MENU
बन्दी सत्य
 : [views]
  Apr 06, 2019

उसले चारैतिर नियाल्यो । सरजमिन सुरु हुनु अगाडि सही बयान दिन्छु भनेर जुन ठाउँमा सत्य उभिरहेको थियो, अहिले त्यहाँ सत्यको छाया पनि थिएन । ऊ प्रत्येक रमितेको अनुहारमा सत्यको छाया खोज्न थाल्यो । तर त्यहाँ सत्य बक्नेहरु जति मौन थिए ।

 

-ध्रुव मधिकर्मी

 

झमक्क साँझ पर्यो ।

ऊ घर फर्किरहेको थियो । साथमा सत्य पनि थियो । साँझपखको बेला भएको हुनाले बाटो सुनसान र अलि लामो हुँदै गइरहेको थियो । तैपनि फाट्टफुट्ट मान्छेहरुको हिंड्डुल भने बाँकी नै थियो । त्यसैले समय र बाटो काट्न ऊ बीचबीचमा भेटिनेहरुसँग कुरा गर्दै आइरहेको थियो ।

एउटा मोटमा पुग्दा अचानक ऊमाथि दुई–चार जनाको समूह जाइलाग्यो । हातमा खुर्पा, चक्कु र लट्ठी लिएका आक्रमणकारीह्रुले ऊमाथि लात्ती, मुक्का र हतियारले हिर्काउन थाले । उसले सकभर प्रतिरक्षा गर्न खोज्यो तर सकेन । अन्ततः ऊ बाटोमा घाइते भएर पछारियो र बेहोस भयो ।

चिच्याएको सुनेर के भयो भन्दै वरपरबाट केही मान्छेहरु दौड्ंदै आए । त्यतिन्जेलसम्म ती प्रहारकर्ताहरु सुइँकुच्चा ठोकिसकेका थिए ।

भोलिपल्ट गाउँमा होहल्ला सुरु भयो ।

प्रहरी सक्रियता भन्दा पहिले राजनीतिक सक्रियता बढ्न थाल्यो । गाइँगुइँ र वादविवाद चल्न थाल्यो । प्रहरीहरु दिनरात निदाइरहेका हुन्छन् । त्यस बेला पनि ती निदाइरहेका थिए । कसैले ब्यूँझाएपछि बल्लतल्ल ब्यूँझन्छ । र आँखा मिच्दै ब्यूँझाउनेलाई हेरीकन सक्रियतालाई तेज वा मत्थर जे गर्नुपर्ने हो गर्छ । अहिले पनि त्यही हुन लागिरहेको छ ।

घाइते बेहोस भएर अस्पताल पुग्यो । यता आक्रमणकारीहरु भने पीडितपक्ष पुग्नु अगावै प्रहरी र प्रशासनको शरणमा पुगे र आफ्ना हुलिया देखाएर आफूमाथि हमला भएको जिकिर गर्न थाले । आक्रमणकारीहरु त्यहाँ हुँदाहुँदै माथिबाट तिनहिरुको सत्यतामा विश्वास गर्न मौखिक आदेश प्राप्त हुन थाल्यो ।

केही दिनपछि पीडितले आफूमाथि भएको हमलाबारे चौकीमा निवेदन दियो । उसले प्रहारकर्ताहरुलाई चिनेको थियो र ऊमाथि किन आक्रमण गरियो भन्ने कुरा खुलाई कारवाहीका लागि माग गर्यो ।

तर प्रहरीहरु उसको निवेदन लिनै तयार भएनन् । प्रहरीहरुले चौकीमा बसी बसी सत्यताबारे अगावै जानकारी हासिल गरिसकेका थिए । प्राप्त सत्य बारे तिनीहरु शतप्रतिशत विश्वस्त भइसकेका थिए ।

अलि दिनपछि सरजमिन भयो ।

त्यहाँ ऊ पनि थियो र ऊमाथि आक्रमण गर्नेहरु पनि थिए । केही रमितेहरु पनि भेला भएका थिए । टाउको र हातमा चोटपटक लागेको ठाउँमा पट्टी बाँधेर पीडित एउटा कुनामा चुपचाप बसिरहेको थियो । आक्रमणकारीहरु चुरोटको धुवाँ उडाउँदै निर्धक्कसँग बसिरहेका थिए । मानौं ती आक्रमणकारी थिएनन् । यतिखेर बल्की त्यहाँ निर्णायक भएर आएका थिए ।

हामीले कुटपिट गरेको त देखेनौं तर कराएको चिच्चाएको र गुहार मागेको भने सुन्यौं । घटनास्थलमा आइपुग्दा तिनीह्रु भागिसकेका थिए’ केही गाउँलेहरुले बयान दिए ।

ऊ चुप रहन सकेन । उसको घाउ झन दुख्न थाल्यो । प्रहरीलाई आफ्नो घाउ र चोटपटक देखाउँदै आक्रमणकारीह्रुतर्फ औंला सोझ्याएर भन्यो – एक दिन मैले यिनीह्रुलाई नजिकको जङ्गलमा रुख काट्दै गरेको बेला यसो नगर भनेर रोकेको थिएँ । मैले कतै उजुरी गर्ला भनेर बदल लिन तिनीहरुले ममाथि यसरी हमला गरेका हुन् ।

उसको कुरा सुनेर आक्रमणकारीहरु चुरोटको धुँवा छोड्दै मन्दमन्द हाँसो छर्दै थिए ।

कोही छ साक्षी ?, प्रहरी प्रश्न गर्दै थियो । साक्षी निक्लेन ।

हमला ममाथि भएको छ भने मभन्दा ठूलो साक्षी अर्को को होला ?, तर प्रहरीले उ सको यो भनाइमा पटक्कै गम्भीरता देखाएन । बरु भन्यो, – तपाईँ चुप लाग्नोस्, हामीलाई काम गर्न दिनोस् ।

कोही छ ?, प्रहरीले पुनः प्रश्न गर्यो  र उसले भीडतिर नियाल्यो ।

घटनास्थलमा ऊ घाइते भएको देख्नेहरु त त्यहाँ उपस्थित थिए । तर हमला भएको देख्नेहरु त्यहाँ थिएनन् । कोही भइहाले पनि तिनीहरुकै सामुन्ने तिनीहरुको बारेमा यताउति बोल्ने साहस कसैमा हुँदैनथ्यो ।

अरु साक्षी नभए पनि घटनाको समयमा ऊसँगै हिंडिरहेको सत्य त यतै कहीँ हुनुपर्ने हो नि । घटना भएको समयमा उसको साथमा सत्य पनि त थियो । अहिले कहाँ होला सत्य ?

उसले चारैतिर नियाल्यो । सरजमिन सुरु हुनु अगाडि सही बयान दिन्छु भनेर जुन ठाउँमा सत्य उभिरहेको थियो, अहिले त्यहाँ सत्यको छाया पनि थिएन । ऊ प्रत्येक रमितेको अनुहारमा सत्यको छाया खोज्न थाल्यो । तर त्यहाँ सत्य बक्नेहरु जति मौन थिए ।

प्रहरी सरजमिन बोल्नेहरुमाथि आँखा तर्दै थियो । यता आक्रमणकारीहरु आफ्ना पाखुरा नियाल्दै थिए र बेलाबेलामा धाप पनि दिंदै थिए ।

सत्य त्यहाँ थिएन । सम्भवतः सरजमिन सुरु हुनासाथ सत्य त्यहाँबाट लुसुक्क भागेको हुनुपर्छ । ती आक्रमणकरीहरुको आँखामा सत्यप्रति खबरदारीको भाषा थियो । तिनीहरुके हात अझै पनि पटुकामा लुकाइएको हतियारमा थियो जसले तिनहरुको विरुद्ध सत्य ओकल्छ । त्यसमाथि उनहिरु जाइलाग्न तम्तयारझैं देखिन्थे ।

भलै त्यहाँबाट सत्य लुसुक्क भागेको होस् । तर एउटा सत्य भने त्यहाँ अझै बाँकी थियो । त्यहो हो घाइतेको हात र टाउकोमा लागेको चोटपटक र पलमपट्टी । तर यस सत्यप्रति भने कसैको पनि दृष्टि पुगेको थिएन ।
प्रहरीहरु सरजमिन समाप्तिको तयारीमा थिए ।

००


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia