MENU
हिसाबमा अल्झेको समय
 : [views]
-ध्रुब मधिकर्मी   Apr 13, 2019
  • 19
    Shares

कोठा साँच्चिकै फेरिएछ । कोठाबाट सुकुल हटेछ, त्यसको ठाउँमा रङगीचङ्गी टाट ओछ्याइसकिएछ । टेबुलमा दुई–चारवटा फाइल र कागजपत्र छन् । रविकुमार बडो मनोयोगले बिल हेर्दै क्यालकुलेटर थिचिरहेछन् । उनी फाइल हेर्दै हिसाब मिलाउँदै छन् । नाफा–नोक्सान जोख्दै छन् ।

 


-ध्रुब मधिकर्मी

 

अब रविकुमार साँझपख भेटिन छाडे । कीर्तिपुर पढ्न थालेदेखि भेटिन छोडेको हो । तैपनि कहिलेकाहीँ बिदाको दिनमा फाट्टफुट्ट भेट भने भइरहेकै थियो । एक दिन कुरैकुरामा उनले पढाइसढाइ छाडेर जागिर खानेबारे सोचिरहेको बताए । उनले आफ्नो परिवारको बोझ बोक्नु परेको, छोराछोरी ठूला हुँदै आएकाले घरखर्च र जिम्मेवारी बढ्दै आइरहेको विषयले आफू अलि ‘डिस्टर्ब’ भएको कुरा गरेका थिए । मेले उनलाई एम.ए. सकेर अध्यापन गरे लेखनलाई पनि बल मिल्ने सुझाव दिएको थिएँ ।

यसबीच उनका केही राम्रा कथाहरू छापिए । स्वतन्त्रताको अपहरण तथा प्रशासनिक दमनबारे उनले लेखेका केही प्रतीकात्मक कथाहरूको विशेष चर्चा पनि भयो ।

रविकुमारको एम.ए.को अध्ययन सकियो, तर परिणाम त्यति सुखद रहेन । तर उनले पढाइबारे त्यति चिन्ता लिएनन् । “अध्ययन भनेको जान्नु–बुझ्नु हो, प्रमाण लिनु मात्र होइन । प्रमाणपत्र त अर्को वर्ष लिउँला, के छ र !” उनी यसो भन्थे । उनको बढी समय र संलग्नता लेखन र साहित्यिक कार्यक्रममै बित्थ्यो । म पनि उनीसँग केही कार्यक्रममा सहभागी भएको छु ।

एक दिन अपर्झट आइलागेको सार्वजनिक बिदाको दिन म खानासाना खाएर यसो पट्याइ मेट्न डेराबाट निक्लेँ । एकदिन बजार घुमेँ । घुम्दाघुम्दै सिनेमा हलनिर पुगेँ । त्यहाँ पुरानो हिन्दी सिनेमा चल्दै थियो । बिदाको दिन भएकाले हलभित्र दर्शकहरूको घुँइचो थियो । त्यहाँबाट एउटा सानो गल्ली छिचोलेर भार्वाचोतर्पm लागेँ । त्यहाँ पुगेपछि रविकुमारलाई भेटेर जानुपर्ला भन्ने सोचेर उनको घरतिर लागेँ ।

चोकमा पुगेपछि बोलए — “रविकुमारजी !”

उनी झ्यालमा देखा परे र मलाई भित्र बोलाए ।

“आज अफिस जानुभएन ?”

“आज बिदा छ !” मेले भनेँ ।

“ज्या मैले त भुसुक्कै बिर्सेको ।” एकछिनपछि फेरि केही सम्झँदै सोधेँ— “आज बैङ्क त खुल्छ होला नि ?”

“आज त ब्याङ्क पनि बन्द हुन्छ । किन होला ?”

“ब्याङ्कबाट अलिकति लोनसोन लिऊँ भनेर !” उनले भने ।

“तपाईंजस्तो लेखकले यस्तो व्यवसायमा लाग्न हुन्न । अर्कै केही काम खोज्नोस्” मैले सल्लाह दिएँ ।

उनले घरपरिवारको जिम्मेवारी, छोराछोरीको पढाइलेखाइ र सामाजिक विधि–व्यवहारजस्तो खर्च धान्न र टोल–छिमेकमा आफ्नो हैसियत स्थापित गर्न अब कुनै एउटा व्यवसाय नगरी नहुने देखेर बैङ्कबाट ऋण लिन खाजेको बताए । जागिरका लागि प्रयास गरिरहेको भए पनि तत्काल त्यसमा केही होला जस्तो नदेखेपछि उनी बैङ्कबाट ऋण लिन तम्सिएका रहेछन् । उनले अर्को उपाय पनि देखेनन् ।

रविकुमारले बैङ्कबाट ऋण लिएर व्यवसाय पनि शुरु गरेछन् । त्यसपछि हाम्रो भेट पातलियो । कहिलेकाहीँ भेट हुँदा उनी बडो हतारमा हुन्थे । सामान लिन, सामान पुर्याउन, हिसाब उठाउन, व्यवसाय कसरी उकास्ने भन्नेबारे लागिपर्न, यताउति आवश्यक सरसल्लाह लिन हतारिइरहेका हुन्थे । उनीसित लेखनबारे कुरो गरे भने पनि त्यो तत्काल लेखापढीमा विषयान्तर हुन्थ्यो ।

‘नयाँ के लेख्दै हुनुहुन्छ ?’ भनेर सोद्धा उनी ‘एउटा विषय छ तर अलि दिनपछि लेख्छु, भन्दै तुरुन्तै उनलाई कहीँ जानुपर्ने कामको स्मरण भइहाल्थ्यो । उनी अचेल कहिले सुकुलढोकामा कुनै ग्राहककहाँ पुगिरहेका हुन्छन् भने कुनै बेला गट्ठाघरमा कसैलाई भेट्न दौडिरहेका हुन्छन् । अचेल तपाईंको कथा पढ्न पाइएन भन्दा उनी ‘सामान मगाएको छु, भरेसम्म आईपुगेन भने खतमै हुन्छ’ भनी फुत्किहाल्छन् । उनलाई लेखनले भन्दा बैङ्कको ऋणले बढी सताइरहेको हुन्छ ।

दुई महिनाजति म उपत्यकाबाहिर रहेँ— अफिसको काममा । त्यही मौकामा घर पनि पुगेँ । तीन–चार महिनापछि फर्कें । एक दिन साँझतिर म यसो हावा खान निस्केको थिएँ । फर्कने बेलामा रविकुमारलाई भेट्न गएँ । उनीसित भेट नभएको महिनौँजसो भइसकेको थियो । अकस्मात् काजमा जानुपरेकाले उनलाई खबर पनि दिन भ्याएको थिइनँ । उनी आफैँ पनि व्यस्तजस्तो भइसकेका थिए । यता आएर रविकुमारको कुनै रचना पढ्न नपाएको पनि धेरै भयो । नत्र उनी कुनै कथा लेख्दा पहिला मलाई सुनाउँथे । उनी एउटा उपन्यास लेख्ने सोचमा थिए, त्यसको प्रारम्भ यस्तो हुन्छ भनेर मलाई एक दिन सुनाएका थिए । यसपटक गाउँ जाँदा एउटा घटनासित साक्षात्कार भएको थियो । त्यो घटना रविकुमारलाई सुनाउने इच्छा थियो । त्यो घटनालाई उनले कथाका रूपमा लेखून् भन्ने चाहन्थेँ म । त्यसैले यात्राको थकानलाई बिर्सेर म उनलाई भेट्न अलि हतारिएको पनि थिएँ ।

उनी कोठामै रहेछन् । कोठा अलि फरक भएछ । कोठामा मेच–टेबुल आइसकेछ । यसो हेर्दा कोठा कम, कार्यालय बढी देखिन्थ्यो । उनी मेचमा बसेर कागजका टुक्राजस्ता बिलहरू हेर्दै क्यालकुलेटरमा थिच्दै र रजिष्टरमा लेख्दै रहेछन् । आगन्तुकका लागि दुइटा मेच पनि राखिएका छन् । उनले मलाई एकछिन भन्दै मेचमा बस्न आग्रह गरे ।

म कोठा नियाल्न थालेँ । कोठा साँच्चिकै फेरिएछ । कोठाबाट सुकुल हटेछ, त्यसको ठाउँमा रङगीचङ्गी टाट ओछ्याइसकिएछ । टेबुलमा दुई–चारवटा फाइल र कागजपत्र छन् । रविकुमार बडो मनोयोगले बिल हेर्दै क्यालकुलेटर थिचिरहेछन् । उनी फाइल हेर्दै हिसाब मिलाउँदै छन् । नाफा–नोक्सान जोख्दै छन् ।

तात्तातो चिया आइपुग्यो र त्यसबाट बाफ निक्लँदै छ ।

म पर्खिरहेछु, उनी छिटो निवृत्त होऊन् कामबाट र म आफ्नो कुरा सुनाऊँ भनेर । तर उनी त एकनासले क्यालकुलेटरमै औँलाहरू नचाइरहेछन् । मलाई उकुसमुकुस हुन थाल्यो । न उठेर हिँडूँ न उनलाई हिसाब पछि गर्न भनूँ ! म असमन्जसमा परें । मैले अझै केही बेर पर्खेँ । बाहिर समय घर्किरहेछ । तर उनको हिसाबकिताब भने मानौँ गन्जागोल छ । चिया चिसिँदै छ । सायद उनका औँलाहरू अझै क्यालकुलेटरमा थिचेकाथिच्यै छन् । क्यालकुलेटरमाथि उनको निमग्नता देखर म उठेँ र उनको व्यस्ततालाई ध्यानमा राख्दै केही नबोली फर्केँ ।
००


  • 19
    Shares
  •  
    19
    Shares
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia