कसरी गर्नु, नत्र घिन त काँ लाग्च र ! आफ्नो नाति हो केरे नि । खिलेले पनि त कछाडभरि हग्दिन्तो, खै घिन लागेन । खाली हात जान हुन्न, खिलेका ससुरालीहरु इजेतदार मन्छे हुन गरे । घिउ, अदुवा, मह, गुण, र कुराउनी पाहुर लैजा । सुत्केरीलाई ओक्तो बनाएर लैदे, सुत्केरीमा स्यार पुगेन भनी आईमाइको जिउ फालिन्च ।

 

खगिसरा काठमाडौँ गइन । खिलनाथले पशुपति दर्शन गरायो । बूढानीलकण्ठ, पाटन कृष्ण मन्दिर, धरहरा, हनुमानढोका र भक्तपुर घुमायो । उनी तीन महिना बसेर फर्किन । उनकी कान्छी छोरी ज्वाईं बसाइ सरेर बुटवल बस्न थालेका थिए । उनी केही दिन छोरीको घरमा पनि बसेर गुल्मीतिर लागेकी थिइन् । रिडी पुगेपछि गाउँले दिदी बहिनीसंग भेट भएको थियो । एकजना छिमेकी महिलाले उनलाई भनेकी थिइन – ओहो दिदी तपाईं त काठमाडौँ पुगेर तरुनी भएर आउनु भएच त । गोरी हुनु भएच, राम्री हुनु भएच, हातखुट्टा सुकिला भएचन, के खान दिइन बुहारीले ? उनले भनेकी थिइन – घाँस दाउरो गर्न परेन, कोदालो खन्न परेन, भारी बोक्न परेन । भित्रै न्वोइने, भित्रै दिसापिसाव गर्ने, भित्रै खाने गर्दा रैचन । शहराँ आर्काको घराँ जान हुँदो रैनच, बिना काम कसैसंग बोल्दा रैनचन । बिरामी भएर बाहिर निस्कँदा पनि कसैले के भओ भनेर सोध्न नहुनी । अर्कीले सोधेकी थिइन् – ब्वारी कस्ती रैचन त ? बाटौलीका ज्वाईं कस्ता रैचन ? उनले भनेकी थिइन – कुरा गरो कुरै ढेरै हुनी, के भनम र बैनी ! छिमेकीले फेरि कर गरेपछि उनले भनेकी थिइन – आधा सन्तोक आधा बिसन्तोक भओ ।

 

बुहारी त अल्छीको भाँडो रैच केरे । सवै काम खिलेले गर्नुपर्ने, ऊ त मोटाएर ठुईलो भएर बसेकी रैच । मैले खिलेलीई यो सधै यस्तै ठग हो कि के हो ? तँलाई नोकर बनाकी छ नि भनेर सोधेको त खिले पनि उतैतिर लागो । हैन आमा अहिले त सुत्केरी छ नि पो भन्च ! मैले पनि भनें तँ त जोइटिङ्ग्रे होचस । छ मैनासम्म पनि कोइ सुत्केरी हुन्च ? मैले त दुई मैनामा तँलाई कन्नां बोकेर काम गर्तें त । खिलेले हैन आमा शहरमा सुत्केरीलाई राम्रोसंग स्याहार्ने चलन छ । गाउँमा पनि राम्रोसंग स्याहार्नु पर्ने हो, तर पुगीसरी नभएर हो । दुवैजना मिलेर काम गर्नु नराम्रो त हैन नि आमा भनेर मलाई सिकाओ केरे तर मेरो चित्त त बुजेन कान्छी । उता छोरीलाई भनी सुख रैच, सन्तोक लागो । ज्वाईं अति गतिलो हुनुदो रैच, सवै काम ज्वाईंले गर्नी, छोरीलाई तिमी सक्दिनौ आराम गर भन्नी, त्यस्तो पो लोग्ने ।

 

खिलनाथ बिहान सात बजेतिर घर पुग्यो । हुमलाललाई पिढीमा सुताएका, खिलनाथ आउंदै छ भनेर छिमेकीहरु जम्मा भएका रहेछन । उसले बाबुको निधार छाम्यो, नारी छाम्यो, हातखुट्टा छाम्यो । हुमलालको दारी कपाल बढेछ, नाकभित्रका रौँहरु घुमाउरो हुँदै यताउता फैलिएका । निधारको छाला खुम्चिएर पाँच छ ओटा धर्का परेको, गाला भित्र पसेका । खिलनाथले बा भनेर बोलायो । बाले उसलाई पुलुक्क हेरे र सासै सासले भने – तँ आई पुगिस खिले ? उसले भनेको थियो – हो बा म आएँ । उसले भनेको थियो – बा अव हामी काठमाडौँ जाने हो । तपाईंलाई सन्चो हुन्छ बा, काठमाडौँमा राम्रा राम्रा डाक्टर छन । उसले हत्तपत्त एम्बुलेन्समा राखेर एकजना काकाको छोरालाई लिएर हिंडेको थियो घरबाट । एकजना छिमेकी भन्दै थियो – अव बाच्दैनन बूढा, खिलनाथको घिडकिसोले मात्र सास नागाको हो यिनको । अर्कोले भन्यो – बूढा कमजोड भाको त ढेरै दिन भओ केरे, तर आफ्नो बेथा लुकाएर बिगारे यिनले । सकुन्जेली जिउले तानिन मानुन्जेली तानिए, अति भएपछि ढले । यसरी ढलेको मन्छे उठ्न त मुस्किलै छ है । अर्की वृद्धा भन्दै थिइन् – जेठाजुको दुई कुराको घिड़किसो हो, एउटा खिलनाथलाई देख्ने र आर्को रिडी पुगेर गन्नईमा मोर्ने । वाँ रिडीबाट उता लाग्नुन्न ।

 

खिलनाथ बाबुलाई काखमा राखेर बस्यो एम्बुलेन्समा । उसले बाबुसंग विस्तारै एकोहोरो कुरा गरिरह्यो । उसलाई थाहा थियो बाबु बोल्न नसके पनि उसको कुरा सुनिरहेका छन । उसले बा यो ठाउँमा आइयो, अहिले यति बज्यो, यति बजेसम्म काठमाडौँ पुगिन्छ, तपाईंलाई जे भएको भए पनि सन्चो लाग्छ भनिरह्यो । रिडी पुग्ने बेलामा बाबुले विस्तारै भनेका थिए – मलाई गन्नईको जलसम्म लैजा है खिले ! एम्बुलेन्स रिडीभन्दा माथिको ओरालो झर्दै थियो, कालीगण्डकी देख्यो उसले । पूर्व दिशाबाट बग्दै आएको काली गण्डकी फनक्क फेरो मारेर फेरि पूर्वतिर बगिरहेको थियो ।

 

यही गण्डकी नदी हो जुन  ” गन्नई ” मा हुमलालले शैयों पल्ट स्नान गरेका थिए । उनले देखेको ठूलो संसार नै यही थियो, उनको आस्थाको केन्द्र पनि यही थियो । सानै उमेरमा धेरै चोटी बाबुको दौराको फेरो समातेर गन्नई नुहाउन आएको थियो खिलनाथ पनि । एक जमाना थियो , जव ऊ सोच्दथ्यो उसको गाउँबाट सवैभन्दा टाढा पर्ने ठाउँ नै रिडी हो, र सवैभन्दा ठूलो नदी कालीगण्डकी हो । ऊ सरकारी सुविधाबाट धेरै चोटी विदेश यात्रा गरेको छ, गङ्गा, यमुना , ब्रह्मपुत्र, नील, अमेजन, हड्सन, र डेन्युव जस्ता नदी देखेको छ उसले, तर उसको लागि आज पनि गण्डकी जस्तो ठूलो र प्यारो नदी कुनै छैन ।

 

एम्बुलेन्स सोझै गण्डकीको किनारमा पुगेर अडियो । हुमलालले सुस्तरी सोधेका थिए – गन्नई आइयो त खिलनाथ ? उसले भनेको थियो – हो बा आइयो । खिलनाथले गण्डकीको जल ल्याएर उनलाई छार्किदियो । तर उनले हातको इशाराले एम्बुलेन्सबाट बाहिर निकाल्न भनेका थिए । उनलाई बाहिर निकालेर गण्डकीको जलले शरीर छुनेगरी सुताइयो, उनले पुलुक्क खिलनाथलाई हेरे, मुसुक्क हाँसे र सदाको लागि आँखा चिम्ले । खिलनाथको आँखा अगाडि अँध्यारो छायो । आज कुन रोगले मरे भन्नेसम्म थाहा नपाउने गरी बाबुको शव सुतेको  छ । उसले जन्मेदेखि बाबु हाँसेको देखेको आजै हो, तर त्यही हाँसो अन्तिम भयो । उसले लाचार र विवश आँखाले फनक्क फन्को मार्दै अनन्त यात्रामा सुसाइरहेको काली गण्डकीलाई हेरिरह्यो ।

 

Comments

NIC Asia